ad ad

म्यागेजिन


कमरेड त झनै लाल हुनुभएछ!

कमरेड त झनै लाल हुनुभएछ!

सुवास मल्ल
भदौ २८, २०७६ शनिबार १३:१,

 धेरैले सुनाएका थिए
सहर झर्ने बेला मलाई
हाम्रा गाउँले कमरेड अब कमरेड रहेनन्
फिका भइसके, कम—रेड भइसके
आज प्रत्यक्ष देखेर भन्दैछुः
त्यो भनाई गलत रहेछ
कमरेड त झनै लाल हुनुभएछ ।

दश वर्ष अगाडि
सहर पस्ने बेलामा
चाउरी परिसकेका गालाहरु
हुम्ली स्याउभन्दा राता भएका छन्
रेडक्रसले भूकम्पमा दिएको
रातो जस्तापाता र रातो पालको कृपाले
ठडिएको हो कमरेडको रातो महल
रातै आइफोनबाट हेर्दे हुनुहुन्छ कमरेड
हिजो मात्र युट्युबमा दिएको
भिडियो अन्तर्वार्ताको रेस्पोन्स
उहाँलाई टीभीभन्दा युट्युब नै मनपर्छ
किनकि युट्युबको ब्रान्ड कलर पनि त रातो छ।

रातै सारी ढल्काउँदै आइपुगिन् कमरेडनी
रातै चोलीमा सजिएकी छन् माता कमरेड पनि
कमरेडका उत्तराधिकारी पुत्र
पढिसिन्छ रातो बंगलामा
अनि मन पर्छ कमरेड पुत्रीलाई पनि
रातै मिनीस्कर्ट

कमरेड रातो चियाबाट
रेड लेबलमा सर्नुभएको मात्र रहेछ
माता कमरेडले त झन्
मोहीबाट कोकाकोलामा छलाङ मारिसक्नुभएछ
कमरेडनीको पनि प्रिय रहेछ
रेड स्विट वाइन
कमरेड पुत्रको प्रिय हो रेडबुल
अनि कमरेड पुत्रीको पनि पहिलो रोजाइ हो
रातै बोर्डमा नेपाल छिरेका
केएफसी र म्याकडोनाल्ड्स।

कमरेडको दराजबाट रातो किताब हराएर के भो?
टन्नै छन् कमरेडको दराजभरी
रातै खोल भएको अलि दुब्लो खालको
लालपुर्जा भन्ने पुस्तक
रातो सुटमा ठाँटिएर
रातो नम्बर प्लेट झुण्डिएको
रातै गाडीमा सवार भई
रातो कार्पेटमा पाइला चाल्दै
जब स्टेजमा भाषण गर्न थाल्छन् कमरेड
बिर्सनन् कहीँकतै रेड लाइट एरियाको बारेमा बोल्न।

बिर्सेका छैनन् कमरेडले हाम्रो घरको रातो माटो
अफसोच, उनीसँग भएको रातो पासपोर्टमा
अहिले गाउँको भिसा अटाएन र मात्रै,
चुनाव घोषण भएपछि अवश्यै आउनेछन् कमरेड
निधारभरी रातै अबिर पोतेर
रातै हेलिकप्टरमा सवार भएर
उही रातो झण्डा बोकेर
हाम्रो रक्तिम इतिहासको बयान गाउन।

कमरेड कहाँ फिका भएका छन् र?
झनै रातो भइरहेका छन् दिन प्रतिदिन
उनी मात्रै हैन,
पुरै परिवारै लाल भइरहेछ रकेट गतिमा।

तर, कमरेड सोधुँ कि नसोधुँ
लामाे समयदेखि नै एउटा प्रश्न
खेलिरहेको छ यो मनमा
यहाँलाई रेड लेबलको स्वाद
मीठो लाग्यो कि
हाम्रो रातो रगतको?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .