आइतबारदेखि हङकङमा यात्रुवाहक विमानको चालकदलका सदस्यले तीन दिन क्वारेन्टिनमा बसे पुग्ने भएको छ।
हङकङ सरकारले घोषणा गरेको नयाँ नियमअनुसार अहिले ७ देखि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउँदै अब तीन दिन क्वारेन्टिनमा बसे पुग्ने नियम ल्याइएको हो। यद्यपि त्यसपछि उनीहरुले ११ दिनसम्म मेडिकल परीक्षण भने गराउनुपर्ने हुन्छ।
कार्गो विमानका चालक दलका सदस्यलाई भने क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ। यद्यपि उनीहरुले १४ दिनसम्म मेडिकल निगरानीमा बस्नुपर्ने हुन्छ।
क्वारेन्टिन केन्द्रको बढ्दो मागलाई ध्यानमा राख्दै थप ९ वटा होटललाई क्वारेन्टिन केन्द्रको रुपमा परिणत गरिनेछ।
कार्गो विमानको चालकदलका सदस्यहरु सुरुवाती ७ दिनको मेडिकल परीक्षणमा स्वतन्त्ररुपमा हिँडडुल गर्न भने पाउनेछन्। यद्यपि उनीहरुले दैनिकरुपमा कोरोना परीक्षण गराउनुपर्ने हुन्छ भने सार्वजनिक स्थलमा अनिवार्यरुपमा मास्क लागाउनुपर्नेछ।
सरकारले चालकदलका सदस्यले आवश्यक नियम पालना नगरे उनीहरुलाई अहिले दिइएको छूट हटाउन सक्ने चेतावनी दिएको छ।
त्यस्तै आइतबारदेखि सबै एयरलाइन्स कम्पनीका विमान चालकदलका सदस्यले अनिवार्यरुपमा कोभिड–१९ को तीन डोज खोप लगाउनुपर्ने हुन्छ।
हङकङका एयरलाइन्स कम्पनीहरुले पनि सरकारले गरेको निर्णयको स्वागत गरेका छन्।
Shares
प्रतिक्रिया