ad ad

म्यागेजिन


चर्चित नेपाली चार पुस्तकः जो ५० हजारभन्दा बढी बिके

चर्चित नेपाली चार पुस्तकः जो ५० हजारभन्दा बढी बिके

कृष्ण आचार्य
साउन १८, २०७६ शनिबार १०:३३,

पुस्तकको सफलता र असफलताको निर्धारण बिक्रीसँगै त्यसले जनजीवन र पठन संस्कृतिमा पारेको प्रभावका आधारमा गरिन्छ। पछिल्लो समय सबैभन्दा बढी बिक्ने पुस्तकलाई नै सफल मान्ने प्रचलन सुरु भएका छ। तर, पुस्तकको प्रभावकारिता बुझ्न बिक्रीसँगै त्यसले पठन संस्कृतिमा पारेको सकारात्मक प्रभाव पनि महत्वपूर्ण हुन्छ। पुस्तकको बिक्रीसँगै त्य पुस्तकले पठन संस्कृतिको पनि विकास हुँदै लानुले लेखकहरुलाई आत्मनिर्भर बनाउँदै लगेको छ। राम्रो लेखक लेखेरै बाँच्न सक्ने अवस्था सिर्जना भएको छ।

प्रकाशनकाे समयदेखि नै चर्चामा रहेका र ५० हजारभन्दा धेरै बिकेका जीवित लेखकका चार पुस्तक (चिना हराएको मान्छे, पल्पसा क्याफे, जीवन काँडा कि फूल र राधा) ले गरेको बिक्री र पठन संस्कृतिमा परेको प्रभावबारे यहाँ चर्चा गरेका छौँ

५० हजारभन्दा धेरै बिक्ने ४ कृति
कलाकार हरिवंश आचार्यको संस्मरणात्मक कृति ‘चिना हराएको मान्छे’ नेपाली लेखकका धेरै बिक्री हुने पुस्तकमध्येको एक हो। २०७० साल वैशाखमा प्रकाशित उक्त पुस्तकमा आचार्यको बाल्यकाल, शिक्षा, विवाह, मदनकृष्णसँगको सम्बन्ध (जीवनीपरक) लगायतका विषय समेटिएका छन्।

‘फाइन प्रिन्ट’ले प्रकाशनमा ल्याएको यो पुस्तक प्रकाशक संस्थाकै इतिहासमा पनि सबैभन्दा धेरै बिक्री हुने पुस्तकको सूचीमा पर्छ। नऔँ संस्करण प्रकाशनमा आउँदासम्म यो पुस्तक ८० हजार प्रतिको हराहारीमा ब्रिकी भइसकेको प्रकाशकको दावी छ।

पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नेपालयद्वारा प्रकाशित पहिलो कृति हो। २०६१ सालमा प्रकाशित यस पुस्तकले चर्चा मात्र पाएन मदन पुरस्कारसमेत प्राप्त गर्न सफल भयो। प्रकाशन भएको पहिलो महिनामै ५ हजारप्रति बिक्री भएर रेकर्ड कायम गरेको यो पुस्तक हालसम्म ८० हजार प्रतिभन्दा धेरै बिक्री भइसकेको प्रकाशक बताएँछन्। नेपाली, अंग्रेजी, फ्रेन्च र कोरियन गरी ४ भाषामा यो पुस्तक प्रकाशित छ। कफी गफ शैलीमा सरल भाषा र कथ्यशैलीमा बुनिएको यो उपन्यास पाठकका लागि पढ्न र बुझ्न निकै सहज छ।

शारीरक हिसाबले अपांगता भएर पनि आफूलाई साहित्य क्षेत्रमा अब्बल साहित्यकारका स्थापित गर्न सफल झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’ सबैभन्दा धेरै बिक्ने पुस्तकको सूचीमा पर्दछ। २०६७ सालमा प्रकाशित यस पुस्तकले मदन पुरस्कारसमेत प्राप्त गर्यो।

सुरुमा विभिन्न व्यक्तिको सहयोग र झमक घिमिरे साहित्य कला प्रतिष्ठानको सहकार्यमा पुस्तक प्रकाशन भयो। पछि बुक हिलले प्रकाशनको जिम्मा लियो। वितरणमा केही समस्या देखिएपछि प्रकाशनको जिम्मा बुक हिललाई दिइएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं बुक हिललाई प्रकाशनको जिम्मा दिनुअघि ठ्याक्कै कति प्रति बिक्री भयो भन्नेबारे आफूहरुलाई एकिन नभएको बताउँछन्। ३० हजारको हराहारीमा बिक्री भएको हुनुपर्ने उनको अनुमान छ। तर, जानकारहरु भने त्यतिबेलै ५० हजारभन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको ठोकुवा गर्छन्।

त्यस्तै, बुक हिलले प्रकाशनको जिम्मा लिएको दुई वर्षभित्रै यो पुस्तक ५० हजारको हाराहारीमा बिक्री प्रकाशक बताउँछन्। उक्त प्रकाशन संस्थाबाट प्रकाशित कृतिहरुमध्ये धेरै बिक्री हुने कृतिमा यो पर्दछ। प्रकाशकले दिएको जानकारी अनुसार यो पुस्तक ब्रिकीका हिसाबले ‘चिना हराएको मान्छे’ र ‘पल्पसा क्याफे’भन्दा अगाडि छ तर आधिकारिक तथ्यांक भने प्रकाशकले पनि दिन सकेका छैनन्।

त्यस्तै कृष्ण धराबासीको ‘राधा’ धार्मिक तथा प्रेमिल विषयवस्तुमा आधारित उपन्यास हो। नारीको गरिमा मूल्यांकन गर्दै ऐतिहासिक सन्दर्भ जोडेर लेखिएको यो २०६२ सालको मदन पुरस्कारसमेत पाउन सफल उपन्यास हो। महाभारत महाकाव्यकी मुख्य नारी पात्र राधा र कृष्णको प्रेम सम्बन्धमा आधारित पुस्तकले सामाजिक आयामसमेत बोकेको छ।

सुरुमा यो पुस्तक साझा प्रकाशनबाट बजारमा आएको थियो भने पछि पैरबी प्रकाशनले यसको प्रकाशनको जिम्मा लिएको हो। साझाबाट ४५ हजार र पैरबीबाट २० हजार गरी यो पुस्तक हालसम्म ६५ हजार प्रति बिक्री भइसकेको प्रकाशक बताउँछन्।

यी चारवटै पुस्तकको बिक्री अहिले पनि बजारमा उत्तिकै खोजिने पुस्तकमा पर्दछन्।

पठन संस्कृतिमा प्रभाव
‘चिना हराएको मान्छे’ यस्तो पुस्तक हो जुन धेरै घरको भान्सासम्म पुगेको छ। गृहिणीहरुमा पठन संस्कृतिको विकास गराउने पुस्तकको रुपमा यसलाई लिने गरिएको छ।

रोचक कुरा त के छ भने आम साहित्य सर्कलभन्दा बाहिरका र आफ्नो जीवनमा कहिल्यै पुस्तक नपढेकाहरुले यसलाई धेरै रुचाए। साथै, यो पुस्तक विश्वकै सबैभन्दा ठूलो अनलाइन स्टोर अमेजनमा बिक्रीका लागि राखिएको पहिलो नेपाली भाषाको पुस्तक हो। त्यसैले विश्वभर छरिएर रहेका नेपालीको पहुँचमा समेत यो पुस्तक पुगेको देखिन्छ।

फाइन प्रिन्टका निर्देशक अजित बराल साहित्यमा रुची नभएका र पुस्तक कमै मात्रामा पढ्नेको रोजाइमा यो पुस्तक परेको दावी गर्छन्। ‘घरको भान्सासम्म पुग्ने यो पहिलो साहित्यिक कृति हो’, उनले भने, ‘साहित्यमा रुची नभएका तर हरिवंशको स्टारडमका कारण उहाँलाई चिनेकाहरुले पनि पुस्तक धेरै पढ्नुभयो।’

त्यस्तै, ‘पल्पसा क्याफे’लाई पुस्तकको व्यापारमा कायापलट ल्याउने पुस्तकमा रुपमा लिइन्छ। यो पुस्तक प्रकाशन हुनुअघि कमसल कागजमा पुस्तकहरु छापिन्थे। तीमध्ये कतिपय पुस्तकमा लेखक आफैँले लगानी लगाउँथेँ। यसरी प्रकाशित पुस्तक केही थान विमोचन कार्यक्रममा बाँडिन्थे त केही लेखकहरु झोलामा बोकेर अरुलाई बाँड्दै हिँड्थे। तर, ‘पल्पसा क्याफे’को बिक्रीले पुस्तक किनेर पढ्ने वातावरण मात्र बनेन् पठन संस्कृतिको समेत विकास भयो।

नेपालयका अर्पण शर्माका अनुसार ‘पल्पसा क्याफे’का लागि सुरुमा प्रकाशन गृहले निकै मेहनत गरेको हो। देशभरका पुस्तक पसलमा पुगेर बजार बुझ्ने र पसलेसँग साक्षात्कार गरेर पुस्तक बिक्रीका लागि पहल गर्ने, क्याफे र क्याम्पसमा पुस्तक पुर्याउने काम भयो। र, यसरी विस्तारै यो पुस्तक पाठकको रोजाइमा पर्दै गयो।

शर्मा भन्छन्, ‘पल्पसा क्याफे’पछि धेरै प्रकाशन गृह आए र विशेषगरी युवामा पुस्तक किनेर पढ्ने संस्कृतिको विकास भयो। त्यसैले यो पुस्तकलाई नेपाली साहित्यमा विशेष आयाम थप्ने पुस्तकका रुपमा म लिन्छु।’

त्यस्तै सर्वाधिक रुचाइएको अर्को पुस्तक ‘जीवन काँडा कि फूल’ हरेक विद्यालयका पुस्तकालयमा पाइन्छ। साथै, शिक्षकहरुले पनि आफ्ना विद्यार्थीलाई यो पुस्तक पढ्न सिफारिस गर्ने गर्छन्। मानिसहरुले यसलाई प्रेरक पुस्तकका रुपमा लिएका छन्। केहीले यस पुस्तकले जीवनमा सही मार्ग निर्देश गर्न सहयोग गरेको बताएका छन्।

पुस्तकको सबैभन्दा सुन्दर पक्ष भनेको झमकले कुनै पनि कुरा नलुकाइ आफ्नो जीवन भोगाईलाई प्रस्तुत गरेकी छन्। अभाव, पीडा, रोदन र शारीरिक अशक्तताका बीच उनले आफूले बाँचेको जीवन यसरी खुलस्त पारेकी छन् कि पुस्तक पढ्दा आँसु नझार्नेहरु सायदै होलान्।

फरक क्षेमताकी लेखकले इमानदारितापूर्वक आफ्नो कथा लेखेका कारण यो धेरैको रोजाइको पुस्तक बन्न पुग्यो। नेपाली भाषाका लेखिएको आत्मकथाहरु मध्यको यो पुस्तकलाई सबैभन्दा उत्कृष्ट पुस्तकका रुपमा लिइन्छ। मानिसहरुले संघर्षबाट कसरी जीवनलाई बदल्न सकिन्छ भन्ने ज्ञान लिनका लागि यो पुस्तक खोजी–खोजी पढ्ने गरेका छन्।

विद्यालय जीवनमा धेरै विद्यार्थीले जीवनमै पहिलोपटक पढेको पुस्तकसमेत बनेको छ यो। यो पुस्तक पढेपछि बल्ल अन्य पुस्तक पढ्ने मोह बढेकाहरु धेरै छन्।

नेपालमा एउटा पुस्तक कम्तिमा पनि ५ जनाले पढ्छन् भन्ने गरिन्छ। यस हिसाबले ‘राधा’ उपन्यासका लाखौँ पाठक छन्।

पुस्तक प्रकाशन भएको १५ वर्ष पुगिसक्दासमेत यसका पाठक घटेका छैनन्। राधा पढेपछि महाभारत पढ्नेहरुको संख्या पनि उल्लेख्य छ। साथै, पुरणसँग जोडेर वर्तमान समाजको विश्लेषण गरिएकाले धार्मिक आस्था र विश्वास राख्ने तर यसअघि आख्यान नपढ्नेहरुले यो पुस्तक पढेको बताउँछन्।

जनयुद्धकालिन परिवेश, महिलावादी दृष्टिकोण र प्रेमका विषयवस्तु पनि केलाइएकाले यसको बहाव फराकिलो बन्न पुग्यो। पुस्तक मनोवैज्ञानिक, ऐतिहासिक र आधुनिक समाजलाई आधार बनाएर लेखिएकाले नेपाली साहित्यमा फरक शैली, भाषा र बिम्बको प्रयोग यसमा भएको पाइन्छ।

 आर्थिक पाटो
ब्रिकीका हिसाबले ‘चिना हराएको मान्छे’ले लेखक र प्रकाशक दुवैलाई आर्थिक रुपमा सबल बनायो। हुनत हरिवंशलाई पुस्तक बिक्रीले दैनिक जीवन सञ्चालनमा कुनै आयाम थप्ने होइन। तर, उनको पुस्तकबाट यतिधेरै आम्दानी हुन्छ भन्ने उनले सायदै सोचेका थिए।

३३० पेजको पुस्तकको मूल्य ३९८ रुपैयाँ छ। यस हिसाबले पनि २० प्रतिशत रोयल्टी पाउँदा ५० लाख रुपैयाँको हाराहारीमा लेखकको भागमा पर्न जान्छ।

तर, लेनदेनको विषय लेखक र प्रकाशबीचको गोप्य सहमतिमा गरिने भएकाले ठ्याक्कै यति नै भनेर दुवै पक्षले भन्ने अभ्यास नेपालमा छैन।

हरिवंश रोयल्टीबाट आएको रकममध्ये १५ लाख दिवंगत श्रीमती मीराको नाममा खोलिएको संस्थामा जम्मा गरेको बताउँछन्। उनी भन्छन्, ‘अरु पैसा आफ्नै व्यक्तिगत काममा खर्च गरेँ। तर, मलाई पैसाभन्दा पनि मानिसहरुको प्रतिक्रिया महत्वपूर्ण लाग्ने गरेको छ।’

आफू कार्यक्रमको सिलसिलामा जहाँ जाँदा पनि १० जना मानिस तपाईंको पुस्तक पढेँ भन्ने भेट्दा आफूलाई औधी खुसी मिल्ने उनी बताउँछन्। उनले अहिले ६–६ महिनामा रोयल्टी लिइरहेका छन्।
‘धेरैले तपाईंको जीवनको संघर्षको कथा पढेपछि मलाई आत्मबल मिलेको छ भन्नुहुन्छ’ उनी भन्छन्, ‘यो प्रेरणाका अगाडि आर्थिक पाटो गौण हो।’

त्यस्तै, झन्डै ८० हजारको हाराहारीमा ब्रिकी भएकाले ‘पल्पसा क्याफे’ले आर्थिक रुपमा राम्रै कमाई गर्यो। यो पुस्तकको शुरुवाती प्रकाशन मूल्य पातलो गाताको २५० र मोटो गाताको ४५० रुपैयाँ तोकिएको थियो। अहिले यसको पातलो गाताको मूल्य ३९५ रुपैयाँ छ।

यस हिसाबले पुस्तकले आर्थिक रुपमा पनि राम्रै आम्दानी गरेको छ। अहिले पनि यो उपन्यास वर्षेनी ५ हजारको हाराहारीमा बिक्री भइरहेको छ। लेखकले ३–३ महिनामा रोयल्टी पाइरहेका छन्।
त्यतिबेला वाग्लेले १५ प्रतिशत रोयल्टी लिनेगरी सहमति भएको थियो। यस हिसाबले उनले ३०–४० लाख रुपैयाँको हाराहारीमा कमाई गरेको देखिन्छ। लेखक वाग्ले  ३ साताका लागि विदेश गएका कारण यसबारे कुरा हुन सकेन।

‘जीवन काँडा कि फूल’ बाट झमकले वार्षिकरुपमा रोयल्टी बुझ्दै आएकी छन्। सञ्चालक भूपेन्द्र खड्काका अनुसार उनले बुक हिलबाट नै लाखौँ रुपैयाँ रोयल्टी बुझिसकेकी छन्।

झमककी मित्र अनिता लामाका अनुसार रोयल्टीबाट प्राप्त रकम झमकले आफ्नो सिर्जनात्मक कार्य र दैनिक जीवनमा आवश्यक चिज–वस्तुको खरिदमा खर्च गर्ने गरेकी छन्। यसअघि औषधि किन्न खर्च हुने गथ्र्यो तर पछिल्लो समय औषधीको खर्च सरकारले ब्यहोर्दै आएको छ।

झमकले बुक हिलबाट पुस्तकको २० प्रतिशत रोयल्टी लिइरहेकी छन्। सुरुवाती मूल्य २५० रहेको यस पुस्तकको हालको बजार मूल्य ४२५ रुपैयाँ रहेको छ। यस हिसाबले झमकले हालसम्म पुस्तक बिक्रीमार्फत नै ४०–५० लाखको हाराहारीमा आम्दानी गरेकी छन्।

यो पुस्तक वर्षेनी ३–५ हजारको हाराहारीमा बिक्री भइरहेको छ। यो पुस्तक हिन्दीमा पनि अनुवाद भएको छ भने पुस्तकमा आधारित भएर फिल्मसमेत बनेको छ।

पुस्तकले प्रकाशकलाई पनि राम्रै फाइदा भएको छ। खड्का भन्छन्, ‘पुस्तक राम्रो बिक्नु भनेको प्रकाशन पनि हरेक पाठकको पहुँचमा पुग्नु हो। प्रकाशकले त्यहीँबाट मुनाफा लिने हो। त्यसैले हाम्रो पनि ब्रान्डिङ भयो।’

‘राधा’ उपन्यासको पछिल्लो बजार मूल्य ३७५ रुपैयाँ रहेको छ। अहिले पनि यो उपन्यास पैरबी बुक्सले वर्षमा ४–५ हजार प्रति बिक्री गरिरहेको बताउँछ। लेखकले रोयल्टी पनि राम्रै पाइरहेका छन्।

धराबासी भन्छन्, ‘पोहर वर्ष साझाबाट डेढ लाख लिएको थिएँ, अहिले साझाको अवस्था बिग्रिएकाले पैसा आएको छैन।’ अर्थात, उनले अहिले पनि वार्षिक रुपमा पुस्तकको रोयल्टी लिइरहेका छन्।

पैरबीबाट आवश्यक पर्दा कहिले एक लाख त कहिले दुई लाख लिने गरेको उनी बताउँछन्। २० प्रतिशत रोयल्टीको हिसाब गर्ने हो भने धराबासीले हालसम्म ४० लाखको हाराहारीमा एउटै पुस्तकबाट आम्दानी गरिसकेका छन्।

रोयल्टीबाट आएको केही पैसा आमाको नाममा खोलिएको प्रतिष्ठानमा राखेको र केही व्यक्तिगतरुपमा खर्च गरेको उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .