ad ad

म्यागेजिन


जब उनले आफू नेपालकै अग्लो व्यक्ति भएको चाल पाए

जब उनले आफू नेपालकै अग्लो व्यक्ति भएको चाल पाए

कृष्ण आचार्य
भदौ १९, २०७६ बिहिबार ८:२०,

राजन अधिकारी जन्मिँदै अन्य बालबालिकाभन्दा अग्लो कदका थिए। उमेर बढ्दै जाँदा उनी असामान्य रुपमा अग्लिँदै गए। परिवारमा चिन्ता थपियो। कतै कुनै रोगका कारण त होइन भन्ने।

शंका मेट्न राजनका बुबाले उनलाई धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए। रिपार्ट सामान्य आएपछि यो रोग रहेनछ भन्ने ढुक्क भयो।

तर, उनको उचाइ बढ्ने क्रम रोकिएन। कक्षा ९–१० मा पढ्दा नै उनको उनी ६ फिट ५ इन्च पुगे। अग्लो भएकै कारण साथीहरु उनीसँग हिँड्न असहज मान्थे। साथीहरु आफूसँग हिँड्न नमामन्दा उनलाई एकदमै नरमाइलो लाग्थ्यो। समय बित्दै गयो।

rajan

२०५१–५२ सालतिरको कुरा हो। राजन बुबाको उपचारका लागि दमकको आम्दा अस्पताल पुगेका थिए। भित्र छिर्दा ढोकामा उनको टाउको ठोक्कियो। उनी लडे। चोट पनि लाग्यो। मान्छेको भिड जम्मा भयो। उनीहरु चकित पर्दै राजनलाई हेर्न थाले।

उनलाई उपचारका लागि डाक्टरकोमा लगियो। डाक्टर उनलाई देखेपछि छक्क परे। उनको बारेमा सोधीखोजी गर्न थाले। डाक्टरले नै मिडियालाई बोलाएर उनको परिचय गराए। त्यसपछि राजन उचाइकै कारण पहिलो पटक मिडियामा आए। सर्बत्र उनको चर्चा सुरु भयो।

पहिलो पटक मिडियामा आएको पाँच वर्षपछि बल्ल राजनले आफू नेपालकै अग्लो व्यक्ति भएको चाल पाए। हिमाली सांस्कृतिक समूहले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी देशभरबाट अग्ला व्यक्तिलाई निम्त्याएको थियो। ७ फिट ३ इन्च उचाई भएका राजन नेपालकै अग्ला व्यक्ति बने।

rajan 2

सोही वर्ष आफ्नो उचाईलाई लिएर उनले वीर अस्पतालमा डा. उपेन्द्र देवकोटासँग परामर्श लिएका थिए। देवकोटाले ग्रोथ हर्मोनको अप्रेसन गर्न सुझाब दिए। त्यसपछि उनको उचाई बढेन।

‘त्यतिबेला पाकिस्तानबाट ७.४ फिट उचाई भएका व्यक्ति विश्वकै अग्ला थिए। यदि मेरो अपरेसन नभएको भए म अझै ३ ईन्च बढ्दो रहेछु र उसलाई जित्ने रहेछु।’

उनी हाल उचाई धेरै भएका व्यक्तिमध्ये विश्वकै (टर्की ८.२ र चीन ७.८ फिट) पछि तेस्रो स्थानमा पर्छन्।

त्यो मोटरसाइकल दुर्घटना
अग्लो व्यक्ति घोषणा भएपछि राजनलाई आफ्नो पहिचानमार्फत नेपाललाई चिनाउनु पर्छ भन्ने जिम्मेवारी बोध भयो। त्यसपछि उनले सरकारको सहयोगमा नेपालको पहिचान, संस्कृति र पर्यटकीय गन्तब्यबारे जानकारी गराउने उद्देश्यका साथ २०६३ सालमा एसियाली मुलुकको यात्रा गरे।

rajan 5

जसलाई नाम दिइयो, ‘वल्र्ड पिस एन्ड लभ’ यात्रा सफल भयो।

एसिया यात्राको पहिलो चरण पूरा गरेर आएपछि उनको मोटरसाइकल दुर्घटना भयो। खुट्टामा चोट लाग्यो। त्यसपछि उनी गुमनाम बने।

‘घुम्ती थियो खुट्टा अग्लो भएका कारण मोटरसाइकल मोड्न असहज भयो र पल्टियो’ उनले दुःखी हुँदै भने।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६८ मंसिरमा उनका लागि विश्व भ्रमणको अवसर जुटेको थियो। तर, बिडम्बना भ्रमणमा निस्कनुअघि भएको दुर्घटनाका कारण त्यो अवसर गुम्यो।

‘शान्तिको कामना र हिंसाको विरोध गर्दै तत्कालिन राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर बेलायत, अमेरिका, ब्राजिल, जापानलगायतका देशमा जाने कुरा थियो’ राजन भन्छन्, ‘दुर्घटनाका कारण त्यो सम्भव भएन।’

rajan 4

दुर्घटनासँगै राजनको जीवनले नयाँ मोड लियो। हो, दुःखद् मोड। उनी अब सहजै हिँडडुल गर्न पनि नसक्ने भए। जीवनयापनका लागि साथीहरुसँग मिलेर कृषि फर्म सञ्चालन गरे।

जताततै समस्या
हिँडडुल गर्दा, लत्ताकपडा, बेड–विस्तारा, साधन–स्रोत आदिमा राजनलाई समस्या छ। ‘सर्ट, पाइन्ट, जुत्ता–चप्पल पनि मैले अर्डर गरेर बनाउनुपर्छ’ राजन भन्छन्, ‘उचाइका कारण हुने फाइदाभन्दा बेफाइदा धेरै छन्।’

राजनको घरको मोडल सामान्य घरभन्दा फरक छ। ढोकाको उचाई नै ७.५ फिट छ। उनले प्रयोग गर्ने खाट ८ फिटको छ।

राजनको दैनिक दिनचर्या निकै असहज छ। भन्छन्, ‘उचाइका कारण आफ्ना ईच्छा–आकांक्षाहरु पूरा गर्न पाइरहेको छैन। दुःख लाग्छ।’

४२ वर्षका राजनको हड्डी कमजोर रहेको डाक्टरले बताएका छन्। जसका कारण उनी आफूलाई एकदमै कमजोर महसुस गर्छन्। उनले अहिले डाक्टरको सल्लाहमा क्याल्सियम प्रयोग गरिरहेका छन्।

राजनलाई आफूभन्दा साना मानिससामु उभिँदा असहज महसुस हुँदैन। तर, उनीसामु उभिनेहरु भने असहज मान्छन्। यस्ता कुराले उनको मन दुखाउँछ।

बाटोमा हिँड्दा उनलाई नचिनेकाहरु झस्कने गरेको अनुभवसमेत उनीसँग छ। यतिसम्म कि उनलाई देखेर कतिपय टाउको समातेर थचक्क भुइँमासमेत बस्छन्। यतिबेला राजनसँग मौनताबाहेक अर्को कुनै विकल्प हुँदैन।

होटल वा आफन्तको घरमा बस्नुपर्दा राजन कहिले दुई वटा डसना जोडेर भूँइमा सुत्छन् त कहिले एउटै डसनामा चित्त बुझाउँछन्। चिसोमा आधा शरीरमात्र सिरकले ओढेर सुतेको क्षण त कति छन् कति उनको जीवनमा।

rajan 1

हेर्दा सपांग भए पनि शारीरिक रुपमा अपांगजस्तो कठिनाई रहेको उनी बताउँछन्। स्रोत तथा साधनको उपलब्धतामा सरकारले ध्यान पुर्याउनुपर्ने उनको माग छ।

‘भिडभाडमा हिँड्न गाह्रो हुन्छ, निहुरिन सक्दिनँ, सार्वजनिक यातायात त के निजी सवारीमा यात्रा गर्नसमेत कठिन हुन्छ’, उनी दुःखेसो पोख्छन्।

तीन वर्षको हुँदा आमा गुमाएका राजनले २६ वर्षको उमेरमा बुबा पनि गुमाए। हाल उनी दुई सन्तान र श्रीमतीसँग बस्छन्।

कृषि व्यवसायबाट परिवार पालिरहेका छन्। वैवाहिक जीवन पनि सुखमय छ। श्रीमतीले उचाइका कारण आफूसँग कहिल्यै कुनै गुनासो नगरेको उनको भनाई छ।

‘१५ वर्षको उमेरमा मेरो मागी बिहे भएको हो। मेरो उचाई बढ्दै जाँदा श्रीमतीले यसलाई सामान्य रुपमा लिइन् र मलाई सहयोग गर्दै गइन्’ उनी मुस्कुराउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .