ad ad

म्यागेजिन


मन महिमा

मन महिमा

सुरेश बादल
साउन ११, २०७६ शनिबार ७:५४,

 मन त्यो शान्त तलाउ हो, जहाँ प्रेमको कमल फुल्छ। त्यो आकाश हो जहाँ प्रेमको चन्द्रमा झुल्कन्छ। मन त खेतबारीमा उभिएको त्यो बोट हो जहाँ प्रेमका झुप्पाहरू लहलह झुल्छन्।

मन नहुँदो हो त प्रेम कहाँ उब्जिन्थ्यो? कहाँ फल्थ्यो? कहाँ फूल्थ्यो? मनै नभए कहाँ जन्मिन्थे प्रेमका शिशुहरू? कहाँ हुर्किन्थे? कहाँ बढ्थे? मनको अस्तित्व नभए कहाँ फैलिन्थे होला प्रेमका लहरहरू? कहाँ झ्याँङ्गिन्थे होला? कहाँ लहराउँथे होला?

मन छ र त प्रेम छ। प्रेम नभएको मनमा केही इर्ष्या होलान्। केही घृणा होलान्। केही रिसराग होलान्। केही अनुराग होलान्। तर पनि त त्यहाँ प्रेम उभिने ठाउँ हुन्छ।

चाहे सुख्खा पाखोजस्तै होस् तर पनि मन होस्। कुनैदिन खडेरी निखारेर त्यहाँ पक्कै प्रेम बर्सनेछ। चाहे रित्तो भकारीजस्तै होस्। तर पनि मन होस्। त्यहाँ कुनै न कुनै मंसिर पाहुना लाग्न अवश्य आउनेछ। भर्नेछ प्रेमका दानाहरूले। चाहे षोडशीको सिउँदोझैँ किन नहोस्। तर पनि मन होस्। त्यहाँ कुनै वरको हातले छर्नेछ प्रेमिल सिन्दुर र रंग्याउनेछ प्रेमकै रंगले।

मन भए त ढुंगालाई पनि धागोले काट्छन्। पानीमा स्वाद र हावामा रंग देखिन्छन्। आगो पनि च्याप्प समाएर मुडोमा राख्न सकिन्छ। मनै नभए त बहसको के अर्थ? मनै नभए प्रेम भनेर फलाक्नुको के अर्थ?

मन कहाँ हुन्छ? कस्तो हुन्छ? कुन आकार, रंग अनि स्वरूपको हुन्छ? यी प्रश्नहरु निरर्थक हुन्। मनको ठेगाना कहिलेकाहीँ टुहुरा बालकका अनुहार नियाल्दा रसाउने आफ्नै आँसुमा हुन्छ। मनको बाटो त कहिलेकाहीँ अरुको दुःखमा हाँस्न नसक्ने आफ्नै बानीमा हुन्छ। मनको आकार नै हुँदैन भनौं? बेघरका घर उभ्याउन ढुंगा बोकिरहेका धुर्मुसका बाटुलो अनुहारमा झन् चहकिलो भएर देखिन्छ मन। मनको रंग नै हुँदैन भनौँ? मेहनतका मोटा चामलका सेता दानाहरुमा देखिन्छ मन। पसिनाका निला थोपाहरुमा देखिन्छ मन। फुटेका राता गालाहरुमा देखिन्छ मन।

अरुलाई रुवाउनु अनि आफैँ रुने बच्चाहरुकोझैँ मन भए पो मन त। आधा रोटी अरुको मुख परेको हेर्दाहेर्दै आधा रोटीले पेट भर्ने मन पो मन त। कसरी बस्न सकिन्छ खचाखच भरिएको बसको सिटमा जब छेवैमा घुँडा समाइरहेका बुढा बा’ उभिरहेका हुन्छन्? मन नभए त बरु फूललाई पनि कुल्चेरै हिँड्ने हो। मन भएर त हो नि फूललाई पनि चुमिरहन मन लाग्ने।

चिन्दै नचिनेका सिरियाली बच्चाहरुका त्रसित आँखाहरु देख्दा रसाउने आँखासँग हुन्छ मन। देख्दै नदेखेको अफगानी बच्चाहरु बम पड्किएर मर्दा समाचारसँगै रुने आँशुहरुसँग हुन्छ मन। मन त त्यहाँ हुन्छ जहाँ हिजो भर्खर भ्रष्टाचारी भनेर गाली गरिराखेको नेता अकालमा मर्दा कठैबरा! भन्न मन लाग्छ । मन त त्यहाँ हुन्छ । जब दुश्मनकै मृत्युमा पनि उत्सव मनाउन मन लाग्दैन।

मन त सिमाना नाघ्दै जान्छ। भाषा नबुझ्ने देशमा पनि मानवताको बोली बोल्दछ। आकाश नाघ्दै परपर उड्दै अनि बोकेर ल्याउँछ बन्धुत्वको घुस्यान। बनाउँछ आफ्नै दलिनमाथि एउटा चिटिक्क परेको गुँड। मन त त्यो गौंथलीजस्तै हो जो उडेर आउँछ हजारौँ माइल दूरबाट। बनाउँछ अरु कसैको मनको दलिनमा घर। देखाउँछ मेहनतको कला, दुःखको सीप। मन त नदी पनि हो जो बगेर जान्छ सागरसम्म। हेर्दैन यो कुन बाटो हो भनेर। सोच्दैन यो कसको देश हो भनेर।मन त सिमाना नाघेर जान्छ त्यो कोशीजस्तै, गण्डकीजस्तै। फेर्छ हरेक बस्तीमा नाम। हरेक भूगोलमा परिचय। तर, निभाउन छोड्दैन आफ्नो धर्म।

मन भएर त मानव जीवन छ। मन भएर त सभ्यता छ। मनै नभए कसरी चल्थ्यो सृष्टि। मन नभए कसरी घुम्थे ग्रहहरु सूर्यको वरिपरि। मन भएरै त ब्रह्माण्ड छ। मन भनेकै गुरुत्वबल हो। मन भनेकै ईश्वर हो।

हिजो आफ्नै ठानेका मान्छेहरु पराई भैदिन्छन् आज। हिजो माया लाग्ने मान्छेरुको वास्ता लाग्दैन आज। हिजो जसका लागि रुन्थे आँखाहरु, जसका लागि धड्किन्थ्यो मुटु, जसका लागि फेर्नु परेझैं लाग्थ्यो सास उसैको आज लाग्दैन थोरै पनि आश। बरु बेवस्ता गर्न मन लाग्छ। मन मरेपछि आँखाबाट नजर छोटिँदो रैछ । ओठबाट मुस्कान हराउँदो रैछ। धड्कनबाट स्पन्दन बिलाउँदो रैछ। आफ्नो मान्छे आफ्नो नरहँदो रैछ। जसको आवाज मात्र सुन्नलाई कानहरु ब्युँझिन्थे, मन नहुँदा ती कानहरु पनि मौन हुँदा रैछन्।

हिजो एकै घण्टीमा उठ्थे फोनहरु। आज काटौं मन मान्दैन, उठाउँ झनै मन मान्दैन। हिजो कुरा केही नहुँदा पनि बात मारिरहौं जस्तो लाग्थ्यो। आज मनभरि कुराहरुको गुम्फन राखेरै बेवास्ता गर्न मन लाग्छ। हिजो जसको आवाज कर्णप्रिय लाग्थ्यो, आज उसैको बोली कर्णकट लाग्दछ। हिजो जसको चेहरा जून लाग्थ्यो, आज त्यही जूनमा ग्रहण लागेझैँ लाग्दछ। जोसँग जिन्दगी बिताउने रहर जागेर आउँथ्यो, आज उसैसँग एक पल बिताउन पनि कहर लागेर आउँछ। आखिर मन न हो जो ऋतु जसरी बदलिदिन्छ। जो बादलजसरी फेरिदिन्छ।

तर पनि मन छ। त्यसैले फेरि फर्किआउन सक्छ प्रेम, जसरी फर्केर आउँछ वसन्त। फेरि फर्किआउन सक्छ आत्मीयता, जसरी फर्केर आउँछ शरद। तर पनि मन छ, त्यसैले देखिनसक्छ बादलमा चाँदनीको घेरा। देखिन सक्छ निलिमाको गाढा रंग।

मन भए फर्किन्छ आफ्नोपन, फर्किन्छ माया, फर्किन्छ मानवता। मनै नभए पो साँघुरिन्छ ब्रह्माण्ड, सकिन्छ सृष्टि, मेटिन्छ जीवन।

मन महिमा! इति!!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .