म्यागेजिन

Tata MotorsTata Motors

अनिल सिंहका ‘फ्यान’ : छातीमा ट्याटु खोप्नेदेखि सुनको औंठी दिनेसम्म

गायक अनिल सिंह। तस्विर साैजन्य: आर्यन बिमली


कृष्ण आचार्य
काठमाडौं, असोज १०

वि.सं. २०५९ देखि एक दशकसम्म अनिल सिंह चर्चाको शिखरमा रहे। नेपाली संगीतमा पप गीतको सुनौलो बिहानी बोकेर आएका उनलाई हजारौँ स्रोताले आफ्नो मन–मुटुमा राखे।

‘इन्जिन गाडीमा’, ‘डुब्न देउ मलाई तिम्रो केसमा’, ‘मैले जानी सकेँ’, ‘प्रेम पत्र’, ‘आई लभ यू’, ‘प्रेमिका’, ‘वील यू म्यारी मी’जस्ता उनका गीत सुपरहिट भए। कतिपयले उनलाई नेपाली ‘रक स्टार’को उपमासमेत दिए।

चर्चा चुलिँदै जाँदा उनका फ्यान फलोअर पनि बढ्दै गए। शुभचिन्तकका पत्रहरु घरसम्मै आउन थाले। ती पत्रहरु कति प्रेमका हुन्थे, कतिपय प्रेमले लेखिएका। त्यतिबेला उनी १७ वर्षका थिए अर्थात् टिएनएजर।

उनलाई सोही उमेर समूहका युवा–युवतीले पत्र पठाउँथे। धेरैजसो पत्र युवतीकै हुन्थे। पत्रहरुमा गीतबाट प्रभावित भएकोदेखि मनका अनेकन भावनाहरु पोखिएका हुन्थे।

‘कतिपयले त आफ्नो मनको भावनासहित कविताहरु पनि लेखेर पठाउनुहुन्थ्यो’ यतिबेला अनिल स्मरण गर्छन्, ‘प्रेमिल शब्दले भरिएका थुप्रै डायरी म कहाँ आइपुग्थे।’ दैनिक घरसम्म पत्रहरु आउँदा अनिललाई अचम्म लाग्थ्यो। कसरी यी पत्रहरुले घरको ठेगाना पत्ता लगाए होलान् भनेर।

उनले हजारभन्दा धेरै पत्र र डायरीहरु सुरक्षित राखेका थिए तर घर सरसफाई र डेकोरेसन परिवर्तनका क्रममा ती सबै गायब भए। अनिलको मानसपटल भने कतिपय पत्रहरु अझै जीवित छन्। केही पत्रको सम्झना उनको दिमागमा अझै धुमिल छ।

anil singh

पत्रले कोरेको त्यो गीत
०६३ सालतिरको कुरा हो। पूर्वतिरबाट एउटा डायरी आयो। डायरीमा मीठा शब्दमा कोरिएका कविताहरु थिए। कुनै युवतीले निकै प्रेमपूर्वक पठाएकी थिइन् त्यो डायरी। त्यसमा रहेको दुई लाईनले अनिलको मन छोयो। त्यसपछि त्यो लाईन टपक्क टिपेर गीतमा राखे।

आकाशमा लेखे तिम्रो नाम
हावाले आई उडाइदियो।

गीत सुपरहिट भयो। डायरी पठाउनेको फेरि कुनै पत्र आएन। ‘मैले उहाँको नाम कतै मेन्सन गर्नुपथ्र्यो त्यसो नगरेको पश्चाताप अहिले पनि लागिरहेको छ’ अनिलको मनमा अहिले पनि यो कुरा खेलिरहेको छ, ‘यसै कारण सायद उहाँ रिसाउनुभयो कि?’

मायाको पहिलो सौगात स्वरुप
हृदयको मेरो सानो अनुरोध
कोरेर मायाको दुई शब्द तिमीलाई
मेरो यो प्रेमपत्र।

अनिलको प्रेम पत्र बोलको यो हिट गीतको एक अंश हो। यो गीत लेखिनुमा पनि उनलाई आउने पत्रहरुकै प्रभाव छ। उनले गीतमा जसरी दुई शब्द कोरेर प्रेम पत्र पठाएको कुरा गरेका छन् त्यसैगरी उनलाई त्यस्ता खाले प्रेम पत्रहरु आउँथे।

अहिले उनलाई सबैको नाम त थाहा छैन तर केहीसँग भने अझै पनि बेलाबखत कहीँ कतै भेट भइरहन्छ। ती मध्ये एक युवती अहिले नायिका बनेकी छन्। उनले कुनै बेला अनिललाई नियमित प्रेम पत्र कोर्ने गर्थिन्। प्रेम प्रस्ताव मात्र होइन उनले भेटेरै जीवनसाथी बन्ने प्रस्ताव समेत राखेकी थिइन्। अहिले ती नायिकासँग अनिलको कहिले कहीँ सार्वजनिक कार्यक्रमहरुमा भेट हुन्छ। उनलाई देखे अनिल लाजले भागिहाल्छन्। ‘उहाँले देख्नुभन्दा अगाडि म आफैँ भागिदिन्छु’, लामो हाँसोपछि उनी भन्छन्, ‘उहाँले देख्नुभयो भएन मलाई पत्तो हुँदैन।।’ सायद उनी पनि अनिललाई देखेर यसैगरी भाग्छिन् कि?

उनलाई धेरै पत्र पठाउने मध्ये सर्लाहीकी एक रेडियो कार्यक्रम संचालिका थिइन्। यो २०६३ सालको कुरा हो। रेडियोमा अनिलको गीत बजाउने उनी सल्लाह–सुझावसहित अनिललाई हौसला प्रदान गर्ने पत्रहरु पठाउँथिन्। केही वर्षसम्म उनले निरन्तर पत्र पठाइन्।

‘उनका कतिपय पत्रहरु प्रेमपत्र मात्र नभएर प्रेरणा जगाउने खालका पत्रहरु पनि हुन्थे’ अनिल भन्छन्, ‘२०६४ सालमा मेरो विवाह श्रीयासँग भएपछि ती पत्रहरु मैलेभन्दा बढी उनले पढ्न थालिन्।’

anil singh1

लाजले भूमिगत
अनिल काठमाडौंका रैथाने हुन्। डिल्लीबजारमा उनको घर छ। यो त्यतिबेलाको कुरा जति बेला उनको ‘प्रेम पत्र’ र ‘आई लभ यू’ गीत भर्खर आएको थियो। युवाबीच उनी चर्चित थिए। किशोर–किशोरीमा उनलाई हेर्ने, भेट्ने चाह हुनै नै भयो।

त्यतिबेला स्कुल, कलेजमा पढ्ने किशोर–किशोरी समूह बनाएर अनिलको घरसम्म आउँथे। उनीसँग अटोग्राफ लिनेहरुको भिड हुन्थ्यो। कहिलै कहीँ उनी त्यो भिड सामना गर्न सक्दैनथे। अनि कैयौँ दिनसम्म होटलमा कोठा लिएर बस्थे।

‘त्यतिबेला भर्खर म १७–१८ वर्षको थिएँ। एक्कासि यी सबै कुरालाई फेस गर्न गाह्रो भयो। आफ्नै उमेरकाह सँग भेट्न लाज पनि लाग्थ्यो। कति दिन त म होटलमा कोठा लिएर पनि बसेँ’, उनी सम्झिन्छन्।
अनिलको घरमा ल्यान्डलाइन फोन थियो। प्रायः फोनको घन्टी बजिरहेकै हुन्थ्यो। ती मध्ये लगभग सबै फोन अनिलकै लागि आएका हुन्थे। तर उनले कहिल्यै फोन उठाएनन्। अनिलका बुबा फोन उठाएर हैरान हुन्थे। ‘उहाँहरुले धेरै प्रश्न गर्नुहुँदोरहेछ बुबाले अनिल घरमा छैन भनेर फोन राखिदिनु हुँदोरहेछ’ उनी ती फोन कलबारे भन्छन्, ‘फोन उठाउँदा–उठाउँदा दिक्क भएर एक दिन त लाइन नै काटिदिन्छु समेत भन्नुभयो।’

कतिपय अनिलको घरअगाडि राति अबेरसम्म पनि बस्थे। त्यसपछि अनिलकी आमालेसम्झाउँथिन्– केटीहरु घण्टौंसम्म यहाँ बसेर तँलाई कुरिरहेका छन्। तैंले हेल्लो–हाईसम्म भए पनि भनिदिनुपर्छ।

अनिल शान्त स्वभावका छन्। धेरै बोल्न नरुचाउने। सितिमिति कसैसँग नखुल्ने। रिजर्भ बस्ने। यो स्वभावले उनलाई सधैँ फ्यानहरुबाट टाढा गरायो। पछि मोबाइल बोक्न थालेपछि उनको मोबाइलको घन्टी बजेकै बज्यै गर्न थाल्यो। फ्यानहरुले कसरी नम्बर थाहा पाउँछन् भनेर अनिल छक्क पर्थे। जति नम्बर परिवर्तन गरे पनि फोन आइहाल्थ्यो। फोनमा फ्यानहरुले के भन्थे नि ?

‘भेटौं, चिया खाउ, घुम्न जाऊँ भन्ने किसिमको हुन्थ्यो। कसै कसैले प्रेमको कुरा पनि गर्थे। गाह्रो भएर मैले २४ वटा सिमकार्ड फेरेँ।’

anil singh2

छातीमा ट्याटु
विदेशमा पनि अनिलका फ्यान उत्तिकै थिए। एक पटक उनी सांगीतिक कार्यक्रमको सिलसिलामा लन्डन गएका थिए। १० दिनको अवधिमा अनिलका तीन प्रस्तुति थिए। ती सबै कार्यक्रममा भारतीय एउटा समूहले अनिललाई फलो गर्यो। यो ०६२–६३ सालतिरको कुरा हो।

पहिलो दिनको कार्यक्रममा आएर गीत सुनेका उनीहरु अनिलको फ्यान बनेछन्। उनलाई भेटेरै गीतको तारिफ गरे। एक जनाले त अनिललाई लन्डनमै बस्न अनेक आग्रहसमेत गरे। उनको नामको ट्याटु खोपेका अनुहारलाई उनी कसरी माया मार्न सक्थे। केही युवतीहरुले अनिलको नाम र केहीले फोटो भएको ट्याटु छातिमा खापेको उनले देखेका छन्।

अहिले पनि म्यासेन्जरमा उनलाई ट्याटु खोपेको फोटोहरु आउँछन्। यो जमातमा युवतीहरु मात्र होइन, युवाहरु पनि उत्तिकै छन्।

‘मैले बिहे गरेपछि तपाईंहरुलाई गाह्रो हुन्छ नि भनेर केही युवतीलाई भनेको पनि थिएँ’ उत्साही हुँदै अनिल भन्छन्, ‘उहाँहरुले यो हामीले तपाईलाई गरेको माया हो र हामी यो माया जीवनभर राख्न चाहन्छौँ भन्ने खालका उत्तर दिनुभयो।’

प्रेमीको हातको औँठी अनिललाई
अनिललाई फ्यानबाट आउने उपहारको संख्या पनि अनगिन्ती छन्। गिटार त यति धेरै आए कि राख्ने ठाउँ नभएर उनले संगीतप्रति गहिरो रुची भएका साथीहरुलाई दिए।

५ वर्षअघि उनी सांगीतिक कार्यक्रमका लागि हङकङ गएका थिए। उनलाई भेट्न एउटा प्रेम जोडी आयो। जोडीले उनलाई घुमाउन लगे। घुमघाम चलिरहेकै थियो। प्रेमिकाले आफ्नो प्रेमीको औँलामा रहेको सुनको औँठी निकालेर अनिलको औँलामा लगाइदिइन्।

अनिल छक्क परे। के गर्ने, के नगर्ने। के भन्ने होला भनेर सोच्नै सकेनन्। डराए पनि। प्रेमीले प्रेमिकालाई केही भन्ने त होइनन् भनेर। किन कि प्रेमी पनि त्यो घटना देखेर अनिलजस्तै छक्क परेका थिए।

‘तर मैले सोचेजस्तो केही भएन। हि वाज सो कुल म्यान’ अनिल मुस्कुराउँछन्, ‘प्रेमी पनि खुसी हुनुभयो। उहाँहरुको कस्तो मीठो प्रेम। मप्रति पनि अनि एक अर्काप्रति पनि।’

anil singh3

धरानको त्यो क्रेज
अनिल जब स्टेज कार्यक्रम लिएर नेपालका विभिन्न ठाउँमा पुग्थे तब त्यहाँको अवस्था साम्य पार्न प्रहरीलाई हम्मे–हम्मे पथ्र्यो। उनले स्टेजमा गीत गाइरहँदा आवेगमा आएर स्टेजमै चढ्नेहरु मात्र होइन उनीसँग सेल्फी खिच्न र अटोग्राफ लिन चाहनेहरुको भिड उत्तिकै हुन्थ्यो।

२०६७ सालतिरको कुरा हो। काठमाडौं, धरान र पोखरामा सांगीतिक कार्यक्रम थियो। बलिउड कलाकार राखी सावन्त कार्यक्रममा सहभागी थिइन्। नेपालबाट अनिलको पनि प्रस्तुति थियो।

धेरैले अनुमान गरेका थिए राखीसामू अनिल फिक्का हुनेभए। तर सोचेभन्दा फरक भयो। धरानमा त झन् अनिलकै हाईहाई बढी भयो। नेपाली कलाकारप्रतिको प्रेम देखेर राखी सावन्त स्वयं दंग परिन्।

कार्यक्रममा अनिललाई छुन, उनीसँग सेल्फी खिच्न र अटोग्राफ लिन चाहनेहरुको भिड थाम्न प्रहरीलाई गाह्रो भयो। युवा–युवती दुवैले उनलाई घेरे।

आफ्नो गीतमा दर्शक तथा स्रोताको उत्साह देखेर अनिल दंग परे। ‘जीवनको सबैभन्दा ठूलो कमाई सायद यही होला’ अनिल भन्छन्, ‘दर्शक–स्रोताको यस्तै मायाले आज पनि मलाई संगीतमा जीवित राखेको छ।’

ती दुई युवती
अनिलले आफ्नो जीवनमा भुल्न नसक्ने दुई युवती फ्यान छन्। एक जना डाक्टर र अर्की बिजनेशउमन। दुवै विदेश बस्छन्– अष्ट्रेलिया र लन्डन। दुवै अनिलका डाईहर्ट फ्यान थिए। अनिलका लागि मरिहत्ते गर्थे।

यतिसम्म कि बिहे गरेर उतै बस्ने प्रस्तावसमेत उनीहरुले गरेका थिए। कहिले कहीँ अनिल उनीहरुको प्रेममा भड्किन्थे। सोच्थे– बिहे गरेर म पनि उतै बसौँ कि क्या हो। लाईफ सेट हुन्छ।

‘फेरि म आफूलाई सम्हाल्थेँ’ अनिल त्यो पल सम्झन्छन्, ‘कहिल्यै औपचारिक रुपमा आमने–सामने भएर भावना साटासाट नगरेको मानिससँग कसरी जीवन चलाउने भन्ने लाग्थ्यो अनि पछि हट्थेँ।’

बिहे गरेपछि देश छाड्नुपर्छ भन्ने कुराले पनि अनिल झस्कन्थे। ती दुई युवतीबाहेक आफूलाई सयको हाराहारीमा विदेशमा रहेका नेपाली युवतीले बिहेको प्रस्ताव राखेको अनिल बताउँछन्। तर ती दुई युवती जति तारन्तार अरु लागि परेनन्। किन कि यस्ता प्रस्तावहरु प्रायः उनी विदेश गएका बेला आउँथ्यो।

अनिलले फर्काएनन् जवाफ
अनिलले कार्यक्रमका क्रममा नेपालमा होस् या विदेश जाँदा थुप्रै फ्यानको माया पाएका छन्। उनीहरुसँग आफ्ना भावना साटेका छन्। प्रेम गर्छु भन्नेहरुसामू मौन बसेर मुस्कुराइदिएका छन्। तर कहिल्यै कसैको चित्त दुखाएका छैनन्।

बरु उनले प्रेमले पत्र लेख्नेहरुलाई कहिल्यै पत्रको जवाफ फर्काएनन्। ‘हरेकलाई जवाफ फर्काउन सम्भव थिएन। केहीलाई मात्र पठाउँ भने सबै पत्र मेरा लागि उत्तिकै महत्वपूर्ण थिए’ अनिल भन्छन्, ‘पत्र पठाउन नपाएकोमा पश्चाताप भने छ।’

anil singh4

फ्यान सबै समान भए पनि कतिपय पत्र र ब्यक्तित्वले भने अनिललाई विशेष प्रभाव पारेको छ। कतिपय पत्रहरु मनसम्म छुने खालका हुन्थे। उनलाई तरंगित बनाइदिन्थे। 

कतिपय ब्यक्तिहरु यसरी प्रस्तुत हुन्थे कि मानौँ उनीहरु अनिलबिना अपूर्ण छन्। उनलाई कैयौँ पटक त हो जस्तो पनि लाग्थ्यो तर उनी अफूलाई रोक्थे।

अहिले मेसेज, पहिले पत्र
अनिलकी एक जना फ्यान छिन्। जो आफू कक्षा ६ मा पढ्दादेखि नै उनलाई फलो गर्थिन्। अहिले उनी ब्याचलर पढ्छिन्। तर उनले अझैसम्म अनिललाई पछ्याइरहेकी छन्।

उनी अनिलसँग प्रेमभन्दा पनि निकटता चाहिन्थन्। अनिलले उनलाई पढ्न हौसला दिन्थे, जीवनका विविध आयामबारे सिकाउँथे। गायक र फ्यानबीचको सुमधुर सम्बन्धको उदाहरणका रुपमा उनीहरु झन्डै १५ वर्षदेखि चिनजानमा छन्।

पढाईको सिलसिलामा प्रविना नाम गरेकी ती युवती अहिले अष्ट्रेलिया पुगेकी छन्।

६–७ कक्षा पढ्दा अनिलको गीत सुन्नेहरु अहिले पनि उनलाई मेसेन्जरमा सम्झन्छन्, ‘म तपाईंको डाईहर्ट फ्यान हुँ’ भन्दै। कतिपयले आफूले त्यतिबेला पत्र पठाएका कुरा पनि गर्छन्।

अनिल अहिले विगतमा आफू फ्यानहरुबाट भागेकोप्रति दुखी छन्। त्यसैले अहिले सकेसम्म मेसेज रिप्लाई गर्छन्, बोल्न चाहनेहरुसँग मज्जाले बोलिदिन्छन्। मुड चले कसैसँग कफी पनि पिइदिन्छन्।
‘मेरो गीत सुनेर मात्र मलाई प्रेम प्रस्ताव आउँदो रहेनछ’ अनिल हाँस्छन्, ‘मेरो गीत गाएर वा आफूलाई मन परेको मान्छेलाई लेखेर पनि प्रेम प्रस्ताव राख्नेहरु उत्तिकै हुनुहुँदोरहेछ। खुसी लाग्छ।’

असोज १०, २०७६, शुक्रबार

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors