ad ad

म्यागेजिन


‘गुलाबी उमेर’ अर्थात् किशोरी बैंसको कथा

‘गुलाबी उमेर’ अर्थात् किशोरी बैंसको कथा

कृष्ण आचार्य
भदौ २०, २०७६ शुक्रबार १०:५६,

अमर न्यौपाने किशोर–किशोरीलाई किताबका कुरा पढाउँथे। उनले पढाउने कुरा उनका थिएनन्। उनी धाराको पाइप थिए, पानी अर्कै स्रोतको थियो। अर्थात, उनले पढाउने कुरा कसैद्वारा लेखिएका थिए।

अमरले विद्यार्थीलाई किताबका कुरा सिकाए। बदलामा उनले उनीहरुसँग जीवनका कुरा सिक्न पाए। उनीहरुले सिकाउँछु नभनेरै, अमरले सिक्छु नभनेरै।

अमरलाई लाग्छ किशोर–किशोरीको जीवन ‘अर्गानिक’ हुन्छ। त्यहाँ विषादि वा हानिकारक चिज हालिसकिएको हुँदैन। अर्थात, काँचा जीवनका अनुभवहरु पनि काँचा हुन्छन्। तर, बुद्धिले नजितेका अनुभवहरु सत्य हुन्छन्।

जब बुद्धिले जित्दै जान्छ तब मानिस जीवनमा आफूलाई सभ्य, राम्रो, बौद्धिक, सम्पन्न देखाउन खोज्छ। तर, किशोर–किशोरीको उमेर तरल हुन्छ। पानीजस्तै।

amar 6

अमरले आफ्ना विद्यार्थीलाई पढाउँदा यी कुरा जान्ने–बुझ्ने अवसर पाए। विद्यार्थीका कथा धेरै सुनेर आफू कम बोले। उनीहरुको कथाले अमरको मनमा एउटा तरंग ल्यायो।

उनले आफ्ना विद्यार्थीका अनुभव र कथालाई डायरीमा टिपेर राख्न थाले। आफूले दिने गृहकार्यमा किशोरावस्था र बाल्यकालका अनुभव लेख्न लगाए। यसरी विद्यार्थी विशेषगरी किशोरीका अनुभवले अमरलाई रोमाञ्चित बनाउँदै लग्यो। र, रोपियो ‘गुलाबी उमेर’ को बीउ।

शीर्षक जुराउन दुई वर्ष
अमरले आफ्नो १२ वर्षे अध्यापन अनुभवलाई समेटेर किशोरीका कथा लेख्ने निधो गरे। डायरीमा टिपोट गरेका कुरालाई कथाको रुप दिन थाले। २०६७ सालको कुरा हो यो।

उनले नियमितरुपमा त लेखेनन् तर अलिअलि गर्दै कथाले उपन्यासको रुप लिन झन्डै एक दशक लाग्यो। लेख्दा–लेख्दै उनले उपन्यासको नाम के राख्ने भन्ने पनि सोचिरहेका थिए।

‘मलाई नाम जुराउनै दुई वर्ष लाग्यो’, उनी भन्छन्, ‘१३ वर्षदेखि १९ वर्ष उमेरका किशोरीको कथालाई शीर्षक दिन मलाई निकै गाह्रो भयो।’

पूर्वीय शास्त्रमा जीवनलाई चार भागमा विभाजन गरिएको छ। जन्मदेखि २५ वर्षसम्मको उमेरलाई ब्रह्मचर्य आश्रम, २५–५० वर्षसम्म गृहस्थ आश्रम, ५०–७५ वर्षसम्म वानप्रस्थ आश्रम र त्यसपछिको जीवनलाई सन्यास आश्रम।

अहिले यो सम्भव थिएन। त्यसैले अमरलाई केही नयाँ सोच्नु थियो। त्यसैले उमेरको विभाजन खोज्दै विभिन्न संस्कृतसम्बन्धी किताबहरु पढे, संस्कृतका विद्वानलाई पनि सोधे। तर, पार लागेन।

amar 4

एकदिन उनको दिमागमा एउटा विचार फुर्यो। उनलाई लाग्यो संसार भनेकै रंग हो, त्यसैले रंगकै आधारमा जीवनलाई विभाजन गर्नुपर्छ। यसकै आधारमा उनले १३ वर्षदेखि १९ वर्षसम्मको उमेरलाई ‘गुलाबी उमेर’ नाम दिए।

त्योभन्दा अगाडि र पछाडिको उमेरलाई के भन्ने? उनीसामु अर्को चुनौती थपियो। मीठो ध्वनी सुनिने र अर्थ पनि बोक्ने रंगको खोजीमा उनी लागे। र, भेटे पनि।

जन्मदेखि १२ वर्षसम्मको उमेरलाई पालुवा उमेर। भर्खरै पलाउने बेलाको पहेंलो मिसिएको हरियो रंग भएको।

२०–४० वर्षसम्मको उमेरमा मानिसहरु बालबच्चा, करियर र जीवनप्रति सचेत हुन्छन्। जिन्दगीको बाटो प्रस्ट हुन्छ। यो उमेरमा गुलाबीमा रातो रंग मिसिन्छ। र, उनले यो काललाई ‘मखमली उमेर’ नाम दिए।

विस्तारै मखमलीमा नीलो रंग मिसिन्छ। समुन्द्रको पानी पनि नीलो देखिन्छ तर पानी उठाएर हेर्दा नीलो देखिँदैन। जीवन समुन्द्रजस्तै गहिरो हुँदै जान्छ। त्यसैले ४०–५० वर्षको उमेरलाई ‘बैजनी उमेर’ नाम दिए।

६० वर्षपछि जीवनको अन्त्यसम्मको उमेरलाई अमरले ‘अस्मानी उमेर’ भनेका छन्। आकाश नीलो देखिनु नीलो भएर होइन, अनन्तताको प्रतीक हो। त्यसैगरी ६० वर्षपछि मानिसहरुको जीवन पनि अनन्ततातर्फ उन्मुख हुन्छ।

तर, उनले लेखेको कथा भने गुलाबी उमेरको मात्र हो।

गुलाबी उमेरः स्पर्श र यौन
गुलाबी उमेरमा भर्खरै बैंस चढेको हुन्छ। बाल्यकालबाट यौवन अवस्थामा प्रवेश भएको हुन्छ। आफैँले आफैँलाई छुँदा नि दंग हुने उमेर हो यो। बादलझैँ उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्दै–बुन्दै उधार्ने उमेर हो।

amar 2

‘आफैँले आफैँलाई छुँदा पनि आफूले मन परेको मान्छेले छोएको अनुभव गरेर आनन्द लाग्ने, कल्पनामा उडेर आकाश छुने, जून–तारा टिप्ने उमेर हो यो’ अमर गुलाबी उमेरलाई थप प्रस्ट्याउँछन्।

जुन उमेरमा असम्भव सपनाहरु देखिन्छ। कल्पना गरिन्छ। बढी भावनात्मक भइन्छ। भावनामा बहकिएर गलत निर्णयहरु पनि हुन्छन्।

गुलाबी उमेर स्पर्शको कल्पना र यौनको जिज्ञासामा हराउने समय हो। यौन र स्पर्शको रहस्य, आफ्नै शरीरमाथिको खोज पनि हो यो उमेर।

अमर भन्छन्, ‘यी कुराहरु तनभित्र, आफ्नै मनभित्र या आफ्नै शरीर र जीवनमा खोज्छन्, यो उमेरका किशार–किशोरीहरु।’

गुलाबी उमेरमा आउने तरंगबारे अमरले आफैँमाथि अध्ययन गरे। उनलाई बाल्यकालमा जहाँ छोयो त्यहीँ आनन्द आउँथ्यो। आफूले आफैँलाई छुँदासमेत आफूलाई मन परेको मान्छेले छोएकोजस्तो आनन्द आउँथ्यो। आफ्नो गोप्य अंगमा छुँदा होस् या कल्पना गर्दा उत्तेजना बढ्थ्यो।

यिनै अनुभवको सहारामा उनले शब्दहरु कोर्दै गए। ‘सेतो धर्ती’ महिलाको विषयमा लेखेकाले अमरलाई यस विषयमा लेख्न सक्छु भन्ने आँट थियो। किनभने उनका लागि महिलाहरु रहस्य हुन्।

‘जहाँ रहस्य हुन्छ त्यहाँ खोजी हुन्छ नि’, अमर मुस्कुराउँछन्, ‘मैले पनि त्यो जिज्ञासा मेट्न विभिन्न माध्यमबाट किशोरीहरुका कुरा सुन्न थालेँ।’

अमरले घर, परिवार र समाजमा किशोरीहरुले गर्ने व्यवहार नियाले। सोचाइ र विचार बुझे। आफ्ना विद्यार्थीको भावना पढे अनि मेटाए आफ्नै जिज्ञासा।

अनि उनले थाहा पाए– यो उमेर त हावा र पानीले समेत छोइने उमेर रहेछ। नछोइने कुराले समेत छोइने उमेर रहेछ।

No photo description available.

अमर जोडले हाँस्छन्, ‘सायद म पहिलो जन्ममा महिला थिएँ कि। म महिला भएको सपना धेरै देख्छु कि। त्यसैले मलाई फिल गर्न सजिलो भएको हो कि?’

अमर मानसप्रेमी हुन्। एउटा लेखकले सबैभन्दा बढी प्रेम गर्ने भनेको पनि आफ्नो पात्रलाई हो। त्यसैले उनलाई महिलाको कथा लेख्न मन लाग्छ। र, लाग्छ ‘म ती कथालाई न्याय गर्न सक्छु’ भन्ने।

एक भावनात्मक कथा
‘गुलाबी उमेर’ उपन्यास एक किशोरीको कथा हो। जसले ऊजस्तै लाखौँ किशोरीको प्रतिनिधित्व गर्छिन्। तर, यो कथामात्र पनि होइन, उनको भावना पनि हो। भावनामात्र पनि होइन, जीवन पनि हो।

अमर भन्छन्, ‘भावनामात्र भयो भने कथा बादलजस्तो हुन्छ। बादलको आकार हुँदैन। त्यो आकार बादलमा आवश्यक नहोला तर आख्यानमा हुन्छ।’

किशोरीको गुलाबी उमेर पनि बादलजस्तै हुन्छ। आकार लिइसकेको हुँदैन। तर, एउटा लेखकले आकार लिनुपर्ने हुन्छ, जसरी अमरले लिएका छन्।

एउटा आख्यानकारले भावनामात्र लेख्दा हाडबिनाको शरीरजस्तै हुन्छ। भावना नभएको कथामात्र लेख्दा शरीरबिनाको हाडजस्तै हुन्छ। त्यसैले दुवैको संयोजन आवश्यक छ।

आमालाई प्रायः सन्तानको तन, मन र जीवन नापेरै थाहा हुन्छ। तर, एकदिन यस्तो समय आउँछ जतिबेला आमाले नापेर पनि यो कुरा थाहा पाउँदिनन्। जुन कुरा ‘गुलाबी उमेर’ मा थाहा पाइन्छ। जीवन र रहस्यबीचको कथा।

मानिसको मनोविज्ञान संस्कार र संस्कृतिले निर्माण गर्छ। गाउँ र शहरमा बस्ने किशोरीको मनोविज्ञान पनि फरक हुन्छ।

amar 3

त्यसैले अमरले शहरको सुविधा लिन सकिने गाउँको किशोरीको कथा लेखेका छन्। जसले शहर र गाउँ दुवैको प्रतिनिधित्व गर्न सक्छ। र, पछि ती किशोरी पनि शहर पस्छिन्।

त्यसैले त ‘गुलाबी उमेर’ मा एउटा किशोरीको भावनासँगै उनको सपना, विचार, करियरलगायतका हरेक पक्ष समेटिएको छ।

उपन्यासमा एक दिन शिक्षकले कक्षा कोठामा विद्यार्थीलाई सोध्छन्, ‘संसारको सबैभन्दा महान कलाकार को हो?’

कसैले भ्यान लक भन्छन्, कसैले लियोनार्दो दा भिन्ची भन्छन् त कसैले के, कसैले के।

तर, उपन्यासकी मुख्य पात्र हिजो ऐना हेर्दा आफूलाई अर्कै देख्छे, अर्को दिन अर्कै। दिनदिनै आफ्नो शरीर बढिरहेको देख्छे।

उसले एउटा कोपिला फूल बन्दै गरेको देखेकी थिई। बाख्राको पाठो बढ्दै गरेको देखेकी थिई। तर, मान्छे त्यसरी बढ्दै गरेको कहिल्यै देखेकी थिइन। जब ऊ आफू बढ्न थाली तब महसुस गर्दै गई।

अनि उसलाई लाग्यो, हिजो मेरो रुप अर्कै थियो, आज अर्कै छ। त्यसैले संसारको सबैभन्दा महत्वपूर्ण कला भनेको त उमेर रहेछ।

‘गुलाबी उमेर’ यही उमेरको कथा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .