म्यागेजिन

Tata MotorsTata Motors

परराष्ट्रका पात्रको नालीबेली


विष्णु रिजाल
काठमाडौं, साउन ५

व्यक्ति–व्यक्तिमार्फत घटनाहरुका कडी जोड्दै डा. मदन भट्टराईले नेपालको कुटनीतिक इतिहासको सुन्दर माला बुनेका छन्।

व्यक्तिमाथि कलम चलाउन सजिलो हुँदैन। सम्बन्धका हिसाबले अति निकट वा टाढा– दुबै खालका व्यक्तिहरुका बारेमा टिप्पणी गर्दा सामान्यतः सन्तुलित नहुने खतरा रहन्छ। तर, सबैसँग सौहाद्र्ध सम्बन्ध राख्नमा पोख्त कुटनीतिज्ञ डा. मदनकुमार भट्टराईले यस्तो जोखिम उठाएका छन्, ‘परराष्ट्रका पात्र’ मार्फत।

हुनलाई यो पुस्तक परराष्ट्र मामिला र मन्त्रालयको राजनीतिक नेतृत्व गर्ने व्यक्तिहरुमा केन्द्रित छ। तर, विषयको विविधता, लेखकको फराकिलो सम्पर्क र त्यससँग जोडिएर आएका सन्दर्भहरुका कारण नेपालको परराष्ट्र मामिलासँग गाँसिएका महत्वपूर्ण पात्रहरु छुटेका छैनन्।

व्यक्ति–व्यक्तिमार्फत घटनाहरुका कडी जोड्दै डा. भट्टराईले नेपालको कुटनीतिक इतिहासको सुन्दर माला बुनेका छन्। नेपालमा कुटनीतिक अभ्यास कसरी सुरु भयो र त्यसमा को–को संलग्न थिए भन्ने नामनामेशी उल्लेख गरेर उनले जैसीकोठा र मुन्सीखाना हुँदै विकास भएको परराष्ट्र मन्त्रालयको नालीबेली उतारेका छन्। पृथ्वीनारायण शाहले विदेश मामिला हेर्नका लागि भानु जैसीलाई हाकिम बनाएर खडा गरेको जैसीकोठा हुँदै भीमसेन थापाका पालामा आएर फारसी भाषा जानेका लक्ष्मीदास प्रधानलाई मुन्सी नियुक्त गरेर सुरु गरेको मुन्सीखानाको अभ्यासलाई जंगबहादुर राणाले औपचारिक नाम दिएपछि राणाशासनभरि राणाहरुबाहेक विदेश मामिलामा मुन्सी अर्थात् प्रधानहरुको वर्चश्व रहेको देखिन्छ। विदेशसँगका पत्राचार, विदेश भ्रमण, नेपालमा आउने विदेशीहरुसँग सम्बन्ध जस्ता कुरामा राणाशासनमा मुन्सीखानालाई महत्व दिने गरेको विवरण पुस्तकमा छ।

शिष्टाचार अर्थात् स्वागत–सत्कारलाई कुटनीतिमा विशेष महत्व दिइन्छ। सुरुमा मुन्सी कप्तान भनिने यस कामको प्रमुखलाई पछि शिष्टाचार महापालमा विकास गरिँदासम्म के कस्ता अभ्यास भए भन्ने कुरा पुस्तकमा सिलसिलाबद्ध चर्चा छ। विदेशी अतिथि आउँदा स्वागत–सत्कार गर्ने मात्र होइन, कुनै नेपालीले विदेशीसँग भेट्दा वा विदेशीबाट उपहार ग्रहण गर्दा समेत शिष्टाचार महापालमार्फत अनुमति चाहिने असल व्यवस्था नेपालमा इतिहास भइसकेको छ।

सन् १९५१ अघि राणाकालमा मन्त्रिपरिषद् गठन गरेर शासकहरुको कार्यविभाजन गर्ने चलन थिएन। जहानियाँ शासन प्रणाली भएकाले भाइ–छोराहरुको रोलक्रम तोकेर त्यसका आधारमा उनीहरुलाई विभिन्न विभाग दिइन्थ्यो। राणाशासनको उत्तराद्र्धमा चाहिँ वैदेशिक मामिलालाई महत्व दिएर विदेश मामिलामा रुचि राख्ने र त्यसैसम्बन्धी काम गरिरहेका रोलवाला राणालाई ‘विदेश विभागको डाइरेक्टर जनरल’ बनाउने अभ्यास सुरु भएको थियो। त्यसक्रममा केशरशमशेर, बहादुरशमशेर, कृष्णशमशेर, विजयशमशेर र शारदाशमशेरले मुन्सीखाना अर्थात् विदेश मन्त्रालयको प्रमुख भएर काम गरेका थिए। लेखकले तिनका बारेमा विस्तृत वर्णन गर्नुका साथै त्यसबेला वैदेशिक सम्बन्धसँग सम्बन्धित काममा संलग्न पात्रहरका बारेमा पनि चर्चा गरेका छन्।

सन् १९५१ को राजनीतिक परिवर्तनपछि परराष्ट्र मन्त्रालयको स्थापना र त्यसको नेतृत्व गर्ने मोहनशमशेर र मातृकाप्रसाद कोइरालाका साथै खड्गमानसिंह बस्नेत, डा. डिल्लीरमण रेग्मी, गुञ्जमान सिंह, चूडाप्रसाद शर्मा, डा. केआई सिंह, पुरेन्द्रविक्रम शाह र वीपी कोइरालाको व्यक्तित्व र त्यसक्रममा परराष्ट्र सेवामा भएका कामहरुका बारेमा उल्लेख छ। पञ्चायतकालमा परराष्ट्रको नेतृत्व गर्ने तुल्सी गिरी, हृषीकेश शाह, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट आदिदेखि अहिलेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्मको मूल्यांकन पुस्तकमा छ। कतिपयका बारेमा उनले खुलेर विश्लेषण गरेका छन् भने कतिपयका बारेमा चाहिँ अरुले गरेका टिप्पणीहरुलाई मुख्य आधार बनाएर छाडिदिएका छन्।

पुस्तकमा ‘वीपी र विदेश मामिला’ विषयमा अलग्गै खण्ड छ। स्वाभाविक रुपमा नेपालको राजनीतिक इतिहासको चर्चा वीपी कोइरालाको अभावमा पूरा हुँदैन। विदेश नीतिका सन्दर्भमा पनि वीपीलाई छुटाउन सकिँदैन भन्ने महत्वबोध गरेर अलग्गै खण्ड राखिएको बुझ्न सकिन्छ। यसमा वीपीको भारतसँगको सम्बन्ध, अन्तरिम सरकारमा गृहमन्त्री हुँदा समेत विदेश मामिलामा रहेको संलग्नता, नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा भारतले दिएको दखल, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुका बारेमा वीपीको दृष्टिकोणका साथै आफ्ना सहकर्मीहरुका बारेमा वीपीले गरेको मूल्यांकनसमेत समेटिएको छ।

यसबाट वीपीमा विस्तारै विकास हुँदै गएको मनोविज्ञान, भारतीय संस्थापन पक्षको उनीप्रतिको अविश्वास, दुई भाइ (मातृका र वीपी) बीच नेहरुले गरेको चलखेल जस्ता कुरा बुझ्न सकिन्छ। तर, वीपी कोइरालाको विदेश मामिलाको सबभन्दा महत्वपूर्ण पक्ष चाहिँ छुटेको छ। उनले प्रधानमन्त्रीका हैसियतमा गरेको चीन र भारतको भ्रमण, संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन, इजरायललाई दिएको मान्यता, बर्माको भ्रमण जस्ता विषयहरु उल्लेख नगरी वीपी कोइरालाको विदेश मामिलाको विश्लेषण पूर्ण हुँदैन। उनका भाइ गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री भएपछि परराष्ट्र आफैँसँग राखेको प्रसंगको पनि लेखकले विश्लेषण गरेका छन्।

लेखक भट्टराईले नेपालको राजनीतिका विवादास्पद र रहस्यमयी पात्रहरुका बारेमा लेख्दा पनि सन्तुलन गुमाएका छैनन्। धोकाधडी तथा षड्यन्त्रमा विश्वास राख्ने डा. तुल्सी गिरी, सूर्यप्रसाद उपाध्याय, डा. डिल्लीरमण रेग्मी, हृषीकेश शाह र रमेशनाथ पाण्डे यस्ता पात्र हुन्, जसको योगदान इतिहासमा समयको रथलाई सुल्टोबाट उल्टोतिर घुमाउनेमा अंकित छ। वीपी कोइरालाले हदै विश्वास गरेर एकाएक पार्टीको महामन्त्री, प्रथम जननिर्वाचित सरकारमा पहिला परराष्ट्र उपमन्त्री र तत्कालै मन्त्री बनाएका तुल्सी गिरी नै अन्ततः सन् १९६० मा वीपीको जननिर्वाचित सरकार अपदस्थ गराउनका लागि राजा महेन्द्रलाई उकास्ने मुख्य व्यक्ति थिए भने निर्वाचनमा दुई ठाउँबाट हारे पनि वीपीले अत्यन्तै विश्वास गरेर आफ्नो गृहमन्त्री बनाएका सूर्यप्रसाद उपाध्याय आजीवन देशको भन्दा परदेशको सेवा गर्दै वीपीलाई पलपल अप्ठेरोमा पार्ने व्यक्ति थिए।

risekesh

त्यसैगरी, आफ्नो बोलीको ठेगान नभएका र तत्कालै मान्यता परिवर्तन गर्नमा माहिर हृषीकेश शाह जननिर्वाचित सरकार बर्खास्त हुनासाथ अमेरिकाको राजदूतबाट फिर्ता आएर अर्थमन्त्री बनेका थिए। ‘हृषीकेश शाहः विवादमा रमाउने व्यक्तित्व’ शीर्षकमा अलग्गै खण्डमा चर्चा गर्दै लेखिएको छ, ‘...शाह यति चञ्चल, अस्थिर र लचिलो थिए कि उनीसहित चारजना बसी एक राजनीतिक वा सामाजिक एकाइ खोलेमा उनले आफ्नो बुद्धि, तर्क र क्षमताको यथेष्ट प्रयोग गरी पाँच एकाइ तुरुन्त बनाइदिन्थे। ...यी विभिन्न मानवीय कमीकमजोरीका बावजुद उनी नेपालसमा सबैसँग राम्रो सार्वजनिक सम्बन्ध राख्न सक्ने, प्रकाण्ड विद्वान्, अध्ययनशील, प्रतिभाशाली एवम् मिहिनेती व्यक्ति हुन् भन्नेमा चाहिँ सायद कसैको मतभेद होला।’

सानैदेखि यताका कुरा उता लगाएर ठूलो पल्टिन बानी परेका रमेशनाथ पाण्डे के हुन् र कसका लागि काम गर्छन् भन्ने रहस्य अरु धेरैले जस्तै लेखकले पनि अझैसम्म थाहा पाएका रहेनछन्। उनका बारेमा डा. भट्टराईको मूल्यांकन छ, ‘जुनसुकै व्यवस्था, नेता एवम् प्रकृतिको सरकारलाई पनि पाण्डे नभई नहुनुमा उनको वास्तविक उपादेयता के थियो भन्ने कुरा उनीसँग ४० बर्षभन्दा लामो व्यक्तिगत चिनजान रहँदा पनि ...मेरा लागि रहस्यकै विषय रह्यो। ...अवास्तविक कुरालाई पनि हो कि भन्ने पार्न सक्ने क्षमता राख्छन्।’

ramesh nath

‘पाण्डे विदेशी गुप्तचर एजेन्सीका लागि काम गर्छन्’ भनेर भारतीय पत्रिका ‘सूर्या’ ले धेरै पहिला खुलासा गरेको सन्दर्भ पनि लेखकले उठाएका छन्। एकपटक आफू दिल्लीमा हुँदा पाण्डे प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘परराष्ट्र मन्त्रालयको जिम्मा दिएको’ भन्दै दिल्ली पुगेको तर प्रधानमन्त्री कार्यालयमा सोध्दा ‘त्यस्तो कुनै अख्तियारी नदिइएको’ पत्ता लागेको कुरा पनि लेखकले सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री भएर पनि परराष्ट्रमा लामो वा छोटो समयका लागि जिम्मेवारी बहन गर्ने नेताहरुका बारेमा पुस्तकमा छोटो–छोटो टिप्पणी गरिएको छ। डा. भट्टराईले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका बारेमा लेखेका छन्, ‘प्रधानमन्त्री भट्टराईले सन् १९९० को जुनमा भारतको औपचारिक भ्रमण गरे। यो भ्रमण धेरै अर्थमा महत्वपूर्ण थियो। भ्रमणका तीन मुख्य परिणाम उल्लेखनीय छन्। पहिलो, दुई देशबीच आर्थिक तथा राजनीतिक मतभिन्नता र एक बर्षभन्दा बढी समयदेखि देखिएको द्विपक्षीय तनाव हट्यो। दोस्रो, नेपालका प्रधानमन्त्रीले भारतीय पक्षसँग सिद्धान्त एवम् व्यवहार दुबै दृष्टिले समानताका आधारमा स्पष्ट कुराकानी गरे। र, तेस्रो, उनी भारतका सञ्चारमाध्यमसमक्ष दरिलो रुपमा प्रस्तुत भए। साथै, नेपालको राम्रो छवि स्थापित गरे।’

krishna prasad

त्यतिबेला भट्टराईमाथि आक्षेप लागे पनि त्यस भ्रमणले नेपालको हित गरेको उनको ठहर छ।

आफू परराष्ट्र सचिव भएको बेलमा प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईका साथै परराष्ट्रमन्त्री सुजाता कोइराला, उपेन्द्र यादव र नारायणकाजी श्रेष्ठका बारेमा पनि लेखकले मूल्यांकन गरेका छन्।

 madhav nepal

तत्कालीन प्रधानमन्त्री नेपालका बारेमा उनको बुझाइ छ, ‘मन्त्रीको अनुभव नभएका र परराष्ट्र नीतिबारे पनि त्यति जानकार थिएनन् (पहिलो पटक)। यद्यपि, उनले देशको कुटनीतिलाई सशक्त बनाउन सक्दो प्रयास गरे। ....पछि प्रधानमन्त्री पनि बने। मुलुक शान्ति प्रक्रियाको संवेदनशील संक्रमणबाट गुज्रिरहेको बेला उनले कुशल राजनीतिक नेतृत्व प्रदान गरेका थिए। विशेषतः शान्ति प्रक्रिया अघि बढाउन, भारतसँगको सम्बन्ध अभिवृद्धि गर्न, चीनसँग आपसी हितका आधारमा सम्बन्ध बढाउन, संयुक्त राष्ट्रसंघीय मिसन अनमिन बन्द गर्न र शान्ति र स्थायित्व प्रबद्र्धन गर्ने प्रयासबारे संयुक्त राष्ट्रसंघमा पहल गर्न उनले सक्दो प्रयास गरे।’

नेपालको सत्ता राजनीतिमा प्रभाव जमाउने राणा र कोइराला परिवारका बारेमा लेखकमा रहेको गहिरो जानकारी पुस्तकमा पोखिएको छ। एउटा कुनै प्रसंग र त्यसमा आउने पात्रहरुका बारेमा उल्लेख गर्नुपर्दा त्यसको विस्तृत पृष्ठभूमि, नातासम्बन्ध, पढाइ र व्यक्तिगत क्षमताका बारेमा समेत उल्लेख गर्न सक्ने डा. भट्टराईको सूचना–शक्तिका कारण पुस्तक अतिरिक्त लाभदायक छ। हामी अनुमान गर्न सक्छौँ, जंगबहादुर राणा र चन्द्रशमशेर बेलायत भ्रमणमा जाँदा उनीहरुका टोलीमा अंग्रेजी जान्ने को–को सामेल थिए, लेखापढी कसले गथ्र्यो, कुन राणाले कति पढेको थिए, अंग्रेजीमा कस्तो दखल थियो भन्ने विवरण समेत खुलाउनका लागि कति मसिनो गरी अध्ययन गर्नुप¥यो होला।

लेखक भट्टराईले पुस्तकलाई ‘सम्झना, भेटघाट, अन्तरर्वार्ता र अन्तक्र्रियामा आधारित’ बताए पनि प्रशस्त सन्दर्भ सामाग्री र तिनमा आधारित पाद टिप्पणीमार्फत आधिकारिकता दिनमा हरसम्भव कोसिस गरेका छन्। कतिपय आफ्नो विश्लेषणलाई पुष्टि गर्नका लागि उनले पुराना पुस्तक, अभिलेख र व्यक्तिका भनाइको साहरा लिएका छन्।

कुटनीतिका विषयमा दुई विद्याबारिधि गर्दाको शोध र व्यापक मात्रामा प्राप्त ज्ञानका आधारमा मात्र होइन, आफ्नै चार दशक लामो कुटनीतिक सेवाका अनुभवका क्रममा परराष्ट्र सचिव र दुई पटक राजदूतको जिम्मेवारी बहन गर्दाको अनुभवलाई समेत संश्लेषण गरेर होला, डा. मदन भट्टराईले हाम्रो कुटनीतिक क्षमता र अभ्यास खस्केकोमा चिन्ता व्यक्त गरेका छन्। विषयवस्तुको सुक्ष्म अध्ययनबाट निस्किएको यस निष्कर्षप्रति असहमत हुन नसकिए पनि पुस्तकको अन्तिममा उनले भने जस्तै ‘आशाको दियो निभेको छैन’ र उनीजस्तै अनुभवीहरुले यत्तिकै घच्घच्याइदिँदा पनि सत्ता सञ्चालकका साथै भावी पुस्तालाई महत्वपूर्ण सहयोग पुग्दछ।

कुटनीतिक क्षेत्रबाट अवकाश पाएकाहरुले आफ्ना अनुभवहरुलाई लिपिबद्ध गर्ने चलन कम रहेको नेपालमा डा. भट्टराईको यस पुस्तकले मरुभूमिमा एक थोपा पानीको काम गर्ने आशा गर्न सकिन्छ।

पुस्तकः परराष्ट्रका पात्र
लेखकः डा. मदनकुमार भट्टराई
विधाः संस्मरण
प्रकाशकः किताब पब्लिसर्स प्रालि
मूल्यः रु. ६००
पृष्ठः ३१०

साउन ५, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors