हङकङको अर्थतन्त्रमा निरन्तरको गिरावट, तेस्रो त्रैमासमा ४.५ प्रतिशतले खुम्चियो

हङकङको अर्थतन्त्रमा निरन्तरको गिरावट, तेस्रो त्रैमासमा ४.५ प्रतिशतले खुम्चियो

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ९:४०, हङकङ

सन् २०२२ को तेस्रो त्रैमासमा पनि हङकङको अर्थतन्त्रमा गिरावट देखिएको छ।

उक्त तीन महिनाको अवधिमा हङकङको अर्थतन्त्रमा ४.५ प्रतिशतको गिरावट देखिएको हो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा देखिएको गिरावटसँगै हङकङको अर्थतन्त्र समग्र वर्षमा पनि गिरावटको संघारमा पुगेको छ।

कमजोर बाह्य माग र सीमामा देखिएको अवरोधको कारण तेस्रो त्रैमासमा गिरावट देखिएको हङकङका अधिकारीहरुले बताएका छन्। 
यस वर्षको पहिलो त्रैमासिक अवधिमा हङकङको अर्थतन्त्रमा ३.९ प्रतिशतको गिरावट देखिएको थियो।

दोस्रो त्रैमासमा १.३ प्रतिशतको गिरावट देखिएकोमा सो क्रमले तेस्रो त्रैमासमा पनि निरन्तरता पाएको हो। हङकङ सरकारका प्रवक्ताले बाह्य बजारको वातावरण राम्रो नभएको निरन्तर आयात निर्यातमा अवरोध देखिएको कारण निर्यात बजार कमजोर बनेको बताएका छन्। 

तेस्रो त्रैमासमा अघिल्लो वर्षको तुलनामा निर्यातमा १५.५ प्रतिशतको गिरावट देखिएको छ। अघिल्लो तीन महिनामा निर्यातमा ८.४ प्रतिशतको गिरावट देखिएको थियो।

त्यस्तै तेस्रो त्रैमासको आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले घटेको छ। जबकी अघिल्लो तीन महिनामा आयात ५.९ प्रतिशतले घटेको थियो। 

यद्यपि पछिल्लो समय हङकङ सरकारले खुकुलो पारेको कोभिड–१९ को नीतिको कारण आगामी दिनमा हङकङको व्यापारिक क्षेत्रमा सुधार आउन सक्ने जानकारहरुको विश्वास छ।

ह्याङस्याङ बैंकका प्रमुख आर्थिक शोधकर्ता थोमस शिकका अनुसार यस वर्ष हङकङको अर्थतन्त्रमा ०.८ प्रतिशतको गिरावट आउने सम्भावना छ। यद्यपि यो गिरावट बाह्य वातावरण तथा प्रमुख केन्द्रीय बैंकहरुको नीतिमा आधारित हुने उनले बताए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .