हङकङका वित्तमन्त्रीले कोरोना भाइरस संक्रमितको संख्या घटे यात्रुहरुका लागि क्वारेन्टिनको नियम अझै खुकुलो पार्ने ठाउँ रहेको बताएका छन्। यद्यपि उनले सहरका बासिन्दालाई हेलचेक्र्याइँ नगर्न आग्रह गरे।
वित्त तथा आर्थिक विकासमन्त्री अल्जेर्नन याउ यिङवाले शनिबार वर्तमान व्यवस्थाअनुसार यात्रुहरु आउने क्रम बढेको बताए। तर, अझै नियम खुकुलो पार्न सरकारी अधिकारीहरुलाई समीक्षाका लागि केही समय चाहिने उनको भनाइ थियो।
अगस्ट १२ यता एक साताको होटल क्वारेन्टिनलाई तीन दिनमा झारिएको छ। चार दिन भने घरमै निगरानीमा बस्नुपर्ने नियम छ।
‘रोकथाम र महामारी नियन्त्रण सबैभन्दा महत्वपूर्ण कुरा हो। यदि संक्रमण घट्यो भने क्वारेन्टिन नीतिलाई अझै खुकुलो पार्न सकिन्छ भन्ने विश्वास मलाई छ,’ याउले शनिबार भने।
‘तर, स्थिति अझै उतारचढावपूर्ण छ। किनभने हिजो ६ हजार जना संक्रमित भए। हामी एकदमै होसियार हुन आवश्यक छ,’ उनले भने।
शुक्रबार ६ हजार ४४५ नयाँ संक्रमित फेला परेका छन्। त्यो मार्च अन्त्ययताको सबैभन्दा उच्च संख्या हो। एससीएमपी
प्रतिक्रिया