हङकङको रोजरीहिल स्कूल बन्द गर्ने निर्णयको सर्वत्र आलोचना भएको छ।
विद्यालय सञ्चालनका लागि अनुदान दिँदै आएको निकाय डोमिनिकन मिसनले स्कूलमा भर्नादर कम हुँदै जानुका साथै स्कूल सञ्चालनको कोष पनि रित्तिएको भन्दै शैक्षिक सत्र सन् २०२५–२६ बाट विद्यालय बन्द गर्ने निर्णय लिएको हो।
मिसनले यस्तो निर्णय लिएपछि स्कूलको व्यवस्थापन डाल्टन स्कूलले ग्रहण गर्ने भएको छ। योसँगै विद्यालयको व्यवस्थापन अनुदानबाट निजी स्वामित्व जान लागेको हो।
डाल्टनले अर्को वर्षको सेप्टेम्बरसम्ममा व्यवस्थापन ग्रहण गर्ने बताएको छ। यसपछि डाल्टनले यस स्कूललाई अन्तर्राष्ट्रिय स्ट्रिममा विस्तार गर्ने जनाएको छ।
यस प्रकारको निर्णयबाट अभिभावक र विद्यार्थी आक्रोशित बनेका छन्।
रोजरीहिल माध्यमिक विद्यालयका अभिभावक–शिक्षक संघका अध्यक्ष बलजिन्दर सिंहले स्कूल बन्द गर्ने निर्णयबारे स्कूलको वर्तमान प्रायोजक निकाय र शिक्षा ब्युरोप्रति कडा रूपमा प्रस्तुत हुँदै आइतबार विज्ञप्ति निकालेका थिए।
सिंहले विद्यालयको प्रायोजक निकायलाई दयाको अभाव भएको भनी आरोप लगाएका छन्।
प्रायोजक निकायको यस्तो निर्णयले साना विद्यार्थीहरू अर्को विद्यालयमा जान बाध्य भएको र यसले ठूलो मनोवैज्ञानिक असर पर्ने उनले बताए।
यस्तै विद्यार्थीहरूले पनि यसप्रकारको निर्णयले अचम्मित भएको बताएका छन्। कतिपय विद्यार्थीले यसलाई ‘स्वार्थी निर्णय’ भनी आपत्ति जनाएका छन्।
फर्म थ्रीकी एक छात्राले विद्यालय बन्द गर्ने निर्णयले आफू छक्क परेका बताइन्। उनी प्रत्येक कक्षामा पर्याप्त विद्यार्थी भएको र यस वर्ष पनि आफ्नो कक्षामा १५ जना नयाँ विद्यार्थी आएको बताउँछिन्। विद्यालय बन्दको यो निर्णयलाई उनले ‘स्वार्थी निर्णय’ भनेर असन्तुष्टि पोखिन्।
त्यस्तै फर्म दुईका एक छात्रले स्कूल परिवर्तन गर्दा आफूहरूको पढाइलाई असर गर्ने भन्दै चिन्ता व्यक्त गरे।
यसैगरी फुकिन माध्यमिक विद्यालयबाट सम्बन्धन प्राप्त एक विद्यालयकी प्रिन्सिपल इभा चारिस छुले पनि डोमिनिकन मिसनको यसप्रकारको निर्णय अपेक्षा नगरेको बताइन्। धेरैजसो संकाय, अभिभावक र विद्यार्थीले विद्यालय सञ्चालनको आशा राखेको भए पनि कुनै सोधपुछविना अचानक बन्द गर्ने निर्णयले सरोकारवालाहरूमा नकारात्मक भावना आएको उनले बताइन्।
त्यस्तै, शिक्षा क्षेत्रका विधायक चुक्वोक केउङले पनि प्रायोजक निकायले विद्यालय सञ्चालनलाई यसरी बीचमै अलपत्र पार्नु नहुनेमा जोड दिए। यो व्यवसाय नभएको हुँदा हठात् कठिन निर्णय लिनुभन्दा सरोकारवालाहरूलाई अर्को उपयुक्त बाटो खोज्न सघाउनुपर्ने उनको कथन छ।
उनले विद्यालय सिधै बन्द गर्नुभन्दा विद्यार्थी बढाउने उपाय खोज्न तथा अर्को प्रायोजक निकाय खोज्न शिक्षा ब्युरोलाई सुझाव दिए।
प्रतिक्रिया