ad ad

म्यागेजिन


भादगाउँ आक्रमणको वास्तविकता बुझाउने कृति

भादगाउँ आक्रमणको वास्तविकता बुझाउने कृति

नीरज लवजू
भदौ २१, २०७६ शनिबार ८:१०,

गोरखाका राजा पृथ्वीनारायण शाहले वि.स. १८२५ असोज १३ गते काठमाडौं उपत्यकाका तीन मल्ल राज्यमध्ये कान्तिपुरमाथि कब्जा जमाए। निकै अघिदेखि आक्रमणको पूर्वतयारी गरिरहेका गोर्खालीहरूले इन्द्रजात्रामा निमग्न कान्तिपुरमाथि सजिलै कब्जा जमाउन सके। त्यसपछिको एघारौं दिन पाटनमाथि पनि गोर्खालीहरूले कब्जा जमाए। कब्जा जमाउनुअघि नै एक पटक पृथ्वीनारायण शाहका भाइ दलमर्दन शाह राजा भइसकेको पाटनमा त्यहाँका प्रधान र राजाबीचको अन्र्तविरोधको फाइदा उठाएर गोर्खालीहरूले सजिलै कब्जा जमाए। कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भागेर भादगाउँ पुगे। त्यसपछि भादगाउँमा के भयो?

भादगाउँ हमला गर्ने क्रममा गोर्खा सेनाले ठूलो परिमाणमा पुस्तक र कृतिमाथि आगो लगाई सखाप पारेको इतिहास छ। आजभोलि साकोठा नामले चिनिएको त्यतिबेलाको ‘सफु कुथी’ मल्लकालिन भादगाउँको पुस्तकालय भएको इतिहासकारहरू बताउँछन्। गोर्खालीहरूले पुस्तक र पुस्तकालयको महत्व नबुझेर मात्र यसरी पुस्तकालयमा आगो लगाएका थिएनन्, पुस्तकालयसँगै भादगाउँको सभ्यता र संस्कृति नै सखाप पार्ने उद्देश्यले त्यस्तो ध्वंस गरिएको हुनुपर्छ। कदाचित त्यो पुस्तकालय आजसम्म पनि जोगिएको भए इतिहासमा निकै समृद्ध र सभ्यताको गति लिइसकेको काठमाडौँ उपत्यकाको सांस्कृतिक वैभव र सभ्यताको उचाइबारे आजको समाजलाई अझ धेरै कुरा थाहा हुने थियो। निसन्देह त्यो ज्ञानले कुनै सीमित ठाऊँका मानिसको मात्र सेवा हुने थिएन, युगको सेवा हुने थियो।

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकाका तीनै राज्यमाथि कब्जा गर्नुअघि नै तीनै राज्यका जनताले निकै कष्टपूर्ण जीवन भोग्नुपरेको थियो। लामो समयदेखि कडा खालको नाकाबन्दीको सामना उपत्यकाले भोगिरहेको थियो। तीन राज्यका दरबारबीच र भित्र फुट र विग्रह ल्याउने, राज्यका मुख्य–मुख्य अधिकारीहरू हातमा लिने, गुप्तचरीको जालो बिछाउने, चारैतिरका काँठ क्षेत्रमा आफ्नो सेना र गुप्तचर तैनाथ गर्ने आदि काम गोर्खा राजाले गरिसकेका थिए। लामो समयदेखि उपत्यका कब्जा गर्ने गोर्खाली राजाको इच्छा पूरा भएको अवस्थामा स्वभावतः गोर्खालीहरूको उन्माद त्यसै पनि बढेको थियो। जनतामाथि गोर्खा फौजको अत्याचार निकै बढेको थियो। त्यस्तो अवस्थामा गोर्खा राजाले काठमाडौँ उपत्यकाका तीन राज्यमाथि गरेको हमलाबारे कसैले लेख्नु पनि ठूलो साहसको विषय थियो। त्यसै पनि पढेलेखेका मानिसको संख्या औंला भाँच्न पनि नपुग्ने समयमा यसप्रकार इतिहासचेत राखी तत्कालिन घटनाक्रमबारे लेख्नु दुरदर्शिता मान्नुपर्छ। त्यस्तै दूरदर्शिता देखाएका पात्र हुन्– गरुडनारायण गोंगल।

इतिहास पढ्दा हामीलाई राजा, महाराजा, राजकुमार, भारदार र महारानीहरूको नाम सुन्ने र पढ्ने बानी परिसकेको छ। तर, गरुडनारायण कुनै राजपरिवारका सदस्य थिएनन्। उनी भादगाउँका अन्तिम राजा रणजीत मल्लका सेवक थिए। उनको पुर्खाले राजा यक्ष मल्लदेखि नै भक्तपुरको दरबारको सेवा गर्दै आएको कारण उनलाई सर्वसाधारण पनि भनिहाल्न सकिन्न। भारतको मेवाडबाट यक्ष मल्लका पालामा भादगाऊँ आएका रजपुत गणपतिसिंह राठौरका सन्तति थिए उनी। कान्तिपुर र पाटनमाथि कब्जाको झन्डै १३–१४ महिनापछि भादगाउँमाथि गोर्खालीले हमला गरे। उनीहरूले हमलाअघि भक्तपुरमाथि पनि कान्तिपुरमा जस्तै कडा नाकाबन्दी थोपरिसकेका थिए।

भादगाउँमा वि.सं. १८२६ मंसिर १ गतेभन्दा तीन दिनअघि हमला सुरु भएको थियो। हमलाको तेस्रो दिन राजा रणजीत मल्लले आत्मसमर्पण गरेका थिए। भादगाउँमा गोर्खाली फौजले हमला गर्दा के भएको थियो भन्ने कुराको वृत्तान्त हमला भएको झन्डै २० वर्षपछि सबै घटनाका प्रत्यक्षदर्शी गरुडनारायणले लेखेका थिए। त्यही लेखौटलाई जगदम्बा प्रकाशनले सानो पुस्तकाकार दिई ‘भक्तपुरमा गोर्खाली हमलाः गरुडनारायण गोंगलको सम्झना’ शीर्षकमा प्रकाशन गरेको छ। गरुडनारायणले २२६ वर्षअघि लेखेको सो संस्मरणलाई आज ग्रन्थको रुप देविचन्द्र श्रेष्ठले दिएका छन्।

गरुडनारायणले जम्मा २१० वटा पंक्तिमा तत्कालीन घटनाक्रमको व्याख्या गरेका छन्। कान्तिपुरका राजा जयप्रकाश मल्ल पाटनबाट आफ्ना केही विश्वाशिला सहयोगीसहित तेखाचो ढोका (हालको भार्वाचो ध्वाखा) बाट भादगाऊँ आई दत्तात्रयको मठमा बसेको प्रसंगदेखि ७५ वर्षका बुढा भादगाऊँका राजा रणजीत मल्लको काशी प्रस्थान र निधनसम्मको समय परिधिलाई लेखकले आफ्नो संस्मरणमा समावेश गरेका छन्।

कान्तिपुरका राजा जयप्रकाश मल्ल शरणका लागि भादगाऊँ आएपछि उनलाई शरण दिने वा नदिने विषयमा भादगाउँको राजसभाले मात्र निक्र्योल गर्न नसकेपछि त्यतिबेला स्थानीय एकाईका रुपमा रहेका २४ वटा टोलका जनतासँग पनि परामर्श गरेको प्रसंगले आजसम्म पनि प्रबल भक्तपुरको जनमतमा आधारित सामाजिक प्रणालीको जग पहिल्याउन मद्दत मिल्छ। जयप्रकाश मल्लले भादगाउँलाई दिएको दुःख सबै भुलेर भादगाउँका जनताले गोर्खाली हमलाबाट जोगिन भागेका राजालाई शरण दिनु आफ्नो धर्म मानी आफ्नो राज्यसमेत दाउँमा राखी शरण दिने निर्णयमा पुगेको संस्मरण पढ्दा बुझिन्छ। \

गोर्खाली हमला हुँदा लेखक राजदरबारभित्रै थिए। त्यसकारण उनले दरबारका कुन–कुन चोकमा कति मानिस मारिए भन्नेसम्मको आँकडा आफ्नो संस्मरणमा लेखेका छन्। भादगाऊँको राजदरबारभित्रको एउटा होचो ठाऊँको कोठामा तीनै जना मल्ल राजा बसिरहेको र सुरक्षाका लागि उँचो स्थानमा जान खोज्दा जयप्रकाश मल्लको खुट्टामा गोली लागि भुईमा पछारिएको, चारैतिरका छाना छानाबाट गोर्खा फौजले गोली हानी रहेपछि अन्ततः रणजीत मल्लले आफ्नो पगरी सानो झ्यालबाट बाहिर निकाली आत्मसमर्पण गरेको आदि घटनाक्रमको उनले व्याख्या गरेका छन्। रणजीत मल्लको आदेश मानी राजकुमार (धनजुजु) निवासको कौसीबाट हमलाकारी कहाँ–कहाँ छन् भनी हेर्न जाँदा लेखककै काकाको हत्या भएको प्रसंग चर्चा गरिएको छ ।

रणजीत मल्ललाई पृथ्वीनारायण शाहले अन्तिम चाहना सोध्दाको वार्तालापको वर्णनले गरुडनारायणको लेखन शैलीको रोचकता उजागर गरेको छ। पृथ्वीनारायणले रणजीत मल्ललाई उपत्यकाका तीन राज्यबाहेक वरपरका कुनै पनि गाउँमा बस्न आग्रह गरेका थिए। तर, ७५ वर्षका राजा रणजीतले आफ्ना तीन रानीमध्ये कान्छीलाई लिएर काशीवास जाने इच्छा गर्छन्। उनले गरुडनारायणलाई पनि साथै लिएर जान खोजेका थिए। राजासँगै काशी जान उनी कान्तिपुर पुगिसकेका थिए। आफ्ना पितालाई बिदाई गर्न कान्तिपुर पुगेका रणजीतका माइला छोरा अच्युतको त्यही क्रममा निधन हुँदा मसानमा उनको अन्तिम संस्कारको क्रममा बेहोश हुँदा गरुडनारायण राजासँग काशी जान पाएनन्। भादगाउँमाथि हमला हुँदा लेखक दरबारभित्रै रहेकाले उनले दरबारबाहिर समाजमा के कस्तो प्रतिरोध वा दमन भएको थियो भन्नेबारे केही लेखेका छैनन्। तर, इतिहासका अन्य पुस्तकमा भादगाउँमा जनस्तरबाट गोर्खाली फौजको प्रतिरोध भएको उल्लेख छ। पाटनका राजा तेजनरसिंह मल्लको नियतिबारे लेखक मौन छन्।

यो संस्मरण लेख्दा गरुडनारायण ३५ वर्षको हुनुपर्ने ग्रन्थकार देविचन्द्र श्रेष्ठको बुझाई छ। घटना घटेको २० वर्षपछि मात्र उनले सो लेखोट तयार गरेका थिए। अर्थात घटना घट्दा उनी १५ वर्षका थिए। उनले यो कृति लेख्दा नेपालमा बहादुर शाहको नायबी शासन चलिरहेको थियो।

पृथ्वीनारायण शाहबारे भक्ति र चाकडी मनोभावमा आधारित भएर लेखिएका कृतिको कमी छैन। ललितावल्लभदेखि बाबुराम आचार्यसम्मका त्यस्ता कृति भक्तिरस व्याप्त हुँदा वास्तविकता ओझेल पनि परेका छन्। इतिहास बनेर बाँचेका गरुडनारायणजस्ताका यस्ता लेखनीले भक्तिरसको पर्दालाई पन्छाएर सही इतिहास सतहमा ल्याउन मद्दत गर्छ। ९० पृष्ठको यो कृतिले मल्लकालीन इतिहासको एउटा निकै गम्भीर समयावधि र समाजबारे बुझ्न मद्दत पु¥याउनेमा कुनै द्विविधा छैन। समयान्तरमा अझै पनि अरु यस्ता विश्वसनीय इतिहासका खजाना भेटिंदै जाने आशा गरौं। अनि इतिहासमा लागेका पूर्वाग्रहका अ–इतिहासहरू मेटिंदै जानेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .