ad ad

म्यागेजिन


रक्सी असल मान्छेले पिउने चिज हो: श्रवण मुकारुङ (मदिरा संवाद)

रक्सी असल मान्छेले पिउने चिज हो: श्रवण मुकारुङ (मदिरा संवाद)

कृष्ण आचार्य
जेठ ३०, २०७६ बिहिबार ९:२,

कवि श्रवण मुकारुङ भोजपुरबाट काठमाडौं खाल्डो छिरेको २ दशक भएको छ। उनले रक्सी खान थालेको चाहिँ ३ दशक पूरा भयो। श्रवणको जीवनबाट रक्सी हटाइदिने हो भने के बाँकी रहन्छ उनलाई थाहा छैन। भन्छन्, ‘त्यो ठिक हुँदैन।’

श्रवणको रक्सीसँगको सम्बन्ध भोजपुरमा जन्मिएर काठमाडौं आएपछि मौलाएको हो। पहिलो पटक मदिराले ओठ स्पर्श गर्दा उनी ११ वर्षका थिए। अहिले ५१ वर्षको हुँदासम्म उनको जिब्रोले सयौं फरक–फरक मदिराका स्वाद लिइसकेको छ। रक्सी पिएर कतिपटक बेहोस भए, कतिपटक आफ्नो घरको बाटो बिर्सिए, त्यसको गणना छैन। उनलाई यति थाहा छ, ‘मातिएर अहिलेसम्म कसैमाथि हातपात गरेको छैन।’ उनीसँग गरिएको मदिरा सम्वादः

यो रक्सी हो र यो चिज पिएपछि लाग्छ भन्ने कुरा कति उमेरमा चाल पाउनुभयो?
सानैदेखि नै हो। म राईको छोरा हुँ। किराँतीहरुले त रक्सीलाई सामान्य रुपमा लिन्छन्। जन्मेको ९ दिनमा न्वारन गर्दा पनि मुखमा रक्सी लगाइदिएर चोखो बनाउने परम्परा छ। तर हाम्रो परिवारमा जाँड–रक्सी खानुहुँदैन, यसले भलो गर्दैन भन्ने संस्कार थियो। मेरै बाजे रक्सीका कारण उमेर छँदै लडेर बित्नुभयो। हाम्रो संस्कारमा जन्मदेखि मृत्युसम्म रक्सी अनिवार्य भएकाले मैले स्वभाविक ठानेर पिएँ।

ठ्याक्कै यति वर्षको हुँदा भन्ने याद छैन?
त्यही म १०–११ वर्ष हुँदा हुनुपर्छ। साकेलामा पिएको थिएँ। त्यस्तै २०३५–३६ सालतिरको कुरा होला। चाडमा कसैले मलाई खान्छस् भनेर सोध्यो र मलाई पनि पिऊँ–पिऊँ लाग्यो। त्यसपछि खाइदिएँ।

मात्नेगरी खानुभयो कि कसो?
ठ्याक्कै यस्तै भयो भन्ने अनुभव त अहिले छैन।

त्यसपछि नियमित रुपमा पिउनुभयो?
होइन, १५–१६ वर्षको उमेर (९–१०) कक्षामा पढ्दादेखि भने मैले मज्जाले खान थाले। म जुन भूमि (भोजपुर)मा थिएँ, त्यहाँ जाँड खानलाई कुनै शनिबार आउनुपर्ने थिएन। हाम्रो संस्कारमा जता गए पनि सत्कारस्वरुप रक्सी दिन्थे, चिया त धेरैपछि अस्तित्वमा आएको हो। बाहुन–क्षेत्रीहरुले दूध–दही–मही दिन्थे। हाम्रोमा त्यस्तै हो जाँड खाने कुरा।

परिवारले केही भनेन?
साथीहरुसँग बाहिर खाने, होटलहरुमा खाने गरियो नि। रक्सी पिएर मातियो भने उतै सुत्ने गरियो। फेरि घरमा बन्देज नै चाहिँ थिएन। रक्सी पिएर आएको छ भने हप्काउने, गाली गर्ने मात्र हो। यसले सत्यानासै गर्यो, यो खत्तमै भयो भन्ने हुँदैनथ्यो। हाम्रो जातमा बाबुले नि खान्छ, फलानोले नि खान्छ र यसले पनि खायो भन्ने हुन्छ। त्यस्तै भयो मेरो सवालमा पनि।

काठमाडौं प्रवेश गरेपछि चाहिँ रक्सीसँगको सम्बन्ध कस्तो रह्यो?
झन् बेसी खाइयो नि। कवि हुन आएको मान्छे, बेरोजगार पनि अनि साथीभाइ पनि त्यस्तै भेटिने। केही साथीहरु भेला भयो आफूले लेखेका कविता सुनायो। जाऊँ न त भनेर भट्टी पसलतिर छिर्यो।

सुरुवाती दिनका रक्सी पार्टनरहरु सम्झनुहुन्छ?
धेरै साथीहरु विदेश गइसेकका छन्। खुमनारायण पौडेल, रमेश केसी, पुष्पहरि क्याम्पा राई, शम्भु राई नाम चलेका यिनै हुन्। अरु गुमनामहरुको नाम त के लिनु।

त्यतिबेला दैनिकजसो पिउनुहुन्थ्यो?
खाजा खाने समय हुन थालेपछि सुरु गरेर रातिसम्म पिएको पियै हो। भात पनि नखायो, रक्सी खाँदासम्म खायो अनि सुत्यो। मैले एक फुल खुकुरी रम धेरैपटक पिएको छु। त्यहाँभन्दा बढी चाँहिँ पिएको छैन कि। त्यतिबेला जवानी थियो, अब त बुढेशकाल लागेपछि नसकिँदो रहेछ। अलिकतिले नै मातिहाल्छु।

तपाइँ ब्रान्ड लोयल पनि हुनुहुन्छ कि?
त्यस्तो यो ब्रान्ड मात्र पिउने भन्ने रहेन। उहिले उहिले खल्तीमा पैसा हुँदैनथ्यो। काठमाडौं आएपछि मैले लोकल चाहिँ कम पिएको छु। सबैभन्दा धेरै खुकुरी रम पिइयो होला। पछि गोल्डेन याक पनि मन प¥यो। अलि पछि रोयल स्ट्याग र पछिल्लो समय ओल्ड दरबार खाइयो। त्योभन्दा माथिल्लो ब्रान्ड पनि पिएको छु। संगतअनुसार पिइयो भनौँ न।

रक्सी पिएपछि लेख्न मन कत्तिको लाग्छ?
पिएपछि लेख्न मन लाग्छ भन्नेहरु थुप्रै छन्। यसमा कविहरुको पनि ठूलाठूला किस्सा छन्। मलाई चाहिँ पिएपछि लेख्न मन लाग्छ भन्ने कुराको विश्वास लाग्दैन। मान्छे दारु पिएर मातेपछि कहाँ सिर्जना गर्ने कुरा आउँछ? गीत गाउने रमाइलो गर्ने फरक कुरा हो। सिर्जना भनेको सचेत अवस्थामा गर्ने कुरा हो, अचेतमा हुँदैन। म त केही लेख्ने कुरा छ भने पनि झन् बिर्सन्छु पो। रक्सीले कसैलाई स्रष्टा बनाउने भन्दा पनि स्रस्टाले मानसिक संघर्ष, पीडा र तनाबबाट मुक्ति पाउनका लागि खान्छन्।

अहिलेसम्म कतिसम्म महँगो रक्सी पिउनु भएको छ?
मैले बजारमा पाइने प्रायः सबै किसिमका मदिरा पिएको छु। ब्लू लेबलसम्म पिएको छु। विदेशमा हुने साथीले खुवाउँछन्।

ब्लू लेबल र अन्यमा के फरक पाउनुभयो?
त्यो अलि सफ्ट हुन्छ। रातभरी पिए पनि भोलिपल्ट उठ्दा ह्यांग हुँदैन, टाउको दुख्दैन। तर मलाई यही रक्सी खानुपर्छ भन्ने छैन। जुन भए पनि हुन्छ। मेरो मान्यता भनेको रक्सी खानु भनेको मात्नलाई हो, अघाउनलाई होइन। जुन रक्सीले पनि मताउँछ भनेपछि यो र त्यो किन भन्नु।

मातेपछिको आनन्द चाहिँ के हुँदोरहेछ?
दुई वटा कुरा हुन्छ। मातेपछि मान्छेले सबै कुरा बिर्सन्छ र आफ्नो यथार्थ कुरा ओकल्न थाल्छ। त्यस्तै आफूसँगै बसेको ब्यक्तिप्रतिको आफ्नो धारणा के हो त्यो कुरा प्रष्ट राख्छ। रक्सीको आनन्द पनि यही हो।

कोसँग बसेर पिउँदा सबैभन्दा मज्जा आउँछ?
कविहरुसँग बसेर पिउन मज्जा लाग्छ मलाई। आफूभन्दा सिनियर होइन, जुनियर भाइहरुसँग। पछिल्लो पुस्ताको फुच्चे भाइ नविन प्यासीदेखि लिएर बुढाभन्दा बुढासँग बसेर पिएको छु।

जस्तै को–को?
स्वप्नील स्मृति, रावत, बाबु त्रिपाठी, सोझो गाउँले, चन्द्र राणा आदि। युवा कविहरुसँग बसेर खाँदा पिउँदा बेग्लै स्वाद आउँछ।

यी कविहरुसँग बसेर पिएपछि के–कस्तो रमाइलो गर्नुहुन्छ?
नाच्ने, गाउने, कविता सुन्ने–सुनाउने, गफ गर्ने सबै हुन्छ। मज्जाले इन्जोय हुन्छ। अर्को कुरा लाहुरेहरुसँग बसेर खाँदा पनि छुट्टै मज्जा आउँछ पल्टनको, फल्कल्यान्ड युद्धको कुरा गर्छन्, सुन्न बेग्लै रमाइलो हुन्छ।

रक्सी खाने तपाईंका सहपाठीहरु चाहिँ को–को हुन्?
विप्लव ढकाल, आभास, रमेश क्षतिज, हाङयुग अज्ञात यिनै हुन्। अनुप बराल, नवीन सुब्बा, नारायण वाग्ले, खगेन्द्र संग्रौला, बुद्धिसागर, राजन मुकारुङ, ईश्वरबल्लभ कोइराला, मोहन कोइराला, केदारमान बेथित, खेम गुरुङ, ध्रुवचन्द्र गौतमसँग पनि सँगै बसेर पिएको छु। तर, उहाँहरुसँग नियमित होइन कि यसो कतै समय सन्दर्भ मिलेका बेला। नेपालका रक्सी खाने सबै साहित्यकारसँग बसेर पिएको छु मैले।

तपाईंसँग त लामो अनुभव छ। बताइदिनोस् न रक्सी कस्ता मान्छेले पिउने चिज हो?
मलाई के लाग्छ भने यो रक्सी भनेको मनपेट सफा भएको असल मान्छेले पिउने चीज हो। सकारात्मक सोचाई राख्ने, कुनै कुण्ठा नभएको मान्छे। बद्मास मान्छेले खायो भने झगडा गर्छ, नराम्रो गर्छ। असल मान्छेको मुखबाट खराब प्रतिक्रिया निक्लन्न। रक्सी आफैँमा खराब चीज होइन, यसलाई मान्छेले खराब बनाएको हो।

एउटा भनाई छ नि ‘मान्छेले रक्सी खाँदासम्म त ठिकै हो तर रक्सीले मान्छे खान थाल्यो भने ठिक हुँदैन।’ तपाईंले हकमा कुन कुरा लागू हुन्छ?
सुरुसुरुमा त मैले रक्सी पिएँ। पछिपछि गएर उसले आफ्नो भूमिका बढाउँदै लग्यो। त्यसपछि म अलि दुर्घटित हुन थालेँ। मोबाइल हराउने, पैसा हराउने, होस नहुने, बोलेको कुराको सुद्धि नपाउने आदि इत्यादि। यसको मतलब रक्सीले आफ्नो काम सुरु गर्यो। त्यसपछि मैले सावधानी अपनाउन थालेँ।

एकपटक खग्रेन्द्र संग्रौलालाई रक्सी पिएर खुब गाली गर्नुभयो रे होइन?
किस्सै छ त्यो त। बुक वर्मले आयोजना गरेको एउटा कार्यक्रममा अरु समयमैै गएछन् हामी केही भने रातभर पिएर बस्यौँ। मातेपछि मैले खगेन्द्र दाइलाई गर्नु नगर्नु गाली गरेछु। अर्कोदिन साथीले भनेर मात्र थाहा पाएँ मैले पनि। उहाँ पनि उठ्नै नसक्ने हुनुभएको रहेछ।

के भनेर गाली गर्नुभयो?
त्यही आफूलाई ठूलो सम्झन्छस्, आफूलाई केन्द्रमा राखेर लेख्छस्। यसो–उसो त हो नि। भोलिपल्ट साथीहरुले ‘खगेन्द्र संग्रौलाजस्तो मान्छेलाई जाँड पिएर यस्तो भन्ने तैँले’ भनेपछि निकै पश्चाताप लाग्यो। पिएर दाइलाई धेरै भनेछु भनेर माफी मागेँ। अचम्म त के भयो भने दाइले पनि हिजो यसले गाली गरेछ भनेर मबाट नै थाहा पाउनुभयो। त्यसपछि दाइले माइन्ड गर्नुभयो। पछि अरुलाई सोध्नुभएछ, ‘श्रवणले हिजो मलाई गाली गरेछ रे हो?’ भनेर।

‘योसँग बसेर कहिल्यै पिउन नपरोस्’ भन्ने व्यक्ति पनि हुनु होला नि होइन?
छन् नि। सेलिब्रेटी, मोडलहरु, हिरोइनहरु छन्। लिमिटभन्दा बढी पिएपछि नराम्रो भनिएला भन्ने खतरा हुन्छ। मुखबाट नराम्रा शब्दहरु निस्कन्छ, अरुसँग बाँझ्न खोज्छु र उनीहरुको इगोमाथि नै धावा बोलिदिन्छु। कविहरु सबैलाई मेरो बानी थाहा भएकाले उनीहरु पो मसँग इन्जोय गर्छन्, मातेर जे भने पनि माइन्ड गर्दैनन्। त्यसैले नयाँ मानिसहरुसँग खाँदा म होसियार हुन्छु।

एक्लै पनि पिउनुहुन्छ?
म एक्लै खासै पिउँदिनँ, एक्लै इन्जोय पनि गर्दिनँ। कहिले कहीँ मन बहलाउन पिउनु अर्कै कुरा हो।

एक पटक कांग्रेसले सभासद नबनाएको झोँकमा एक्लै बसेर खुब पिउनुभयो भन्ने चर्चा छ तपाइँको सर्कलमा?
पहिलो संविधानसभामा कांग्रेसले समानुपातिकतर्फ सभासदको टिकट दियो। पहिलो सूचीमा राखेको थियो। तँ पक्का सभासद हुन्छस् भनेपछि म हौसिएछु। म एकदमै भ्रममा उडिगएछु। पछि सभासद बनाएनन्। मेरो दिमाग खराब भयो। अन्त कतै जाने मन लागेन। घरमा आएँ। खुकुरी रमको बोतल खोलेर पिउन थालेँ। होस उड्ने गरी पिएँछु। सान्तवना दिन फोन गर्ने साथीहरुलाई फोनबाटै गाली गरेछु। एउटा साथी अहिले उपसचिव छ, उसले शुभेच्छा प्रकट गर्न फोन गरेको रहेछ। मैले त खुच्चिङ भन्नलाई फोन गरेको भनेर खुब गाली गरेछु। उसलाई फकाउन मलाई ३ महिना लाग्यो।

पैसाको व्यवस्थापन कसरी गर्नुहुन्छ?
मैले आफैँ खर्च गरेर असाध्यै कम खान्छु। प्रायः विदेशबाट साथीहरु आउँदा ल्याइदिन्छन्। कतिले कविजी ल है त भनेर बोकेर आउँछन्। मैले पैसा हाल्ने भनेको मजस्ता कविहरुसँग बसेको बेला मात्रै हो। चरम आर्थिक अवस्थाबाट गुज्रिएको बेला पनि रक्सी धेरै पिएको छु। पैसा छैन साथीहरुसँग खाना ख्वा न, भात ख्वा न भन्यो भने ह्या... छैन भनेर पन्छिन्। तर, रक्सी ख्वा न भनेपछि ल हिँड जाम भन्छन्। यस्तै हो।

घरमा मिनी बार पनि बनाउनुभएको छ कि?
मसँग अहिले पनि ६–७ बोत्तल राम्रो ब्रान्ड (रेड लेबल, ब्ल्याक लेबल) रक्सीका बोतलहरु छन्। तर म ती रक्सी बोतलहरु सजाएरभन्दा लुकाएर राख्छु। किन भने त्यसमा आक्रमण हुने सम्भावना प्रवल हुन्छ। जोगाउन गाह्रो हुने भएकाले दराजमा थन्काएको छु।

अहिलेसम्म रक्सी पिएर कति पैसा सक्नुभयो?
धेरै त भएन होला। त्यस्तै ६–७ लाख भन्दा त बढी नै गयो होला नि हिसाब नै गर्ने हो भने।

रक्सी खाँदा सितन चाहिँ के खानुहुन्छ?
मलाई रक्सीले छिटो लाग्नु र अहिले आएर हानी गर्न थाल्नुको कारण सितन नखानु पनि एक हो। सुरुमा अलिअलि खाने त्यसपछि रक्सी खान थालेपछि सितन नै नखाने बानी छ।

काठमाडौंमा तपाईंको जक्सन कहाँ–कहाँ हो?
सबैभन्दा धेरै रक्सी पिएको भनेको म मैतिदेवी बस्दा हो। त्यहाँको मन्दिर नजिकै एउटा भट्टी पसल थियो। सबैभन्दा धेरै पिएको त्यहीँ हो। बागबजारबाट खान थाल्यो, डिल्लीबजार हुँदै खाँदैखाँदै मैतिदेवी पुग्यो त्यहाँ पनि खायो। त्यसपछि कोठामा गयो अनि फेरि खायो। २०४५ देखि २०५५ सालसम्मको समयमा मैले सबैभन्दा धेरै रक्सी पिएँ होला।

रक्सी पिएर एक पटक आफ्नै कोठा पनि बिर्सनु भएछ नि होइन?
बालुवाटार बस्दाको कुरा हो त्यो। नारायणगोपाल चोकमा लाहुरेहरुको संस्था (गेसो)को पार्टी थियो। लाहुरेहरुको पार्टीमा बेस्सेरी रक्सी र मासु खाइएछ। बेहोस भएँछु। घर जाने बेला भयो। लाहुरेले छाडिदिन लागेका थिए। खेम गुरुङले मेरो दाइलाई म पुर्याउँछु भनेर ट्याक्सीमा राखे। उसलाई मेरो कोठा थाहा थिएन। मैले बाटो नै बिर्सिएछु। संकटकालको समय थियो। बाटोमा प्रहरीले रोक्थे। खेमले म त हजुर ‘वारी जमुना पारी जमुना’को गायक भनेपछि प्रहरीले छाडिदिन्थे। घुम्दाघुम्दा कोठा नभेटेपछि खेमले एउटा साथीलाई फोन लगाइदिए। उसँग मेरो कोठाको नम्बर बिर्सिएँ भनेर मागे। त्यै पनि घरमा पुगिएन। पछि खेमले घट्टेकुलो लगेर राखे। यसरी त म धेरै पटक मातेर बेहोस भएको छु।

एकपटक दोहरी साँझमा रक्सी पिएर जल्दाबल्दा गुण्डा नाइके दीपक मनाङ्गेलाई ठूलाठूला गफ दिनुभयो रे नि?
त्यो निरमाया दोहोरी साँझको घटना हो। बद्री पंगेनीले दोहरीमा आज श्रवण मुकारुङ दाइ आउनुभएको छ, यो गीत उहाँको लागि भन्दै गाइरहेका थिए। त्यति सुनेपछि मैले त्यहाँ निकै ठूलो भएको ठानेँ। फेरि मसँग अरु केटाहरु पनि थिए। मेरो नजिकै एकजना ब्यक्ति निकै भलाद्मी भएर बसेको थियो। दाइ नमस्कार भने। परिचय गर्दा के गुरुङ भनेर भन्यो। मैले भाइको बिजनेस के हो भनेर सोधेँ। उसले सानोतिनो काम गर्छु दाइ भन्यो। मैले यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भनेर जीवन दर्शन छाँटे। उसले हो दाइ भन्दै टाउको हल्लायो। पछि त्यहाँबाट निस्कदाँ त केटाहरुले ऊसँग तेरो पहिल्यैदेखिको चिनजान हो भनेर सोधे। मैले होइन आजै चिनजान भएको, गुरुङ भाइ रैछ त्यही भएर यसो कुराकानी गरेको भनेँ। एउटाले के को गुरुङ हुनु, दीपक मनाङ्गे हो भन्यो। मेरो सातोपुत्लो उड्यो। रक्सीले एकै झड्कामा छाड्यो। 

गोपाल योन्जनसँग पनि तपाईंले खुब रक्सी खानुभयो होइन?
गोपाल योन्जनले शम्भु राईलाई गीत गाउन दिनुभएको थियो। म पनि शम्भुसँग स्टुडियो गएको थिएँ। शम्भुले गीत गाउन जाँदा गोपाल दाइलाई भनेर १ बोतल भोड्का र एउटा सिंगो कुखुराको रोस्ट लगिदिए। गोपाल दाइले मलाई रक्सी खाने गरेको छ? भनेर सोध्नुभयो। मैले छ भनेँ। त्यसपछि ल आऊ भनेर मलाई पनि रक्सी खुवाउन थाल्नुभयो। यसरी लगातार ३ दिनसम्म रक्सी खाइयो। पिएपछि मैले उहाँलाई आफ्नो गीत पनि सुनाएँ। गीतको रेकर्डिङ सकिएपछि दाइसँग मेरो भेट भएन। त्यतिबेला म प्रज्ञा प्रतिष्ठानमा जागिर गर्थेँ। ३ दिनपछि गोपाल दाइ प्रतिष्ठानमा आउनुभयो। मैले अमर गुरुङ, बैरागी काइँला, ईश्वर बल्लभहरुलाई भेट्न आउनुभएको होला भन्ने सोचेँ। उहाँ त मलाई भेट्न आउनुभएको रहेछ। छक्क परेँ। दाइ नमस्कार भनेको त कता हराएको तिमी म तिमीलाई खोज्दै आएको हिँड जाऊँ भन्न थाल्नुभयो। दाइजस्तो मान्छे जाँदिन भन्ने कुरा पनि भएन। आफ्नो भटभटेमा राखेर मैतिदेवीको भित्रपट्टीको भट्टीमा लगेर नेवारी खाजासहित रक्सी खुवाउनुभयो।

पिएको सुरमा नराम्रो बचन लगाएर धेरैसँग सम्बन्ध पनि बिग्रियो होला नि? सूची बनाउनु भएको छ?
धेरै छन् यस्ता। आफ्नै काका बुबालाई जाँडले मातेर के–के भनेछु। साहित्यकारलाई मिस बिहेब गर्ने काम धेरै गरेको छु। रक्सी पिएपछि अरुलाई नराम्रो भन्ने मेरो निकै खराब बानी छ। मात्दै गएपछि मलाई ठूलो कुरा गर्नुपर्छ। आफूभन्दा ठूलो होस् या सानो त्यसमा मलाई कुनै मतलब छैन।

साहित्यकार, कविहरुसँग रक्सी सधैँ जोडिएर आउँछ। रक्सी र साहित्यबीच कुनै सम्बन्ध छजस्तो लाग्छ तपाईंलाई?
रक्सी हाम्रो देशमा पैसावाल, तस्कर, नेता, व्यापारीहरुले बढी खान्छन्। रक्सीको किस्सा चाहिँ साहित्यकारहरुको बन्छ। किन भने साहित्यकारहरुको सार्वजनिक जीवन हुन्छ र उनीहरु आफै पनि लेख्छन् वा सहपाठीहरुले लेखिदिन्छन्–भनिदिन्छन्। यो निकै पहिल्यैदेखि रहिआएको परम्परा हो। त्यो समयमा पनि भूपी शेरचन, हरिभक्त कटवालको रक्सीका किस्सा धेरै छन्। मलाई लाग्छ रक्सी परम्पराबाट नै साहित्यकारसँग जोडिएको हुनाले अहिले पनि त्यो मानसिकता रहेको होला।

रक्सी पिएर फटाइँ चाहिँ कत्तिको गर्नुभएको छ?
धेरैलाई बचन लाएँ। आफूले उच्च सम्मान गर्नुपर्ने धेरै साथी गुमाएको छु। गाली गर्ने, हेपेर बोल्ने, मुखमा जे आयो त्यही बोल्ने धेरै गरेको छु। तर मान्छे पिट्ने काम र गर्ने नहुने फटाहा काम मबाट भएको छैन।

ईश्वरबल्लभ कोइरालासँग पनि खुब रक्सी खानुभयो है?
दाइसँग धेरैपटक बसेर खाइयो। उहाँ पिएपछि कवि भइहाल्नुहुन्थ्यो। हामी नातिजस्तोसँग पनि रमाइलो गरिहाल्ने। झगडा गर्न पनि खोज्ने तर मनको भने निकै सफा हुनुहुन्थ्यो। दाई अलि एजेट भइसक्नुभएको थियो। एकदिन मातेपछि उहाँले भन्नुभयो म बाहुन तिमी राई। हामीले रक्सी खाने बराबरीमा हो। तर तिमीले खाँदा मानिसहरु जातले नै पाएको हो खान्छ भन्छन्, मैले खाँदा बाहुनको छोराले नाकै काट्यो भन्छन् भन्दै आफ्नो पीडा पोख्नुभएको याद छ।

अबदेखि म रक्सी छुँदै छुन्न भनेर आफैँसँग प्रतिज्ञा वा श्रीमतीसँग कसम पनि खानुभएको छ कि?
त्यस्तो गरेको छु। किन कि रक्सी पिएपछि घरपरिवारसँग राम्रो सम्बन्ध हुँदैन, श्रीमती रिसाउँछिन् अनि खाँदिनँ भन्न परिहाल्छ। तर छाड्न भने सकिनँ। अबदेखि म रक्सी नै छुँदिन भनेर २–३ पटक प्रतिज्ञा गरेको छुँ। के गर्नु हाम्रो क्षेत्र नै त्यस्तै छ। साथीहरुसँग भेट भयो भने ल पिउँ भन्छन्, खाइहाल्यो। अनि प्रतिज्ञा तोडिहाल्छ।

पछिल्लो समयमा साथीहरुसँग बस्दा ‘रक्सी खानु हुँदैन, मैले पनि छाडेँ’ भनेर पनि भन्नुहुन्छ रे नि होइन?

