ad ad

म्यागेजिन


आमाबाका नाममा किनेको त्यो आइफोन

आमाबाका नाममा किनेको त्यो आइफोन

रुमु न्यौपाने
साउन ३२, २०७६ शनिबार १३:१९,

लामो समयको परिश्रम र प्रयासपछि सुवास ई.सुवास ढकाल बन्न सफल भएको छ। अमेरिकाको नाम चलेको विश्वविद्यालयमा इन्जिनियरिङको पढाइ सकेपछि आफैँले आफूलाई ऐनामा हेर्र्दै मख्ख पर्छ। बुबाआमाको पहिल्यैदेखिको सपना साकार गर्न सकेकोमा मनमनै गद्गद् छ।

अमेरिकामा इन्जिनियरिङ पढे पनि आफ्नै देशको राम्रो कम्पनीमा काम गर्ने उसको ठूलो धोको छ। ऊ आफ्नो विगतलाई फर्केर हेर्छ।

०००
सुवासको बुबा काठमाडौँको एक सरकारी कार्यालयमा समान्य जागिरे थिए। आमा गृहणी थिइन्। घरको आर्थिक अवस्था खासै राम्रो थिएन। गरिबीको दलदलमा फसेको थियो उसको परिवार। घरको एकमात्र सन्तान सुवास, बुबाआमाको आशाको दीप थियो।

त्यसो त ऊ पनि आश गर्न लायककै थियो। उसले कहिल्यै बुबाआमालाई केही कुराको गुनासो गरेन। पढाईमा त अब्बल थियो नै अन्य कुरामा पनि पोख्त थियो ऊ। छोराको त्यही लगन देखेरै लीलाधर अर्थात् सुवासका बुबा भनिरहन्थे, ‘बाबु तैंले हाम्रा लागि केही गर्नुपर्दैन बस् समाजको एउटा प्रतिष्ठित व्यक्ति बनेर हाम्रो जीवनलाई सार्थक बनाइदे।’

प्रवेशिकामा राम्रो अंक ल्याएर उत्र्तीण भएपछि के पढूँ के पढूँ भन्ने दोधार हुँदाहुँदै इन्जिनियर बन्न फिजिक्स नै रोज्यो उसले। कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याएपछि उसले अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयमा स्कलरसीप पायो।

स्कलरसीपमा नाम निस्केपछि भारी मन लिएर छोरालाई अमेरिकाका लागि बिदाइ गर्न त्रिभुवन विमानस्थलसम्म पुगेका थिए उसका आमाबुबा। आमाको मन न हो छोरालाई बिदाइ गर्ने बेला गहभरि आँसु पार्दै मिराले भनिन्, ‘बाबु आफ्नो ख्याल राखेस् है।’

सुवास भारी मन लिएर हवाइजहाज भएतिर मोडियो। त्यहीँबाट सुरु भयो उसको जिन्दगीको नयाँ अध्याय, संर्घषको नयाँ कथा। बिरानो शहर, बिराना मानिसहरुको बीचमा सुवास आफ्नो भविष्य खोजिरहेको थियो। कहिले भोकोपेट त कहिले रित्तो गोजी। यस्तै समस्याहरुसँग जुध्दै र संर्घष गर्दै इन्जिनियरिङ पढिरहेको थियो ऊ।

त्यही भेटिइन् आशिका। गोलो मुहार, ठूलो आँखा, मिलेको ज्यान अनि हेर्दा पनि निकै आर्कषक देखिन्थिन् उनी। सुवास र आशिका एउटै विश्वविद्यालयमा थिए। अमेरिका पुगेको महिना दिन बितिसक्दा पनि उनीहरुबीचमा खासै कुरा भएको थिएन। एकदिन आशिकाले नै परिचय सुरु गरिन्, ‘हाई आई एम आशिका पोखरेल।’

‘आई एम सुवास ढकाल’ बिरानो शहरमा साथीलाई भेटेपछि राहतको सास फेर्दै सुवासले जवाफ दियो। आशिका जति राम्री देखिन्थिन् त्यति नै मिलनसार पनि रहिछिन्। त्यही दिनदेखि उनीहरुकोको मित्रता झांगिँदै गयो।

अमेरिका पुगेदेखि सुवासले घरमा राम्ररी कुरा गर्न पाएको थिएन। बुबासँग सानो नोकियाको श्यामस्वेत मोबाइल थियो। आमासँग मोबाइल नै थिएन। बुबासँग भएको सानो मोबाइलमा न फेसबुक प्रयोग गर्न मिल्थ्यो न त भाइबर नै। सधैं कार्ड किनेर टेलिफोन बुथबाट फोन गर्नुपथ्र्यो सुवासले। आमा र बुबाको कारुणिक स्वर सुन्दासुन्दै कतिखेर कार्डको पैसा सकिन्थ्यो उसले पत्तै पाउँदैनथ्यो। सुवासको मन कटक्क खान्थ्यो बुबाआमाको त्यो मोबाइल सम्झेर। उसले आफ्ना लागि पनि धेरैपछि मोबाइल किनेको थियो। घर फर्कदा बुबाआमा दुवैका लागि एउटा स्मार्ट फोन लगिदिने मन थियो उसको।

०००
ऐना हेर्दाहेर्दै विगतबाट वर्तमानमा फर्केपछि सुवासले आशिकालाई फोन ग¥यो। आशिकाले एकै घण्टीमा फोन उठाई। अस्ति भर्खरजस्तो लाग्छ उनीहरुको कुरा हुन थालेको तर परिचय भएकै ५ वर्ष पुगिसकेछ।

अब त दुवै जना इन्जिनियर भइसकेका छन् अनि दुवैले एकअर्कालाई मन पराउन थालेका छन्। तर, पनि आफ्नो अभिभावकको अनुमतिमा मात्र विवाह गर्ने दुवैको निर्णय थियो।

आशिकाले फोन उठाएपछि सुवासले भन्यो, ‘आशिका, बुबाआमाको लागि नयाँ मोडलको मोबाइल किनिदिनु छ, जाउँ है।’

सुवासले आफ्नो कमाईले पहिलोपटक बुबाआमाका लागि केही किनिदिन लागेको थियो। ऊ अत्यन्तै खुसी देखिन्थ्यो। खाइनखाई गरेर उसले पैसा जम्मा गरेर राखेको थियो मोबाइल किन्नका लागि।

उसले बुबाआमा दुवैलाई आइफोन किनिदिने निर्णय ग¥यो। र, दुई वटा ‘आइफोन सिक्स’ किन्यो पनि।

मन त उसलाई आइफोन एक्स नै किन्ने थियो। तर,  के गर्नु मन मात्रै भएर पनि केही नहुने रहेछ। कमाएको पैसाले उसले आइफोन मात्रै किन्नु थिएन, बुबाआमाको जिम्मेवार छोरा बनेर सानो टहरा बनाउनु थियो।

भोलिपल्ट उनीहरुको सधैँका लागि नेपाल जाने योजना थियो। त्यसैले अमेरिकाको अन्तिम रातमा आशिका र सुवास दुवैले बाहिरै डिनर गर्ने निर्णय गरे।

फर्कँदै गर्दा आशिकाले सुवासलाई निकै खुसी देखिरहेकी थिई। सुवासका अगाडि तीनवटा खुसी एकैपटक आएका थिए। एउटा बुबाआमाको सपना पूरा गरेको खुसी अनि अर्को घर फर्केर बुवाआमासँग भेट्न पाउने खुसी रे तेस्रो आशिका जो उसकै अगाडि थिइ।

०००
सुवास अपार्टमेन्ट पुगेर ढोका खोल्छ। कोठाभित्र लुगैलुगा छरपस्ट छरिएर हेरिसक्नु छैन। सुवास छिटोछिटो गरेर कोठा सफा गर्छ र सुटकेशमा कपडा मिलाउन थाल्छ। सबैभन्दा पीर त उसलाई बुबाआमाका लागि किनेको दुईवटा आइफोन कता राखुँ भन्ने भइरहेको छ। लुगाको बीचमा बडो जतनले फोन राख्छ।

सबै लुगा प्याकिङ गरिसकेर सुत्न जान्छ। आशिका र सुवासको नेपाल जाने बिहानैको फ्लाइट छ। घर पुगेर बुबाआमालाई त्यो आइफोन दिँदा उहाँहरु कति खुसी हुनुहुन्छ होला भन्ने सोच्दा–सोच्दै ऊ निन्द्रदेवीको काखमा पर्छ।

बिहान ७ बजे विमानस्थल पुगिसक्नुपर्ने थियो। त्यसैले ५ बजे नै आशिकाले फोन गरेर सुवासलाई उठाई। उठ्नासाथ सुवासलाई हिजो किनेको आइफोनको याद आयो। हत्तपत्त उठेर सुट्केशमा प्याक गरेर राखेको आइफोनलाई एक नजर लगायो अनि फोन पाएपछिको बुबाआमाको खुसीको कल्पना गर्यो।

अमेरिका गएपछि सुवास एकपटक पनि नेपाल आएको थिएन। त्यसैले ऊ सोच्दै थियो, काठमाडौंको आफ्नो घर अगाडिको बाटो पिच भयो कि भएन होला? बाटोभरी थुपारिने फोहरको डंगुरहरुको व्यवस्थापन भयो कि भएन होला?

०००
प्लेन त्रिभुवन विमानस्थलमा ल्यान्ड हुन्छ। उनीहरुलाई लिन कोही आएका छैनन्। उनीहरुले खबर पनि त गरेका थिएनन्। सुवास र आशिका रेस्टुरेन्टमा खाजा खाएर छुट्टिने निर्णय गर्छन्।

बाहिर निस्केर बाटो काट्नै लाग्दा बसले सुवासलाई ठक्कर दियो। सुवास भूईँमा नराम्रोसँग बजारियो। उसको टाउकोबाट रगत बग्न थाल्यो। मानिसहरुको भिडले सुवास घेरियो। आशिकाको होस उड्यो।

भिडले एम्बुलेन्स बोलाएर सुवासलाई अस्पताल पु¥याइयो। आशिका एम्बुलेन्समै सुवाससँगै अस्पताल पुगी। त्यहाँ उसको उपचार सुरु भयो।

सुवासले मधुरो स्वरमा सोध्यो, आशिका मेरो लगेज खै?’

आशिकाले बाहिर बताई। उसले ल्याउन लगायो। लगेज खोल्न पनि लगायो। लगेजको अवस्था दयनीय थियो।

सुवासले आइफोनबारे जिज्ञासा राख्यो। अफसोच टुक्राटुक्रा भएको आइफोनले उसलाई गिज्याइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .