अंग्रेजी नबोल्ने यात्रुको अपमान गरेको आरोप लागेका चालक दलका सदस्यलाई हङकङको क्याथे प्यासिफिक एयरवेजले ड्युटीबाट निलम्बन गरेको छ।
मन्दारिनभाषी मूलभूमि चीनका यात्रुले आफूहरुलाई विमानमा विभेद गरिएको आरोप लगाएका थिए।
आइतबार छन्दुबाट हङकङसम्मको उडानमा सो घटना भएको थियो। जसबारे यात्रुहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
चिनियाँ सामाजिक सञ्जालमा गरिएको पोस्टअनुसार उडानभर चालक दलका केही सदस्यले आपसमा अंग्रेजी र क्यान्टोनिज भाषामा यात्रुहरुको कुरा काटेका थिए।
सो पोस्टमा चालकदलका एक सदस्यले ‘ब्ल्यांकेट भन्न सक्दैनौ भने तिमीले ब्ल्यांकेट पाउँदैनौ’ भनेको उल्लेख छ।
त्यस्तै एक विमान परिचारिकाले आफ्नो सहकर्मीलाई यात्रुतर्फ देखाउँदै क्यान्टोनिज भाषामा ‘यिनीहरुलाई मान्छेले बोल्ने भाषा आउँदैन रहेछ’ भनेकी थिइन्।
‘अंग्रेजी वा क्यान्टोनिज नबोल्ने यात्रुप्रति यत्रो घृणा किन? मैले बुझ्न सकिनँ,’ सामाजिक सञ्जालमा ती यात्रुले लेखेका छन्।
त्यसपछि क्याथे प्यासिफिकले वेइबोमा विज्ञप्ति निकाल्दै माफी मागेको थियो।
मंगलबार क्याथेले फेरि माफी माग्दै चालक दललाई निलम्बन गरिएको जनाएको हो। आन्तरिक अनुसन्धानको नतिजा तीन दिनपछि सार्वजनिक गर्ने क्याथेले जनाएको छ। एससीएमपी
Shares
प्रतिक्रिया