मैले आफूलाई पछिल्लो समय धेरै कन्ट्रोल गरेको छु। ५० कटेपटि स्वास्थ्यका लागि पनि कन्ट्रोल गर्नुपर्छ भन्ने लाग्छ। फेरि मलाई सुगर देखियो। रक्सीले फाइदै त गर्दैन। त्यसैले धेरै नखानु भनेर सुझाव दिन्छु। संसारमा सबैभन्दा धेरै व्यापार भएको, सबैभन्दा सहज ढंगले बिक्री हुने चीन रक्सी नै होला। यस्तो चीजलाई छुँदै नछोउ त भन्दिनँ तर कतिबेलासम्म खाने भन्ने हो। जबसम्म तपाईंको शरीरले पचाउन सक्छ त्यतिबेलासम्म मज्जाले खाँदा हुन्छ।

रक्सी खाने पछिल्लो पिँढीलाई तपाईंको कुनै सुझाव छ?
रक्सीलाई लत बनाउनु भएन। कहिलेकहीँ भेटिने साथीहरुजस्तो बनाउनु पर्छ। धेरैपछि भेट हुँदा कस्तो आनन्द आउँछ भन्नुहोस् त। लत हुने हो भने पनि सत्यमोहन जोशीजस्तो हुनुपर्छ। राति सुत्नेबेला दुई प्याक पिएपछि पुग्यो। मजस्तो रक्सी खाने हो भने काम छैन। एउटा सौन्दर्यका साथ, अनुशासनका साथ खायो भने मज्जा हुन्छ।

यति उमेर पुगेपछि रक्सी खान छाड्छु भन्ने केही योजना छ?
त्यस्तो छैन। यो उमेरसम्म आएर जीवनले उपभोग गरेको चीजलाई २ दिन बढी बाँच्ने लोभले छाड्न सक्दिनँ।

रक्सीको मुख्य विशेषता चाहिँ के के रहेछन् त? 
मान्छेहरुसँग असली सम्वाद गराउँछ। मान्छेको कतिवटा मुकुन्डो हुन्छ भन्ने थाहा हुँदैन। एउटा चीज बोल्छ, अर्कै सोच्छ अनि गर्नेबेलामा अर्कै गर्छ। रक्सी पिएपछि सबै मुकुन्डो सक्रिय हुन्छ। उसले आफ्ना सबै स्वरुप प्रदर्शन गर्छ। उसलाई चिन्न सजिलो हुन्छ।

रक्सी पिएर आफूले गरेका कामप्रति हिनताबोध कत्तिको भएको छ?
एकदमै धेरै भएको छ। अहिले मैले कम गर्नुको एउटा कारण त्यो पनि हो। जब बेहोस हुनेगरी खाइन्छ तब भोलिपल्ट निकै समस्या हुन्छ। मैले नचाहिने कुरा भनेँ हुँला, के–के गरेँ हुँला भनेर तनाब हुन्छ। यस्तो हुन थालेपछि रक्सी कम गर्नुपर्छ। नत्र त्यसले डिप्रेशनमा जाने सम्भावना बढी हुन्छ।

तपाई आफैँ पनि डिप्रेशनमा जानुभयो कि?
म आफैँ त गएको छैन। फेरि गएको थाहा पनि हुँदैन नि। हिनताबोध भने निकै भएको छ।

रक्सी पिएर गरेको गल्तीलाई लिएर माफी माग्न चाहनुहुन्छ कि?
धेरै साथीहरु छन् माफी माग्नुपर्ने। नाम नै भने नलिऊँ। कुनै समय मेरो अभिन्न मित्रको रुपमा रहेका धेरैसँग अहिले पनि मेरो बोलिचाली बन्द छ। एक जना साथीसँग मनमुटाव भएको त ६ महिना पनि भएको छैन। पिएर मैले उसलाई भन्नु नभन्नु भनेछु तर मलाई नै थाहा छैन कि मैले उसलाई के भनेँ भन्ने। यो मेरो बानीको नकारात्मक पाटो रह्यो।

के भन्नुभयो त्यस्तो बोलिचाली नै बन्द हुनेगरी?
जस्तो कि मानौँ कृष्ण आचार्य निकै कालो छ। मैले उसलाई तँ निकै कालो छस् भनिदिन्छु। यो सत्य हो नि तर तपाईं मसँग रिसाउनुहुन्छ, डोमिनेट गरेको फिल गर्नुहुन्छ। यसैगरी मानिसको बानी–व्यवहार, चाल–चलन आदिबारे भनिएला। गलत त भनिएको हुँदैन तर सही ढंगले नभन्दा खराब भइदिन्छ। मलाई लागेको यथार्थ कुरा भन्दा मसँग धेरै साथीहरु रिसाएका छन्। जुन कुरा उनीहरु सुन्न चाहँदैनथे। मलाई पनि थाहा छ त्यो भन्नु हुँदैन भन्ने। रक्सी नपिएको भए म त्यो कुरा भन्ने पनि थिइन। पिएपछि के भन्छु मलाई नै थाहा हुँदैन त म के गरुँ?

श्रवण मुकारुङले रक्सी पिएर फलानोलाई यस्तो भन्यो रे। यस्तो गर्यो रे भन्ने खालका गसिपहरु बजारमा बनिरहन्छन्। यस्तो सुन्दा नराम्रो लाग्दैन?
रक्सी पिएपछि मान्छेले केही न केही त गरिहाल्छ नि। त्यसपछि उत्पन्न हुने टीका–टिप्पणीहरु अस्वभाविक लाग्दैन मलाई। कस्तो प्रकृतिको गसिप हो भन्ने कुरालाई म केलाउँछु। श्रवणले रक्सी पिएर हल्ला गर्यो, गीत गायो, फलानोलाई यस्तो भन्यो भन्ने कुरा सामान्य हुन्। यदि मैले कसैलाई अभद्र व्यवहार गरेको रहेछु, कसैलाई भन्ने नहुने भनेको रहेछु भनेचाहिँ नराम्रो लाग्छ। त्यस्तो कुरा आयो भने म साथीलाई के भनेको छु भनेर सोध्छु। उनीहरु भन्नै नहुने यस्तो कुरा भनिस् नि भन्छन्। कतिपय अवस्थामा त मलाई भन्न नसक्या कुरा रक्सी पिएर भनेर ठिकै भरेछुजस्तो लाग्छ।

रक्सी पीडा भुलाउनका लागि वा आनन्दका लागि पिउनुपर्छ भन्ने कुरा मान्नुहुन्छ?
नेपाली समाजमा रक्सी एकदमै भद्रगोल भएको छ। विदेशमा बस्ने धेरैजसो नेपालीले अरुदिन दिनभर काम गर्ने अनि छुट्टिको दिन नेपालबाट एउटा भल्गर दोहरी गायिकालाई बोलाएर रक्सी खाँदै पैसा उडाउने गर्छन्। खासमा उनीहरुले नाच हेरेको होइन तिघ्रा हेरेको हो। रक्सीले कसैको कामुकता हेरेर थकान मेटाउने काम भयो त्यो। यसरी पीडा भुल्ने माध्यम भल्गर नाचलाई बनाउने हो भने त्यहाँ झगडा हुन्छ, बेथिति हुन्छ। पीर–ब्यथा भुल्ने अरु पनि माध्यम छन्। रक्सी पिउँदै राम्रो पुस्तक पढ्ने, राम्रो गीत सुन्ने, कविता सुन्ने हो भने कति मज्जा हुन्छ होला।

अन्तमा एउटा काल्पनिक प्रश्न, मानौं तपाईंलाई सरकारले मदिरा मन्त्री बनाइदियो। तपाईंले गर्ने पहिलो काम के हुने थियो? 
हो, यसमा मलाई भन्नु छ। परम्परादेखि बनाइने लोकल रक्सी छन्, जसले जातिअनुसार सांस्कृतिक महत्व पनि राख्छन्। चाड–पर्वहरुमा पनि उपयोग गरिन्छ। एउटा गरिबले स्थानीयस्तरमा रक्सी बेचेर घर चलाउनेदेखि आफ्ना बालबच्चा पढाउनेसम्मको खर्च जुटाउँछ। तर, सरकार उनीहरुलाई निरुत्साही गर्ने काम गर्छ। प्रहरी लगाएर घ्याम्पो फुटाइदिन्छ र बदनाम गराउने काम गर्छ। अर्कोतर्फ, त्यही गाउँमा ब्रान्डेड रक्सी खुल्लारुपमा बेच्दा सरकार हेरेर बस्छ। औषधि पसल राति ८ बजेसम्म खुल्छन् तर, त्यस्ता रक्सी पसल ११ बजेसम्म खुल्छन्। प्रहरी सुरक्षा दिएर बस्छ। राज्यले स्थानीय उत्पादनलाई प्रत्साहन गर्ने र विदेशी रक्सीलाई दुरुत्साहित गर्नुपर्ने होइन? कि सबै रक्सी बन्द गर्नु पर्यो कि यस्तो चरित्र देखाउनु भएन। बरु स्थानीयस्तरमा उत्पादन हुने रक्सीको गुणस्तर बढाउने कुरामा ध्यान दिनुपर्यो। म मदिरामन्त्री हुँदो हुँ त यी कुरा पहिला सुधार गर्ने थिएँ। कोरियामा हेर्नुस् त उनीहरको सोजु भन्ने रक्सी छ, जुन सामान्य कुल्लीदेखि राष्ट्रपतिसम्मले पिउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .