ad ad

म्यागेजिन


‘राजा’को पर्खाइमा मनमायाको दशैं

‘राजा’को पर्खाइमा मनमायाको दशैं

क्षितिज समर्पण
असोज २०, २०७६ सोमबार ६:४१,

‘थाहा छ बाबु, यो दशैंमा राजा आइसिन्छ रे!’

उनको मुहार साविकभन्दा चम्किलो देखियो। थोरै हाँसिन्। केही दिन अघिसम्म निला देखिने उनका दाँत आज अलि सेता भएका थिए।

थोरै लजाएजस्तो पनि गरिन्। उनको अनुहारको चमक नै बेग्लै!

परार साल पनि यस्तै भनेकी थिइन्, मनमायाले। पोहोर दशैंमा उनीसँग भेट भएन। म घर जाँदा उनी कतै निस्केकी हुँदिहुन्।

‘यो पटक दशैंमा आउने भनिस्याथ्यो तर, राजाको जरुरी काम परेछ। आइसेन’, पोहोर दशैंपछि भेट हुँदा यस्तो भनेकी थिइन्, उनले, ‘अब अर्काे साल आइसिन्छ रे!’

यस्ता थुप्रै दशैं पर्खाइमा बितेका छन्, मनमायाका। थुप्रै नयाँ वर्षहरू बितेका छन्, पर्खाइमा। थुप्रै हिउँद र वर्षा बितेका छन्। थुप्रै दिन बितेका छन्, थुप्रै रात बितेका छन्।

ओहो! यो पर्खाइमा! यो माया! यो विश्वास!

र, यसपालि पनि उनी पर्खाइमा छिन्। सायद, यो वर्षको दशैं पनि यत्तिकै जानेछ। फगत पर्खाइ न हो। जिन्दगीका थुप्रै वर्ष पर्खाइमा बितेका छन्, यस्तै फगत पर्खाइमा।

हरेक दशैंअघि सुनाउने उनको पर्खाइ र दशैंपछि सुनाउने ‘रेडिमेड’ जवाफसँग म तीन वर्षदेखि अभ्यस्त छु।

पुरानो कथाजस्तोे लाग्छ उनको पर्खाइ पनि।
...
भूइँतलाको सानो अँध्यारो कोठा। साँघुरो पनि उत्तिकै छ।

मनमायाको जिन्दगीजस्तै यो कोठामा उज्यालो छिरेको मैले कहिल्यै देखेको छुइनँ।

उज्यालो छिरोस्, पनि कसरी? पूर्वपट्टि झ्याल, ढोका केही पनि छैन। पश्चिमतिर उनको ढोकाभन्दा ठीकअगाडी ठूलो घर छ।

जसले मनमायाको कोठासम्म पस्ने उज्यालोलाई थुनेर राखेको छ। जस्तो– मनमायालाई आफ्नै पर्खाइले थुनेको छ, यो कोठामा ।

पश्चिमतर्फ भित्र–बाहिर गर्न एउटा होचो ढोका छ। झण्डै पौने ५ फिटकी उनी भित्र–बाहिर गर्दा निहुरिनुपर्छ । नत्र, उनको उचाइ ढोकाले घटाइदिनेछ।

कोठाको उत्तरतिर सानो आँखीझ्याल छ। आँखीझ्यालको तल्लोपट्टि दुईवटा खापा छन्। यिनै खापा र आँखीझ्यालाबाट मनमायाको कोठाभित्रको धुँवा बाहिर निस्किन झगडा गर्छ।

बाँसको बेलनाले फू..फू गर्दै धुवाँलाई बाहिर धकेल्छिन्, उनी ।

मैले धेरैचोटि देखेको छु, यस्ता दृश्य।

मनमायालाई यो साँघुरो कोठाबाट बाहिर निस्किन रहर छैन होला त यो धुँवाजस्तै?

‘फेरि निस्किएर जा भने बाबु। म कहाँ जाउँ तपाईं आफै भन्नुस् त!,’ मनमाया बेलाबेला मसँग यस्तो गुनासो पोख्छिन्।

तर, उनको गुनासो सम्बोधन गर्न सक्ने ल्याकत मसँग छैन। अझ भनौं, उनको गुनासो मसँग सम्बन्धित पनि छैन। मनको बह न हो। पोख्न पाउँदा हलुंगो हुँदो हो मन पनि।

थाहा छैन उनी के सम्झेर मलाई आफ्ना कुरा ‘श्यर’ गर्छिन्। कुरा गर्दागर्दै धेरैचोटि उनका आँखामा आँशु देखेको छु।

‘मेरा पनि छोराछोरी भएका भए तपाईंजत्रै हुन्थे होलान् बाबु’ यस्ता दुखेसा पोखेर मन हलुंगो बनाउन चाहान्थिन्, सायद।

आफ्ना दुःखका केही भारी बिसाउन पाँउदा उनी हलुंगी हुँदिहुन्। दुःखका भारी हस्तान्तरण गर्न नपाए पनि कमसेकम बिसाउने ठाउँ छ। मैले फुर्सद भएसम्म उनका कुरा सुन्ने गरेको छु। सायद, त्यही भएर पनि होला प्रत्येकचोटि केही न केही कुरा सुनाइरहन्छिन् ।

मेरो अफिस आउने-जाने बाटोकै छेउमा छ, उनको कोठा।

पहिलोपटक ३ वर्षअघि म यो अफिसमा सरुवा भएर आउँदा उनलाई देखेको थिएँ।

असरल्ल कपाल, गुजुमुज्ज परेको उनको धोती, एक छेउको तुना फाटेको मैलो चोलो। कपालका केही हाँगामा झुण्डिएको पुरानो डोरी। कुनै मीठो प्रतिक्षा गरिरहेका जस्ता देखिने गहिरा आँखा। र, फुंग उडेको अनुहार।

यस्तै भेटेको थिएँ, उनलाई।

‘बाबुसँग सलाई छ होला?’ मसँगको पहिलो संवाद थियो उनको, ‘आगो बालौं भनेको सलाई सक्या र’छ।’

मसँग सलाई थिएन। साथमा सलाई हुन अक्सर चुरोट हुनुपथ्र्याे। तर, मलाई चुरोटमा अम्मल थिएन। चुरोट नहुनेसँग संगत गर्न सलाईले त्यति रुचि पनि राख्दैन होला।

मैले आफूसँग सलाई छैन भनेपछि उनको अनुहार केही मलिन देखियो। सायद, मसँग सलाई छ भन्नेमा उनी विश्वस्त थिइन्। तर, उनको विश्वास एकछिन पनि टिकेन।

धन्न उनको जिन्दगीको विश्वास अहिलेसम्म टिकिरहेको छ!

‘आजै सकिएछ सलाई। पैसा पनि छैन। अब के गर्ने होला?’ निराशा मिसिएको सानो स्वरमा बोलिन् उनी।

उनको प्रश्नको जवाफ मैले पाँच रुपैयाँले दिएँ। त्यतिबेला मायाले भन्दा पनि दयाले त्यसो गरेको थिएँ।
...
कोठाबाट बेसरी धुँवाको मुस्लो निस्किरहेको थियो।

सोचें, मनमायाको कोठामा आगलागी भयो। दौडेर उनको कोठा पुग्दा उनी बेसरी आगो फुक्दै थिइन्।

भूइँ चिसो र निकै ओसिलो थियो। कोठाको एउटा कुनामा पुराना ओढ्ने–ओच्छ्याउने थिए। चुलोको नजिकै केही थान पुराना भाँडावर्तन। जोसँग मनमायाको जिन्दगी यहाँसम्म आइपुगेको थियो। अर्काे कुनामा पानी राख्ने सानो आल्युनियमको गाग्री थियो।

चुलोमा थोरै सल्लीपिर होलेकी थिइन्। केही थान साना झिँजा पनि थिए। सल्लिपिरको सहायताले झिँजा सल्काउने उनको सोच हुँदो हो। हेर्दै ओसिलो लाग्ने सल्लिपिर र झिँजा सितिमिति बल्ने सुरसारमा थिएनन्।

सोचें, झिँजाले पनि उनलाई टेरेनन्। झिँजाले पनि बल्न झिँजो माने।

उनलाई टेर्ने को छ र यहाँ? कैयौंपटक टोलका फटाहा बच्चाहरू आएर उनको ढोकामै पिसाब गर्दिन्छन्। कहिले कोठाभित्र पानी हु¥याइदिन्छन्। ‘लाटी’ भनेर जिस्क्याउँछन्।

उनलाई न्याय दिलाउने कसले? उनले कोसँग न्यायको आस गरुन्? वा, आफूमा परेको अन्यायको प्रतिकार गरुन्।

आगो फुक्दा फुक्दा मनमायाको आँखा रसाइसकेका थिए। नाकबाट सिंगान निस्किन खोज्दै थियो। अनुहार पिरो भइसकेको थियो।

उनको त्यो अवस्था देखेर केही भन्न सकिनँ। पर्सबाट एक सय रुपैयाँको नोट निकालेर उनको हातमा थमाइदिएँ– ‘आमा जानुस्, मट्टितेल किनेर ल्याउनुस्।’
...
मनमाया आफैंमा एउटा इतिहास हुन् जस्तो लाग्छ।

कति दुःख अटाएको होला, यिनको जीवनमा? कति आरोह–अवरोह होलान्, यिनको जिन्दगीमा? दुःखले मान्छेलाई इस्पात बनाउँछ भन्छन्। के मनमाया इस्पात बनिसकिन्? वा बन्दैछिन्?

सानैबाट उनलाई एउटा समस्या छ। उनी सुस्त मनस्थितिकी छन्। बोल्दा जिब्रो लरबरिन खोज्छ। र, उनको सबैभन्दा ठूलो कमजोरी भनेको अरूले जे भन्यो त्यही पत्याइदिन्छिन्। कसैले रातोलाई कालो भन्दियो भने पनि ‘ए हो र? मेरा आँखा कमजोर भएछन्, उसो भए’ भनेर चित्त बुझाउँछिन्।

मनमाया यस्तै १४ वर्षकी थिइन्।

गाउँबाट उनका बाले सदरमुकाम लिएर आए। सदरमुकामकै एकजना ठकुरीको घरमा कामदारका रूपमा राखेर बा गाउँ फर्किए। सदरमुकामका ठकुरी, त्यसमा पनि राजा खलकमा भएपछि शान नै बेग्लै। राजा साहेबको घरमा छोरीलाई काम गर्न राख्न पाउनु मनमायाका बाबुका लागि गर्वको कुरा हुँदो हो।

विडम्बना, उनका बाबु त्यसपछि कहिल्यै छोरीको खबर बुझ्न आएनन्। मनमायाले पनि कहिल्यै घर जान पाइनन्।

‘मैले आफ्नो घर कता हो भन्नेसम्म पनि बिर्सिएँ, कसरी जानु?’ मनमाया भन्छिन्।

मनमायाको मस्तिष्क मात्र सुस्त भएको हो। शरीर होइन। शरीर उमेरअनुसार बढ्दै गयो। जवानीका चिह्नहरू प्रस्टै देखिन थाले। बिस्तारै फक्रिँदै गइन्। र, एकदिन राजाका छोराले त्यसलाई बिटुलो बनाइदिए।

त्यही दिनदेखि मनमायाका पर्खाइका दिनगन्ती सुरु भएका हुन्। राजा साहेबका छोराले सुरुमा बिहे गर्छु भनेका थिए। मनमायाले सहजै पत्याइदिइन्।

राजाका छोराभित्र लुकेको कामवासनालाई उनले सोच्नै सकिनन्। पापको घैंटो देख्न सकिनन् । र, प्रतिकार गर्ने त झन् उनको ‘हैसियत’ नै पुग्थेन।

अहिले आएर पनि मनमायालाई राजाका छोराले गल्ती गरेका हुन् भन्ने लाग्दैन।

‘उहाँले त बिहे गर्छु भन्स्याथ्यो’, मनमाया ती दिन सम्झिन्छिन्, ‘बुवा हजुर र मुवा हजुरले नमानिसेर मात्र हो।’

उनी काम गर्न बसेको घर बिस्तारै रित्तियो। त्यसैगरी उनको जिन्दगी पनि रित्तियो। घर बूढो भयो, मनमाया पनि बूढी हुँदै गइन्।

राजाका परिवार बसाइँ सरेर सहर पसे। जानेबेला साना राजाले भनेका थिए, ‘म अर्काे साल आउँछु तँलाई लिन।’

त्यस्ता धेरै वर्ष बितिसकेका छन् तर, ‘अर्काे साल’ अहिलेसम्म आएको छैन। अहिले घरमा राजा खलकपट्टिका आफन्तहरू बस्छन्। मनमायालाई एउटा कोठा दिएका छन्।

त्यही कोठाबाट पनि निस्केर जा भन्छन्। बिचरा मनमायाको प्रश्न जायज छ। ‘म निस्केर कहाँ जाउँ?’

उनको भाग्यमै काम गर्न मात्रै लेखेको छ, सायद। बाँच्न भए पनि काम नगरी सुख छैन। उनी मर्न पनि सक्दिनन्। मर्न यसर्थ सक्दिनन्– उनलाई मर्ने सोच नै आउँदैन। अर्काे कुरा, उनलाई लाग्छ– राजा एकदिन फर्केर अवश्य आउनेछन्। र, उनलाई लिएर ठूलो सहर जानेछन्।

मनमाया कल्पिन्छिन्, सहरका ठूला घरहरू। गाडी–मोटरहरू। विडम्बना! मनमायाले अहिलेसम्म गाडी देखेकी छैनन्। यसकारण पनि उनका कल्पनामा गाडीका अनेक चित्र र स्वरूप आउँछन्। उनलाई कसैले भनिदिएको छ– गाडी यस्तो हुन्छ, उस्तो हुन्छ भनेर।

उनले त्यही आधारमा चित्र बनाएर राखेकी छन्, दिमागको कुनै कुनामा।

कहिले अरूको घरको माटो बोकिदिने, कहिले दाउरा बोकिदिनेजस्ता काम गरेर मनमाया बाँचिरहेकी छन्। कैयौंपटक विलासपुरको उकालोमा दाउराको भारी बोक्न नसकेर उनलाई रिंगटा लागेको छ। थाहा छैन, उनले यसरी कति दिनसम्म बाँच्नुपर्ने हो!

बेलाबेला छिमेकीहरू सुनाइदिन्छन्– ‘यो दसैंमा राजाको सवारी हुन्छ रे!’

ओहो! त्यसपछि मनमायामा खुसी सञ्चार हुन्छ। अगेनाबाट कोइला निकाल्छिन्। र, आफ्ना निला दाँत कोइलाले सफा गर्छिन्।

दाँत भाँचिएको काइँयोले कपालका लट्टा निफन्न थाल्छिन्। पुराना कपडा धोइपखाली गर्छिन् । उनलाई डर छ– राजा आए भने हपार्नेछन्, ‘मनमाया यो कस्तो

फोहोर गरेको? तिमी दाँत माझ्दिनौ? किन फोहोरी भएर बसेकी?’

राजा अब फर्किदैनन् भन्ने कुरा मनमाया पत्याउँदिनन्।

थाहा छैन, किन उनको पर्खाइ यति एकहोरो छ? उनलाई एउटा भोग्या वस्तुका रूपमा प्रयोग गरिएको थियो भन्ने कुरा किन बुझ्दिनन् मनमाया?

मनमायाजस्ता राजाका थुप्रै ‘मनमायाहरू’ थिए, जसलाई उनले भोगेका थिए। कतिबाट बच्चा पनि भएका थिए। धन्न मनमायाबाट चाँही भएनन्। जिल्ला छाडेसँगै राजाले उनीहरूलाई छाडेर हिँडेका थिए।

त्यतिबेलै पनि त राजाको बिहे भइसकेको थियो, जतिबेला उनी मनमायालाई भोग्थे। बिहे गरिसकेका मान्छेले ‘बिहे गर्छु’ भन्दा पनि पत्याइदिइन् उनले।

अनि, हरेक वर्ष राजा आउने खबर झूटो हो र, आउन भ्याएनन् भन्ने खबर पनि झूटो हो भन्ने कुराको हेक्का राखिनन्।

सायद, उनलाई सान्त्वना दिन होला, उनको लामो प्रतिक्षा देखेर होला, छिमेकीहरू हरेक दसैंअघि उनलाई भनिदिन्छन्– राजा यसपालि दशैंमा आउँदैछन् भनेर।

दशैंपछि उनीहरू नै खबर गर्छन्– ‘राजाको जरुरी काम प¥यो रे। अब अर्काे वर्ष आउने रे।’ र, यही ‘रे’ को डोरीमा विश्वासको गाँठो पार्छिन् मनमाया।
...
‘ए हो र? ल गज्जबै भयो नि उसो भए।’ उनको कुरा सुनेपछि मैले भनिदिएँ। अनि सोधें, ‘राजाले के ल्याइदिने रे आमा तपाईंलाई?’

‘खोइ एउटा रातो सारी ल्याइदिने भन्स्या छ रे’, थोरै लजाएजस्तो गरिन्, ‘अरू कुरा त उहाँ यता आएपछि किन्छु।’

बिचरी मनमाया! उनको यो खुसी बालुवाको घर हो भन्ने उनलाई थाहा छैन। यसपालि पनि उनको पर्खाइ निस्तो हुनेछ भन्ने उनलाई हेक्का छैन।

फर्किने बेला हजारको नोट उनको हातमा थमाउँदै भनें, ‘ल आमा राजाले ल्याएको मिठाईचाहिँ मलाई पनि चखाउनुपर्छ है!’

यसपालि दयाले होइन, मायाले नै पैसा दिएको हुँ।

बजारमा दशैंको चहलपहल निकै भइसकेको छ । किन्नेहरू किनिरहेका छन्। बेच्नेहरू बेचिरहेका छन्। घर जानुपर्ने गइरहेका छन्, आउनुपर्ने आइराखेकै छन्।

मेरो पनि अफिस बिदा भइसकेको छ। अब, दशैंपछि मात्र खुल्छ। दशैं बिदामा पढ्नुपर्छ भनेर केही थान किताब पनि ल्याएको छु। तर, किताबमा त्यति रुचि गएन।

घरीघरी मनमायाको अनुहार सम्झिन्छु। उनका आँखा सम्झिन्छु। उनको पर्खाइ सम्झिन्छु। र, दशैंपछि अफिस जाँदा मलाई भेट्नेबित्तिकै मनमायाले भन्ने ‘रेडिमेड’ कुरा सम्झिन्छु।

मनमायाका विषयमा एउटा कथा लेखौं कि जस्तो पनि लाग्छ। तर, कैयौंपटक ल्यापटप खोले पनि कथा कहाँबाट सुरु गर्ने भन्ने अन्र्तद्वन्द्वका कारण सकेको छुइनँ। फेसबुक पनि कति चलाउनु! तासप्रति त्यति रुचि छैन। त्यही भएर होला, गाउँमा खास साथीभाई पनि छैनन्।

दशैंको यो पाँच/सात दिनको बिदा पनि निकै लामो र पट्यारिलो लाग्छ। दशैं भनेकै जाँडरक्सी र तास हो भन्नेलाई त निकै छोटो लाग्दो हो। आफू त्यसमा परिएन। त्यसैले पनि होला पाँच/सात दिनको पर्खाइ पनि बहुत लम्बेतान लाग्छ।

अनि, मनमायालाई सम्झिन्छु- साँच्चै उनलाई वर्षौंदेखिको पर्खाइले अत्यास लाग्दैन होला?

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .