भक्तपुरको कौशलटारबाट दायाँ मोडियो भने बालकोट आउँछ। त्यसपछि सिरुटार हुँदै बिरुवा बसपार्कतिर लाग्दा बाटोमा छ– किसान एग्रो बास्केट एन्ड रिसर्च प्रा.लि. हाइवेबाट झन्डै ३ किलोमिटरको दुरीमा रहेको यो कृषि फार्म किसानी भाइ खेमका नामले परिचित खेम पौडेलले गत मंसिरदेखि सुरु गरेका हुन्।
उनको फार्म १५ रोपनी क्षेत्रफलमा फैलिएको छ। यो जग्गा उनले १० वर्षका लागि भाडामा लिएका हुन्। वार्षिक रोपनीको २० हजार भाडा तिर्नुपर्छ।
फार्ममा उनले तीन वटा ग्रिन हाउस निर्माण गरेका छन्। एउटा ५० हजार बिरुवा हुर्काउनसक्ने नर्सरी चेम्बर छ। २० वटा टनेल बनाइसके। बीचमा एउटा पोखरी छ। जहाँबाट उनले सिँचाइका लागि पानीको व्यवस्था गर्छन्। भविष्यमा त्यसमा माछा पालन गर्ने उनको लक्ष्य छ।
आफूले जानेका कुरा अरुलाई पनि बाँड्न उनले फार्ममा एउटा ट्रेनिङ हल पनि सञ्चालनमा ल्याएका छन्। जहाँ उनले एक ब्याच ट्रेनिङ चलाइसके। दुई ब्याचका लागि बुकिङ भइसक्यो।
बारीमा उनले विभिन्न थरीका भेडे खुर्सानी, चाइनिज साग, सलाद पत्ता, काँक्रो, गोलभेडा लगाएका छन्। जेठसम्म सम्पूर्ण तरकारीहरु तयार भइसक्ने उनले बताए।
***
डेढ दशकअघि पर्वतमा सरकारले बिउबिजन प्रबर्द्धन कार्यक्रम लागू गरेको थियो। स्थानीयहरुले नै बिउ उत्पादन गर्न सकून् र त्यसबाट आम्दानी गर्न सकून् भनेर सो कार्यक्रम लागू गरिएको थियो।
स्नातक अध्ययनरत् खेम पौडेलले पनि त्यो तालिम लिए। तालिम लिएपछि उनी कृषि कर्मतर्फ आकर्षित पनि भए। आफ्नै खेतबारीमा बिउ उत्पादन गर्न थाले। आम्दानी ठिकै हुन्थ्यो। उनी काममा रमाइरहेका पनि थिए।
तर, गाउँका युवाहरु विदेश जाने लहर सुरु भएको थियो। बुबाआमाको चाहनामा खेम पनि सन् २००९ मा कतार पुगे।
नेपाल कतारजस्तो तातो ठाउँमा पुग्दा सुरुमा त उनलाई उकुसमुकुस भयो। क्याटरिङमा काम गर्थे उनी। कामको समय पनि निश्चित थिएन। होटलमा घण्टौँ खट्दा उनलाई त्यो काम कहिले छाडौँजस्तो हुन्थ्यो।
गाउँमा उनले तरकारी भनेको बन्दा, काउली, फर्सी, गोलभेडा, गाजर, मुला, आदि मात्रै हो भन्ने ठानेका थिए। तर, क्याटरिङमा काम गर्दा उनले गर्दै गर्दा उनले थाहा पाए– त्यस्तो होइन रहेछ। सागको विभिन्न प्रजाति हुँदो रहेछ। भेडे खुर्सानी पनि विभिन्न रङ र प्रकारका हुँदा रहेछन्।
त्यो देख्दा उनको मन पुलकित भयो। यस्तै थरीथरीका तरकारी फलाउन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो। कतारको तातो बालुवामा जहाजले बोकेर ल्याएको माटो, पानी हालेर हराभरा बनाएको देखेपछि त झन् चाहेपछि जे पनि गर्न सकिने रहेछ भन्ने सोच पलायो।
‘हाम्रो त माटोमा बिउ खसेपनि उम्रेर फल्ने खालको माटो हो। आफ्नै खेती गर्न जमिन छ। कुटो, कोदालो छ, समय छ। मल छ। बिउबिजन छ। प्राविधिक ज्ञान मात्रै चाहिएको थियो। तालिम लिए त्यो अभाव पनि पूर्ति गर्न सकिन्छ भन्ने लाग्यो,’ उनी भन्छन्।
बिउ उत्पादन गर्दा नै उनलाई तरकारीको महत्व थाहा भइसकेको थियो। पैसा आएको देखेका थिए। तरकारी खेतीमै उनी रमाउन थालिसकेका थिए। विदेश गएपछि एउटा सपना अधुरो रहेजस्तो लागिरहेको थियो। त्यसपछि उनले देश फर्किने हिम्मत जुटाए।
कतार जानुअघि उनी मानविकी विषयमा अध्ययनरत् थिए। २०१० मा स्वदेश फर्केपछि उनलाई कृषि व्यवसाय गर्ने भएपछि बिजनेस पढ्नपर्छ भन्ने लाग्यो र बीबीए अध्ययन सुरु गरे। अध्ययनपछि बैंकिङ क्षेत्रमा काम गर्ने अवसर पाएका थिए। तर, उनी आफ्नै फार्म सुरु गर्ने निधोमा पुगिसकेका थिए।
सन् २०१३ मा पोखरामा ६ रोपनी जग्गा लिजमा लिएसँगै उनको व्यवसायिक यात्राको सुरुवात भएको थियो। उनले टनेलमा विभिन्न तरकारी लगाउँदै २ लाख लगानी गरेर तरकारी खेती सुरु गरेका थिए।
खेतीसँगैसँगै उनले व्यवहारिक ज्ञान पनि हासिल गर्दै गए। टनेलको उचाइ, प्लास्टिकको प्रयोगबारे जानकारी लिए। सफल भएका किसान साथीहरुको फार्म भ्रमण गरे। उनीहरुबाट आधारभूत ज्ञान हासिल गरे। नजानेका कुरा गुगल–युटुयुबमा खोजी गर्थे।
पहिलो वर्ष सोचेजस्तो राम्रो भएन। मंसिरमा उनले जग्गा लिएर काम सुरु गरेका थिए। हावाहुरी असिनाको उनलाई हेक्का थियाे। चैतको पहिलो साता बेच्न तयार भएको फर्सी, घिरौला, बन्दालाई असिनाले क्षति पुर्यायो। त्यसबेला तीन रोपनीमा लगाएको तरकारी नष्ट भएको थियो। पहिलो वर्ष नै बेहोर्नुपरेको क्षतिले उनलाई बेचैन बनायो। तर हिम्मत हारेनन्। दोस्रो वर्ष असिना झेल्ने जाली, प्लास्टिक लगाएर तरकारी लगाए। बाली बिमा गरे।
‘धेरै कुरा गर्दै सिकिँदो रहेछ। मलाई पनि त्यसबेलाको क्षतिले परिपक्व बनाउँदै लग्यो,’ पौडेलले नेपालखबरसँग भने, ‘पहिलो वर्ष क्षति भए पनि दोस्रो वर्षबाट मैले लगानी उठाउन सुरु गरेँ।’
तेस्रो वर्ष पोखरा विमानस्थल विस्तार हुने भएपछि उनले तरकारी लगाउँदै आएको जमिन पनि अधिग्रहणमा पर्यो।
त्यही वर्ष यूएसएडले नेपालमा कृषिमा आवद्ध युवाहरुले प्रविधिको कति प्रयोग गर्न सकेका छन् भनेर सर्वे गरेको थियो। त्यसमा छानिएर पौडेललाई थाइल्यान्डमा भएको एक कृषिसम्बन्धी सेमिनारमा भाग लिन गए। सोही सेमिनारमा नेपालबाट प्रतिनिधित्व गरेका अर्का युवा अभिषेक मल्लसँग उनको भेट भयो।
अभिषेकले ठूलो जग्गामा काम गर्न लागेको योजना सुनाए र मिलेर काम गर्न प्रस्ताव गरे। त्यसलाई स्वीकार गरेर उनले दुई वर्ष चित्लाङमा काम गरे।
‘तर चित्लाङ दुर्गम जस्तो लाग्यो। भौगोलिक धरातल सोचेजस्तो नलागेपछि उपत्यका केन्द्रित हुने सोचका साथ म काठमाडौँ फर्किएँ,’ पौडेलले सुनाए।
***
उनको फार्ममा कृषि विज्ञान पढेकाहरु प्रयोगात्मक शिक्षा (ओजीटी) लिन समेत आएका छन्। ओजीटी पुरा गरेका २ जनालाई त उनले त्यही फार्ममा जागिर नै दिइसके। बाँकी चार जना विद्यार्थीहरु ओजीटीका लागि अहिलेपनि उनको फार्ममा काम गरिरहेका छन्। त्यसबाहेक दिनरात उनी आफैँ फर्ममा खटिन्छन्।
‘दशकदेखि म यही काम गर्दैछु। महत्वपूर्ण समय यसैमा लगाएँ,’ उनले साझेदारीमा काम नगर्नुको कारण सुनाए, ‘साथीसँग काम गर्दा आफ्नो भिजनले पनि काम गर्न पाइँदैन। एक्लै काम गर्दा कसैको अन्डरमा बस्नुपरेन। स्वतन्त्र रुपमा काम गर्न पाइन्छ।’
आफ्नो कामबाट सन्तुष्ट रहेको उनी बताउँन्।
‘अरुको कुरामा ध्यान दिन छाडेर आफ्नो प्यासन लिएर काम गर्न सकियो भने यसैमा रमाउन सकिन्छ,’ उनी भन्छन्, ‘आज बिउ राखियो तीन दिनपछि बिउ उम्रिन्छ, म त्यसैमा खुसी हुन्छु। आज बिरुवा सार्दा केही दिनमा हराभरा हुन्छ, त्यसैमा म गदगद हुन्छु। ताजा तरकारी खान पाइएको छ। यसैमा खुसी छु।’
झण्डै ५० लाख लगानी गरेको फार्मबाट प्रतिफल आउनेमा उनी ढुक्क छन्। जेठको दोस्रो साताबाट उत्पादन हुन थाल्नेछ। उनले हाउजिङ, घरहरुमा बास्केटमा नियमित तरकारी उपलब्ध गराउने योजना बनाइसकेका छन्।
दुई वर्षमा लगानी उठाउने उनको योजना छ। तरकारी उत्पादन हुन थालेपछि जेठबाट उनले किचन सुरु गर्ने तयारी पनि गरेका छन्। जहाँ उपभोक्ताले खसी, लोकल कुखुरा, माछा, हाँसको ताजा मासुका परिकार पनि चाख्न पाउनेछन्।
भिडिओ:
प्रतिक्रिया