आइतबार मुख्यभूमि चीनसँगको नाका पूर्ण रुपमा खुलेपछि आफन्त र प्रियजन भेट्न तथा किनमेल गर्न चाहने हजारौँले सीमा पार गरेका छन्। तीन वर्षमा पहिलो पटक उनीहरुले बिना क्वारेन्टिन सीमा पार यात्रा गर्न पाएका हुन्।
हङकङबाट अहिले दैनिक ५० हजार जना चीन प्रवेश गर्न पाउने कोटा तोकिएको छ। जसमध्ये ७० प्रतिशत मानिस लोक मा चाउ लाइनबाट जानेछन्।
थुप्रै मानिसहरु आइतबार बिहान ५ः२८ मा मोङ कोक इस्ट स्टेसनमा पहिलो रेल चढ्न पुगेका थिए। बिहान साढे ६ बजे नाका खुलेको थियो।
कतिपय भने सेउङ वानस्थित मकाउ फेरी टर्मिनल र सिम सा सुइस्थित हङकङ चाइना फेरी पुगेका थिए।
महामारीका बेला सेन्चेन बे पोर्ट, हङकङ–मकाउ–चुहाइ पुल र अन्तर्राष्ट्रिय विमानस्थल मात्र बन्द भएका थिएनन्।
अहिले पनि नाका पार गर्न यात्रुहरुले पहिले नै अनलाइनबाट नाम दर्ता गराउनुपर्छ। त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नेगेटिभ नतिजा पनि देखाउनुपर्छ।
आइतबार साँझ ६ बजेसम्म ४ लाख ४० हजार हङकङबासीले चीन जान नाम दर्ता गराएका छन्। खासगरी जनवरी २२ मा पर्ने चन्द्र नयाँ वर्षछेकाका लागि कोटा भरिभराउ भइसकेको छ।
आइतबारै चीनले तीन वर्षमा पहिलो पटक क्वारेन्टिनविहीन यात्रा सुरु गरेको छ।
हङकङ आउनेहरुमा कतिपय किनमेल र व्यापारका लागि आएका थिए। तर, एक युवतीले आफूले हङकङमा आईफोन १४ प्रो म्याक्स र पीएसफाइभ नपाएको बताइन्।
५२ वर्षीया फेङ छिन अप्रिलमा हुने छोरीको विवाहका लागि उपहार किन्न आएकी थिइन्। उनले सुनको ब्रासलेट किन्न ४० हजार हङकङ डलर खर्च गरिन्।
कतिपयले तीन वर्षमा हङकङ धेरै बदलिएको महसुस आफूलाई भएको बताए।
सेन्चेनमा काम गर्ने याङ याङले हङकङमा आफ्नी पत्नी र छोरीसँग भेट्न अब छिटोछिटो आउने बताए। गएको तीन वर्षमा आफूले परिवारसँग २० दिन मात्र बिताएको उनको भनाइ छ।
‘अब त्यो क्षतिपूर्ति गर्ने मेरो योजना छ,’ लोक मा चाउ रेल स्टेसनबाट निस्किँदै गर्दा उनले भने, ‘अब हप्तैपिच्छे हङकङ आउँछु।’ एससीएमपी
प्रतिक्रिया