गत शुक्रबार ठमेलको एक कफी सपमा हामीले भेट्दा दावा फुटी शेर्पा भर्खरै सपिङ गरेर आएकी थिइन्।
तर, चौबीस वर्षीया यी युवतीले न लत्ताकपडा किनेकी थिइन्, न घरायसी सामान नै।
उनी त आफ्ना दुई दिदीसँगै सात महादेशका सात अग्ला हिमाल आरोहणका लागि चाहिने सामान किनेर आएकी थिइन्। उनीहरुको यो अभियान सफल भए तीन दिदीबहिनीले विश्व कीर्तिमान बनाउने छन्।
दिदीहरु निमा जाङ्मु (३०) र छिरिङ नाम्गे (२६) सँग मिलेर दावा सात महादेशका सात अग्ला हिमाल चढ्ने योजनामा छिन्।
‘अहिलेसम्म एकै घरका तीन जनाले सात महादेशका अग्ला सात वटा हिमाल चढेका रहेनछन्,’ दावाले भनिन्, ‘हामी त्यो गर्न सक्छौँ भनेर योजना बनायौँ। दिदीहरुले पनि साथ दिनुभयो।’
दावा आफ्नो अभियान सफल हुनेमा विश्वस्त देखिन्थिन्। शनिबार नै उनीहरु ‘थ्री सिस्टर्स अन सेभेन समिट’ अभियान लिएर नाम्चेतर्फ लागिसकेका छन्।
अभियानको पहिलो खुड्किलोका रुपमा मे महिनामा उनीहरुले सगरमाथा आरोहणको योजना बनाएका छन्।
‘अहिले हाम्रो मुख्य ध्यान एभरेस्टमा छ,’ दावा भन्छिन्, ‘सात हिमालमध्ये सबैभन्दा कठिन एभरेस्ट नै हो। यो सफल भए हाम्रो अभियान आधा पुरा हुनेछ।’
सगरमाथापछि उनीहरुले युरोपको एल्ब्रस, अफ्रिकाको किलिमन्जारो, ओसेनियाको पुन्चेक जाया, अन्टार्कटिकाको भिन्सन मासिफ, दक्षिण अमेरिकाको आकोनकाग्वा र उत्तर अमेरिकाको डेनिली पर्वत आरोहण गर्ने उनीहरुको योजना छ। यसका लागि तीन वर्ष लाग्ने उनीहरुको अनुमान छ। त्यसैले २०२३ को अन्त्यसम्ममा यो अभियान सक्ने योजना बनाएका छन्।
‘हिमाल चढ्नु सजिलो होइन। तर, जस्तो चुनौती आइपरे पनि सामना गर्छौँ भन्ने विश्वास छ,’ दावाले भनिन्।
यो अभियानको सूत्रधार हुन् दावा। अघिल्लो वर्ष चैतमा उनको मनमा यो योजना जन्मेको थियो।
कोरोनाका कारण मुलुकभर लकडाउन भएपछि तीनै दिदीबहिनी आफ्नो घर दोलखाको बेदिङ पुगेका थिए।
आरोहणमा रुचि राख्ने दावाले आफ्ना दिदीहरुलाई योजना सुनाइन्। दुवै दिदी यसमा सहमत भए।
उनको परिवारको मुख्य पेसा नै हिमाल आरोहण हो। बुबा दोर्जे गाइड थिए। सगरमाथा आरोहणकै क्रममा हिउँले खाएपछि उनका आठ ओटा काट्नुपरेको थियो।
‘जापनिज टिमसँग सगरमाथा चढ्दा एकजनाको जुत्ताको तुना फुस्किएछ। ग्लोब्स निकालेर बाँधिदिँद हिउँले खाएछ,’ दावाले सुनाइन्, ‘पछि बुबाको आठ ओटा औँला काट्नुपर्यो।’
उनीहरुका दाइ मिङ्मा जी कीर्तिमानी आरोही हुन्। केही समयअघि मात्रै हिउँदामा पहिलो पटक विश्वकै दोस्रो अग्लो शिखर केटु चढेर १० नेपालीले कीर्तिमान राखेका थिए। तीमध्ये एक थिए– मिङ्मा।
सन् २००४ देखि आरोहण सुरु गरेका मिङ्माले ५ पल्ट सगरमाथासहित ८ हजार मिटर अग्ला सबै हिमाल आरोहण गरिसकेका छन्।
बुबा र दाइपछि जेठी दिदी निमा जाङ्मुले पनि २०१७ मा अमादब्लमको शिखर चुमेर आरोहण यात्रा सुरु गरेकी थिइन्। अर्को वर्ष त उनले २५ दिनमै ८ हजार मिटर अग्ला सगरमाथा, कन्चनजंघा र ल्होत्सेको आरोहण गरेर कीर्तिमान नै रचेकी थिइन्।
बुबा, दाइ, दिदीको आरोहण–सफलताबाट पुलकित भएकी दावाले पनि २०१९ बाट आमादब्लम हिमाल चढिन्। सुरुमा ट्रेकिङ मात्रै उनले लगत्तै २०२० मा सगरमाथा चढ्ने योजना बनाएकी थिइन्। तर, महामारीका कारण सरकारले हिमाल आरोहण रोकेपछि त्यो योजना पुरा भएन।
त्यही मौकामा गाउँमा भेला भएका दिदीहरुलाई दावाले थ्री सिस्टर्स अन सेभन समिटको योजना सुनाएकी हुन्।
‘माइली दिदीले भने ट्रेकिङ गरेपनि हिमाल चढ्नुभएको थिएन। तर, उहाँले पनि चढ्ने योजना बनाउनुभएको थियो,’ दावा भन्छिन्, ‘तीनै जनाको आरोहणमा रुचि भएपछि सँगै जाऊँ न त भनेर योजना बनायौँ। दाइ, बुबाहरुले सक्नुहुन्छ भने हामी किन सक्दैनौँ भनेर आँट बटुल्यौँ।’
काठमाडौँ आएर उनीहरुले यो योजना दाइ मिङ्मालाई सुनाए। भर्खरै कीर्तिमान रचेर आएका दाइले पनि बहिनीहरुको आँटलाई साथ दिने भए। दाइले नै खर्च पनि दिन्छु भनेपछि उनीहरु झनै उत्साहित भए।
सगरमाथा चढ्न एक नेपालीलाई लगभग १५ लाखजति खर्च हुन्छ। तीन दिदीबहिनीका लागि ४५ लाख खर्च हुनेछ। इमेजिङ नेपाल नामक ट्रेकिङ, आरोहण तथा टुर्स कम्पनी चलाइरहेका मिङ्माले बहिनीहरुको खर्च उठाइदिने भएपछि उनीहरुलाई ठूलो ढाड्स भएको छ।
‘अहिले दाइले खर्च बेहोर्नुभएर सजिलो भएको छ,’ दावाले भनिन्, ‘अरु देशमा गएर चढ्न पनि ठूलो खर्च हुन्छछ। त्यसबेला सहयोग आह्वान गर्ने योजना बनाएका छौँ।’
तीन जनामध्ये माइली छिरिङसँग भने हिमाल चढेको अनुभव थिएन। तर उनी तालिम लिएरै भए पनि योजना सफल बनाउन कस्सिइन्। लकडाउनपछि आधारभूत तालिम लिइन्।
दावा र छिरिङ काठमाडौंमा सँगै स्नातक अध्ययनरत छन्। ठूली दिदी निमा जाङ्मुले भने औपचारिक शिक्षा लिएकी छैनन्। उनले गाउँमा आमालाई सघाउँछिन्।
‘हामी हिमाल चढ्न जाँदा आमा पिर मान्नुहुन्छ। तर, बुबा, दाइ, मामाहरुले ढाडस दिनुहुन्छ,’ दावा सुनाउँछिन्।
सात महादेशका अग्ला सात हिमाल चढेर आफूहरुले अरु महिलालाई पनि आँट गरे जे पनि गर्न सकिन्छ भनेर प्रेरित गर्न खोजेको दावा बताउँछिन्।
‘सातै महादेशमा गएर त्यहाँका अग्ला हिमालहरु चढ्नु जोखिमयुक्त र चुनौतीयुक्त छ। महिलाका लागि त झनै अप्ठेरो छ,’ उनी भन्छिन्, ‘हामी यही चुनौतीबीच अघि बढेका छौँ। यो अभियान सफल पारेर अरुलाई पनि उत्प्रेरित गर्न चाहन्छौँ।’
भिडिओ:
Shares
प्रतिक्रिया