म्यागेजिन


‘रायमाझीको नयाँ अवतार’ यसकारण होइनन् ओली

‘स्वच्छ मनसाय’ का साथ डा केशरजङ्ग रायमाझीले गरेका कतिपय गल्तीसँग केपी ओलीका ‘राजनीतिक अपराध’ हरुको तुलना नै हुन सक्दैन


सीताराम बराल
काठमाडौं, जेठ १२

‘तपाईंलाई त अरु कम्युनिष्टले गद्दार भन्छन् नि? काँडाजस्तो यो प्रश्न मैले डा केशरजङ्ग रायमाझीसँग सोधेँ। उनी रिसाएनन्, बरु मुसुक्क हाँसे। तत्कालिन भूराजनीतिक अवस्थाको विवेचना गर्दै आफ्नो अडानको बचाउ गरे।’

बिसं २०४५–४६ ताका मेरो गाउँको पल्लो पाखाका एकजना काका पृथ्वीनारायण क्याम्पस पढ्नुहुन्थ्यो। लोकसेवा परीक्षामा भिड्ने योजनामा पनि हुनुहुन्थ्यो सायद, त्यसैले क्याम्पस–छुट्टी भयो भने ‘सामान्य ज्ञान’ समेटिएका पुस्तक वा पत्रिका झोलाभरि बोकेर गाउँ फर्कनुहुन्थ्यो। गोठालो जाँदा तिनै सामाग्री उहाँको हातमा हुन्थे। म पनि पिताजीका बिए (स्नातक) अध्ययनताकाका साहित्य र इतिहासका पुस्तकका साथ गोरुको पुच्छर निमोठ्दै गोठालो गएको हुन्थेँ। काका र मबीच किताब र पत्रपत्रिका साटासाट हुन्थ्यो।

२०४६ को जनआन्दोलनको सफलतापछि भर्खर कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। एकदिन काका रंगीन कलेबरको पत्रिका बोकेर हलगोरु चराउन आइपुग्नु भयो। उहाँको साथमा रहेको त्यो पत्रिका ‘अन्तर्राष्ट्रिय मञ्च’ (मासिक पत्रिका) रहेछ। आवरणमै ११ जनाको तस्वीर रहेको पत्रिकाले मेरो ध्यान तानिहाल्यो।

‘अन्तर्राष्ट्रिय मञ्च’ ले भर्खर निर्माण भएको अन्तरिम सरकारलाई ‘आवरण कथा’ बनाएको रहेछ। आवरणमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसहित अन्तरिम सरकारमा सामेल ११ जना मन्त्रीहरुको तस्वीर थियो। तीमध्ये दुई तस्वीरका चार कुना काकाले डट्पेनले ‘क्रस’ गरेर केरिदिनु भएको रहेछ। त्यसमध्ये आवास तथा भौतिक योजना मन्त्री अच्युतराज रेग्मीको तस्वीरमुनि ‘अवसरवादी’ लेख्नु भएको थियो भने शिक्षा, संस्कृति तथा सामान्य प्रशासन मन्त्री डा केशरजङ्ग रायमाझीको तस्वीर मुनि अलिक ठूलो अक्षरमा ‘गद्दार’ लेख्नु भएको थियो।

दुबैजना राजा वीरेन्द्रको कोटामा अन्तरिम सरकारमा मन्त्री बनेका थिए। मेरो अल्पज्ञानले त्यतिबेला यत्तिमात्र बुझ्यो, ‘राजालाई झुकाएर बहुदलीय व्यवस्था पुनस्र्थापना भएका बेला तिनै राजाको कोटामा मन्त्री बनेकाले काकाले रेग्मीलाई ‘अवसरवादी’ र डा. रायमाझीलाई ‘गद्दार’ उपमा दिनु भएको होला।’ त्यसबाहेक यस्तो उपमा पाउन उनीहरुले के ‘गल्ती’ गरेका थिए, मलाई जानकारी थिएन।

अहिले पनि नेपालका कम्युनिष्ट पार्टीहरूभित्र जब विवाद र घात–प्रतिघात सुरु हुन्छ, एकले अर्काेलाई डा रायमाझीसँग जोड्छन् र ‘गद्दार’ को उपमा दिन्छन्। षडयन्त्र र दाउपेचमार्फत् पार्टी (एमाले) कब्जा गरेका केपी शर्मा ओलीले निस्कासन गरेपछि बरिष्ठ नेता माधव नेपालले पनि १० जेठमा ओलीलाई ‘डा रायमाझीको नयाँ अवतार’ को रुपमा व्याख्या गरेका छन्, उनीपनि ‘त्यस्तै गद्दार’ रहेको संकेत गरेका छन्। एमालेको औपचारिक विभाजन र नयाँ पार्टी निर्माणसँगै सम्भवतः डा रायमाझीलाई बिम्ब बनाएर गद्दार शब्दको प्रयोग अरु बढ्नेछ।

डा. रायमाझीमाथि नेकपाको महासचिव छँदा ‘कम्युनिष्ट आन्दोलनलाई दरवारमा बुझाएको, १ पुष (२०१७) को कदमलाई समर्थन गरेको र कम्युनिष्ट राजनीतिबाट च्युत भएको’ जस्ता आरोप थियो। उनैलाई देखाएर नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु पनि ‘१ पुषको घटना हुँदा कम्युनिष्टहरुले दीपावली गरेको’ भन्दै कम्युनिष्टमाथि व्यङ्ग गर्थे। जबकि संसद विघटन गरी राजा महेन्द्रले आफ्नै अध्यक्षतामा नयाँ मन्त्रिमण्डल गठन गर्दा नेपाली कांग्रेसका महामन्त्री डा तुलसी गिरि, विश्वबन्धु थापा जस्ता प्रभावशाली नेताहरुले साथ दिएका थिए। राजाको दायाँबायाँ रहने ‘राजनीतिक जर्नेल’ हरु नेपाली कांग्रेसका नेताहरु नै थिए।

तर, ‘राजाको कदममा दीपावली गरेको’ र ‘गद्दार’ को आरोप चाहिँ डा रायमाझीले भोग्नु पर्यो। १ पुष (२०१७) को कदमका बेला खासमा उनी नेपालमा नै थिएनन्। उपचारका सिलसिलामा सोभियत संघमा थिए। मस्को अस्पतालमा उपचार गरिरहेका डा रायमाझीले ‘राजाको समर्थनमा काठमाडौँमा दीपावली गरे’ भन्ने आरोप सुन्दा जोकोहीलाई अचम्म लाग्दैन र?

स्वास्थ्यमा सुधार आएपछि उनी बेलायत हुँदै भारत आए, नेकपाको ‘दरभङ्गा प्लेनम’ मा ‘संसदीय व्यवस्था पुनस्र्थापना’ को वकालत गरे। त्यो प्लेनममा संस्थापक महासचिव पुष्पलालले विघटित संसदको पुनस्र्थापनाको माग गरेका थिए भने मोहनबिक्रम सिंहले संविधान सभाको माग गरेका थिए। मत नमिल्नासाथ अर्काेलाई सिध्याउन अनेक फत्तुर लगाउनु त नेपाली कम्युनिष्टहरुको रोगै हो, डा रायमाझीले पनि त्यस्तै आरोप पाउन थालिहाले।

‘दरभङ्गा प्लेनम’ पछि भारतमा बसेर राजनीति गर्नुभन्दा राजासँग कुराकानी गरेर मुलुकलाई संसदीय व्यवस्थामा फर्काउन सकिन्छ कि भन्ने उद्देश्यका साथ उनी नेपाल फर्के। राजा महेन्द्रलाई भेटे, आफ्नो अडान सुनाए। तर, ‘संसदीय व्यवस्था पुनस्र्थापना’ को मागसँग राजा महेन्द्र सहमत भएनन्, केही दिनपछि रायमाझी काठमाडौँमै गिरफ्तार भए। चीनसँग राम्रो सम्बन्ध रहेकाले २०१८ असोजमा राजा महेन्द्र चीन भ्रमणमा जानुभन्दा केहीअघिमात्र उनलाई रिहा गरियो।

उनी ‘राजावादी’ अवश्य थिए। तर, आरोप लागेजस्तो नेकपाले ‘संवैधानिक राजतन्त्र’ लाई उनी महासचिव हुँदा होइन, २०१३ मा मनमोहन अधिकारी हुँदा नै स्वीकार गरिसकेको हो। २००८ को के.आई. सिंह काण्डपछि जब नेकपामाथि प्रतिबन्ध लाग्यो, पार्टी गतिबिधि गर्न अप्ठेरो परेपछि प्रतिबन्ध फुकाउन तत्कालिन महासचिव मनमोहन अधिकारीले ‘बैधानिक राजतन्त्र स्वीकार गर्ने’ पत्रमा हस्ताक्षर गरेका थिए, त्यसपछि मात्र प्रधानमन्त्री टंकप्रसाद आचार्यको सरकारले कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाएको थियो।

महासचिव मनमोहन अधिकारी उपचारका लागि चीन गएपछि ‘कार्यबाहक महासचिव’ को जिम्मेवारी डा रायमाझीले पाए। त्यसैबेला दामोदर शमशेरको फोहोरा दरबार (जमल) मा नेकपाको दोस्रो महाधिवेशन भयो। संस्थापक महासचिवका हैसियतमा पुष्पलाल श्रेष्ठले महाअधिवेशनको उद्घाटन गरे। तर, फोहोरा दरबारमा लगेर महाधिवेशन गरेको आरोप चाहिँ डा रायमाझीले खेप्नु पर्यो।

बुझ्नुपर्ने कुरा के हो भने, अहिलेजस्तो त्यो बेला ठूला अधिवेशन–सम्मेलन गर्ने सभाहल थिएनन्। त्यसैले, यस्तै राणाकालीन दरबारहरुमा ठूला आकारका यस्ता कार्यक्रम आयोजना गरिन्थे। नेपाली कांग्रेसले पनि २५–३१ वैशाख २०१७ मा महाराजगञ्जस्थित लक्ष्मी निवास ( चन्द्र शमशेरले मोहन शमशेरका लागि निर्माण गरिदिएको दरबार) मा सातौँ महाधिवेशन गरेको थियो। महाधिवेशनबाट बीपी कोइराला सभापति निर्वाचित भएका थिए। यी तथ्यहरुले बताउँछन्, डा रायमाझीमाथि लाग्ने गरेको पञ्चायत आउँदा दीपावली गरेको, कम्युनिष्ट आन्दोलनलाई दरबारमा बुझाएको भन्ने आरोप सतहीमात्र होइन, गलत थिए।

‘राजतन्त्रवादी’ भएपनि उनी निरंकुशताको पक्षधर थिएनन्। पञ्चायती व्यवस्थाको निर्दलीयतालाई उनले कहिल्यै स्वीकार गरेनन्। स्वीकार गरेको भए पञ्चायतकालमै उनी मन्त्री बन्ने थिए। समयक्रममा प्रधानमन्त्री बन्नपनि बन्न सक्थे होलान्। डा तुलसी गिरि भन्दा डा रायमाझीकै अन्तर्राष्ट्रिय व्यक्तित्व सवल थियो। चीन र सोभियत संघजस्ता शक्तिशाली कम्युनिष्ट मुलुकसँग उनकै सम्बन्ध राम्रो थियो। तर, बहुदलीय व्यवस्थाप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायत बाहिरै रहे।

२०३२ मा सूर्यप्रसाद उपाध्याय लगायत चार जना शीर्ष नेताहरुले बहुदलीय व्यवस्थाको माग गर्दै वक्तव्य जारी गर्दा त्यसले निकै ठूलो तरङ्ग सिर्जना गर्यो। वक्तव्य जारी गर्ने चार नेतामध्ये एक डा रायमाझी थिए, बाँकी टंकप्रसाद आचार्य र डा डिल्लीरमण रेग्मी थिए। २०३६ को जनमत संग्रहमा पनि रायमाझी बहुदलको पक्षमा सक्रिय रहे। बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित बहुदलको पक्षमा सभा गर्दै गोर्खा पुग्दा उग्रवामपन्थीहरुको आक्रमणमा परेर झण्डै मारिए पनि।

२०४६ सम्म आइपुग्दा पुष्पलालको ‘संसद पुनस्र्थापना’ वा मोहनबिक्रम सिंहको ‘संविधान सभाको निर्वाचन’ को लाइन भन्दा डा. रायमाझीकै ‘संसदीय व्यवस्थाको लाइन’ व्यवहारिक देखियो। जब बहुदलीय व्यवस्था (संसदीय व्यवस्था) पुनस्र्थापना भयो, त्यसपछिमात्रै डा. रायमाझी अन्तरिम सरकारमा मन्त्री बनेका हुन्।

हो, ‘कम्युनिष्ट चस्मा’ बाट हेर्दा साढे तीन दशक बिताएको कम्युनिष्ट पार्टी (चालिसको दशकताका) परित्याग, राजतन्त्रको समर्थन जस्ता विषयलाई डा. रायमाझीको जीवनको अँध्यारो पाटो मान्न सकिएला। खासमा उनी राजावादी भन्दा बढी राष्ट्रवादी थिए। शीतयुद्ध उत्कर्षमा पुगिरहेका बेला नेपालमा राजा राष्ट्रिय एकताको प्रतिक बन्नसक्छन् भन्ने मान्यताका आधारमा उनले राजतन्त्रको समर्थन गरेको देखिन्छ। चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङ र सोभियत संघका नेता ख्रुश्चेवले पनि उनलाई राजालाई नै समर्थन गर्न सल्लाह दिएका थिए। डा रायमाझीले आफ्नो जीवनमा जेजस्तो राजनीतिक छनोट गरे, तार्किक आधारहरुमा नै गरे। तर, जालझेल, छलकपट, धोका–षडयन्त्र आदिबाट सम्पूर्ण शक्ति हत्याउन खोजिरहेका ओलीलाई जसरी डा रायमाझीसँग तुलना गर्न खोजिँदैछ, त्यो अध्ययनको कमीको उपज त हुँदै हो, डा. रायमाझीप्रतिको अन्याय पनि हो।

ओली ‘चीनको उक्साहटमा नेपालीहरुले लिम्पियाधुरा–कालापानीको मुद्दा उठाएको’ भन्दै नेपालीहरुको स्वाभिमानमाथि धावा बोल्ने भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरभानेका लागि काठमाडौँमा रातोकार्पेट बिछ्याउँछन् र नेपाली सेनाको ‘मानार्थ प्रधानसेनापति’ को ‘दर्ज्र्यानी’ बाट सम्मानित गर्छन्। भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई बालुवाटार भित्र्याएर लिम्पियाधुरा–कालापानीको मूल्यमा सत्ताको मोलमोलाई गर्छन् र अरुलाई चाहिँ नयाँदिल्लीको उक्साहटमा आफ्नो सरकार अपदस्त गर्न खोजिएको आरोप लगाउँछन्। सोभियत संघले अफगानिस्तानमाथि सैन्य हस्तक्षेप गरेर कठपुतली सरकार बनाएकोमा पार्टीभित्रै असहमति जनाउँदै डा रायमाझीले कम्युनिष्ट पार्टी परित्याग गरेको देखिन्छ। नेपाली सार्वभौमिकतामाथि चुनौति दिनेहरुसँग घाँटी जोड्ने ओलीसँग डा. रायमाझीको तुलना गर्न पुग्छौँ भने हाम्रै नियतमाथि पनि प्रश्न उठ्न सक्छ।

व्यक्तिगत व्यवहारमा पनि डा. रायमाझी र ओलीबीच जमीन–आसमानको अन्तर छ। मैले पत्रकारिता जीवनको पूर्वाध्र्द र मध्यकाल दुबै अवधिमा अन्तर्वार्ताका क्रममा डा रायमाझी र ओलीको व्यवहार पढ्ने मौका पाएँ। ‘फलेको बृक्षको हाँगो निहुरिन्छ निरन्तर’– कवि शिरोमणि लेखनाथ पौडेलको यो कविता झैँ डा. रायमाझी सदैव विनित भेटेँ। ‘तपाईंलाई त अरु कम्युनिष्टहरुले गद्दार भन्छन् नि’ काँडाजस्तो यो प्रश्न मैले उनीसँग सोधेको थिएँ। रिसाएनन् उनी, बरु मुसुक्क हाँसे। तत्कालिन भूराजनीतिक अवस्थाको विवेचना गरे। र, आफ्नो अडानको बचाउ गरे।

उनी अर्काको आलोचना गरेर समय खेर फाल्दैनथे। अरुमाथि चोर चौँला ठड्याउने बानी कत्ति थिएन। कार्यक्रममा अतिथिको आसनमा छँदापनि उपस्थितहरुसँग भेट्न मञ्चबाट ओर्लन्थे, दुबै हात छाती अगाडि फिजाउँथे र मधुर मुस्कानका साथ ‘सब ठीक छ हैन त ?’ भन्दै फेरि मञ्चमा फर्कन्थे। गणतन्त्रपछि साधारण नागरिक हुँदा होस् वा त्यसअघि राजसभा स्थायी समितिको सभापति हुँदा, मृत्युपर्यन्त मानिसहरुसँग उनले गर्ने व्यवहार यस्तै रसिलो, हार्दिक, आत्मीय र विनयशील थियो।

मैले ओलीलाई २०४७ मा आफ्नै लमजुङस्थित गाउँमा राजनीतिक कार्यक्रमको सिलसिलामा, गृहमन्त्रीबाट हटेपछि २०५२ मा मंगलबजारस्थित डेरामा र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री छँदा २०६३–६४ ताका शीतल निवास (तत्कालिन परराष्ट्र मन्त्रालय) मा गरी तीन पटक आफ्नो पेशागत (पत्रकारिता) कामको सिलसिलामा भेटेको छु। डा. रायमाझीका विपरित, ‘शक्तिको सोपान’ माथि चढ्दै जाँदा ओलीले गर्ने व्यवहार कसरी कसरी बदलिँदै थियो र आफूमाथि उठेका प्रश्नहरुबाट उनी कति तर्सन्थे, प्रश्न गर्नेहरुलाई कस्तो व्यवहार गर्थे, त्यसको एउटा भुक्तभोगी म आफै हुँ।

२०६३–६४ मा अन्तर्वार्ताका लागि मैले भेट्दा ओली उपप्रधान तथा परराष्ट्र मन्त्री थिए। अन्तर्वार्ताका लागि २०६२–०६३ को आन्दोलनमा उनको (अ)संलग्नता, गणतन्त्रप्रतिको प्रतिवद्धता लगायतका विषयसम्बन्धी प्रश्न मेरो डायरीमा थियो। जब यी प्रश्न सुरु भए, ओली केहीबेर बोल्दै बोलेनन्। उनी रिसाइसकेछन्। मलाई एकछिन घुरेर हेरे र जुरुक्क उठेर हिँडे। उनी ती प्रश्नहरुबाट कति रिसाएका रहेछन्, अन्तर्वार्ता मिलाइदिने मित्रसँग अर्काे कोठामा परेको गलफत्ती सुनेपछि थाहा भयो। ती मित्रले ‘पत्रकारसँग यस्तो व्यवहार गर्नु हुँदैन, आफैलाई घाटा हुन्छ’ भनेर ५–१० मिनेट सम्झाएपछि मात्र ओली अन्तर्वार्ता ‘कन्टिन्यू’ गर्न राजी भए, तर ती प्रश्न नसोध्ने शर्तमा। आफूमाथिका हरेक काँडाजस्ता प्रश्नहरुको जवाफ गुलाफको फूलजस्तो बनेर दिने डा. रायमाझीसँग ओलीको तुलना कदापी हुन सक्दैन।

कोभिड–१९ संकट थपिँदै गर्दा ओलीले पोहोर साल ‘बेसारपानीले कोरोना निको हुन्छ’ भन्दै कथा सुनाए, यससाल ‘अम्बाको पातको झोलले ठीक पार्ने’ उपदेश दिए। नक्कली विश्वविद्यालयबाट ‘मानार्थ विद्यावारिधी’ हासिल गरेका ‘डाक्टर’ ओलीका गफ उनका ‘सर्टिफिकेट’ सँग सुहाउँदो थिए। तर, त्यसको मूल्य चाहिँ निर्दाेष नेपालीले चुकाउनु परिरहेको छ। आवश्यक अक्सिजन र उचित उपचारको अभावका कारण दिनहुँ औसत दुई सय नेपालीले ज्यान गुमाइरहेका छन्।

रायमाझी नक्कली विश्वविद्यालयका मानार्थ विद्यावारिधी प्राप्त डाक्टर थिएनन्। उनी ‘मेडिकल साइन्स’ अध्ययन गरेका चिकित्सक थिए। जनतालाई दुख पर्दा आफैँ पनि उपचारमा अघि सर्थे। नेकपाको महासचिव छँदा चीन भ्रमणमा गएका बेला सांघाईको एक अस्पतालमा विरामीहरुको उपचारसमेत गरे। उनले आफ्नो अध्ययन र प्राज्ञिक प्रमाणपत्रको ओज राख्ने प्रयास बोली–बचन र व्यवहारद्वारा जीवनको अन्तिम अवस्थासम्म गरिरहेकै थिए।

DrRayamajhi1
नेकपा महासचिवको हैसियतमा चीन भ्रमणमा रहेका बेला सांघाईको एक अस्पतालमा बालिकाको उपचार गर्दै डा रायमाझी

राजसभा स्थायी समितिको सभापतिलाई राजतन्त्रकालमा सर्वाधिक शक्तिशाली पद मानिन्थ्यो। तर, राजासँगको निकटतालाई रायमाझीले कहिल्यै व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेनन्। आफू शक्तिशाली ओहोदामा छँदा आफ्ना समर्थकहरुलाई राज्यकोष दुरुपयोगको अवसर दिएनन्। राजनीति गर्दागर्दै उनको जमिन–जायजेथा घट्दै गयो। जीवनको उत्तराद्र्धमा उनी आफैँ आर्थिक संकटमा थिए। कम्युनिष्ट राजनीति परित्याग गरेपनि सरल र सामान्य जीवनशैली, ठूला–साना सबैलाई समानरुपमा गर्ने उनको व्यवहार एउटा ‘आदर्श कम्युनिष्ट’ को भन्दा फरक थिएन।

आफूले कम्युनिष्ट राजनीति परित्याग गरेपनि डा रायमाझी सदैव कम्युनिष्ट आन्दोलनको शुभेच्छुक रहे। कम्युनिष्टहरुसँग उनको आग्रह यत्तिमात्र रह्यो कि, ‘उनीहरु क्रान्तिकारीमात्र होइन, व्यावहारिक पनि भइदिउन्। राजनीति गर्दा पार्टीको मात्र होइन, देशको हित पनि हेरिदिउन्।’ राजतन्त्र स्वीकार गरेर उनले गल्ती नै गरेका थिए भनेपनि त्यसले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनलाई कुनै क्षति पुर्याएन। उकाली–ओराली बेहोर्दै कम्युनिष्ट आन्दोलन अघि बढिरह्यो। परिवर्तनको बेग रोक्न उनी बाँध बनेर कहिल्यै उभिएनन्।

ओलीले भने २०६२–०६३ को जनआन्दोलनबाट प्राप्त परिवर्तनलाई मात्र होइन, संविधानले निर्दिष्ट गरेको राजनीतिक कोर्शलाई अन्यत्रै मोडेर मुलुकलाई नै संकटको दलदलमा फसाइदिएका छन्। गत निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट अधिनायकवादको आरोप लगाएका थिए, ओलीका कर्मले त्यसको पुष्टि हुन पुगेको छ। ओलीका कारण नेपाली कम्युनिष्ट आन्दोलन प्रश्नै–प्रश्नहरुको घेरामा परेको छ। राजा महेन्द्रले त संविधानले दिएको अधिकार प्रयोग गरी एक पटक संसद विघटन गरेका हुन्। तर, ओलीले संविधान र अदालतको आदेश विपरित दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेर आफुलाई समर्थन नगरेको रिस पोखेका छन्। जंगबहादुरले राजा राजेन्द्रकी बडामहारानी राज्यलक्ष्मी देवीको साथ लिएर दर्जनौँ भारदारहरुको जीवन कोतपर्वमा समाप्त पारेका थिए। ‘नेटिजन’ हरुले ‘नयाँ बडामहारानी’ को उपमा दिएका राष्ट्रपति विद्या भण्डारीको साथ लिएर ओलीले निर्वाचित प्रतिनिधि सभाको मात्र होइन, आफ्नो कार्यशैलीमाथि प्रश्न उठाउने सहयोद्धाहरुको ‘राजनीतिक जीवन’ हत्या गरिरहेका छन्, उनीहरुसँग पालैपालो ‘इगो’ साँधिरहेका छन्।

आफ्नै सहयोगद्धामाथि डा. रायमाझीले आफ्नो जीवनकालमा यस्ता दुष्ट हर्कत गरेको कहिल्यै पढ्न पाइएन। उनी आफूसँग असहमत सहयोद्धाहरुको उत्तिकै सम्मान गर्थे। संस्थापक महासचिव पुष्पलालसँग उनको मत मिल्दैनथ्यो। सायद रायमाझीमाथि गद्दारको आरोप लगाउनेमा पुष्पलालपनि थिए। तर, पुष्पलालप्रति उनमा कहिल्यै इगोको लेस रहेको समेत देखिएन।

२०५५–५६ सालताका हुनुपर्छ, पुष्पलालको स्मृतिदिवस आउँदै थियो, पुष्पलाल र आफू सँगै रहेको एउटा रोचक तस्वीर बोकेर उनी जनआस्था (साप्ताहिक) को कार्यालय आइपुगेका थिए। जनवादी गणतन्त्र चीन घोषणाको दशौँ वार्षिकोत्सव (१ अक्टोवर १९५९ अर्थात् १५ असोज २०१६) अवसरमा चीन भ्रमण गर्दाको बेलाको फोटो थियो त्यो, जहाँ डा. रायमाझी आफैँले गाडी ‘ड्राइभ’ गरेर पुष्पलाललाई पेकिङ शहर घुमाइरहेका देखिन्छन्।

DrRayamajhi2
आफैँ गाडी हाँकेर पुष्पलाललाई बेइजिङ घुमाउँदै डा रायमाझी

व्यक्तिगत स्वार्थ र इगोका सगरमाथा बनिरहेका प्रधानमन्त्री ओलीको कसैले डा. रायमाझीसँग तुलना गर्छ भने त्यो नजानेर गरिएको ओलीको प्रसंशा हो। अथवा नियतवश डा रायमाझीमाथि साँधिएको पूर्वाग्रह हो। ओलीले जे जस्ता ‘राजनीतिक अपराध’ गरिरहेका छन्, ‘स्वच्छ मनसाय’ का साथ रायमाझीले गरेका कतिपय गल्तीसँग ओलीका ‘राजनीतिक अपराध’ हरुको तुलना नै हुन सक्दैन।

राजनीतिमा कसैमाथि लगाइने आरोप र त्यसका लागि प्रयोग गरिने बिम्ब नयाँ र सान्दर्भिक हुनुपर्छ, रचनात्मक पनि हुनुपर्छ। पुरानो सन्दर्भ र चेतनामा लगाइएका आरोपहरु नयाँ सन्दर्भ र चेतनामा सान्दर्भिक–कामयावी हुनसक्दैनन्। बरु, त्यस्ता आरोपहरुले अर्थको अनर्थ दिन सक्छन्। पुष्पलालहरुले उतिबेला डा रायमाझीमाथि लगाएको आरोप र दिएको उपमा अहिले ओलीका हकमा प्रयोग गर्नु अक्षम्य ‘राजनीतिक अपराध’ हरुबाट ओलीलाई चोख्याउनु हो।

कम्युनिष्टकै नाममा ओलीले कम्युनिष्ट आन्दोलन र ‘जबज’ कसरी रसातलमा पु¥याइदिएका छन्, राष्ट्रवादको मुकुण्डो लगाएर कसरी नयाँदिल्लीसँग लिम्पियाधुरा–कालापानीको मूल्यमा सत्ताको सौदावाजी गरिरहेका छन्, ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिएर आफ्ना आसेपासेहरुलाई नियुक्ति र सातपुस्ता पुग्नेगरी कमाउने मौका दिइरहेका छन्, धर्मको नाममा कसरी आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न खोजिरहेका छन्, एकताको नाममा कसरी आफ्नै राजनीतिक बन्धुबान्धवहरुमाथि छुरा धस्ने प्रयास गरिरहेका छन्? यी प्रश्नहरुको विवेचना गरेर ओलीका लागि नयाँ बिम्बहरु खोज्न जरुरी छ। यो काम कम्युनिष्टहरुले गर्दा हुन्छ, नेपाली कांग्रेस, वा मधेशवादी शक्ति वा अरु कसैले गर्दापनि फरक पर्दैन।

 

जेठ १२, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors