यौन हिंसाको विश्वव्यापी तथ्यांक डरलाग्दो छ। ती मध्ये एक महिलाले आफ्नो जीवनमा कुनै न कुनै यौन हिंसाको सामना गरेका हुन्छन्। त्यसमाथि पीडितलाई दोष दिने संस्कार पनि छ। यसले गर्दा पीडित महिलाहरुलाई बोल्न झनै कठिन हुने गर्छ।
तर, हङकङमा बसोबास गरिरहेकी बेलायती नागरिक सारा मिल्सन भने बोलिन्।
लमा टापु जाने फेरी पक्रिने हतारमा थिइन् उनी। त्यसरी उनी केही सय पटक सो टापु पुगिसकेकी थिइन्।
तर, यसपटक मिल्सनलाई एक व्यक्तिले रोक्यो र विनम्रतापूर्वक सहरको परिचित क्षितिज देखिनेगरी फोटो खिचिदिन आग्रह गर्यो। भर्खर दिउँसोको ३ बजेको थियो।
‘ऊ २० वर्षजतिको देखिन्थ्यो र आफू दक्षिण कोरियाबाट आएको पर्यटक भएको बतायो,’ मिल्सन भन्छिन्।
फोटो खिचिसकेपछि सो व्यक्तिले सेल्फीका लागि आग्रह गर्यो।
‘त्यसपछि उसले कुममा हात राखौँ भन्यो। त्यसपछि उसले काखीमुनि हात राख्न मिल्नेगरी कपाल हटाउन भन्यो, ताकि स्तन छुन सकोस्,’ उनी भन्छिन्।
जब उनले त्यो व्यक्तिबाट आफूलाई छुटाउन खोजिन्, तब उसले चुम्बन गर्न खोज्यो।
मिल्सनले काँप्दै यो कुरा लमा कम्युनिटी च्याट ग्रुपमा सेयर गरिन्। तब उनले थाहा पाइन्, यसरी पीडित हुने उनी एक्ली होइन रहिछन्। सोही क्षेत्रमा, त्यस्तै देखिने व्यक्तिबाट उही तरिकाले दुर्व्यवहार झेलेका अनेक महिलाहरुले आआफ्नो कथा सुनाए।
‘मैले प्रहरीमा उजुरी दिएँ र उनीहरुले मलाई एउटा भिडिओ देखाए। जसमा उसले चिम सा चोइमा अन्य महिलालाई त्यसै गरेको देखिन्थ्यो,’ उनले सुनाइन्, ‘उसले स्कुल पोसाकमा रहेकी एउटी किशोरीलाई पनि त्यसै गरेको मलाई बताइयो।’
मिल्सनले आफूमाथि भएको दुर्व्यवहारको विवरण अरुका लागि चेतावनीका रुपमा र पीडितहरुलाई अगाडि आउन उत्प्रेरित गर्ने उदेश्यले हङकङ मम्स नामक फेसबुक ग्रुपमा पनि पोस्ट गरिन्। थुप्रै अगाडि आए पनि।
तर, दोष आफैँमाथि थोपरिएला भन्ने उनले सोचेकी थिइनन्।
‘चिन्दै नचिनेको मान्छेसँग कसले सेल्फी खिच्छ?’ एक जनाले लेखे।
त्यो मान्छे पक्राउ परोस् भन्ने उदेश्यले उनले समुदायलाई जानकारी गराइन्।
‘राम्रो। अपराधलाई ननिम्त्याउनु अझ राम्रो,’ अर्काले लेखे।
हङकङमा काम गरिरहेकी मनोचिकित्सक कुरतुलेन जाइदी भन्छिन्, ‘जब कुनै व्यक्ति पीडितलाई तैँले यसो गर्नुपर्थ्यो, उसो गर्नुपर्थ्यो, तैँले पिउनु हुँदैनथ्यो, तिमीले के लगाएकी थियौ? ढोका किन बन्द गरेकी थिएनौ? भन्छ भने केही हदसम्म ऊ पीडितलाई दोष दिइरहेको हुन्छ।’
‘पीडादायी अनुभवहरुमा पीडितलाई दोष दिँदा त्यसले डिप्रेसन, एन्जाइटी, पीटीएसडीजस्ता मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरुलाई बढाउन सक्छ,’ जाइदी भन्छिन्।
पीडितलाई दोष दिने संस्कृतिले उनीहरुमा लाज, दोष र आत्महत्याको कल्पना गर्ने भावना बढ्छ। यसले सर्भाइवरहरुको पीडामुक्तिको प्रक्रियामा पनि नकारात्मक प्रभाव पार्छ,’ उनी थप्छिन्।
हङकङको लिङनान युनिभर्सिटीस्थित डिपार्टमेन्ट अफ सोसियोलोजी एन्ड सोसल पोलिसीले २०२२ मा गरेको सर्वेअनुसार ३७ प्रतिशत महिलाले आफूहरुमाथि यौनहिंसा भएको बताएका थिए। सर्वेमा १५ देखि ६४ वर्षबीचका १०६४ महिला र किशोरीहरुलाई प्रश्न गरिएको थियो।
प्रमुख अध्येता एनी चानले बताएअनुसार यौन हिंसा भोगेकामध्ये ७५ प्रतिशत महिलाले सो घटना भएकै बेला प्रतिकार गर्न सकेका थिएनन्।
कतिपय पीडित आफूलाई नै दोष दिने भयका कारण बोल्न सकेका थिएनन्।
‘पीडितलाई दोष दिने चलनले गर्दा पीडितहरुलाई अपराधविरुद्ध उजुरी गर्न कठिन हुन्छ,’ जाइदी भन्छिन्।
७ र ९ वर्षका दुई छोरीकी आमा मिल्सनले पनि सो घटनापछि छोरीहरुलाई अपरिचित व्यक्ति खतरनाक हुनसक्छन् भनेर सिकाउन बाध्य भएको बताएकी छन्।
११ वर्षदेखि घर मानेर बस्दै आएको र आफ्नो दिमागमा बनेको हङकङ सहरको छवि पनि ध्वस्त भएको उनको भनाइ छ।
पीडितलाई दोष दिने चलनलाई सामान्यीकरण गर्ने समाजले पीडकको संरक्षण गर्ने जाइदीको भनाइ छ।
‘यसको अर्थ के हो भने कम अपराधको उजुरी पर्छन् र कम अपराधीमाथि मुद्दा चल्छ,’ उनले भनिन्, ‘यसले अपराधीलाई उनीहरुको कर्तुतको जवाफ दिने जिम्मेवारीबाट बचाउँछ।’ एससीएमपी
Shares
प्रतिक्रिया