म्यागेजिन

Tata MotorsTata Motors

‘मूर्ति चोर’ आरोपितले प्रस्तावित राजदूत भारद्वाजको जीवनमा ल्याइदिएको ‘टर्निङ प्वाइन्ट’

नारद भारद्वाज (वाग्ले)


सीताराम बराल
काठमाडौं, जेठ ३१

२१ साउन २०७३।

सिँहदरवारस्थित संसदीय सुनुवाई समितिको कार्यकक्षमा प्रस्तावित ६ जना राजदूतको सुुनुवाई प्रक्रिया सुरु हुनै लागेको थियो। सुनुवाई गरिन लागेका प्रस्तावित राजदूतहरु केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा सिफारिस भएका तत्कालिन एमाले निकटस्थहरु थिए। तर, सरकारचाहिँ नेपाली कांग्रेसको समर्थनमा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो नेतृत्वमा बनाइसकेको अवस्था थियो।

प्रस्तावित राजदूतहरु महेन्द्रबहादुर पाण्डे (चीन), नारद भारद्वाज वाग्ले (श्रीलङ्का), खड्क केसी (जापान), शिवमायाँ तुम्बाहाम्फे (इजरायल) लगायत सुनुवाई समितिको प्रतिक्षाकक्षमा थिए। त्यसैबेला सुनुवाई समितिका कांग्रेस सदस्य चीनकाजी श्रेष्ठ प्रतीक्षाकक्षमा प्रवेश गरे। र, प्रस्तावित राजदूतहरुलाई सुनाए, ‘सरकारले तपाईंहरुलाई राजदूत नियुक्त गर्ने निर्णय रद्द गरेको छ। सरकारले नै सिफारिस रद्द गरेकाले अब सुनुवाईको आवस्यकता रहेन।’

पूर्व परराष्ट्रमन्त्री पाण्डे (सुशील कोइराला प्रधानमन्त्रित्वकाल) सहित ओलीको प्रधानमन्त्रित्वको पहिलो कार्यकालमा ६ जना एमाले निटक व्यक्तिहरु राजदूत सिफारिस भएका थिए। तीमध्ये अधिकांसको राजदूत बन्ने सपना सपनामै सीमित छ। तर, उतिबेला राजदूत बन्ने अवसरबाट बञ्चित ६ मध्ये नारद भारद्वाज (वाग्ले) ओलीको दोस्रो प्रधानमन्त्रित्वकालमा फेरि राजदूतका लागि सिफारिसमा परेका छन्। भारद्वाजलाई खाडी मुलुक कतारका लागि अघिल्लो हप्ता सरकारले राजदूत सिफारिस गरेको छ।

राजनीतिक नियुक्तिका लागि राजदुतमा सिफारिस भएका ४ जना- भारद्वाज, बंशीधर मिश्र (बंगलादेश), दावाफुटी शेर्पा (स्पेन) र महेश दाहाल (अष्ट्रेलिया) मध्ये राजनीतिक योगदान र कुटनीतिक विषयबस्तुमा सबैभन्दा बढी जानकारी राख्ने भारद्वाज नै हुन्। १४ बर्ष जेल, १६ बर्ष लामो राजनीतिक जीवनपछि २० बर्ष प्राध्यापनमा बिताएका भारद्वाज ०६९ मा त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक (इतिहास) बाट सेवानिबृत्त भएका थिए। उनी तत्कालिन एमालेको विदेश विभागसँग सम्बन्धित काममा समेत संलग्न थिए।

इतिहास विषयको सहप्राध्यापक, एमाले विदेश विभागसँगको आवद्धताका कारण कुटनीतिक मामिलामा जानकारी त छँदैछ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेलजीवनदेखिकै सामिप्यताका कारण उनी ओलीकै प्रधानमन्त्रित्वकालमा राजदूतका लागि दोस्रो पटक सिफारिसमा परेका हुन्।

स्कूले जीवनमा अखिलको राजनीतिमा सक्रिय भारद्वाज बिसं २०२९ मा एसएसली परीक्षा दिएलगत्तै ‘होलटाइमर’ बनेर झापाली राजनीतिमा संलग्न भए। पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको तत्कालिन ‘नेकपा’ को पूर्वी कोशी प्रान्तीय कमिटीबाट विभाजित भएको झापा समूहले त्यतिबेला झापामा ‘बर्गशत्रु सफाया अभियान’ सञ्चालन गरिरहेको थियो। भारद्वाज सो समूहको राजनीतिक फाँटमा सक्रिय थिए।

‘बर्गशत्रु सफाया अभियान’ अन्तर्गत झापाली समूहले पूर्व राष्ट्रिय पञ्चायत सदस्य धर्मप्रसाद ढकाल लगायत केहीको हत्या गरेपछि झापामा झापाली समूहमाथि दमन तीब्र भयो। त्यसैक्रममा २० साउन २०३० मा भारद्वाज पक्राउ परे। पक्राउ परेका भारद्वाजलाई केही समयपछि काठमाडौँ ल्याइयो। राजनीतिक बन्दीहरुलाई कैद गर्न नख्खु जेल स्थापना गरिएको थियो। उनी त्यहीँ राखिए। त्यसै बर्ष रौतहटबाट मोहनचन्द्र अधिकारीसँगै पक्राउ परेका ओलीपनि त्यहीँ ल्याइए। दुबैजना झापाका भएपनि ओली–भारद्वाजबीचको पहिलो भेट चार दिवारभित्र पहिलो पटक भयो, नख्खु जेलमा। त्यहाँ झण्डै दुई बर्ष ओली र भारद्वाज सँगै रहे।

झापा संघर्षका क्रममा पक्राउ परेका सीपी मैनाली लगायतका नेता–कार्यकर्ताले १२ चैत्र ०३३ नख्खु जेल ब्रेक गर्यो। झण्डै दर्जनजति झापालीहरु सुरुङ खनेर जेलबाट भागे। यो घटना हुनुभन्दा केही दिनअघिमात्र त्यही समूहका राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित र केपी शर्मा ओलीलाई प्रशासनले नख्खु जेलबाट निकालेर पश्चिमी रुपन्देही र पाल्पामा जेलसारी गरेको थियो।

सुरुङ खनी जेल जेल तोडेर भाग्नेमध्येमा भारद्वाजपनि एक थिए। र, सबैभन्दा कम उमेरकापनि। जेल तोड्ने झापाली समूह नख्खुबाट मकवानपुरको फाखेल हुँदै तराई झरेको थियो। तीमध्ये नरेश खरेल र घनेन्द्र बस्नेत पथलैयामा सातौँ दिनमा पक्राउ परे भने त्यसको भोलिपल्ट रौतहटको चन्द्रनिगाहपुरमा भारद्वाज पनि समातिए। ‘नख्खुबाट हिँडैरै हामी त्यहाँ पुगेका थियौँ’ भारद्वाज सम्झन्छन्, ‘प्रहरी–प्रशासनले चारैतिर सुराकी खटाएको थियो। त्यस्तो स्थितिमा बच्न सकिएन।’

पुनः पक्राउ परेका भारद्वाजलाई केही समय वीरगञ्ज जेलमा राखेर फेरि काठमाडौँ ल्याइयो। उनी ०४३ मा छुटे। तर, जेलको ढोकाबाट निस्कनासाथ फेरि उनलाई प्रहरीले गिरफ्तार गर्यो।

रिहा भएपछि जेलको ढोकाबाटै गिरफ्तार गरिएका भारद्वाज थप एक बर्ष शान्ति सुरक्षा ऐन अन्तर्गत भद्रगोल जेलमा राखिए। पहिले नख्खुमा रहँदा ओलीसँग भेटघाट र चिनजानमात्र भएको थियो। तर, तेस्रो पटकको गिरफ्तारी उनका लागि ओलीसँग थप निकट हुने कारण बन्यो। किनभने, पोखरा जेलमा रहेका ओली त्यसको केही समयपछि काठमाडौँ ल्याइए। र, भद्रगोल जेलमा राखिए। भैरहवा जेलमा राखिएका राधाकृष्ण मैनाली र मोदनाथ प्रश्रितलाई पनि काठमाडौँ ल्याइएको थियो।

‘खासमा वार्ताका लागि उहाँ (ओली, प्रश्रित र मैनाली) हरुलाई तत्कालिन सरकारले काठमाडौँ जेलसारी गरेको रहेछ’ भारद्वाजले सम्झे, ‘भद्रगोल जेलमा राखिएका बेला उहाँलाई त्यहाँबाट निकालेर प्रधानमन्त्री मरिचमान सिँहसँग वार्ता गर्न लगियो। वार्ताका लागि जानुअघि उहाँ मसँग सल्लाह गर्नुहुन्थ्यो र वार्ता सकेर आएपछि के के कुराकानी भए, जानकारी दिनुहुन्थ्यो।’

तत्कालिन प्रम मरिचमान सिँह र भद्रगोल जेलमा राखिएका ओलीबीच ०४३ असारमा बालुवाटारस्थित प्रम निवासमा वार्ता भएको थियो। जेलमा ओली र भारद्वाजलाई राखिएका कोठा जोडिएका थिए। प्रम सिँहलाई भेटेर फर्कनेबित्तिकै ओलीले भारद्वाज लगायत जेलमा रहेका साथीहरुलाई बालुवाटारमा भएको वार्ताबारे जानकारी गराए।

‘देश संकटमा छ, राष्ट्रियतापनि संकटमा छ, यस्तो बेला तपाईंले मलाई सहयोग गर्नुपर्यो– मरिचमानले भनेछन्’ ओलीले जेलमा सुनाएका कुरा स्मरण गर्दै भारद्वाजले भने, ‘ओलीले जवाफ दिनुभएछ– हामीलाई जेलमा राखेर तपाईंले कस्तो सहयोगको अपेक्षा गर्दै हुनुहुन्छ? देश र राष्ट्रियता संकटमा छ भन्ने कुरा जेलका पर्खालभित्र बसेका हामीलाई कसरी थाहा हुन्छ? देश र राष्ट्रियता संकटमा छ भन्ने महसुस हामीले पनि गर्न पाउनुपर्यो नि? हामीलाई पनि त्यस्तो महसुस भएछ भने सहयोग गरौँला।’

ओली लगायत जेलमा रहेका थप झापाली नेता–कार्यकर्तालाई रिहा गरिने बचन प्रम सिँहले दिए। ओली जेल फर्के। ११ असार ०४४ मा रिहा भए। उनी कसरी कसरी रिहा भएका थिए, ११ फागुन (०७५) मा नेपालखबरमा प्रकासित एउटा लामो अन्तर्वार्तामा त्यसको विस्तृत खुलाशा ओली आफैले गरेका छन्।

सम्बन्धित लिङ्कः हिरासतबाट बालुवाटार ल्याइएँ, प्रम मरिचमानसँग कुरा गरेँः केपी शर्मा ओली

प्रधानमन्त्री मरिचमान सिँहलाई भेटेर फर्कनासाथ ओलीले आफू छुट्ने त बताए नै, एक हप्ताभित्र भारद्वाज पनि रिहा हुने जानकारी गराए। नभन्दै भारद्वाज अर्काे हप्ता रिहा गरिए।

नेकपाको पूर्व कोशी प्रान्तीय कमिटीबाट ‘झापाली समूह’ को रुपमा विभाजित भएपछि कोअर्डिनेशन केन्द्र (कोके) हुँदै नेकपा (माले) बनेको सो समूहले झापा संघर्षकालदेखि नै ‘बुर्जुवा शिक्षा बहिस्कार गरौँ’ भन्ने नीति लिएको थियो। विद्यार्थीकालमा सो समूहसँग आवद्ध भारद्वाज त्यही नीति अख्तियार गर्दै एसएलसी उतीर्ण गरेपछि ‘होल टाइमर’ बन्न पुगेका थिए।

‘बुर्जुवा शिक्षा बहिस्कार गरौँ’ भन्ने नीतिमा झापाली समूहका नेता–कार्यकर्ताहरु जेलमा रहँदापनि दृढ रहे। तर, भारद्वाजले यो नीतिप्रति असहमति जनाए। ‘बाहिर पो राजनीतिक गतिविधि गर्नुपर्ने हुन्थ्यो, पढ्ने समय हुन्नथ्यो’ भारद्वाज भन्छन्, ‘बुर्जुवा शिक्षा नै किन नहोस्, समयको सदुपयोगका लागि औपचारिक शिक्षा लिनुपर्छ भनेर मैले साथीहरुलाई ‘कन्भिन्स’ गर्न खोजेँ। तर, ‘कन्भिन्स’ सकिन।’

अरु असहमत भएपनि भारद्वाज जेलभित्रैबाट आइए पढ्न कस्सिए। राजवन्दीहरुले जेलबाट परीक्षा दिन पाउनुपर्छ भनेर संघर्षपनि चलाए। यो मागमा जेल प्रशासनपनि राजी भयो। र, २०३१ मा नख्खु जेलबाटै आइएको परीक्षा दिए। उतीर्ण पनि भए। भारद्वाजका भनाईमा, जेलबाट परीक्षा दिन पाउने पहिलो ब्याचका विद्यार्थी बन्ने सौभाग्य पाउनेमध्ये एक उनीपनि थिए।

भारद्वाज बीएको परीक्षा पनि दिने तयारीमा थिए। २०३३ चैत्रमा भएको ‘नख्खु जेल ब्रेक’ पछि भने तत्कालका लागि त्यो अवसर टर्यो। तर, पुन पक्राउ परेर काठमाडौँ ल्याइएपछि उनले औपचारिक अध्ययनलाई फेरि निरन्तरता दिए। त्यसक्रममा उनले अंग्रेजी र इतिहास विषयमा स्नातक (बीए) उतीर्ण गरे भने स्नातकोत्तर चाहिँ इतिहास विषयमा गरे।

०४४ असारमा रिहा हुँदा उनी क्षयरोगले ग्रस्त थिए। ओलीको हालतपनि करिव उस्तै थियो। शारीरिक कमजोरीका कारण भारद्वाज पार्टी गतिविधिमा सक्रिय हुने स्थितिमा थिएनन्। जेलबाट छुटेपछिको एक बर्ष त्यत्तिकै बिताए।

त्यसैबेला ०४६ मा त्रिभुवन विश्वविद्यालयले इतिहासका लागि सहायक प्राध्यापक पदमा आवेदन माग गर्यो। इतिहासमा स्नातकोत्तर गरेका थिए, भारद्वाजले त्यही विषयको सहायक प्राध्यापक पदका लागि आवेदन दिए। ‘जेल परेर आएको मान्छे, पास हुँला भन्ने विश्वासै थिएन, फर्मपनि नपत्याई नपत्याई भरेको थिएँ’ भारद्वाजले सम्झे, ‘राजनीतिक आरोह–अवरोहका कारण त्रिविले तीन बर्षपछिमात्र नतिजा निकालेको थियो, नतिजा प्रकाशन हुँदा म पनि उतीर्ण भएको रहेछु।’

सहायक प्राध्यापकको रुपमा पाटन संयुक्त क्याम्पसमा ‘पोष्टिङ’ गरिएका भारद्वाज सहप्राध्यापक बनेपछि कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस अन्तर्गतको इतिहास विभागमा सरुवा भए। त्यहीँबाट ०६९ मा अवकास प्राप्त गरे।

हरेक व्यक्तिका जीवनका ‘टर्निङ प्वाइन्ट’ हुन्छन्। त्यही ‘टर्निङ प्वाइन्ट’ ले व्यक्तिको जीवनलाई एउटा ठाउँबाट अर्काे ठाउँमा पुर्याइदिन्छ। ‘बुर्जुवा शिक्षा बहिस्कार’ क्रान्ति गर्न हिँडेका भारद्वाजको जीवनमा यस्तै ‘टर्निङ प्वाइन्ट’ नख्खु जेलमा थुनिएका अर्का एक कैदीले ल्याइदिए।

ख्वै, कुन माध्यमबाट हो, ती कैदीले जेलभित्र एउटा अंग्रेजी ‘डिक्सनेरी’ पुर्याएका रहेछन्। भारद्वाज आइएको परीक्षा दिने तयारीमा रहेका भारद्वाजलाई ती कैदीले उनलाई आफ्नो साथमा रहेको सो ‘डिक्सनेरी’ दिए।

बिसं ५० को दशकताका एमालेमा नारद्वाजको नाम कसैले उच्चारण गर्यो भने उनलाई नजिकबाट चिन्नेले भन्थ्यो, ‘अंग्रेजी डिक्सनेरी पुरै कण्ठ गरेको मान्छे...।’

‘हो, मैले १४ महिना पढेपछि डिक्सनेरीका सबै शब्द जतिबेलापनि सम्झन सक्ने भएको थिएँ’ भारद्वाज भन्छन्, ‘त्यसै आधारमा मेरो परिचय ‘अंग्रेजी डिक्सनेरी कण्ठ’ गर्ने झापाली बन्दीको रुपमा बनेको थियो।

‘वर्ग संघर्ष’ को क्रममा ‘व्यक्तिहत्या’ लाई संघर्षको प्रमुख साधन बनाएको झापाली समूहमा आवद्ध भारद्वाजको राजनीतिक जीवनलाई त्यही ‘डिक्सनेरी’ ले समयक्रममा प्राज्ञिक र (अहिले) कुटनीतिक जीवनमा ‘टर्न’ गरिदियो। अंग्रेजी भाषामा पकड भएका कारण उनले कुटनीतिक मामिला सम्बन्धी विषयबस्तु गहिरोसँग अध्ययन गरे, विदेश विभागमा आवद्ध रहेर पार्टीलाई सहयोग पनि गरे। प्राध्यापन त उनको पेशा भइहाल्यो।

भारद्वाजको जीवनमा ‘टर्निङ प्वाइन्ट’ ल्याइदिने ती व्यक्ति थिए, धनुषाका गजबहादुर बस्नेत। र, उनले ल्याइदिएको ‘डिक्सनेरी थियो, ‘एडभान्स्ड लर्नर डिक्सनेरी (दोस्रो संस्करण)।’

‘गजबहादुर बस्नेत पढालेखा र शिक्षित व्यक्ति थिए, यस्तो व्यक्तिलाई सायद मूर्ति चोरी काण्डमा फसाइएको थियो कि’ उनले भने, ‘सिरानीभित्र हालेर उनले मलाई त्यो ‘डिक्सनेरी’ दिएका थिए। त्यो ‘डिक्सनेरी’ नपाएको भए मेरो अंग्रेजी राम्रो बन्ने थिएन। गजबहादुरबाट मैले जेलमा त्यो ‘डिक्सनेरी’ प्राप्त गर्नु नै मेरो जीवनको मुख्य ‘टर्निङ प्वाइन्ट’ हो।’

राजनीतिमा लागेकाले जीवनको सबैभन्दा उर्जाशील युवावय जेल (१४ बर्ष) मा बिताएपनि भारद्वाजले कहिल्यै पदका लागि माग गरेनन्। भारद्वाजको क्षमता, योग्यता र पदका लागि आफै लविङ नगर्ने स्वभावका कारण ओलीले आफ्नो पहिलो प्रधानमन्त्रित्वकालमा श्रीलङ्काका लागि राजदूत सिफारिस गरेका थिए।

भारद्वाजका भनाईमा, श्रीलङ्काका लागि राजदूत सिफारिस गरिँदा पनि ओलीले उनीसँग कुनै कुरा गरेका थिएनन्। ‘परराष्ट्रमन्त्री (कमल थापा) ले राजदूत सिफारिस गर्दैछौँ भन्ने जानकारी दिनुभएको थियो, ओलीले यस विषयमा मसँग कुनै कुरा गर्नुभएको थिएन, यस पटक पनि यस्तै भयो’ उनले भने, ‘मेरो योग्यता र क्षमता पार्टी नेताहरुले बुझ्नु भएकै छ, यो मान्छे यहीँ फिट हुन्छ भनेर यो जिम्मेवारी (कतारका लागि नेपाली राजदूत) दिनुभएको होला।’

साउदी अरव लगायत खाडी राष्ट्रहरुको नाकाबन्दी भोगिरहेको कतारमा झण्डै पाँच लाख नेपाली श्रमिक कार्यरत छन्। समयमै तलव नपाउने, तलव नपाउँदा घर फर्कन नपाउने लगायतका समस्या नेपाली श्रमिकहरुले भोगिरहेका छन्। ‘कतार नेपाली श्रमिकका लागि खुला जेल सरह रहेको’ अभिव्यक्ति ‘बीबीसी साझा सवाल’ कार्यक्रममार्फत् दिँदा ‘गैरकुटनीतिक अभिव्यक्ति दिएको’ पाँच बर्षअघि तत्कालिन राजदूत मायाँकुमारी शर्माले पदबाट हात धुनु परेको थियो।

‘अहिले राजदूतका लागि मेरो नाम सिफारिस भएको मात्र हो, आवस्यक सबै प्रक्रिया पुरा गरेर म राजदूत नियुक्त भएँ भने मेरो कर्तव्य नेपाली श्रमिकहरुले भोग्नु परेका समस्या समाधान गर्नु हुनेछ’ भारद्वाजले भने, ‘त्यसबाहेक नेपालको हित हुने गरी द्विदेशीय सम्बन्ध अझ सुमधुर बनाउन सक्दो भूमिका निर्वाह गर्नेछु।’

निश्चय नै, अहिलेका लागि उनलाई सरकारले सरकारले राजदूत सिफारिस गरेको मात्र हो। राजदूतका रुपमा नियुक्त पाउन उनले संसदीय सुनुवाईबाट अनुमोदित हुनुपर्छ, संसदीय सुनुवाई समितिले उनको नाम अनुमोदन गर्यो भने परराष्ट्र मन्त्रालयले उनको नाममा स्वीकृतिका लागि पत्र पठाउँछ, सम्बन्धित मुलुकबाट स्वीकृति (एग्रिमो) प्राप्त भएपछि मात्र उनी राजदूतका रुपमा नियुक्त हुन योग्य हुनेछन्। अनि, राष्ट्रपतिबाट ‘कतारका लागि असाधारण र सर्वाधिकार सम्पन्न राजदूत (एम्बास्डर एक्स्ट्राअर्डिनरी एण्ड प्लेनिपोटेन्सरी) का रुपमा नियुक्त भएर उनी कार्यथलोतर्फ लाग्न पाउनेछन्।

राजदूत नियुक्त भएमा कतारमा काम गर्ने नेपाली श्रमिकको समस्या समाधान गर्न पहल गर्र्नुका अलावा आफ्नो कार्यकालमा गर्नुपर्ने कामको प्रारम्भिक सूची भारद्वाजले बनाएका छन्।

‘हिमालको जल खानेपानीका रुपमा आफ्नो देशमा आयात गर्ने गरी कतारले लगानी गर्न चाहेको कुरा मिडियामा आएका छन्, यसलाई मूर्तरुप दिने मेरो प्रयास हुनेछ’ उनले भने, ‘यसबाहेक नेपालको कृषिको विकासमा लगानीका लागि समेत कतार उपयुक्त मुलुक हो। ‘ग्रिन हाउस’ मार्फत् कृषि उत्पादन गर्ने कतारका लागि हाम्रो देशको स्वच्छ वातावरणमा हुने कृषि उत्पादन उनीहरुका लागि महत्वपूर्ण हुनसक्छ। र, यसका लागि लगानी जुटाउन सकिन्छ।’

‘आर्थिक कुटनीति’ लाई प्राथमिकता दिएको आफ्नो मुलुकका लागि राजदूतका रुपमा के के योगदान दिन सकिन्छ, भारद्वाज प्रारम्भिक अध्ययनमा लागिसकेका छन्।

जेठ ३१, २०७६, शुक्रबार

सीताराम बराल नेपालखबर सम्पादक हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors