ad ad

म्यागेजिन


महिलावाद पछ्याउँदै बर्मादेखि नेपाल

महिलावाद पछ्याउँदै बर्मादेखि नेपाल

कृष्ण आचार्य
भदौ २, २०७६ सोमबार ७:५४,

उनको छातिमा प्रष्ट एउटा ट्याटु देखिन्छ। जहाँ लेखिएको छ– स्वतन्त्र। उनले मनलाई स्वतन्त्र राख्छु भनेर सो ट्याटु खोपाएकी हुन्। ट्याटु उनको रहर पनि हो।

महिला भएर यस्तो रहर पाल्नु नन्दु ज्ञवाली जन्मिएको समुदायमा पाप कहलिन्छ। अभिशाप नै मानिन्छ। त्यसैले उनले आफ्नो यो रहरलाई धेरै वर्ष दबाएर राखिन्।

रंगुन, म्यानमार (बर्मा) को ब्यापरिक राजधानी हो। यो सहरको यात्रासँगै उनले सन् २०१७ (२२ वर्षको उमेरमा) मा आफ्नो रहर पनि पूरा गरिन्। अर्थात् उनले महिलाका लागि समाजले बर्जित गरेको रहर पुरा गरिन्।

***
दक्षिण एसियाली मुलुक बर्मासँग नेपालको साइनो सदियौँदेखि रहिआएको छ। त्यहाँ नेपाली गोर्खालीको रुपमा परिचित छन्।  बौद्ध धर्ममा आस्था राख्ने बर्मेलीका बीच गोर्खालीहरु पनि मिलेर बसेका छन्। दुवैको सामाजिक जीवनमा थुप्रै समानता छन्।

उनी नेपाली भाषी समुदाय रहेको बर्माको सानो गाउँमै जन्मिएकी हुन्। त्यही हुर्किइन्। उनका जिजुबाजे नेपालबाट बर्मा गएका थिए। अहिले उनी त्यहाँ तेस्रो पुस्ताकी नेपाली भाषी हुन्। जो बर्मेली समाजलाई आफ्नो जन्म र कर्मथलो बनाएर अघि बढिरहेकी छिन्।

नन्दुको जीवन भने अन्य नेपालीभन्दा फरक छ। आखिर के कुरामा त?

विद्रोह घरदेखि नै
न्याय नभएको उनको परिवार। न्याय नभएको सामाजिक परिवेश। नन्दुले सानैदेखि महसुस गरिन्। अलि पर पुगेर उनले संसारलाई हेरिन्। उनले त्यहाँ पनि न्याय भेटिनन्।

छोरी मान्छे हुनुको कारण उनले खाना पकाउन जान्नु पर्ने। भाँडा माँझ्न, घर सफा गर्न सिक्नुपर्ने। त्यही कुरा उनले आफ्नो दाइ र भाइलाई सिकाएको कहिल्यै देखिनन्। घरमा मात्र होइन स्कुलको वातावरण पनि त्यस्तै थियो। जति स्मार्ट भए पनि छोरी मान्छेलाई प्रोत्साहन गर्ने काम कहिल्यै भएन। उनले महसुस पनि गरिनन्।

अर्कोतर्फ, छोरी घरेलु काम गरेर भान्सामा सीमित हुनुपर्ने अवस्था भने छोरालाई संसार बुझ्ने अवसर। नन्दुले यो कुरा स्वीकार्य थिएन।

  nandu g3

हुन त नन्दुले छोरी मान्छेका लागि भनेर समाजले छुट्याएका हरेक काम सिकेकी थिइन्। उनलाई यी कामहरु गर्दा स्याब्बासी पाउँथिन्। कस्तो राम्रो काम जानेकी, कति सिधा, कति सुशील, कति सभ्य, कति लजालु आदिआदि। उत्साही हुन्थिन्।

तर जब उनले समाज बुझ्दै गइन् तब आफूलाई भेदभाव गरिएको महसुस गर्न थालिन्। त्यतिबेला उनी १९ वर्षकी थिइन्।

त्यसपछि?

‘मैले घरबाटै संघर्ष गर्ने निधो गरेँ। मलाई लाग्यो, यदि म भेदभावपूर्ण सामाजिक परिवेश परिवर्तन गर्न चाहन्छु भने त्यसको सुरुवात घरबाटै गर्नुपर्छ’, उनी भन्छिन्, आमा–दाइले भनेको काम नगर्ने, बिहान ढिला उठ्ने, अह्राएको काम दाइलाई भन्नु भन्ने र आफूले छोरा मान्छेले गर्ने काम गर्ने गरेर मैले घरबाटै विद्रोह सुरु गरेँ। यस्तो व्यवहारपछि उहाँहरुको गाली र घृणा धेरै आयो। मैले त्यसलाई पनि सहेँ।’
यसो भनिरहँदा नन्दु निकै उत्साही देखिन्छिन्। उनको आँखामा आगो छ। मुहारमा उत्तेजना।

नन्दुकी आमा उनलाई बिहानै झिसमिसेमा उठ्न अह्राउँथिन्। किन उठ्ने भनेर प्रश्न गर्दा आमाको उत्तर आउँथ्यो, ‘छोरी भएका कारण। भोलि बिहे गरेर अर्काको घरमा जाँदा गर्नुपर्ने काम तिमीले अहिल्यै सिक्नुपर्छ।’

नन्दु पनि भनिदिन्थिन्, ‘बिहे मेरो चाहनामा हुनुपर्ने हो वा तपाईंको दबाबमा। बिहे मेरो अधिकार हो वा तपाईंको शासन? के थाहा म बिहे नगर्न पनि सक्छु।’ आमालाई यसो भन्दा उनको मन अमिलो पक्कै हुन्थ्यो तर, उनलाई समाजसँग विद्रोह गर्नु थियो। त्यसका लागि यो उनको पूर्वतयारी थियो।

दाइसँग पनि उनले विद्रोह गरिन्। नन्दु कुनै काम गर्दै हुन्थिन् भने उनका दाइ त्यत्तिकै बसिरहेका हुन्थे। दाइलाई भात पस्किएर नन्दुले दिनुपथ्र्यो। यस्तो अवस्थामा उनी दाइलाई भन्थिन्, ‘तेरो पनि हात–खुट्टा छ, तँ आफै पस्किएर पनि खान सक्छस्।’

यो नन्दुको समानताको लडाईका लागि चालिएको पहिलो पाइला थियो।

दोस्रो पाइला के थियो नि?

‘मैले दुई पटक कलेज छाडेँ। एकपटक बर्माको र अर्को पटक बंगलादेशको शिक्षा प्रणाली मन नपरेर। प्रणाली सँगै मलाई शिक्षकहरुको व्यवहार पनि चित्त बुझेन। शिक्षकलाई भगवान मान्नुपर्ने, विद्यालय केही सिक्न भन्दा पनि शिक्षकको आदार गर्नुपर्ने आदिआदि’, उनी सुनाउँछिन्।

nandu 62

‘सामाजिक विज्ञान’ कार्यक्रम अन्तर्गत नन्दुले थाइल्याण्डमा पढ्ने अवसर पाएकी थिइन्। अमेरिका, क्यानडा र थाइल्याण्डका शिक्षकहरुसँग उनले धेरै कुरा सिक्न पाइन्। शिक्षक भनेको विद्यार्थीका साथी हुन् र विद्यार्थी–शिक्षकबीच सिक्ने र सिकाउने प्रक्रिया महत्वपूर्ण हो भन्ने।

थाइल्याण्डमा पढेपछि उनले बर्मा फर्किएर स्थानीय तहमा शैक्षिक जागरण जगाउने काम गर्न थालिन्। केही समय काम गरेपछि उनलाई अब मैले थप पढ्नुपर्छ भन्ने लाग्यो। तर बर्मामा उनले थाइल्याण्डको जस्तो वातावरण पाइनन्।

अब उनलाई विदेश जान मन लाग्यो। सामान्य प्रयासमै उनले बंगलादेशको छोरीहरुका लागि प्रसिद्ध कहलिएको एक कलेजमा छात्रबृत्ति पाइन्। ६ महिनासम्म त्यहाँ गएर पढिन्। त्योभन्दा बढी टिक्न सकिनन्। त्यहाँको शिणा प्रणाली उनलाई दमित लाग्यो। शिक्षकहरुले आफ्नो आदर्श लाद्न खोजेको भान हुन थाल्यो।

‘मैले यस्तो ठाउँमा चार वर्ष बिताएँ भने यहाँबाट के कुरा सिक्छु भन्ने लाग्यो’ नन्दु विगत सम्झन्छिन्, ‘त्यसपछि म स्वदेश फर्किएँ।’

उनी मन्दिर जान छाडिन्
नन्दुले विस्तारै महिलावाद, महिला समानता, महिलाको शारीरिक तथा मानसिक पक्षबारे आफ्नी आमालाई पनि सम्झाउन थालिन्। ‘सायद उहाँको मप्रतिको प्रेमले पनि होला उहाँले मेरो मनोभाव बुझ्न थाल्नुभयो’ नन्दु सुनाउँछिन्, ‘तर समाजलाई यो कुरा बुझाउन निकै गाह्रो थियो।’

उनले हार मानिनन्। हिम्मत जुटाउन थालिन्। आफूले गुमाउन नचाहेका कुरा पनि जानाजान गुमाउन थालिन्। मन्दिर जान छाडिदिइन्। उनलाई लाग्यो मन्दिरमा धर्मको नाममा छोरा–छोरीमाथि असमानता भइरहेको छ।

कस्तो असमानता ?

नन्दु प्रश्न गर्छिन्, छोरा मान्छेले जति जाँड खाए पनि मन्दिर प्रवेश गर्न पाउने तर छोरी ‘पिरियड’ हुँदा किन जान नपाउने ?

 यो उनको समाजसँगको पहिलो संघर्ष थियो। जुन सांकेतिक थियो।

भिडियो:

आमासँग गरेको संघर्ष उनले समुदायका छोरा मान्छेसँग पनि गर्न थालिन्। उनले समाजमा लैंगिक दृष्टिकोण लाद्न थालिन्। जतिबेला उनी ‘रुलर डेभलेपमेन्ट फाउन्डेसन’ मा सामाजिक परिचालिकाको रुपमा काम गर्थिन्। यो सन् २०१४ को कुरा हो।

असमानता उनकै कार्यालयमा पनि थियो। उनी कार्यालयका साथसीहरुसँग जतिबेला पनि लैगिंक समानताको वकालत गर्थिन्। जोसँग भेट्दा पनि छोरा र छोरीबीचको असमानताका विषयमा आफ्नो विचार राखिहाल्थिन्।

समान काम गर्ने एउटै कार्यालयका कर्मचारी (महिला र पुरुष)को तलब फरक–फरक थियो। नन्दुले हाकिमसमक्ष आवाज उठाइन्, ‘काम मैले पनि बराबर गरेकी छु भने उसको भन्दा मेरो तलब किन कम?’

नन्दुको यस्तो व्यवहार समाजले स्वीकार गरेन। अफिसले सुनेर उडाइदियो। उनलाई धेरैले ‘पागल’ भने। परम्परादेखि रहिआएका चिजहरु परिवर्तन गर्न खोजेको आरोप लगाइयो। यतिसम्म कि महिलाहरुले पनि उनको विचारलाई सुन्न चाहेनन्।

‘त्यसपछि तपाई थाक्नुभयो होला होइन ?’

‘अहँ म थाकिन। किन कि मैले संघर्षका दौरान परिवारबाट पाएको घृणा महसुस गरिसेकी थिएँ’, उनले सुनाइन्, ‘समाजको घृणालाई पनि सहने निचोड निकालेँ। घृणालाई एकदिन प्रेममा परिवर्तन गर्ने संकल्पका साथ म अघि बढेँ। हो, छातिमा हात राखेर, अघि बढेँ तर, म थाकिन।’

त्यसपछि पर्पल फेमिनिस्ट ग्रुप
नन्दुले परिवार र समाजबाट सुरुमा स–साना कुरामा असहमति जनाउँदै फरक मत राखिन्। किन कि उनलाई थाहा थियो, पहिले साना कुराहरु परिवर्तन नहुँदै ठूलो परिवर्तन सम्भव छैन।

उनले लगातार तीन वर्ष यसैगरी सामाजिक सचेतना जगाउने काम गरेर बिताइन्। रंगुनमा उनको महिला अधिकारवादीको रुपमा चर्चा हुन थाल्यो। मिडियाहरुमा उनको कामबारे समाचार आउन थाले।

विडम्बना! गाउँमा जाँदा भने सामान्य महिलाको रुपमा नै चिनिन्थिन् उनी। किन कि गाउँलेहरु न महिला अधिकारबारे बुझ्थे न नन्दुको समाचार बोकेर उनको गाउँसम्म टिभी वा पत्रपत्रिका नै पुग्थे।

nandu g

अब उनलाई आफ्नो अभियानलाई अझ व्यापक बनाउनुपर्छ भन्ने लाग्यो। आफू गाउँसम्म पुग्नुपर्छ भन्ने लाग्यो। त्यसपछि जन्मियो, पर्पल फेमिनिस्ट ग्रुप। सन् २०१८ को सरुवातमा।

उनले राम्रोसँग बुझेकी थिइन्, गाउँलेहरु व्यक्ति (आफू)मार्फत जाँदाभन्दा संस्थागत रुपमा जाँदा आफ्नो अभियानमा बढी विश्वास गर्छन्।

यो समूहमार्फत नन्दुले गाउँ–गाउँमा विभिन्न अन्र्तक्रिया तथा भेला गरेर महिला जागरण चलाउन थालिन्।

उनको विचार समाजले स्वीकार नगरे तापनि धेरैको कानसम्म पुग्यो। यो समयमा समुदायका महिलाहरु महिला समानताका बारेमा जानकार हुन थाले।

‘आफ्नो श्रीमान्बाट पिटाई खाँदा श्रीमतीहरु हाम्रो बाबुले आमालाई पिटेका थिए हामीले पनि पिटाई खायौँ भन्ने भावना राख्छन्’, नन्दुलाई मन दुखेको एउटा पक्ष छ, ‘उनीहरुलाई घरेलु हिंसा भनेको के हो भन्ने नै थाहा छैन। त्यसैले मैले यो कुरा बुझाउने काम गरिरहेकी छु।’

अहिले धेरैले हिंसाबारे बुझिरहेका पनि छन्। तर, बुझाउनुपर्ने अझै धेरै छ।

कमजोर महिला साहित्य
बर्मामा महिला साहित्य नगन्य छ। त्यसैले पनि महिला अँध्यारोमा छन्। नन्दुलाई लाग्छ महिलाका विषयमा साहित्य नलेखिएका कारण पनि उनीहरुले बर्मामा नारीवादबारे बुझ्न पाइरहेका छैनन्।

‘साहित्य ज्ञानको ज्योति हो र यसले मानिलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने काम गर्छ। त्यसैले पनि मैले साहित्यमा हात हालेकी हुँ।’ नन्दुले सोचेअनुसार उनको पुस्तकले प्रभाव पनि पार्न सक्यो। पुस्तक पढेपछि गाउँका धेरैले उनलाई ‘म त नारीवादी रहेछु नि’, भन्ने प्रतिक्रिया दिन थाले।

नन्दुले नाइजेरियन लेखक चिमामन्दा नागुजी आदिचीको ‘उई सुल्ड अल वी फेमिनिस्ट’लाई बर्मेली भाषामा अनुवाद गरेकी थिइन्। जसमा संसारमा नारीवाद किन आवश्यक छ भन्ने कुरा उल्लेख गरिएको छ।
पुस्तकमा घर, परिवार, साथी र गाउँको उदाहरण पेश गरिएको छ। जसले गर्दा पढ्ने महिलाहरु आफ्नै कथा र आफू नै पुस्तकको पात्र भएको महसुस गर्छन्।

‘योनीका कथाहरु’को अवधारणा कसरी बनाउनुभयो त?

अमेरिकी नाट्यकर्मी तथा अभियन्ता इभ एन्सलरले आजभन्दा दुई दशकअघि थुप्रै महिलासँग कुरा गरेपछि उनीहरुले भोग्ने पीडा होस् या ब्यहोरिरहेको हिंसा कुनै रुपमा योनीसँग जोडिएर रहेको छ भन्ने पत्ता लगाइन्।

योनी मनोवादमा तयार पारिएको नाटकले संसारभर चर्चा पयो तर बर्मामा पाएन। त्यसपछि उनलाई लागेछ अब त्यसलाई बमार्मा भित्र्याउनुपर्छ।

उनले बर्मामा काम गरिरहेका केही विदेशी साथीलाई जम्मा गरेर नाटकबारे छलफल गरिन्। साथीहरु सहमत भए।

अब बर्मामा पनि देखाइने भयो ‘भजाइना मनोलग’ (योनीका कथाहरु)। ‘योनी’ शब्द उच्चारण गर्नसमेत हडबडाउने बर्मेली समाजमा योनीको कथा नै बोल्ने नाटक मञ्चन हुने भयो।

‘बर्मेलीहरु ‘योनी’ भन्नासाथ तर्सन्छन्। यसबारे खुलेर बहस गर्न सम्भव होला त?’ नन्दुको मनमा सबैभन्दा ठूलो प्रश्न यही थियो।

‘अन्य साथीहरु विदेशी थिए। भोलि कुनै अफठ्यारो परे उनीहरु आफ्नो देश जालान् तर, म कहाँ जाने?’ उनको मनमो अर्को पनि प्रश्न नखेलेको होइन तर उनले चुनौति मोलिन्। तीन महिनाको तयारीपछि सन् २०१८ मा नाटक मञ्चन हुने नै भयो।

नन्दुलाई लागेको थियो आफ्नै सर्कलका केही साथीहरु त नाटक हेर्न आउलान्। त्यस्तै, १०–२० जना।

तर उनले सोचेको भन्दा धेरै मानिसहरु आइदिए। नन्दु उत्साही हुँदै भन्छिन्, ‘हामीले एउटा होटलमा नाटक प्रदर्शन गरेका थियौँ। त्यो होटलको बाटोभरी मानिसहरु भरिए।’ नन्दुले त्यतिबेला लामो सास तानिन् र आफैसँग भनिन्, ‘बाँचियो।’

सन् २०१९ को मार्चमा नाटक बर्मेली भाषामा अनुवाद गरेर फेरि चलाइयो। चार दिनसम्म चलेको नाटक सयौँ महिलाले हेरे।

पाँचौँ दिनदेखि त घर, बाटो होस् या कार्यालय जताततै नाटकबारे चर्चा हुन थाल्यो। मानिसहरु ‘योनी’ शब्द उच्चारण गर्न सक्ने भए। नन्दुलाई लाग्यो परिवर्तन यही हो।

‘आफूसँग योनी छ भन्ने सोच्दासमेत पाप ठान्नेहरु बोल्न थाल्नु नै परिवर्तन होजस्तो लाग्यो मलाई’, उनी भन्छिन्, ‘त्यसपछि त म झन् बलियो भएँ।’

नाटकले अन्तर्राष्ट्रिस्तरमा पनि चर्चा पायो। नन्दु एकाएक अन्तर्राष्ट्रिय मिडियाको नजरमा परिन्। उनलाई बर्माकी सबैभन्दा चर्चित महिलावादीको संज्ञा दिइयो। 

‘तपाईंलाई पुरुषविरोध भनेर गलाउने प्रयास भएन?’ मैले नन्दुसँग आफ्नो जिज्ञासा राखेँ।

‘महिलावाद पुरुषविरुद्धको लडाई होइन। पुरुषसत्ताले छोरा मान्छेलाई पनि निकै सानो (संकुचन) बनाएको छ। आफ्ना लागि भात पकाउन नसक्ने बनाइदिएको छ’, उनी भन्छिन्।

नन्दु एकछिन रोकिएर मतिर हेरिन् र प्रतिप्रश्न गरिन्, ‘हो कि होइन भन्नुुस् त?’ 

मेरो उत्तर नकुरी उनले जवाफ दिइन्, ‘छोरा मान्छेले खाना बनाउन सक्छन् नि तर हाम्रो समाजले उनीहरुलाई भान्साबाट बञ्चित गरेको छ। मैले उनीहरुलाई पनि यसबारे बुझाएँ।’ 

यसरी नन्दुको महिलावादी अभियानले परिवारमा परिवर्तन ल्यायो। उनका आमा र दाइले छोरा–छोरी बराबर हुन् भन्ने कुरा राम्रोसँग बुझे। बुझ्नेमात्र होइन अरुलाई पनि बुझाउन थाले। नन्दुको परिवारसँगै बर्मेली महिलाले पनि खुलेर बोल्न र समानताका लागि आवाज उठाउन थाले। त्यहाँ रहेका धेरै नेपाली भाषीले भने बुझेर पनि बुझ पचाए।

नेपाली भाषी किन यति कठोर? त्यही बुझ्न नन्दु नेपाली भाषीको अवशेष खोज्दै असारमा नेपाल आइन्। एक महिना बसेर अध्ययन पनि गरिन्।

निष्कर्ष के निस्कियो त?
मैले नेपालमा महिलाको अवस्थबारे अध्ययन तथा अवलोकन गरेँ।’ थुप्रै महिलावादीसँग भेटेँ। र, एउटा निष्कर्ष पनि निकालेँ, ‘नेपालमा महिला अधिकारका लागि बोल्नेहरु धेरै छन्। यस अर्थमा नेपालका महिला बर्मेलीभन्दा धेरै माथि छन्। तर...’

तर के ?

उनी भावुक हुन्छिन्, ‘नेपालमा आवाज उठाउनेहरु धेरै भए तर आफैँबाट परिवर्तन गर्नेहरु भएनन्।’ यसरी महिलावादको सवालमा नेपाल बर्माभन्दा पछाडि रहेको उनको बुझाइ छ।

***

अहिले नन्दुको शरीरभरी ८ वटा ट्याटु छन्। उनी आफ्नो शरीरलाई आफ्नो चाहना बमोजिम प्रयोग गर्न सक्छिन्।

नन्दुलाई आफ्नो रहर पुरा गर्न बर्माको शान प्रदेशको सानो गाउँ मान्साङबाट रंगुन पुग्नु पर्‍यो। उनीजस्तै हजारौँ नन्दुहरु आफ्नो रहर पुरा गर्न रंगुन जान सक्दैनन्।

नन्दुलाई लाग्छ उनीहरुले आफ्नै गाउँमा बसेर आफ्नो रहर पूरा गर्नुपर्छ। अर्थात्, उनले तय गरेको ट्याटुको लडाई एउटा रहर सँगै समानताको लडाई पनि हो। जुन लडाई नन्दु जीवनभर लडिरहनेछिन्।

‘एकदिन परिवर्तन सम्भव छ। म हार खाँदिन’, उनका धुमिल आँखा भनिरहेका छन्। यो भाव शब्दभन्दा बलियो देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .