ad ad

म्यागेजिन


कठोर संघर्षपछि दुर्गेशको ‘बीच्च बीच्चमा’

कठोर संघर्षपछि दुर्गेशको ‘बीच्च बीच्चमा’

कृष्ण आचार्य
भदौ ५, २०७६ बिहिबार ८:४९,

‘हामी पनि नाच्नुपर्छ बीचबीचमा’ भन्ने गीत यतिबेला निकै चर्चामा छ। तीजगीत भए पनि यसमा दुर्गेश थापाको पुरुष श्वर छ। बागलुङ गल्कोटका दुर्गेशको संघर्ष यात्रा भारतीय गोर्खा सेनासँग जोडिएको छ।

त्यो पनि उनी जन्मिनुभन्दा अगाडि देखि।

भारतीय गोर्खा सेनामा पहिला गाउँ–गाउँबाट युवालाई खोजेरै लगिन्थ्यो। दुर्गेश थापाका बुबा हेमबहादुरले छिटो–छिटो उठबस गरेर देखाएपछि भर्ती भए। यो दुर्गेश जन्मिनुभन्दा अगाडिको कुरा हो।

भारतीय सेनामा भर्ती भएपछि हेमबहादुरले बिहे गरेका हुन्। दुर्गेशको जन्म दिदीपछि दोस्रो सन्तानको रुपमा भारतको सिक्किममा भयो। औपचारिक शिक्षा उतै लिए। पढाइमा अब्बल उनी अतिरिक्त क्रियाकलापमा सधैँ प्रथम हुन्थे। सिक्किमबाटै विद्यालय तहको पढाई पूरा गरे।

गोर्खा भर्तीबाट बर्हिगमन
एसएलसीपछि दुर्गेशलाई भारतीय सेनामा भर्ती हुन परिवारको दबाब थियो। उनका बुबाले छोरा सेना बनेको सपना नै देख्न थालेका थिए। तर उनलाई भने कुनै रुचि थिएन। त्यसैले २०५८ सालमा नेपाल आए। बागलुङमा आइए पढ्न थाले। उता परिवारबाट आर्मी बन्न तारान्तर दबाब थियो। एकदिन परिवारको दबाबसामू उनको हार भयो। उनी फेरि भारत गए।

durgesh thapa1
गायक दुर्गेश थापा। तस्विर: प्रविन कोइराला

आर्मीको क्याम्पमा बसेर खाना पकाउनेदेखि अन्य सहयोगी भूमिका निर्वाह गर्न थाले। अनौपचारिक आर्मी तालिम पनि लिँदै गए। यसरी उनले तीन वर्ष बिताए। तीन वर्षपछि दुर्गेश आर्मीमा भर्ती भए। परिवारको सपना पूरा भयो। बुबाआमाको मुहारमा चमक छायो तर दुर्गेशको मनमा भने बादल।

‘त्यो मैले रोजेको बाटो थिएन। त्यही भएर भाग्ने निष्कर्ष निकालेँ’, उनी सुनाउँछन्। यो भर्ती भएको २ महिना पछिको निर्णय थियो। ‘त्यो तालिमकै अवस्था थियो। ६ महिनासम्म तालिम हुन्थ्यो। नाली सफा गर्नेदेखि अनेक कठिन काम गर्नु पथ्र्यो’, उनी सम्झन्छन्।

‘हाकिमहरुको ज्यादती सहन सकिनँ र एक दिन भागेर नेपाल आएँ’, उनी सुनाउँछन्।

नेपाल फर्किंदा उनको गाउँ अर्थात् बागलुङको गलकोट मल्मसम्म नयाँ मोटर बाटो बनेको थियो। उनलाई लाग्यो सडकले केही अवसर पनि ल्याएको छ। ड्राइभर बन्ने रहर जाग्यो। ‘ड्राइभिङ सिक्न पोखरा आएँ तर कुनै पार लागेनँ’, अहिले उनी सम्झन्छन्, ‘सायद त्यो अलि अपरिपक्व निर्णय थियो।’

२५० रुपैयाँ पारिश्रमिक
दुर्गेश बरालिएर हिँडेको देखेपछि उनका ठूलोबुबाका छोरा (अहिलेका चर्चित संगीतकार बसन्त थापा) ले हेमबहादुरसँग कुरा गरे। र दुर्गेशलाई आफूसँगै काठमाडौं ल्याए।

काठमाडौं आउनुअघि उनले यसलाई संघर्षको सहर भनेर बुझेका थिए। दुःख र धैयर्ता दुई कुरालाई मुल मन्त्र नबनाई यहाँ जम्न सकिँदैन भन्ने लाग्यो। परिवारले त उनीबाट आशा मारिसकेको थियो।

‘सरकारी जागिर छाडेर भागेपछि बुबा पनि निराश हुनुभयो’ दुर्गेश भन्छन्, ‘अन्तिम पटक भनेर १२ हजार रुपैयाँ दिएर काठमाडौं पठाउनुभयो। त्यो पैसाले कति दिन चल्थ्यो र?’

durgesh thapa7
गायक दुर्गेश थापा। तस्विर: प्रविन कोइराला

जीविकाका लागि दुर्गेश म्युजिक भिडियोमा कोरस नाँच्न थाले। कोरस नाचेवापत एउटा गीतबाट २ सय ५० रुपैयाँ पाउँथे। परिवारले आर्थिक सहयोग गर्न छोडिसकेको थियो। त्यही सानो रकम नै उनको काठमाडौं बसाईको ‘लाइफ लाइन’ बन्यो। उनको करिअरमा गोंगबुका डान्सबारहरु दोस्रो गन्तव्य थिए। त्यहाँ उनी मदिराप्रेमी ग्राहक सामु नाच्थे। मासिक ४ हजार रुपैयाँ बुझ्थे।

डान्स बारमा राति अबेरसम्म काम हुन्थ्यो। कोठा फर्किंदा मध्यरात भइसक्थ्यो। कहिले कहीँ घरेबेटीले ढोका खोल्दैनथे। सायद निद्राबाट नब्युँझेर होला। त्यतिबेला उनको बास सडकमै हुन्थ्यो, अहिलेको कान्तिपुर मल अगाडि। त्यो संघर्षको समयमा कैयौँ रात उनले सडकमै बिताए, दालमोठ–चिउरा र चाउचाउको भरमा।

‘संघर्ष भए पनि मैले आफ्नो कामसँग कहिल्यै सम्झौता गरेनँ’, उनी सम्झिन्छन्, ‘थप मिहिनेत गर्नुपर्छ भर्छ भन्ने लाथ्यो। धैर्यता भन्ने चिज हुन्छ भन्ने कुराको पनि ममा ठूलो छाप थियो।’ २०६२ देखि २०६७ सम्म काठमाडौंमा उनको संघर्ष यात्रा जारी रह्यो।

हिट भएनन् तर चिनिए
काम गर्दै जाँदा दुर्गेशको संगीत क्षेत्रका केही चर्चित अनुहारसँग चिनजान भएको थियो। यसै क्रममा उनले रामचन्द्र काफ्लेको ‘माया लाएर के भो कसम खाएर के भो’ बोलको गीतमा आफैँ लगानी गरेर नृत्य गरे। गीतले चर्चा पाएन। बल्लतल्ल मेहनत गरेर जोडेको ४० हजार डुब्यो।

दुर्गेशलाई लाग्यो कतै सांगीतिक क्षेत्र नफापेको पो हो कि? त्यसपछि उनले आफ्ना कमजोरी पहिल्याउन प्रयास गरे। सफल मानिसका पछाडि थुप्रै असफलताको कथा जोडिएका हुन्छ भन्ने बुझे। ‘कमजोर मन बनाएको भए सायद त्यतिबेलै पलायन हुन्थेँ होला’, उनी सम्झिन्छन्, ‘त्यतिबेला धेरै किसिमले मैले आफ्नो मनलाई थामे। आफैँले आफैँलाई सम्झाएँ।’

२०६६ सालतिर उनले गायनबारे सोच्न थाले। ‘अँधेरीमा जुन लागेकै हो’ बोलको गीत गाए। त्यसले पनि खासै चर्चा पाएन। धेरै कुरा सिक्ने अवसर भने जुटायो।

‘म हिट भइनँ तर सांगीतिक क्षेत्रमा धेरैले चिन्न थाले’, दुर्गेश सम्झिन्छन्, ‘आफ्नो क्षेत्रका धेरैले चिन्नुलाई पनि मैले त्यतिबेला ठूलो उपलब्धि मानेँ।’

durgesh thapa2
गायक दुर्गेश थापा। तस्विर: प्रविन कोइराला

‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’
दुर्गेशले नेपाली गीत–संगीतको ट्रेन्डबारे अध्ययन गरे, बुझे। दर्शक–स्रोताले खासगरी युवाले सुन्न चाहेको गीत कम भएको महसुस उनले गरे। त्यही कमी पूरा गर्न उनले आफ्नै संगीत, स्वर र मोडलिङमा ‘मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु’ ल्याए। २०७१ त्यो गीतले चर्चा पायो। लगत्तै ‘यो दुर्गेश थापा हो’ बोलको अर्को गीत ल्याए।

सन् २०१६ मा सार्वजनिक भएको ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा’ ले उनको चर्चा अझ बढाइदियो।

गीतहरु हिट हुन थालेपछि शुभचिन्तक बढे। प्रशंसक थपिए। ‘त्यसपछि स्टेज कार्यक्रम, महोत्सवमा मेरो माग बढ्यो’ उनी भन्छन्, ‘यहाँसम्म आइपुग्न धेरै संघर्ष, धैर्य र मिहिनेत गर्नुपर्‍यो।’

हे... गाउँका दिदीबहिनी सबै तीजमा आउने कुरो छ, त्यही भएर दर पकाउन आजै सुरु छ।

दिदीबहिनी मात्र नाच्छन् जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा।

केही समयअघि सार्वजनिक भएको दुर्गेसको यो गीत अहिले धेरैको जीब्रामा झुन्डिएको छ। महिलाको चाड तीजमा पुरुषले गाउने विषयमा आफैँमा नयाँ हो। त्यसमा पनि गितार, मादल, ड्रम र किबोर्डको संयोजनले यसलाई झनै फरक देखाएको छ।

आलोचना हुने हो कि भने सुरुमा उनलाई पनि त्रास लागेको रहेछ। ‘मलाई सधैँ केही नयाँ काम गर्न मन लागिरहन्छ। कतै आलोचना पो हुने हो कि भन्ने पनि लागेको थियो’, दुर्गेस भन्छन्, ‘मौलिक मेलोडी लयमा बनाएको थिएँ। पुरुष महिला सबैका लागि नाचौं–नाचौं लागोस् भन्ने किसिमले। अहिले सबै जना नाचिरहनु भएको देख्दा खुशी लागेको छ।’ हुन पनि उनको यो तीज गीतमा महिला, पुरुष, युवा, बालबालिका सबै नाँचिरहेका देखिन्छन्।

दुर्गेश ‘बीच्चबीच्चमा’ पुरुष तीजगीत नभएको बताउँछन्।

‘मेरो गीत पुरुषवादी वा पुरुषका लागि मात्र बनाइएको तीजगीत होइन’ उनी भन्छन्, ‘संगीतको कुनै दायरा हुँदैन। त्यसैले यसको पनि कुनै दायरा छैन। यो महिला पुरुष, केटाकेटी सबैका लागि हो।’

durgesh thapa5
गायक दुर्गेश थापा। तस्विर: प्रविन कोइराला

युट्युब च्यानलमा ८ करोड भ्यु
दुर्गेशले २०७२ असारमा आफ्नै नामको युट्युब च्यानल खोलेका हुन्। चार वर्षको अवधिमा उनको च्यानल तीन लाख ५२ हजार जनाले सस्क्राइब गरेका छन्। उनको च्यानलमा अपलोड भएका भिडियोहरु झन्डै आठ करोड पटक हेरिएका छन्।

केही अग्रजले युट्युबबारे जानकारी दिएपछि उनले राम्रै लागेर खोलेका रहेछन्। सुरुवाती दिनमा आफ्ना केही गीतहरु पनि अपलोड गरे। राम्रो हुँदै गएपछि विस्तारै आफूले गाएका गीत आफ्नै च्यानलम राख्न थाले।

‘अरुसँग गएर मेरो गीतमा यति भ्यूज आएको छ हजुर भन्दै हात जाड्नुभन्दा धेर–थोर जति कमाइ हुन्छ आफ्नै च्यानलबाट होस् भन्ने लाग्यो’, दुर्गेश भन्छन्, ‘पछिल्लो समय युट्युब प्लेटफर्मले राम्रो गरेको छ।’

युट्युब च्यानलमा उनले गाएका गीत, कार्यक्रमहरुमा दिएका प्रस्तुतिको भिडिया तथा भ्लग पनि अपलोड गरेका छन्। यसले गर्दा उनका फ्यानहरुको च्यानलमा सक्रियता देखिन्छ।

‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ गीत अपलोडपछि उनको च्यानल डेढ लाखले सस्क्राइब बढेको छ। ‘मेरा दर्शक, शुभचिन्तकले दिएको सबैभन्दा ठूलो कमाइ यही नै हो। मैले यसलाई जीवनकै ठूलो उपलब्धि ठानेको छु। गीतबाट आउने पैसाभन्दा पनि उहाँहरुले मप्रति देखाउनुभएको प्रेम महत्वपूर्ण हो।’

उनले युट्युबबाट हाल मासिक १ लाख नेपाली रुपैयाँ आम्दानी गरिरहेका छन्।

durgesh thapa6
गायक दुर्गेस थापा। तस्विर: प्रविन कोइराला

‘हजुरआमाहरुले ठिकै भन्नुभएको थियो’
दुर्गेस काठमाडौंमा संघर्ष गरिरहँदा उनका बुबालाई समाजले धेरै कुरा सुनायो। तेरो छोरा बिग्रियो, हल्लिएर हिँड्छ, लफङ्गो भयो भन्ने समाचार कति पु¥याए कति। त्यसबाट बुवाको मन कुँडिन्थ्यो। दुर्गेस धैर्यको सीमा नापी–नापी संघर्ष गरिरहँदा घर पुग्ने त्यस्ता खबरले मन अमिलो हुन्थ्यो।

‘म खराब काम गरेर बिग्रिएको थिइनँ’ उनी भन्छन्, ‘मान्छेहरु एकै पटक परिणाम हेर्छन् तर त्यहाँसम्म पुग्ने प्रक्रिया हुन्छ। म त्यही परिश्रम र संघर्षको प्रक्रियाबाटै आजको अवस्थामा आइपुगेको हुँ। काम ठूलो र सानो भन्ने हुँदैन। यो कुरा हाम्रो समाजले बुझ्न जरुरी छ।’

कुनै बागलुङको गल्कोटमा पञ्चेबाजामा नाच हुन्थ्यो। उनी नाँच्न सधैँ अघि सर्थे। २२ ताल नाचमध्ये उनी २२ वटै जान्दथे। १ घण्टा लगातार नाच हेरिसकेपछि गाउँका हजुरआमाहरुको टिप्पणी हुन्थ्यो, ‘यो दुर्गेस कि अतिलो हुन्छ कि गतिलो हुन्छ।’

अहिले उनलाई लाग्छ, ‘सायद हजुरआमाहरुले ठिकै भन्नुभएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .