हङकङबाटै नेपाली राहदानी लिन तथा नवीकरण गर्न सकिने

हङकङबाटै नेपाली राहदानी लिन तथा नवीकरण गर्न सकिने

नेपालखबर
असार १२, २०८० मंगलबार १५:४, हङकङ

नेपाली नागरिकता बाहक हङकङबासी नेपालीले हङकङबाटै राहदानी लिन र नवीकरण गर्न सक्ने नेपाली महावाणिज्यदूतावास हङकङले जनाएको छ।

यसका लागि चाहिने आवश्यक प्रक्रिया र कागजातका बारेमा महावाणिज्यदूतावासले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

जसमा नयाँ राहदानी लिनका लागि दूतावासले तोकेको निर्धारित फारमका साथै नेपाली नागरिकताको प्रतिलिपि, ४ थान पासपोर्ट साइजको फोटो, हङकङ आईडी लगायतका कागजात उपलब्ध गराउनुपर्नेछ।

नवीकरणको हकमा भने म्याद सकिएको राहदानीको प्रतिलिपि समेत बुझाउनुपर्नेछ।

फोटोका लागि पनि मापदण्ड निर्धारण गरिएको छ। जसमा फोटो बोर्डरलेस हुनुपर्ने, रंगीन तस्बिरमा पृष्ठभूमि सेतो हुनुपर्ने र साइज ३५ एमएम x ४५ एमएम हुनुपर्नेछ।

यस्तै, १६ वर्ष मुनिकाको हकमा चाहिं नाबालिग परिचय पत्र, जन्मदर्ता प्रमाणपत्र, आमाबाबु दुवैको नेपाली नागरिकता, विवाह दर्ता प्रमाणपत्र, हङकङ आईडी लगायतका कागजातको प्रतिलिपि बुझाउनुपर्नेछ। साथै, नवीकरणको हकमा भने म्याद सकिएको राहदानीको प्रतिलिपि पनि बुझाउनुपर्नेछ।

यसैगरी, हराएको/क्षतिग्रस्त भएकाको हकमा माथि उल्लेखित कागजातका साथै राहदानी नम्बर उल्लेख गरिएको प्रहरी रिपोर्ट पनि बुझाउनुपर्नेछ।

निवदेकले अनलाइन वा पेपर जुनसुकै माध्यमबाट निवेदन दिन सक्नेछन्। तर, निवदेन दिन र राहदानी संकलन गर्दा व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।

यद्यपि, शारीरिक/मानसिक अशक्तता भएका व्यक्तिको हकमा न्यायोचित आधार प्रमाणित गरेमा भौतिक उपस्थिति अनिवार्य हुने छैन। यसका लागि कागजी दस्तावेज भने अनिवार्य गरिएको छ।

यस्तै, एमआरपी पासपोर्ट सुरु भएसँगै काठमाडौंमा लागू भएको ‘फास्ट ट्रयाक सेवा’ भने हङकङमा उपलब्ध नभएको दूतावासले जनाएको छ।

महावाणिज्यदूतावासका अनुसार ३४ पेजको नयाँ राहदानीको लागि १२०० हङकङ डलर र ६६ पेजको लागि १६०० हङकङ डलर शुल्क लाग्नेछ।

त्यस्तै, नवीकरणको लागि १२०० हङकङ डलर र क्षतिग्रस्त भएकोलाई पुनः लिनुपर्दा २४०० हङकङ डलर लाग्नेछ।

हराएकाको हकमा ३४ पेजको लागि २४०० र ६६ पेजको ३२०० हङकङ डलर शुल्क लाग्नेछ।

नाबालिगको हकमा चाहिं १० वर्ष माथिकाको लागि ३४ पेजको १२०० र ६६ पेजको १६०० हङकङ डलर तथा १० वर्ष मुनिका लागि ३४ पेजको ६०० हङकङ डलर शुल्क तोकिएको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .