कमजोर पाउण्डले बढायो हङकङका विद्यार्थीमा बेलायतप्रतिको आकर्षण

कमजोर पाउण्डले बढायो  हङकङका विद्यार्थीमा बेलायतप्रतिको आकर्षण

नेपालखबर
साउन ३, २०७९ मंगलबार ९:४१, हङकङ

पछिल्लो समय हङकङ डलरको तुलनामा बेलायती मुद्रा पाउण्ड स्टर्लिङ ४० वर्षयताकै कमजोर भएको छ। त्यसैले अहिले हङकङका माध्यमिक तहका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि बेलायतप्रतिको आकर्षण बढ्दो छ। 

यस वर्ष डिप्लोमा अफ सेकेन्डरी एजुकेशन (डीएसई) परीक्षामा करिब ५० हजारले सहभागिता जनाएका थिए।  जसमध्ये ४३ हजार विद्यालयका परीक्षार्थी थिए।

विश्वविद्यालय प्रवेश परीक्षाको समग्र र व्यक्तिगत नतिजा क्रमशः मङ्गलबार र बुधबार सार्वजनिक हुनेछ। अधिकांश विद्यार्थीहरूले हङकङमा नै उच्च शिक्षा लिने अनुमान छ। 

बेलायत यसअघि नै बाहिरबाट आएर अध्ययन गर्नेको लागि उत्कृष्ट गन्तव्यको रुपमा रहँदै आएको थियो। यस वर्ष हङकङ डलर कमजोर बनेपछि यो मुलुकमा जान चाहनेको संख्या झन् बढेको हो। 

ब्रिटिश काउन्सिलका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले वार्षिक १० देखि २६ हजार पाउण्डसम्म बुझाउनुपर्ने हुन्छ। सामान्यतया एक स्नातक डिग्री पाठ्यक्रम तीन वर्षको हुन्छ। 

एचकिज ओभरसीज एजुकेशन एण्ड स्टडी टुर्सका निर्देशक एङ्गस ताङ ची–विङले विदेशी अध्ययनको बारेमा सोधपुछ गर्नेको संख्या २० प्रतिशतभन्दा धेरैले बढेको बताए। विशेषगरी विनिमय दरको कारण यस किसिमको परिवर्तन आएको उनको भनाइ छ। 

उनको अनुमानअनुसार सन् २०१४ को तुलनामा अहिले बेलायती विद्यालयहरुमा भर्ना गर्दा ३० प्रतिशत कम शुल्क तिरे पुग्छ। बेलायतले सन् २०११ यता २० प्रतिशत मूल्य अभिवृद्धि कर लगाउँदै आएको छ।

हङकङका विद्यार्थीको रोजाइमा पर्ने अन्य पश्चिमा मुलुकमा पनि यो कर त्यसकै हाराहारीमा छ। त्यसैले पनि धेरै विद्यार्थी बेलायत जान चाहेका हुन्। 

बेलायतले विद्यालयको शुल्क र विद्यार्थीको भाडामा पनि भ्याट छुट दिएको छ।  

पढाइसकिएपछि छिटै जागिर पाइने व्यावसायिक स्वास्थ्य सेवा विषय हङकङका विद्यार्थीमाझ लोकप्रिय बन्दै गएको छ। 

त्यसो त गत वर्ष सुरु गरिएको ब्रिटिश नेसनल (ओभरसीज) भिसा योजनाले पनि हङकङका विद्यार्थीहरु आकर्षित भएका हुन्। उनीहरु बेलायतमै स्थायी बसोबास गर्न चाहने भएकाले पनि अध्ययनका लागि बेलायत रोजेका हुन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .