‘खोक्रो गफ गरेर तपाईंहरुले मेरो सपना र मेरो बालापन खोस्नुभयो। मानिसहरु दुःख पाइरहेका छन्, उनीहरु मरिरहेका छन्। सम्पूर्ण पर्यावरण ध्वस्त हुँदैछ। हामी आम विनाशको संघारमा छौँ। तर तपाईंहरु खाली पैसा र अन्त्यहीन आर्थिक वृद्धिको परीकथाका बारेमा मात्रै बोल्नुहुन्छ। तपाईंहरुको यत्रो हिम्मत!’
गत सेप्टेम्बरमा न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ‘ग्लोबल क्लाइमेट एक्सन समिट’मा विश्वभरका नेताहरुलाई एक १६ वर्षीया किशोरीले यसरी झपारिन्। सुन्नेहरु जिब्रो टोकिरहेका थिए, यो फुच्चीले यत्रो हिम्मत कसरी जुटाइन्?
तिनै ग्रेटा थनवर्गलाई टाइम म्यागेजिनले सन् २०१९ को वर्षव्यक्ति घोषणा गर्यो। ‘पृथ्वीप्रतिको अस्पष्ट चिन्तालाई विश्वव्यापी आन्दोलनमा बदल्न सफल भएकोमा’ उक्त म्यागेजिनले यी किशोरीलाई यो उपाधि प्रदान गरेको जनाएको छ। सबैभन्दा कम उमेरमा टाइम वर्षव्यक्ति बन्ने व्यक्ति पनि भएकी छन् उनी। टाइमले थनवर्गलाई युवाशक्तिको प्रतीक मानेको छ। ‘विश्वभर नै युवाहरुले सार्वजनिक विचारमा ठूलो प्रभाव पार्ने प्रवृत्ति देखिएको छ। तिनलाई सरकारहरुले पछ्याउँछन्,’ राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेसले सो म्यागेजिनलाई भनेका छन्।
“We are at the beginning of mass extinction and all you can talk about is money and fairytales of eternal economic growth. How dare you.”@GretaThunberg gives an emotional speech during the UN Climate Action Summit in New York #UNGA pic.twitter.com/mAVfJgUera
— QuickTake by Bloomberg (@QuickTake) September 23, 2019एक्लो धर्नादेखि विश्वव्यापी आन्दोलनसम्म
सन् २०१८ को अगस्टमा ९ कक्षामा पढ्ने एउटी स्विडिस केटी स्कुल जान छोडेर संसद् भवनअगाडि एक्लै धर्नामा बसिन्। ‘वातावरणका लागि स्कुल हड्ताल’ लेखिएको ब्यानर उनले बोकेकी थिइन्। बाबाआमाले उनलाई स्कुल फर्काउने प्रयास गरे। तर, सफल भएनन्। धर्ना बसेकी उनलाई देख्नेहरुले खिसिट्युरी गरे। तर, ती १५ वर्षीया किशोरीले एउटा विश्वव्यापी आन्दोलन सुरु गरिसकेको कसैलाई थाहा थिएन।
२० अगस्ट २०१८ मा थनवर्गले स्कुल हड्ताल सुरु गरिन्। उनी हरेक दिन स्कुल जाने समयमा स्टकहोमस्थित संसद् भवनबाहिरको सिँढीमा गएर बस्थिन्। तीन सातासम्म उनको धर्ना जारी रह्यो। कसैले उनको नजिकै लगेर एउटा पोस्टर राखिदिएको थियो, जसमा लेखिएको थियो, ‘ठूला मान्छेहरु मेरो भविष्य बर्बाद गरिरहेका छन्, त्यसैले मैले यो सब गर्नु परिरहेको छ।’
देशका केही राजनीतिककर्मी र सांसदहरुले उनको मागमा समर्थन जनाएपछि उनी स्कुल जानुपर्ने तिनको मत थियो। तर, उनले मानिनन्।
उनको एक्लो धर्नाबारे स्वीडेनमा विस्तारै चर्चा हुन थाल्यो। त्यसपछि विश्वका ठुल्ठूला मिडियाले उनीतिर ध्यान दिन थाले।
सेप्टेम्बर १० पछि उनी स्कुल जान थालिन्, तर सातामा चार दिन मात्रै। हरेक शुक्रबार संसद् भवनबाहिर गएर उनी धर्ना दिन्थिन्। ‘फ्राइडेज् फर फ्युचर’ भनिएको यो आन्दोलनको नक्कल विश्वभर हुन थाल्यो। उनको यो आन्दोलनपछि विश्वभरका स्कुलमा हड्ताल हुन थाले। डिसेम्बर २०१८ सम्ममा विश्वका दुई सय ७० सहरका २० हजारभन्दा बढी विद्यार्थीले स्कुलमा हड्ताल भइसकेका थिए।
२०१९ लागेपछि त उनी युरोपभर पुगेर भाषण दिन थालिन्। १५ मार्चमा हालसम्मकै सबैभन्दा ठूलो वातवरणीय प्रदर्शन भयो। गएको सेप्टेम्बरमा उनी १४ दिन लगाएर शून्य उत्सर्जन गर्ने डुंगा चढी आन्ध्र महासागर पार गरेर अमेरिका पुगिन्। त्यहाँ उनले अनेकौँ र्यालीमा भाग लिनुका साथै विश्व नेताहरुको सातो पनि खाइन्। संसारभरका सञ्चारमाध्यममा यो विषय हेडलाइन बन्यो। उनलाई हजारौँले साथ दिए। यसै वर्षको नोबेल शान्ति पुरस्कारका लागि समेत उनी मनोनित भएकी थिइन्।
एकै वर्षमा थनवर्गको आन्दोलन विश्वव्यापी बन्यो। त्यति मात्र होइन, जलवायु परिवर्तन, वातावरणीय क्षयजस्ता मानव अस्तित्वलाई नै संकटमा पार्ने यो विषयबारे पहिलो पटक यति धेरै मानिसले जानकारी पाए। यससँगै वातावरण विश्व राजनीतिको प्रमुख मुद्दा मात्रै बनेको छैन, भविष्यप्रति चासो राख्ने युवाहरुको चिन्ताको विषय पनि बनेको छ।
को हुन् ग्रेटा थनवर्ग?
थनवर्ग अरु केटाकेटीजस्ती थिइनन्। चार वर्षअघि थनवर्गलाई एस्पर्जर्स सिन्ड्रोम भएको पत्ता लाग्यो। उनकी बहिनीलाई पनि यस्तै समस्या छ। ‘म हरेक कुरा बढी सोच्छु। कुनै पनि विषयमा नसोची बस्नै सक्दिनँ। बिर्सिन सक्दिनँ,’ उनले भनेकी छन्।
यो बानीले उनलाई डिप्रेसनमा पनि पुर्यायो। तर, यसलाई उनले आफ्नो कमजोरीका रुपमा होइन, प्रेरक शक्तिका उपयोग गरिन्। यो रोगका कारण आफूमा भएको एकोहोरोपनलाई उनले वातावरणीय चिन्तामा बदलिदिएकी छन्। कतिपय अवस्थामा यसले समस्या पनि निम्त्याएको छ। उनले ढिपी गरेरै आफ्नी आमालाई हवाई यात्रा नगर्ने वाचा गराइन्। उनकी आमा मलिना अर्नम्यान स्वीडेनकी सबैभन्दा चर्चित ओपेरा गायिकामध्ये एक हुन्। उनका बुबा स्वान्ते थनवर्ग, जो अभिनेता हुन्, शाकाहारी बने। ‘मेरा सबै तर्क सकिए,’ उनका बुबा भन्छन्, ‘हामीलाई मनाउन उनले जोड लगाइरहिन्। अन्ततः परवर्तन गराएरै छोडिन्।’
अटिजमका कारण घण्टौँ एउटै विषयमा ध्यान केन्द्रित गर्ने क्षमता उनीसँग छ। आफूले चाहेको विषयमा उनी वर्षौँ लागिपर्न सक्छिन्। त्यसैले उनले मासु खान छोडिन्। नभई नहुनेबाहेक अन्य चीजबीज किन्न छोडिदिइन्। २०१५ देखि उनले हवाईजहाजमा यात्रा गर्न पनि छोडिदिइन्। अहिले उनको परिवार सौर्य उर्जा मात्र प्रयोग गर्छ। साइकल चढ्छ।
डाभोसदेखि न्युयोर्कसम्म पुगेर जलवायु परिवर्तनका विषयमा केही गर्न नसकेको भन्दै विश्वका सम्भ्रान्तहरुलाई धिक्कारिसकेपछि कतिपयले थनवर्गको आलोचना पनि गर्न थालेका छन्। आर्थिक वृद्धि गर्ने, समृद्धि ल्याउने नेताहरुको वाचालाई उनी बकवास भन्छिन्। मुलुकहरुले कार्बन उत्सर्जन थोरैले मात्र घटाउन गरेको वाचा पर्याप्त नभएको उनको भनाइ छ।
वातावरणप्रतिको उनको चिन्ता अतिवादी भएको तर्क पनि सुनिन्छ। तर, संसारको हरेक कुनामा चरम उपभोक्तावादी संस्कृति हावी भएको बेला अर्को पुस्ताका लागि पृथ्वी नै रहला कि नरहला भन्ने चिन्ता गर्नु मात्रै पनि महानता हो। त्यसमाथि, आफ्नो स्पष्टता, निडरता र सकारात्मक सोचका कारण उनी यो घोर निराशाको समयमा आशाको दीप बनेकी छन्।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया