मकाउ प्रहरीले लागूऔषध तस्करीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
उनीहरूले हङकङबाट लागूऔषध तस्कर गरी मकाउमा बेच्ने गरेको आशंका प्रहरीले गरेको छ।
अधिकारीहरूले आज (२ अक्टोबर) बताए अनुसार गत सोमबार हङकङ बाउन्ड्री पार गरेर मकाउतर्फ जाँदै गरेका मकाउका बासिन्दालाई ७.६२ ग्राम क्रिस्टल मेथका साथ पक्राउ गरिएको हो।
पक्राउ परेका २३ वर्षीय ती व्यक्तिसँगै उनीहरूको भण्डारणसम्म पुगेको प्रहरीले त्यहाँ रहेका अर्का ३५ वर्षीय व्यक्तिलाई पनि पक्राउ गर्यो।
त्यस क्रममा प्रहरीले लागूऔषध लिन प्रयोग हुने केही सामान पनि बरामद गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुईमध्ये एकले हङकङबाट लागूऔषध तस्करी गरी मकाउमा बेच्ने गरेको र अर्को चाहिँ लागूऔषध किन्न त्यहाँ पुगेको खुलेको छ।
पक्राउ परेका दुवै जनामा लागूऔषध सेवन गर्ने बानी रहेको पनि प्रहरीले पत्ता लगाएको छ। लागूऔषध परीक्षण गर्दा उनीहरू दुवैमा पोजेटिभ देखिएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया