जापानले हङकङको विमानमा लगाएको प्रतिबन्धहरुका कारण हङकङका एयरलाइन्सहरुले आउँदो महिनाका लागि एक सय ५० उडान कटौती गरेका छन्।
क्याथे प्यासिफिक र हङकङ एक्सप्रेसले फेब्रुअरी ३ देखि मार्च २ सम्मका लागि प्रतिसाता १५ उडानसम्म कटौती गरेको घोषणा सोमबार गरेका छन्।
प्रभावित यात्रुले टिकटको मिति सार्न वा पैसा फिर्ता लिन सक्ने ती एयरलाइन्सले जनाएका छन्। यसरी रद्ध गरिएका उडानहरु जापानभित्रैका पनि छन्।
क्याथे प्यासिफिकले जनाएअनुसार हङकङबाट विमान जापान जानमा जापान सरकारले केही प्रतिबन्ध लगाएको छ।
‘हामी प्रतिसाता हङकङबाट जापान ७२ उडान मात्र गर्न सक्छौँ। जुन पहिलेको भन्दा १२–१३ उडान कम हो,’ क्याथेले भनेको छ।
एक्सप्रेसले पनि ८९ उडान गरिरहेकोमा फेब्रुअरीका लागि ७४ उडानमा सीमित गरिएको बताएको छ। जसका कारण ओकिनावा, ओसाका र टोकियोको दुवै विमानस्थल गरी ६० उडान रद्द भएको उसले जनाएको छ।
जापानले गत डिसेम्बरदेखि नै हङकङबाट हुने उडानलाई सीमित तुल्याएको छ। एससीएमपी
Shares
प्रतिक्रिया