पछिल्लो समय हङकङबाट बेलायत गएका आधा मानिसहरुमा डिप्रेसन तथा अन्य मानसिक समस्या देखिएको छ। बेलायतमा गरिएको एक सर्वेक्षणले यस्तो देखाएको हो। त्यस्तै चारमध्ये १ जना मानिसमा सन् २०१९ मा भएको हङकङ आन्दोलन र राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित मानसिक असन्तुलनको समस्या देखिएको छ।
यद्यपि बेलायत आएपछि आफूहरुलाई देखिएको मानसिक समस्या भने निकै कम भएको आधाभन्दा धेरैले बताएका छन्। युनिभर्सिटी अफ क्याम्ब्रिज र एड्भोकेसी ग्रुप हङकङर्स इन ब्रिटेन (एचकेबी)ले हालै मात्र बेलायत आएका मानिसमा यो सर्वेक्षण गरिएको हो।
सर्वेक्षणमा अनलाइनमार्फत ६५८ जनाले भाग लिएका थिए। सर्वेक्षणमा सहभागीमध्ये ९० प्रतिशतभन्दा धेरै बेलायतको राष्ट्रिय ओभरसिज भिसा भएका मानिस थिए भने बाँकी बेलायतमा आश्रय खोजिरहेका हङकङका नागरिक थिए।
उनीहरुमध्ये २५ प्रतिशतले मनस्थितिमा असन्तुलनको समस्या देखिएको बताएका थिए। त्यस्तै १८ प्रतिशतले डिप्रेसनको समस्या देखिएको बताएका थिए।
यद्यपि ६२ प्रतिशतले बेलायत आएपछि आफूहरुको मानसिक स्वास्थ्यसम्बन्धी समस्या कम भएको बताएका थिए।
हङकङका मानिसहरुले बेलायतमा आफूहरुले स्वतन्त्ररुपमा आफ्नो मानसिक स्वास्थ्यको विषयमा भन्न नसकेको बताएका थिए। केवल ६ प्रतिशतले मात्र यस विषयमा डाक्टरसँग सल्लाह गरेको बताएका थिए।
बेलायतले हङकङमा ल्याइएको राष्ट्रिय सुरक्षा कानुनको विरोधमा हङकङका नागरिकलाई नागरिकता दिन बीएन (ओ) भिसाको योजना अघि सारेको छ।
यो योजनाको लागि हङकङका ७४ लाखमध्ये ५४ लाखले आवेदन दिन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
प्रतिक्रिया