नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन हङकङमा ‘नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम प्रबर्द्धन समिति’ गठन गरिएको छ। २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको यो अभियान नजिकिँदै गर्दा हङकङस्थित महावाणिज्यदूतको संयोजकत्वमा यहाँ क्रियाशील संस्थाहरुको सहकार्यमा समिति गठन गरिएको हो।
नोभेम्बर २३ र २५ को तयारी बैठकपछि ३० नोभेम्बरमा हुङ होमस्थित महावाणिज्यदूतको निवासमा बसेको तेस्रो बैठकले समिति गठन गरेको हो।
समितिको सहआयोजकमा गैर आवासीय नेपाली संघ छ भने नेपाल वायु सेवा निगम, नेपाली महासंघ, नेपाल च्याम्बर्स अफ कमर्स, प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, आदिवासी जनजाति महासंघ हङकङ सदस्य छन्। हङकङमा रहेका सबै नेपाली समुदायलाई समेटी नेपाल भ्रमण वर्षको लागि प्रचारप्रसारमा जुट्ने समितिले जनाएको छ।
जनवरी ५ मा सेन्ट्रल फेरी पियर नजिकैको अब्जर्भेसन ह्विल को प्राङ्गणमा भव्य समारोह आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने भएको छ।
समारोहमा भिजिट नेपालसम्बन्धी विभिन्न सामग्री, सांस्कृतिक झाँकी, नाच र प्रदर्शनी गरिनेछ। समारोहमा स्थानीय चिनियाँसहित विदेशी पाहुनाहरुको भव्य उपस्थिति हुने आयोजकले बताएको छ। कार्यक्रम उद्घाटनपछि पाहुनाहरुसहित हङकङको पर्यटकीय स्थलको परिक्रमा गर्ने बताइएको छ।
समितिले नेपालमा पर्यटक भित्र्याउन वर्षभरी कार्यक्रम आयोजना गर्नेछ। यसको मिडिया पार्टनर भने ‘नेपालखबर हङकङ’ रहनेछ।
हङकङका चिनियाँलाई भिसा शुल्क छुटः महावाणिज्यदूत
प्रमुख संयोजक महावाणिज्यदूत कमलप्रसाद भट्टराईले पर्यटक आकर्षित गर्न हङकङका चिनियाँहरुलाई निशुल्क भिसा प्रदान गरिने बताए। पर्यटकहरुलाई लक्षित गरी नेपालमा होटल व्यवसायीले ३० प्रतिशत, होमस्टेमा २० प्रतिशत र हवाई सेवामा पनि छुट दिइने उनले जानकारी दिए।
नेपाल संसारकै ‘भर्जिन ल्यान्ड’ भएको बताउँदै उनले भ्रमण पारखीहरुले एक पटक नेपाल टेक्नै पर्ने बताएका छन्। ‘नेपाल आश्चर्यले भरिपूर्ण छ।नेपालको स्वच्छ प्राकृतिक हावापानी, प्राकृतिक तथा जैविक विविधता, सांस्कृतिक विविधताता, नेपालीहरुको आत्मियता, आदिले पर्यटकलाई जीवनभरका लागि आनन्द र अविष्मरणीय छाप छोड्न सक्छ,’ उनले भने, ‘नेपाल विश्व मानचित्रमा सानो भए पनि समुद्री सतहबाट ६० देखि ८८४८ मिटरको उचाई भएको देश हो। यस्तो भौगोलिक विविधता भएको देश सायदै संसारमा कहीँ छ। ४० डिग्रीको प्रचण्ड गर्मीदेखि माईनस ४० डिग्रीको कठ्याग्रिने जाडो यहीँ छ।’
उनले धार्मिक र सांस्कृतिक दृष्टिले पनि नेपाल पवित्र भूमि भएको उल्लेख गरे।
भिजिट नेपालका लागि सबै नेपाली एकै सूत्रमा
भिजिट नेपाललाई सफल बनाउन हङकङका सबै नेपाली संघसंस्था र समुदाय एकै ठाउँमा उभिएका छन्। जोगी र भैँसीको जस्तो विपरीत व्यवहार गर्ने महावाणिज्यदूतावास र जनजाति महासंघले समेत यसका लागि हातेमालो गरेका छन्।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको छ। जसमा प्रतिदिन ७५ अमेरिकी डलरभन्दा बढी खर्च गर्ने २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।
प्रतिक्रिया