ad ad

म्यागेजिन


युवा वर्गको प्रेमकथा ‘प्राञ्जल’

युवा वर्गको प्रेमकथा ‘प्राञ्जल’

कृष्ण आचार्य
साउन २५, २०७६ शनिबार १३:९,

‘अब के होला?’ कुनै पुस्तक पढ्दै जाँदा यस्तो जिज्ञासा आयो भने सम्झनूस् कृतिमा पक्कै दम छ। समय, परिवेश, पात्र र घटनाक्रम बग्दै जानुको विशेषताका रुपमा यसलाई लिन सकिन्छ।

शब्दमा मीठास, वाक्यमा लालित्य, अनुच्छेदमा शक्ति,  बिम्ब र प्रतीककाे  आकर्षक प्रयाेग  छ भने कुनै पाठकको मनमा पुस्तकप्रति प्रेम हुन्छ। र, प्रेमको अन्तिम बिन्दु बनिदिन्छ पुस्तकको अन्तिम पाना। अर्थात, पुस्तक र पाठकबीचको सम्बन्धले पूर्णता पाउँछ। पुस्तक पाठकको मनमा सधैभरीका लागि बसिदिन्छ र ऊ पुस्तकलाई सुरक्षित साथ कोठाको एक कुनामा सजाइदिन्छ।

वर्षेनी ५० भन्दा बढी नयाँ लेखकको आगमन र सयभन्दा बढी पुस्तक प्रकाशनले पाठकलाई यो अवसर कम नै मिल्छ। अझ थुप्रै नयाँ लेखकहरुको सवालमा त पुस्तक प्रकाशन गर्नु लेखकका रुपमा आफ्नो नाम दर्ता गराउनु सरह हुँदै आएको छ। यसरी लेखिएको नाम कतिबेला मेटिने हो पत्तो नै हुँदैन।

यही भिडमा मिसिएर कतिपय नयाँ लेखक भने आफ्नो भविष्य सुनिश्चित गर्न पुग्छन्। पछिल्लो समय बुलबुल प्रकाशनमार्फत ‘प्राञ्जल’ उपन्यास लिएर बजारमा आएका प्रयास दुमी राई यसको एक उदाहरण हुन्।

युवा अवस्थाको प्रेम सम्बन्धलाई केलाएर लेखिएको उपन्यासले प्रेमका विभिन्न आयामहरुबारे बोलेको छ। उपन्यास विशेषता भनेकै आधुनिक प्रेमको सफल चित्रण हाे भन्दा हुन्छ।

मुख्य पात्र रिहान (म पात्र), आत्मा, हृदय र झरी (प्राञ्जल) को कथामा उपन्यास केन्द्रित छ। घर छाडेर पढ्न सहर पसेका युवा प्रेममा कसरी पर्छन् र त्यसले व्यक्तिगत, पारिवारिक तथा सामाजिक रुपमा कस्तो असर पार्छ भन्ने कुरा उपन्यासमा कुँदिएको छ।

‘प्लस टु’ जेनेरेसनको मनोविज्ञान कस्तो हुन्छ र समयाक्रमअनुसार उनीहरुको सोच, विचार, व्यवहार र कार्यशैलीमा कसरी परिवर्तन हुन्छ भन्ने कुरालाई सम्बन्धका विभिन्न आयामहरुमार्फत प्रस्तुत गरिएको छ।

म पात्र रिहानका किशोर उमेरका साथीहरुको फरक–फरक चरित्र र परिस्थितिले आजका युवाहरुको मनोदशा छर्लंग पारेको छ। कुलतमा फसेको अभि, बिहे गरेर श्रीमती र छोरी हुँदाहुँदै कसैलाई प्रेमको जालमा फसाउने हृदय, प्रेमका लागि आफ्नो बलिदान दिनसमेत तयार हुने आत्मा, बलात्कारको शिकार भएर परिवारको इज्जतका लागि कसैको दासी बनेकी झरी सबै हाम्रै समाजका उदाहरण हुन्।

विशेषगरी उपन्यास रिहान र झरीको प्रेम सम्बन्धमा केन्द्रित छ। फिल्मी शैलीमा उनीहरुको भेट हुनु, त्यसपछि बढ्दो निकटता, एक–अर्काप्रति लुकेको स्नेहलाई लेखकले सुन्दर शब्दमार्फत आँखैमा बग्नेगरी प्रस्तुत गरेका छन्। रिहान नजानिँदो तवरले झरीको प्रेममा पर्नु कलात्मक छ। साथै, रिहानसँग झरी प्रस्तुत हुने शैलीले उसको जीवनमा कुनै कुराको अभाव खड्किरहेको हुन्छ। तर, त्यो अभावलाई उसले आफैँभित्र दबाएर राखिरहेकी हुन्छे। जुन रहस्य लेखकले उपन्यासको अन्तिममा रोमाञ्चक ढंगले खोलिदिन्छन्।

झरीको अभाव प्रेम हो र उसको प्रेम रिहान हो भन्ने चाल पाउँदा पाउँदै पनि उनीहरु नजिकिन सक्दैनन्। शारीरिक सम्पर्कपछि बढेको यी दुईको प्रगाढ आत्मीयताले बिहेसम्मको बाटो रोजिसकेको हुन्छ। तर, झरी आफ्नो चाहनाविपरित भएको विवाह र परिवारको इज्जतका लागि आफू पटक–पटक बलिमा चढिरहन्छे।

अन्तिममा उनीहरुको मिलन नहुनु र झरी विवाहित हो भन्ने थाहा पाएपछि उसको अस्तित्व स्वीकार गर्नेबारे रिहानको धारणा नआउनुले पाठकको मनमा एउटा प्रश्न उब्जाउन सक्छ। किन कि उपन्यासमा प्रस्तुत गरिएका पात्रका हरेक सम्बन्धहरु असफल भएका छन्। पाठकको रुपमा सायद धेरै रिहान र झरीको विवाहद्वारा प्रेम सम्बन्धमा मीठास अनुभूति गर्न चाहन्छन्।

तर, विछोडमा पनि उनले बिम्बहरुको मज्जैले प्रयोग गरेका छन्। ‘अरुको ईच्छालाई मैले आफू अनुकुल बनाउन खोज्नु गलत थियो’ लेखकले यस्ता मीठा शब्दमार्फत थुप्रै अनुच्छेद कोरेका छन्। उपन्यासले समग्रमा वर्तमान युवाहरुको अवस्थालाई मिहिन ढंगले केलाएको छ।

प्रायः प्रेममा युवतीहरु बढी भावुक हुन्छन् र अझ यौन सम्बन्ध स्थापित भएपछि युवाहरु सम्बन्धप्रति गैरजिम्मेवार हुन्छन् भन्ने मान्यतालाई उपन्यासले चिर्न खोजेको छ। यौन सम्पर्कपछि केही समयका लागि झरी गायब हुँदा रिहानको तड्पाइले केटा मान्छेको मन पनि ढुंगाले बनेको हुँदैन भन्ने संकेत गरेको छ।

उपन्यासमा मनको उकुसमुकुस पोख्ने माध्यम रक्सीलाई बनाइएको छ। रक्सीलाई माध्यम नबनाएर लेखकले अरु नै प्रयोग गरेको भए हुन्थ्यो कि भन्ने जिज्ञासा पाठकमा उठ्न सक्छ। अर्कोतर्फ, रक्सी, चुरोट र लागुपदार्थ सेवनलाई छोराछोरीको क्रियाकलाप्रति अभिभावक कति अनविज्ञ छन् भन्ने कुरा प्रष्ट्याएको छ। छोराछोरीप्रतिको विश्वासले अभिभावकले आफ्नो जिम्मेवारी र कर्तव्य कसरी भुलिरहेका हुन्छन् भन्ने विषय थुप्रै अभिभावकका लागि एउटा ज्ञान हुन सक्छ।

उपन्यासको सबैभन्दा बलियो पाटो भनेको मित्रताको आवश्यकता र महत्व हो। एउटा साथीको नाताले अर्को साथीप्रति उसको भूमिका के रहन्छ भन्ने कुरा उपन्यास पढेपछि प्रस्ट हुन्छ। मित्रताको सम्बन्धमा स्वार्थ हाबी भइरहेको वर्तमान अवस्थामा लेखकले मित्रता सुखमा मात्र नभएर दुःखमा पनि कसरी बलवान हुनुपर्छ भन्ने उल्लेख गरेका छन्। रिहान र आत्मा (केटा–केटी) बीचको मित्रता पनि कति निश्चल र पवित्र हुनसक्छ भन्ने कुरा पनि यहाँ प्रष्ट्याइएको छ।

प्रेमपछिको गर्भ र प्रेमीले गरेको अस्वीकार, गर्भपछि परिवार र समाजले गरेको तिरस्कारका बीच उपन्यासकी पात्र आरोहीले गरेको संघर्ष चानचुने छैन। तर, पढ्दै जाँदा आरोही पात्र कतै अनावश्यक हो कि भन्ने भान पनि हुन जान्छ। उपन्यासकारले आरोही पात्रको जन्म दिनुभन्दा हृदय र आत्माको मिलन गराइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने प्रश्न पाठकको मनमा उब्जन सक्छ। उपन्यासमा कतै पति ह्युमरको प्रयोग नगरिनुले लेखकले पाठकको इमोसन ‘क्याच’ गर्ने धाउन्नमा केही कुरा ‘मिस’ गरे कि भन्ने आभाष हुन्छ।

उपन्यास पढेपछि लेखकमाथि केही प्रश्नहरु उठाउने ठाउँ पनि छन्। विद्यार्थी जीवनमा रिहानले खर्च गरिरहेको अत्यधिक पैसाको स्रोत के हो भन्ने नखुल्नु र कलेजको परिवेश, परीक्षा दिएको विषय समेटिँदा रिजल्टको कुरा नआउनु। किनकि रिहानले परीक्षा बिग्रिएको कुरा उल्लेख गरेको थियो र त्यसपछि जति समयमा उपन्यास सकिएको छ त्यो समयमा रिजल्ट आइसक्नुपर्ने हो। त्यस्तै, अनुच्छेद परिवर्तन गर्नुपर्ने ठाउँमा जबरजस्ती खाँदिएको, कतिपय ठाउँमा परिवेश परिवर्तन भइनसक्दै भाग छुट्टिनु र कतिपय ठाउँमा परिवेश अन्त्य भइ सक्दासमेत भाग नछुट्टिनुजस्ता प्राविधिक कमजोरी पनि देखिएका छन्। यस्ता केही प्राविधिक कुराहरु आगामी संस्करणमा मिलाउनु पर्ने देखिन्छ।

समग्रमा उपन्यास पढ्दा यो लेखकको पहिलो कृति हो भन्ने कहिँकतै भान हुँदैन।  भाषा, शैली र बिम्बको उचित प्रयोग नै उपन्यासको मुख्य विशेषता हो। जसले पाठकमा अन्त्यसम्म कुतुहलता जगाइरहन्छ। उपन्यासको अन्तिममा समेत उनले रोहनले आत्महत्या गर्न लागेको दृश्य देखाइदिएका छन्। तर, आत्महत्या गर्छ या गर्दैन भन्ने खुलेको छैन। यसलाई लेखकको कला मान्न सकिन्छ। र, यसमार्फत उनले उपन्यासको अर्को भाग पनि आउने संकेतसमेत छाडेका छन्। र, अन्तिममा पनि पाठकको मनमा एउटा प्रश्न छाडिदिएका छन्, ‘अब के हुन्छ?’

पहिलो कृति यति जमदार लेखेका उनीमाथि अब योभन्दा राम्रो लेख्ने अर्को चुनौती पनि थपिएको छ। नेपाली साहित्यमा लेखकलाई स्वागत गर्दै आगामी दिनका लागि शुभकामना।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .