ad ad

म्यागेजिन


त्यसपछि रेकर्ड भयो ‘कहाँ थियौ तिमी रंगमञ्च’

त्यसपछि रेकर्ड भयो ‘कहाँ थियौ तिमी रंगमञ्च’

कृष्ण आचार्य
जेठ २८, २०७६ मंगलबार ५:६,

त्यही चञ्चलताले म्यासेजको रिप्लाई गर्ने जोस बढायो, ‘आउन त आयौ, निकै ढिला गरी आयौ।’ यो मेसेज केवल रमाइलोका लागि लेखिएको थियो। तर, यसले आफ्नो रुप बढाउँदै गयो।

त्यही म्यासेजलाई शीतलले ३ बसाईंमा ५ शेरसम्म पु¥याइन्। तर, मेसेजमा गरिएको कुराको आधारमा तयार भएको गजललाई उनले गहन रुपमा लिइनन्। डायरीको एक पानामा थन्काएर राखिदिइन्। सायद त्यो पाना फेरि कहिल्यै पल्टाइनन्। यो कुरा २०६१ सालतिरको हो।

‘मलाई यो गजलको कुनै तौल नै छैन भन्ने लाग्यो’ शीतल भन्छिन्, ‘त्यसैले त २०६२ सालमा निस्किएको मेरो गजल संग्रह ‘सुगन्ध यात्रा’मा यसलाई समावेश गरिनँ।’

शिव परियारको नजर
गायक शिव परियार र चितवनमा गजलकारको रुपमा आफूलाई उभ्याइसकेकी शीतलबीच २०६३ सालतिर परिचय भयो। त्यसपछि दुवै दिदी–भाइका रुपमा निकट भए। 

केही समयपछि शिवले शीतलसँग सँगै मिलेर काम गर्ने प्रस्ताव राखे । तर, सहकार्य हुन सकेन । यसै क्रममा शिवको ‘अलिकति नजर तिम्रो’ गीत आयो । त्यसपछि शीतलले शिवलाई सम्पर्क गरिन् । दिदी–भाइ मिलेर गजल गर्ने सहमति भयो ।

मिलेर काम गर्ने सहमति भएको केही समयपछि रत्नपार्कमा भेट्ने सहमति भयो । शीतल पुरानो डायरी बोकेर रत्नपार्क पुगिन्। पार्कमा बसेर शिवले डायरी पल्ट्याउँदै गए। सो क्रममा उनले ‘कहाँ थियौ रंगमञ्च’सहित अन्य ५ वटा गीत छनोट गरे । तीमध्ये पनि ‘कहाँ थियौ रंगमञ्च’ अलि बढी मन पर्यो । कुरा २०६५ सालको हो।

ranga2

त्यसपछि उनीहरुले सुन्तला र बदाम खाँदै गीतको बजेटबारे छलफल गरे। कम्पोजिसन र एरेन्जबारे छलफल भयो। कम्पोजिसन शिवले नै गर्ने भए। 

कम्पोजिसन गर्ने क्रममा शिवले गजलको पहिलो लाइनमा ‘तिमी’ थपेका हुन्। मिटर नमिलेका कारण ‘कहाँ थियौ रंगमञ्च उठेपछि आयौ’ लाइनमा तिमी थपेर ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’ भएको शीतल बताउँछिन्।

गजल राम्रो लागेकाले शिवले आफूलाई गाउन मन लागेको कुरा शीतललाई भनेका थिए । तर, शीतलले फिमेल भर्सनका लागि सुहाउँदो गजल भएको बताएपछि शिव केही बोलेनन् ।

बरु गजल गाउनका लागि अञ्जु पन्तसँग सहमति गरे । सोहीअुनसार अञ्जुले गजलमा आफ्नो आवाज दिइन् ।

शिवको आवाज
एलमाया केन्द्र क्लासिकमा शिवलाई एउटा शास्त्रीय गायनका लागि बोलाइएको थियो । जहाँ द्धिगज शास्त्रीय संगीतकर्मीको उपस्थिति थियो । यता ‘कहाँ थियौ तिमी रंगमञ्च’को रेकर्डिङको काम पनि भइरहेकाले शिवले शीतललाई पनि एलमायामा बोलाए ।

शिवले ‘पुरिया धनाश्री’ गाइसकेपछि एउटा गजल गाउनुपर्ने माग आयो । शिवले ठुमरी अन्दाजमा ‘कहाँ थियौ तिमी रंगमञ्च’ तयार पारेका थिए । यसलाइृ त्यसैअनुसार प्रस्तुत गरे । माहोल वाह–वाह भयो ।

त्यसपछि शीतलले शिवको गायनमा चासो देखाइन् । मेल भर्सनमा शिवलाई ‘कहाँ थियौ तिमी रंगमञ्च’ गाउन आग्रह गरिन् । शिवले पनि सहमति जनाए । उनले आफ्ना लागि किरण कँडेललाई सरगम दिएर मुजुरा शैलीमा बनाउन लगाए । त्यसपछि शिवले गजलमा आफ्नो स्वर भरे ।

ranga3

म्युजिक नेपालमा बुकिङ
गीत गर्दा–गर्दै झन्डै १ लाख ३५ हजार रुपैयाँ सकियो। कहाँबाट निकाल्ने भन्ने भइरहेको थियो ।

 शिवसँगको भेटमा मदन गोपालले गजल एल्बम म्युजिक नेपालबाट निकाल्ने प्रस्ताव राखे । कुरा सन्तोष शर्मासम्म पुग्यो । शिवको उनीसँग मिटिङ भयो । गीत सुन्न दिइयो । पास भयो । १ महिनामा कभर डिजाइन, गीत सबै तयार भयो ।

पछि भिडियो गर्दा थप १ लाख लाग्यो । पारिश्रमिकसहित झन्डै ३ लाखमा गीत तयार भयो ।  रोयल्टीवापत शीतललाई ३५ हजार रुपैयाँ एड्भान्स दिइयो । 

गजलको एल्बम निकै बिक्री भयो। शीतल कति प्रति बिक्यो भन्ने त जान्दिनन् तर, उनीहरुले राम्रो कमाई गरे ।

‘अहिले त युट्युबको जमाना छ, भ्यूज हेरेर गीत कति चल्यो भन्ने मूल्यांकन गरिन्छ’, शीतल भन्छिन्, ‘त्यतिबेला क्यासेट कति बिक्यो भन्ने कलाकारलाई थाहा हुँदैन थियो तर हामीले पाएको रोयल्टी कम भने पक्कै थिएन।’

समय, जवानी र रंगमञ्चबीचको अन्तरविरोध

गजलमा समय, जवानी र रंगमञ्चबीचको अन्तरविरोध प्रस्तुत गरिएको छ जसलाई शीतल पनि स्वीकार्छिन्। यो गजल स्वनिर्मित छन्दमा लेखिएको हो। त्यसैले पनि यसका विविध आयामहरु छन्।

‘जवानी सकिएपछि (कसैले सिउँदो रंगाएपछि) म आएँ, आएँ भनेर हुन्छ त?’ शीतल प्रश्न गर्छिन्, ‘त्यतिबेला समय फर्किएर आउँदैन।’ यहाँ रंगमञ्चले विवाहमण्डपको संकेत गरेको छ।

यति भनिरहँदा पनि गजलमा प्रेम झल्किएको छ। ओइलिएका रहरमाथि आशाको दियो पनि बालिएको छ।

ranga4

भिडियोमा विजय लामा!
यो हिट गजल अहिले युट्युबमा पनि राखिएको छ। तर, यसको म्युजिक भिडियो भने बनेको छैन। यो गजलको भिडियो बनायो भने कस्तो होला? धेरैको चासोको विषय हो यो। साथै धेरैले यसको भिडियो बनाउनसमेत माग गरेका छन्।

शीतल चाँडै आम दर्शकको भिडियो हेर्ने माग सम्बोधन हुने बताउँछिन्। भिडियोको मोडलिङका लागि उनले क्याप्टेन विजय लामासँग कुरा गरेकी छन्।

‘एकपटक भेटमा मैले उहाँलाई यसमा सँगै काम गरौँ न त भनेर प्रस्ताव राखेकी थिएँ’ शीतल भन्छिन्, ‘उहाँ सकारात्मक हुनुहुन्छ तर सहमति भने भइसकेको छैन।’

यस विषयमा शीतल र शिवबीच भने कुनै छलफल भएको छैन । शीतल शिव भिडियोको मर्म मर्न हुँदैन भन्ने पक्षमा रहेकाले आवश्यक छलफलपछि यसबारे थप निर्णय लिइने बताउँछिन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .