हङकङको पुरानो सहर जोर्डनको सांघाई स्ट्रिटमा प्रख्यात् सौन्दर्य प्रशाधन केन्द्र छ- सनसाइन ब्युटिपार्लर। सन् १९९६ मा हङकङ पुगेका दिदीबहिनी अनिता र संगीता गुरुङले सन् २००३ मा सुरु गरेको यो पार्लरले १९ वर्षदेखि निरन्तर त्यहाँ बसोबास गर्ने नेपालीसहित चाइनिज, युरोपियन, अफ्रिकनदेखि लिएर दक्षिण एसियाली ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।
बेलायती सेनाका छोरीहरूको यो पार्लरले ग्राहकलाई सेवा मात्र दिइरहेको छैन, मूलबाटोमै रहेको यो सौन्दर्य व्यवसाय कैयौं परिवारको हातमुख जोड्ने गतिलो माध्यम पनि बनेको छ।
सन् १९९७ मा चिनियाँभूमि हङकङबाट बिदा भइरहेको बेलायती साम्राज्यले गोर्खा रेजिमेन्टमा रही हङकङमा सेवारत रहँदा त्यहाँ जन्मिएका तिनका सन्तानलाई आवासीय भिसा दिने प्रावधानबमोजिम झन्डै २० हजार नेपाली हङकङ पुगे। यी दुई दिदीबहिनीको हङकङ प्रवेश पनि त्यसरी नै भएको हो। तन्नेरी उमेरमा हङकङ पुगेका यी दुई दिदीबहिनीले सुरुमा कस्मेटिक सौन्दर्यसम्बन्धी आधारभूत तालिम लिए, पार्लरमा काम गरे। त्यसपछि आफ्नै पार्लर सुरु गरे।
बेलायती साम्राज्यको राजकाज चलेको व्यापारिक केन्द्र हङकङमा भर्खर त्यहाँ पुगेका सर्वसाधारण नेपालीले व्यवसायमा हात हाल्नु ठूलो जोखिम मोल्नु थियो। पहाडको पर्यटकीय व्यापारिक थलो घान्द्रुकबाट चितवनको समथर व्यापारिक केन्द्रमा बसाइँ सरेका र त्यहाँबाट हङकङ उडेका यी दुई दिदीबहिनीले त्यो जोखिम लिने अठोट गरे, पार्लर सञ्चालन गरे। नाम दिए - सनसाइन ब्युटिपार्लर ।
खोल्न त खोले चलाउनु सजिलो थिएन। त्यतिबला सांघाई स्ट्रिट ब्युटिपार्लरको बजार जस्तो थियो। स्थानीय चिनियाँले सञ्चालन गरेका झन्डै दर्जन पार्लर थिए। तिनलाई उनीहरूसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्नु थियो।
बेलायती राजले व्यवस्था गरेको आवासीय सुविधाका कारण सन् १९९७ अगाडि हङकङमा जन्मिएका तर नेपालका कुनाकन्दरामा छरिएका र हङकङ पुगेका गोर्खा सैनिकका सन्तानहरूलाई अहिलेजस्तो कस्मेटिक सौन्दर्यको मोह र महत्त्व दुवै थिएन। तिनलाई सनसाइनभित्र ल्याउनु सजिलो थिएन। एकातर्फ वर्षाैंदेखि खारिएका स्थानीय ब्युटिसियनहरूसँग प्रतिस्पर्धा गर्नु थियो भने अर्कातर्फ आफ्ना दिदीबहिनीहरूलाई ब्युटिपार्लरको महत्त्व बुझाउनु थियो।
दिदीबहिनीले एउटा रणनीति बनाए – स्थापित पार्लरले भन्दा सस्तोमा सेवा दिने। यसअनुरूप स्थानीयहरूलाई नै नोकरी दिई तिनकै ग्राहक तान्न थालियो। क्यान्टोनिज भाषामा दक्खल भएकी दिदी अनिताको व्यापारिक चातुर्यले थप व्यापार वृद्धिमा सघाउ पुग्यो। रणनीतिले काम गर्न थाल्यो। बिस्तारै सनसाइनभित्र ग्राहकको लाम लाग्न थाल्यो। सेवा लिन ‘अपोइन्टमेन्ट’ लिनुपर्ने अवस्था आयो। त्यसपछि दिदीबहिनीलाई पछाडि फर्केर हेर्नु परेन। पार्लर व्यवसायबाटै हङकङमा सुविधा-सम्पन्न फ्ल्याटको जोहो गरे।
बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेपछि बिस्तारै यो सहरले अर्थतन्त्रमा फड्को मार्याे। व्यापारिक केन्द्रहरू झन् बढी फस्टाउन थाले। कालान्तरमा हङकङ एसियाको व्यापारिक केन्द्रको पहिचान बनाउन सफल भयो। नेपालबाट हङकङमा थपिँदै गएका नेपालीको सौन्दर्यप्रतिको दृष्टिकोण फेरिन थाल्यो। तिनलाई ब्युटिपार्लर नभई नहुने भयो। भाषाका कारण नेपालीले सञ्चालन गरेको सनसाइनले त्यसको प्रत्यक्ष फाइदा उठाउन पायो। अर्कातर्फ हङकङको बजार वृद्धिको परोक्ष फाइदा सनसाइनजस्ता ब्युटिपार्लरलाई पनि हुन गयो।
यी दिदीबहिनीको सफलताका कारण अन्य नेपाली युवती पनि यस क्षेत्रमा प्रवेश गर्न थाले। तर सनसाइनको व्यवसायमा त्यसले खासै असर पारेन। यतिन्जेल हङकङमा बसोबास गर्ने विभिन्न देशका ग्राहक सनसाइन खोज्दै आउन थाले। जोर्डन अत्यन्त महँगो हुँदै गएपछि स्थानीय चिनियाँले चलाएका पार्लर विस्थापन हुँदै गए, अहिले त्यतिबेलाका दर्जन पार्लर त्यहाँबाट हटिसकेका छन् तर सनसाइन लगातार १९ वर्षदेखि उही पुरानै घरमा छ।
हङकङमा त्यति सफल सनसाइन ब्युटिपार्लर बेलायत हुँदै नेपालमा पनि प्रवेश गरेको जानकारी पाएपछि नेपालखबरको स्वास्थ्य संवाददाता लाजिम्पाटस्थित ‘सनसाइन हङकङ हेयर एन्ड स्यालोन एन्ड स्पा’ पुग्याे।
त्यहाँ भेटिएकी प्रोपाइटर संगीता गुरुङले हामीलाई हङकङ र नेपालमा रहने नेपालीबीच रहेको सौन्दर्य–चेत र त्यसभित्रको समाजशास्त्रीय भिन्नता सम्झाउँदै भनिन्, ‘हङकङका नेपाली र यहाँका कामकाजी महिलाको औसत कमाइ बराबर भए पनि त्यहाँ (हङकङ) त्यति पैसाले सबै कुरा म्यानेज गर्दै सौन्दर्यमा प्राथमिकताका साथ लगानी गर्छन्, तर यहाँका महिलामा सौन्दर्य व्यवस्थापन पक्ष निकै कमजोर देखेँ।’
हङकङमा सनसाइन सुरु गर्दा २० हजार हङकङ डलर तिर्नुपर्ने घरभाडा अहिले बढेर ५० हजार डलर (करिब नेरु साढे आठ लाख) पुगेको छ। तैपनि स्थानीय चिनियाँसहित ८ जना ब्युटिसियनलाई पालेको सनसाइनले २ वर्ष लामो कोरोना लकडाउनको कहर काटेको छ, सँगसँगै आफूलाई पुरानै लयमा फर्काउन प्रयासरत पनि छ। यो सफलताको गुढ कारणबारे हामीले संगीतासँग कुरा गरेका थियौं।
उनको सीधा जवाफ थियो– ‘राम्रो आतिथ्यसहित गुणस्तर प्रोडक्ट सस्तोमा पाएपछि ग्राहक तानिँदा रहेछन्। हङकङमा अपनाएको यही सूत्रले हामीलाई टिकायो।’
हङकङ र नेपालमा बसोबास गर्ने नेपालीहरूको सौन्दर्य संस्कृति फरक रहेको अनुभव गरेकी संगीताको बुझाइलाई यहाँ बुँदागत रूपमा राखिएको छ :
१. हङकङमा के केटा, के केटी, के बच्चा के बुढी - ब्युटीपार्लर धाउने संस्कृति छ, जुन नेपालमा अझै आइसकेको छैन। त्यसको पछाडि आर्थिक परनिर्भरता पनि हुन सक्छ। हङकङमा के महिला, के बच्चा, सबैले केही न केही नोकरी गरेका हुन्छन्। नेपालमा अधिकतर परिवार एकजना सदस्यको कमाइमा बाँच्नुपर्ने हुनाले पार्लर जाने वातावरण नभएको हुनुपर्छ।
२. हङकङको व्यस्त दिनचर्यामा घरमा सिंगारिनु लगभग असम्भवजस्तै हुन्छ। त्यसैले त्यहाँ कपाल नुहाउनसमेत पार्लर धाउने चलन छ। फुर्सदिलाले यहाँ घरमै नुहाउँछन्।
३. हङकङमा केटाहरू १५ दिनमा कपाल बनाउन पार्लर पुग्छन् भने केटीहरूले नियमित ३ महिनामा कपाल बनाउँछन्। नेपालमा भने केटाहरूले औसत ३ महिनामा र केटीहरूले उत्सवमा मात्र कपाल बनाउने चलन रहेछ।
४. हङकङमा नियमित ब्युटिपार्लर जानुलाई स्वास्थ्यसँग जोडिन्छ। त्यसलाई ‘ट्रिटमेन्ट’सँग जोडेर हेरिन्छ तर यहाँ पार्लर जानुलाई सिंगारपटारसँग मात्र जाेडिने हुनाले सौन्दर्य-चेतमै ठूलो भिन्नता देखिन्छ। यहाँ यो शारीरिक र मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कुरा हो भन्ने बुझाइ धेरै कम देखिन्छ।
५. हङकङ र नेपालमा काम गर्नेहरूको औसत कमाइ बराबरी भए पनि त्यहाँ स्वास्थ्य-चेतका कारण जसरी पार्लरका निम्ति खर्च व्यवस्थापन गरिन्छ, यहाँ त्यस्तो गरेको देखिँदैन।
नेपालमा उड्ने धुलो, धुँवा र सार्वजनिक यातायातमा हुने ठेलमठेलपछि सफासुग्घर घरबाट निस्केको मान्छे बेलुकी घर पुग्दा करिब करिब नचिनिने भइसकेको हुन्छ। यो सबै हिसाबले पनि काठमाडाैँजस्तो सहरमा पार्लर संस्कृति अनिवार्य जस्तै हुनुपर्नेमा त्यो हुन नसकिरहेको संगीताको काठमाडौँमा एक वर्ष बसाइको अनुभव छ।
पार्लरलाई सिंगारपटारसँग मात्र जोडेर हेर्ने र यसमा गरिएको लगानी अनावश्यक ठान्ने चिन्तनका कारण यस्तो भएको हुनसक्ने उनको बुझाइ छ। उनी भन्छिन्, ‘पार्लर नक्कल पार्न मात्र गइँदैन। त्यहाँ गरिने ट्रिटमेन्ट सिधै व्यक्तिको स्वास्थ्यसँग सम्बन्धित हुन्छ।’
लाजिम्पाटस्थित संगीताको पार्लरमा आउने अधिकतर ग्राहक हङकङमा बसेर फर्किएकाहरू रहेछन्। हङकङमा सनसाइनमा कमाएको विश्वसनीयताका कारण होला - घर बिदामा आउनेहरू पनि काठमाडाैँ बसाइमा एकचोटि संगीताको पार्लर छिरेकै हुन्छन्।
संगीता भन्छिन्, ‘मेरो पार्लर हङकङ र नेपाललाई जोड्ने पुलजस्तै भएको छ। हङकङबाट फर्किएका र बिदामा आएकाहरू जति जमघट हुने थलो भएको छ - सनसाइन।’
प्रतिक्रिया