ad ad

म्यागेजिन


कविता शर्मा : एक ‘विशेष आमा’ को मातृत्व अनुभव

‘डाक्टरलाई असफल सावित गर्दै एकदिन मेरो छोरा आफैँ उठेर दौडिने छ’
कविता शर्मा : एक ‘विशेष आमा’ को मातृत्व अनुभव

राधिका अधिकारी
असोज १, २०७९ शनिबार ११:३३, काठमाडौँ

उनका हजुरबुबा भनिरहन्थे, ‘नानी तिमीले गरेको कर्मले थोरै मानिसको भए पनि जीवन परिवर्तन हुनुपर्छ।’

कविता शर्माको कलिलो चेतनाले कसरी बुझोस् यति ठूलो कुरा। उनलाई थाहा थिएन के गर्दा अरुको जीवन परिवर्तनका लागि भूमिका खेल्न सकिन्छ।

उनका काका गणेश पौडेल रेडियो नेपालको नाटकमा बोल्थे। सोहीकारण उनलाई रेडियो सुन्ने लत बस्यो।

रेडियो सुन्दै हुर्किएकी कविताको मन रेडियोमै पुगेर अडियो। पहिलो पटक रेडियो रुपन्देही एफएममा उनले अपाङ्गतासम्बन्धी कार्यक्रम चलाइन्।

धेरै पहिलेको कुरा होइन यो। तर, त्यो समय छोरीहरुलाई सञ्चार क्षेत्रमा लाग्न त्यति सहज भने थिएन।

कविताको पहिलो कार्यक्रम बज्ने दिन उनका बुबा तालिमका लागि काठमाडौँ आएका थिए। अहिलेजस्तो फेसबुक र अनलाइनमा रेडियो सुन्न मिल्दैनथ्यो। फ्रिक्वेन्सी टिप्ने ठाउँमै पुग्नुपर्थ्यो।

उनका बुबाले छोरीको कार्यक्रम सुन्नका लागि तालिम छाडेर बुटवलको गाडी समाते। खैरेनी पुग्दा कविताको कार्यक्रम बज्ने समय भयो। उनले गाडीमै रुपन्देही एफएम बजाउन लगाएर छोरीको कार्यक्रम सुने।

कविताले कार्यक्रममा पहिलो गीत बजाइन् रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको ताल भो।’

कविता रेडियोमा आफ्नो रेकर्डेड कार्यक्रम सुनिरहेकी थिइन्। बुबाको फोन आयो। भने, ‘कार्यक्रमको विषयवस्तु र तिमीले बजाएको गीतको संयोजन मिलेन।’

बुबाको सुझावले उनलाई थप प्रेरणा दियो। त्यसपछि रेडियो नै उनको सपना बन्यो। रेडियोको कार्यक्रम सञ्चालनबाट सुरु भएको कविताको करिअरले चाँडै गति लियो।

२२ वर्षको उमेरमा उनले रेडियो मुक्तिको नेतृत्व लिइन्। दक्षिण एसियामा महिलाको व्यवस्थापनमा सञ्चालित पहिलो एफएम रेडियो, रेडियो मुक्तिकी संस्थापक अध्यक्ष भएर काम गरेकी कविताले लामो समय यही क्षेत्रमा काम गर्ने योजना बनाएकी थिइन्। तर, त्यसो भएन। दुई वर्षमा उनले रेडियो छाडिन् र डिग्री पढ्न काठमाडौं आइनञ्।

उनी काठमाडौंको सेफर्ड कलेजमा मिडिया टेक्नोलोजी अध्ययनका लागि भर्ना भइन्। कविता अहिले यही क्याम्पसको प्रमुख छिन्।

रुपन्देहीमा भर्खर १२ पढ्दै गरेकी कविताले अपाङ्गता भएका व्यक्तिसम्बन्धी कार्यक्रम चलाएकी थिइन्। अब उनले यही क्षेत्रमा आफ्नो जीवन बिताउने अठोट गरेकी छिन्। कारण, उनका एकमात्र छोरा शारीरिक रुपमा फरक क्षमताका छन्। उनी अपाङ्गता भएका बालककी आमा हुन्।

काठमाडौँ  छिरेपछि विवाह
कवितालाई विवाह गर्छु र घरबार सम्हालेर बस्छु भन्ने नै थिएन। उनी ‘म बिहे गर्दिनँ’ नै भन्थिन्। घरबाट दबाव पनि थिएन। तर, त्यतिले उनको विवाह टरेन। मास्टर्स पढ्दै गर्दा उनकी दिदीले विवाहको कुरा चलाइन्। गुल्मीमा जन्मेकी कविताको धुलिखेलका केटासँग विवाह भयो।

विवाहपछि पनि कविताको जीवनशैली खासै परिवर्तन भएन। केही जिम्मेवारी भने परिवर्तन भए। सम्बोधन गर्नुपर्ने साइनोहरु बदलिए। तर कविताले बदलिनन् जीवनको गति। उनले धुलिखेलकै रेडियो मध्यपूर्वमा स्टेसन म्यानेजरका रुपमा काम गर्न थालिन्।

स्नातकोत्तरको पढाइ चलिरहेकै थियो। एकातिर करिअर, अर्कोतिर पढाइ तत्काल आमा बन्ने योजना थिएन। तर, विवाहपछि आफन्तले भने, ‘बच्चा जन्माइहालेको राम्रो। करिअर र बच्चा दुवै सँगै हुर्किन्छन्।’

आफन्तको सल्लाह ठिकै लाग्यो। उनी आमा बन्ने भइन्।

गर्भावस्थाको समय उनलाई निकै गाह्रो भयो। कहिले के, कहिले के समस्या देखा परिरहे। उनले गर्भावस्थाको धेरै समय धुलिखेल अस्पतालको बेडमा गुजारिन्।

नियमित चेकअपका क्रममा बच्चाको अवस्था भने सामान्य थियो। गर्भावस्थामा बच्चाको विकास असाध्यै राम्रो थियो।

दुई जिउकी भएपछि कविताले रेडियो छाडिन्। परीक्षा आउन लागेको थियो। उनी अस्पतालमा पनि कोर्सका किताब पढेर बसिन्।

गर्भावस्थामा क्रिमवाला डुनट खान मन लाग्थ्यो। केही समय खाइन् पनि। तर, उनलाई सुगर देखियो। त्यसपछि उनले आटो खाएर गुजारिन्।

सम्झिँदा साना लाग्ने जिन्दगीका थुप्रै रहरहरु जिन्दगीको विभिन्न स्टेसनमा छुट्दै गए। कविताले त्यसलाई समयचक्र सम्झिएर मन बुझाइन्।

अनि आमा
धुलिखेल अस्पतालमा नियमित जाँचका क्रममा डा. अञ्जनाले अब बेबी जन्माउने प्लान गरौँ भनिन्। डेलिभरी डेट आउन भने केही दिन बाँकी नै थियो। उनले पनि हुन्छ भनिन्।

सुरुमा प्राकृतिक रुपमा सुत्केरी गराउनका लागि औषधि चलाइयो। लामो समय बच्चा भएन। १२ घण्टाको पर्खाइमा पनि बच्चा नजन्मिएपछि अप्रेसन गरेर बच्चा निकालियो। उनले छोरा जन्माइन्।

जन्मिँदा छोरा स्वस्थ थिए। उनी ३ केजीका थिए। छोरालाई हेरेपछि कविताका आँखाबाट खुसीका आँसु झरे।

सुरुमा दूध नआएपछि बट्टाको दूध ख्वाउनुपर्यो। कविताले डाक्टरदेखि गाउँका सबै उपचार पद्धति अपनाइन्। तर, दूध आएन।

उनलाई नमज्जा लाग्थ्यो। उनी आफैंसँग प्रश्न गर्थिन्, ‘ममा के कमी थियो र मेरो दूध आएन?’ बुझ्दै जाँदा अन्य केही महिलाको पनि नआएको थाहा पाइन्। उनले पनि मन बुझाइन्।

कविता सुत्केरी भएको ९ दिनमा उनको परीक्षा थियो। कविताले एम्बुलेन्स बोलाइन्, अप्रेसन गरेको घाउ समाउँदै गएर परीक्षा दिइन्। उनका साथीहरुले उनको नाम नै ‘एम्बुलेन्स’ राखिदिए।

दुःखको सुरुवात
कविताको खुसी उनको छोरोसँगै हुर्किरहेको थियो। छोरो जन्मिएको ६१ औं दिनमा उनका श्रीमान विदेश उडे। अब छोराको एक्लो जिम्मेवारी कविताको काँधमा पर्यो।

काम र बच्चालाई व्यवस्थित गरेर जीवन यापन गरिरहेकी कविताले कल्पनै नगरेको कुरा बेहोर्न पर्यो। उनका छोराले सात महिनाको हुँदासम्म कोल्टे फेरेनन्। बामे सरेनन्, सर्न खोजेनन्।

उनलाई लाग्यो कति बच्चा ढिलै हिँड्छन्। उनका माइतीका काकाले भने, ‘नानी, बच्चामा हुनपर्ने जति विकास नभएको पो हो कि? एकपटक देखाऊ।’

उनले भनिन्, ‘मेरो छोराले सामान्य रुपमा खाना खान्छ, हाँस्छ, हात चलाउँछ। सबै ठीक छ।’

यस्तै सोचेर कविताले छोरालाई ११ महिनाको बनाइन्। त्यसपछि भने उनी धुलिखेल अस्पताल गइन्। उनी एक्लै अस्पताल गएकी थिइन्। बच्चाका डाक्टरले भने, ‘तिम्रो बच्चाले उठ्ने, खाने, हिँड्ने, बोल्ने केही पनि गर्न सक्दैन।’

कविताले जिन्दगीका धेरै क्षण भुलेकी छन्। थुप्रै सम्वाद बिर्सिएकी छन्। तर, कहिल्यै भुल्न सक्दिनन् अस्पतालको त्यो क्षण र डाक्टरसँगको संवाद।

उनलाई थाहा छैन, डाक्टरले त्यसरी भन्न हुन्थ्यो, हुँदैनथ्यो। तर, डाक्टरको त्यो वाक्यले केहीबेर कविताको ज्यान चल्मलाएन। दिमाग ठप्प भयो। उनलाई के गर्नु पर्छ, के सोच्नु पर्छ नै थाहा भएन।

केहीबेरपछि उनी सम्हालिएर घर फर्किन्।

त्यसपछि उनले सुन्नु परेका बचनले कति पटक चिथोरियो उनको मुटु, कति पटक टुटेर झुत्रा भयो मन। उनले हिसाब राख्नै भ्याइनन्। उनले छोरालाई सम्भव भएका सबै उपचार गराइन्।

श्रीमान् विदेशमा। साथ, सहयात्रा र जीवनसाथी चाहिनेबेला नै एक्लै भएकी कविताले जीवन र संघर्षको झन् बलियो पाठ सिकिन्।

‘म विशेष आमा’
सामान्य बच्चा सबै आमाले हुर्काउँछन्। फरक क्षमताका बच्चा सबै आमाले हुर्काउन पाउँदैनन्। कविताले शारीरिक रुपमा फरक क्षमता भएका आफ्नो छोरालाई अहिले १० वर्षको बनाइन्।

यो बीचमा उनले भोग्नुपर्ने, नपर्ने सबै भोगिन्, सबै देखिन्। तर उनलाई कहीँ पनि आफ्नो छोरालाई लिएर आत्मग्लानी भएन। बरु यो समाजको सोच, फरक क्षमता भएका मानिसलाई हेर्ने दृष्टिकोणसँग भने भने उनलाई गुनासो छ। भन्छिन्, ‘म विशेष आमा हुँ।’

सामान्य आमाले भन्दा उनले आफ्नो छोरालाई धेरै समय दिनुपथ्र्यो। उनका छोरासँगै जन्मिएका केटाकेटी दौडिन्थे। उनका छोरा चार हातखुट्टा टेकेर बामे सर्न खोज्थे। कविताले त्यही अनुसारको ड्रेस डिजाइन गर्थिन् र छोरालाई लगाइदिन्थिन्।

घरको सेटिङ, खानेकुरा सबैमा ध्यान दिनुपथ्र्यो। आफन्तले भन्थे, ‘यस्तो छोरालाई पनि चिटिक्क पारेर राख्नुपर्ने, यसको नखरा हेर न।’

कतिले भन्थे, ‘यो बच्चाको के काम, कुनै अनाथ आश्रममा लगेर राखिदेऊ।’

कवितालाई कसैसँग जवाफ फर्काएर बस्ने फुर्सद थिएन। उनी चुपचाप सहन्थिन्। आँसुका घुटका निल्थिन् र छोरालाई फिजियोथेरापी गराउँथिन्।

कविताले आफ्ना छोरालाई कहिल्यै पनि तिमी सक्दैनौ भनिनन्। छोराले गर्न खोजेका काममा साथ दिइन् र उनलाई सक्छु भन्ने महसुस गराइन्।

उनी भन्छिन्, ‘उनीहरुलाई तिमी कमजोर छौ भन्ने महसुस गराउनुहुँदैन। बोल्दा भाषामा पनि विचार गर्नुपर्छ। उपचारका कुरामा पनि विशेष ध्यान दिनुपर्छ।’

यसो भन्दै गर्दा कविताको गला आफ्नो छोराजस्तै अन्य केटाकेटी सम्झिएर अवरुद्ध हुन्छ। भन्छिन्, ‘मेरो बाबु त मेरो परिवारमा जन्मिएकाले उसले पाउनुपर्ने सुविधा पायो। सम्भव भएको उपचार पायो। तर, आज पनि कयौं आमाहरुको बाध्यता फरक क्षमताको आफ्नो बच्चालाई बाँधेर काममा निस्कनुपर्ने छ। उनीहरुको मन कतिपटक भाँचिदो हो!’

कविताले अरुलाई सम्झेर चित्त बुझाइन्।

स्कुल पढाउन गाह्रो
केटाकेटी एक उमेर पार गरेपछि स्कुल जान थाले। अक्षर चिने। साथी बनाए। हाँसे, गाए, नाचे। कविता पनि आफ्नो छोरालाई पढाउन चाहन्थिन्।

मेरो छोरा कहिले स्कुल जाला भनेर मन आत्तिन्थ्यो। फेरि आफैँलाई सम्झाउँथिन्, ‘अरुका बच्चा बाहिर दौडिन्छन्, कता पुग्छन् आमाहरुलाई बच्चा कता गयो, के हुने हो भन्ने चिन्ता हुन्छ। मेरो छोरो त जतिबेला पनि मेरै आँखा अगाडि हुन्छ। अरुलाई जस्तो हजारथरी चिन्ता त छैन मलाई।’

कविताको प्राथमिकता छोराको स्वास्थ्य थियो।

उनका आफन्त आउँथे र छोरालाई भन्थे, ‘तेरीआमाले तँलाई पढाउँदिन रे?’ कविताको मन पग्लिएर आँखाबाट झर्न खोज्थ्यो। तर, उनले कसैलाई देखाइनन्।

धेरै समय कविता आफन्तको घरमा गइनन्। उनलाई पीर लाग्यो, आफन्तले तेरो छोरा यस्तो भन्देलान् भन्ने।

सार्वजनिक सवारीमा पनि उनले उस्तै नमिठा बचन सुन्नु परेको छ। अझ भनौँ, यो समय कविताले निकै कम मात्रै मिठो बचन सुन्न पाएकी छिन्।

तैपनि बाटोमा हिम्मतका साथ कविता आफ्नो छोरो लिएर हिँड्थिन्। देख्नेहरुले बिचरा भन्थे। कवितालाई दिक्क लाथ्यो। उनी पर पुगुन्जेल फर्कीफर्की हेर्थिन्।

उनी भन्छिन्, ‘मेरो छोरा फरक छ, तर कसैको बिचरा होइन। शारीरिक अपाङ्गता भनेको रोग होइन अवस्था हो।’

कविताले काठमाडौँ कुन स्कुल धाइनन् होला ‘मेरो छोरालाई पढाइदेऊ’ भन्दै। तर, कुनै स्कुलले उनका छोरालाई भर्ना लिन मानेनन्। कतिले बेवास्ता गरे, कतिले नमिठो बोले। यी सबै कुरा सम्झिनु छैन उनलाई।

१० वर्षको उमेरमा कविताका छोराले औपचारिक रुपमा स्कुल पढ्न पाए। अहिले उनका छोरा खुसी छन्। स्कुलका साथी र मिस, म्यामको कुरा गर्छन्। स्कुलका गार्डका दुःखका कुरा गर्छन्।

छोराको खुसी देखेर कविता झन् धेरै खुसी हुन्छिन्। भन्छिन्, ‘सन्तानको खुसीभन्दा ठूलो खुसी अर्को नहुँदो रहेछ।’

उनका छोरा अहिले काठमाडौं तीनकुनेको ‘ट्रिटन इन्टरनेसनल स्कुल’ मा भर्ना भएका छन्। यो स्कुलको व्यवस्थापनले अन्य अपांगता भएका बच्चालाई पनि राम्रो वातावरणमा पढाउन खोजिरहेको छ। स्कुलकी निर्देशक ममता साहले उनको छोरा लिएर जाँदा भनेकी थिइन्, ‘यो बच्चालाई कसरी राम्रो शिक्षा दिने भन्नेतर्फ ध्यान दिनुपर्छ, अहिले पैसाको कुरा नगरौं।’

पैसाको कुराले भन्दा आफ्नो फरक क्षमताको छोरालाई लिएर ममतामा देखिएको सकारात्मक सोचले कवितालाई खुसी दिएको छ।

कविताका छोरा आफैँ उभिएर हिँड्न सक्दैनन्। तर, भर दिएपछि हिँड्छन्। कुरा गर्छन्।

उनका छोराको स्मरण शक्ति अजीवको छ। उनी एकपटक देखेको मान्छेलाई बिर्सँदैनन्।

कविता अहिले आफ्नो छोरालाई हेर्छिन् र धुलिखेल अस्पतालका डाक्टरलाई सम्झिन्छिन्। सोच्छिन्, ‘डाक्टरले गरेका सबै अनुमान पनि कहाँ सत्य हुँदा रहेछन् र।’

कवितामा आत्मविश्वास छ, ‘एकदिन मेरो छोरा आफैँ उठेर दौडिने छ।’

चुल्हो बाहिर बेग्लै संसार
एउटी विशेष अवस्थाको बच्चाकी आमा भएर पनि कविताले अर्को एउटा विशेष संसारलाई जोगाएकी छिन्। उनी चुल्हो चौकामा मात्रै सीमित भएर बसिनन्। पत्रकारिता पढाउने एउटा कलेजको नेतृत्व सम्हालेर बसेकी छिन् उनी।

एउटी महिलाले चाहेको खण्डमा घरको जस्तोसुकै परिस्थितिसँग जुधेर भए पनि पेशा व्यवसाय वा सामाजिक गतिविधिमा आफूलाई सक्रिय राख्न सक्दो रहेछ भन्ने उदाहरण बनेकी एउटी विशेष आमा हुन् सेफर्ड कलेजकी प्रमुख कविता शर्मा।

मनमा जति नै पीडा भए पनि कलेजमा व्यस्त भेटिएकी कविताको मुहारमा मुस्कान चम्किरहेको थियो ।   

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .