पछिल्लो एक वर्षमा हङकङमा ४५ सय विद्यार्थी र एक हजार शिक्षकले विद्यालय छाडेका छन्। हङकङ एसोसिएसन अफ द हेड्स अफ सेकेण्डरी स्कुल्सले बुधबार सार्वजनिक गरेको सर्वेक्षणको नतिजाअनुसार हङकङका प्रत्येक माध्यमिक विद्यालयले औसतमा ३२ विद्यार्थी र सातजना शिक्षक गुमाएका छन्।
हङकङका १४० विद्यालयमा गरिएको सर्वेक्षणअनुसार १२ प्रतिशत प्रिन्सिपलले अब छिटै नै अवकाश लिने बताएका छन्। साथै १३ प्रतिशतले अबको तीन वर्षसम्म यो पेशामा रहनेमा आशंका व्यक्त गरेका छन्। एसोसिएसनले यति ठूलो संख्यामा विद्यार्थी तथा शिक्षकले विद्यालय छाड्नुलाई सामान्यरुपमा लिन नहुने बताएको छ।
सन् २०२०/२१ मा ४४६० विद्यार्थीले हङकङको विद्यालय छाडेका छन्। यसअघिका दुई वर्षमा २७ सय विद्यार्थीले विद्यालय छाड्दै आएका थिए। त्यतिबेला प्रत्येक विद्यालयबाट औसतमा २० विद्यार्थीले विद्यालय छाडेका थिए।
हङकङको विद्यालय छाडेकामध्ये ६० प्रतिशत विद्यार्थी मेनल्याण्ड चीन वा मकाउ बसाइँसराइ गरेर गएको एसोसिएसनले बताएको छ। यसले पछिल्लो समय हङकङको शिक्षा क्षेत्रको अवस्था कमजोर बन्दै गएको देखाएको भन्दै एसोसिएसनले चिन्ता व्यक्त गरेको छ। तल्लो तहका विद्यार्थीले विद्यालय छाड्ने क्रम झन् धेरै छ।
सन् २०२०/२१ मा हङकङका ९८७ शिक्षकले विद्यालय छाडेका थिए। अघिल्ला दुई वर्षमा क्रमश ५१७ र ४९८ शिक्षकले विद्यालय छाडेका थिए। बीचमै छाड्ने वा समयभन्दा पहिला नै अवकाश लिनेको संख्या पनि उल्लेख्यरुपमा बढेको छ।
गत वर्ष हङकङको नयाँ राष्ट्रिय सुरक्षा कानुनमा आपत्ति जनाउँदै क्यानडा र बेलायतसहितका केही पश्चिमा मुलुकले हङकङका नागरिकलाई भिसाको योजना अघि सारेका छन्। त्यसैले हङकङका केही मानिसहरु त्यतातर्फ पनि आकर्षित देखिएका छन्।
पछिल्लो समय हङकङको सामाजिक वातावरण र शिक्षा नीति र पाठ्यक्रममा गरिएको परिवर्तनको कारण विद्यालय छाड्नेको संख्या बढेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया