म्यागेजिन


‘हिमालका रबिनहुड’: तीन वर्ष बेइजिङमा शरण लिए, फर्केर नेपालको प्रधानमन्त्री बने

‘हिमालका रबिनहुड’: तीन वर्ष बेइजिङमा शरण लिए, फर्केर नेपालको प्रधानमन्त्री बने

तीन वर्ष चीनमा शरण लिएर फर्केका केआई सिंहलाई काठमाडौँमा भव्य स्वागत गरिँदै (तस्बिरः अरनिकोप्रोजेक्ट)


शी सान
असार १५ , बेइजिङ

सन् १९८९ मा स्या तेङचुन युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कले, स्कुल अफ लमा भिजिटिङ स्कलरका रुपमा गएका थिए। एउटा जमघटमा उनले थाहा पाए– जमघट आयोजकका पति नेपालस्थित अमेरिकी दूतावासमा १७ वर्ष सैन्य सहचारी रहेर भर्खर मात्रै फर्केका हुन्। स्या तेङचुनले ती पूर्व सैन्य सहचारीलाई नेपालीमा अभिभावदन गरेः नमस्ते! त्यो सुनेर उनी चकित परे।

आफूले सैनिकका रुपमा १० वर्ष तिब्बतमा काम गरेको र थुप्रै नेपाली व्यापारीसँग सम्पर्क भएकाले नेपाली बोल्न सक्ने भएको स्या तेङचुनले बताए। उनले नेपालका पूर्वप्रधानमन्त्री कुँवर इन्द्रजीत सिंह (केआई सिंह)लाई ल्हासामा भेटेको बताउँदै उनको अवस्थाबारे सोधीखोजी गरे। पूर्व सैन्य सहचारीले उनको १९८७ मा मृत्यु भएको जानकारी दिए (उनको निधन १९८२ मा भएको विश्वास गरिन्छ)।

‘चाइना न्युज विक्ली’को यो रिपोर्टरले स्या तेङचुनलाई चङकिङको एक अस्पतालमा भेट्यो। ८७ वर्षीय, प्रसन्न, गफ गर्न रुचाउने उनी प्रायः ठूलो स्वर निकालेर हाँस्थे। उनकी माइली छोरीले आफ्नो बुबाले विगतमा गुप्तचर विभागमा काम गरे पनि भन्न नहुने कुरा कहिल्यै नभनेको सुनाइन्। ६० वर्षअघिको यो कथा उनले समेत कहिल्यै सुनेकी थिइनन्।

‘हिमालका रबिनहुड’
सन् १९५२ मा २६ वर्षका स्या तेङचुनले प्रसिद्ध एरोरा युनिभर्सिटी ल स्कुलबाट तीन वर्षमा स्नातक पुरा गरेका थिए। अंग्रेजी र फ्रेन्च भाषामा पोख्त उनी सिचुवान प्रान्तीय सार्वजनिक सुरक्षा ब्युरोमा काम गर्न थाले।

सेप्टेम्बर महिनाको एकदिन स्या तेङचुनले अपर्झट निर्देशक लिउ चिन्चौबाट निर्देशन प्राप्त गरे– ली चियायु भवनमा गएर चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तीय कमिटीअन्तर्गत संयुक्त मोर्चा कार्य विभागका निर्देशक चेन सिचेनसामु हाजिर हुनुस्। र, नेपालका नेता केआई सिंह र उनको प्रतिनिधिमण्डललाई स्वागत गर्नुस्। यो काम अति गोप्य भएको लिउ चिन्चौको जोड थियो।

काओ जान्तिङले पनि त्यस्तै निर्देशन प्राप्त गरे। १९ वर्षका उनी धेरै वर्षअघिदेखि क्रान्तिमा सहभागी भइसकेका थिए। उनी सही निसानामा गोली दाग्न सक्थे र गाडी राम्रोसँग चलाउन जान्दथे। राजनीतिक सुरक्षा विभागको मेरुदण्ड थिए उनी। त्यसैले सुरक्षाको काममा उनलाई खटाइयो।भोलिपल्ट बिहान स्या तेङचुन छन्दुस्थित ली चियायु भवनमा पुगे। जुन भवन त्यतिबेला सिचुवान प्रान्तीय सरकारको सञ्चार कार्यालय अन्तर्गत थियो। ‘चाइना न्युज विक्ली’ को यो रिपोर्टरले हेर्दा त्यो ठाउँ अहिले चिन्न नसकिनेगरी फेरिएको छ र आवासीय क्षेत्र बनिसकेको छ। ढोकाभित्र छिरिसकेपछि मात्रै निलो–खैरो इँटको पुरानै स्वरुपमा संरक्षण गरिएको दुई तले घर देखिन्छ।

८० वर्षीय काओ जान्तिङले चाइना न्युज विक्लीलाई बताएअनुसार त्यही संरक्षित दुई तले भवनमा नेपालबाट निर्वासितहरु बसेका थिए। केआई सिंह र जर्नेल केबी माथिल्लो तलाको एउटा कोठामा बसेका थिए भने उनीहरुका स्टाफ र सिपाहीहरु तल्लो तलामा एउटा कोठामा दुईतीन जनाको दरले बसेका थिए।

यो कालो छाला भएका दक्षिण एसियालीहरुको समूह थियो। सिंह र जर्नेल केबीसहित २७ जनाको समूह थियो। जसमध्ये धेरैजसो नेपाली थिए भने केही स्टाफ सदस्य पाकिस्तानी थिए।

यो समूह नेपालमा सरकारविरुद्ध उत्रेको २ हजारभन्दा बढीे ‘विद्रोही सेना’को हिस्सा थियो।

१९५१ मा भारतको सहयोगमा नेपालमा एक सय वर्षभन्दा बढी शासन गरेको राणा परिवारका प्रधानमन्त्री सत्ताच्यूत गरिए। त्यसपछि राजा त्रिभुवन शक्तिमा फर्किए।

सुरुवाती वर्षमा भारत र थाइल्यान्डमा अध्ययन र म्यानमारमा गएर चिकित्सा अभ्यास गरिरहेका सिंह सो अभियानमा सहभागी हुन नेपाल फर्किए। कांग्रेससहितको सरकारमा अझै पनि राणा परिवारका दुई सदस्य उच्च पदमा थिए। युद्धविराम गर्ने कांग्रेसको आदेश मान्न अस्वीकार गरेपछि सिंह गिरफ्तार भए। पटकपटक गिरफ्तार हुँदै उम्किँदै गरेपछि १९५२ मा उनी आफ्ना सहयोगीहरुसहित हिमाल पार गरेर न्यालम तोङ ला हुँदै चीन प्रवेश गरे। तिब्बतको टिंग्री काउन्टीमा चिनियाँ सेनासँग भेटिएपछि उनीहरुले हतियार छाडेर शरण लिए।

सैनिकहरुको ठूलो संख्यालाई नेपाल फिर्ता पठाइयो। बाँकी २७ जना चीन सरकारको बन्दोबस्तीमा सिंहसँगै छन्दु पुगे।

स्या तेङचुन यी विशेष पाहुनाहरुको दैनिकी व्यवस्थापन प्रमुख थिए। उनलाई धमिलो सम्झना छ– त्यतिबेलाको चर्को अभावको बेलामा पनि ती पाहुनाको कोठामा थालीभरि सुन्तला हुन्थे। सो भवनको आँगनमा असल प्रजातिका आरुका बोट थिए। जसमा हरेक वर्ष निकै कम फल लाग्थे। तर, ती अत्यन्त स्वादिष्ट हुन्थे। ‘ती रुखमा कयौँ आरु थिए। यो रुखको आरु बेइजिङमा अध्यक्ष माओलाई पठाइनेछ, यो अर्को रुखको अन्य नेताहरुलाई। सिचुवान प्रान्तले एउटा रुखका आरु मात्र राख्न पाउँछ। त्यसमध्ये पनि दुइटा आरु सिंह र जर्नेल केबीलाई छुट्याउनै पर्छ।’

स्या तेङचुनको स्मृतिमा त्यतिबेला ४६ वर्ष पुगेका सिंह मोटाघाटा, तगडा थिए। उनको छाला कालोकालो थियो। खासगगरी उनको ठाडो परेका जुँगाले सबैको ध्यान आकर्षित गर्थ्यो।

अनेक पटक पक्राउ पर्दै उम्किँदै गरेका यी चिकित्सक त्यसबेला ‘हिमालका रबिनहुड’ भनेर चिनिन्थे। किनभने धनीहरुलाई लुटेर गरिबलाई बाँड्न उनले सशस्त्र किसान दस्ताको नेतृत्व गरेका थिए। स्या तेङचुनका अनुसार सिंहको अवस्था आफूमातहतका भन्दा बिल्कुल फरक थियो।

सिंहको नियमित समयतालिका थियो। प्रायः उनी राति नौ बजे सुत्थे र बिहान चार बजे ध्यान गर्न उठ्थे। जाडोमा पनि उनी पातला कपडा लगाउँथे। प्रायः उनी कम्बल ओढेर भुइँमा सुत्थे। सुत्दा उनका दुवै हात टाउकोमुनि हुन्थे। कहिलेकाहीँ बसीबसी निदाउँथे। उनी सैनिकहरुको अध्ययन र क्रियाकलापमा कहिल्यै सहभागी भएनन्। चलचित्र हेर्न कहिल्यै गएनन्। मानिसहरुसँग पनि विरलै कुराकानी गर्थे। कामका दिनमा उनी अंग्रेजीमा माओ चेतुङका संकलित रचनाजस्ता राजनीतिक पुस्तक र आफूले बोकेका चिकित्सासम्बन्धी पुस्तक पढेर समय कटनी गर्थे।

‘नेपालमा हुँदाजस्तै उनी सचेततापूर्वक कसरत गर्थे, आफ्नो इच्छाशक्ति अर्जाप्थे र उनी जुनसुकै बेला जेल जान पनि तयार थिए,’ स्या तेङचुनले भने।

५ मार्च १९५३ मा सोभियत संघका सर्वोच्च नेता स्टालिन बिरामी भएर बिते। स्टालिनका प्रशंसक सिंह उनको सम्मानमा भुइँमा तेर्सिए र सात दिनसम्म अन्न बारे। चेन सिचेन र अरुले अनेक पटक सम्झाएपछि उनले नाइँनास्ती गर्दै अलिकति तातोपानी पिए र थोरै फलफूल खाए।

‘चीनले एक जना पनि सैनिक नेपाल पठाउने छैन।’

स्टालिनबाहेक सिंह माओ चेतुङको पनि पूजा गर्थे। वास्तवमा आफ्ना समर्थकहरुलाई हिमाल पार गराउने अभियानमा उनले चिनियाँ लालसेनाको २५ हजार माइल लामो लङ मार्चको उदाहरण पछ्याएका थिए। उनको ‘लङ मार्च’को अन्तिम लक्ष्य माओ चेतुङसँग भेट्नु र सैनिक लिएर गई राणा परिवारलाई सत्ताबाट पुरै हटाउनु तथा नेपाललाई नियन्त्रण गर्ने भारतीय सैनिकलाई लखेट्नु थियो।

मे महिनामा सिंह आफ्नो इच्छाअनुसार सिचुवान छाडेर बेइजिङतिर लागे। तर, बेइजिङ आइपुग्नुको अर्थ माओसँगको भेट सुनिश्चित हुनु थिएन।

स्या तेङचिनले सम्झिएअनुसार सिंहको स्वागतको जिम्मेवारी संयुक्त मोर्चा विभाग र अन्य विभागहरुको थियो। जसले राज्य परिषदका प्रमुख तथा विदेशमन्त्री चाउ एनलाइलाई सिधै रिपोर्ट गर्थे।

सुरुमा चाउ एनलाइको निर्देशन अनुसार चिनियाँ पक्षले सिंहलाई विदेश भ्रमण गराउने योजना बनाएको थियो। गन्तव्यका रुपमा उत्तर कोरिया, सोभियत संघ र पूर्वी युरोपका अरु थुप्रै समाजवादी मुलुक थिए। सो भ्रमणमा याङ यिनदोङ र स्या तेङचुन पनि सहभागी हुने तय थियो।

१९५३ को अन्त्य र १९५४ को सुरुवातमा पासपोर्टका लागि आवेदन दिन सिंहको फोटो खिचाउन तथा फारम भर्न साथमा स्या तेङचुन पनि गए। सिंहलाई निलो खाकीको सुती कपडा र सुरुवाल पनि दिइएको थियो।

तर, चीनले तुरुन्तै किम इल सुङबाट सन्देश प्राप्त गर्यो। सो सन्देशमा सीआईएले सिंहलाई खोजिरहेको समाचार आएकाले उत्तर कोरिया अहिलेका लागि उनलाई स्वागत गर्न असमर्थ रहेको जनाइएको थियो। त्यसकारण विदेश भ्रमणको योजना रद्द गरियो र त्यसको सट्टा चीनभित्रै उनलाई घुमाइयो।

सिंहसँग बेइजिङमा बिताएका वर्षहरु सम्झिँदै स्या तेङचुनले जिन्दगीकै असल व्यवहार त्यो समय आफूले पाएको सुनाए। उनले एक महिनासम्म खानाको मात्र ६ युआन तिरे, जबकि त्यस्तो खानाको मूल्य ५४ युआन पर्थ्यो।

बेइजिङमा उनीहरु बसेको ठाउँमा पश्चिमा र चिनियाँ दुवै खाना थिए। रोटी, डिमसुम, पाउरोटी, बटर, जाम, चिज, हरेकथोक। एक पटक उनीहरुले सिंहलाई तारेको हाँस खुवाउन क्वान्चु लगे। एउटै तारेको हाँस १० देखि २० पाउन्ड हुन्छ र त्यसले टेबलभरिका सबैलाई पुग्छ। ‘तर, उनी चकित भएर उभिए अनि म यो कुरा पत्याउँदिनँ भने। मैले सेफलाई बोलाएँ र उनलाई भान्सामा लगेर वास्तवमा त्यो एउटै हाँस थियो भनेर देखाएँ,’ स्या तेङचुनले भने।

सिंहको मुड राम्रो राख्न विदेश मन्त्रालयका सल्लाहकार तथा चीन–भारत मैत्री संघका अध्यक्ष चेन हानसेङ र विदेशी भाषा प्रेसका उपाध्यक्ष तथा प्रधानसम्पादक लिउ जुङ्चीले हप्तामा दुई पटक सिंहलाई माओ चेतुङ विचारधाराजस्ता चिनियाँ क्रान्तिकारी सिद्धान्तहरु व्याख्या गरेर अंग्रेजीमा सुनाउँथे।

चेन हानसेङ र लिउ जुङ्ची दुवै राम्रो अंग्रेजी बोल्थे। ‘उनीहरु एकदम सरल शब्दमा गहिरो अर्थ व्यक्त गर्न सक्थे। जसलाई सुन्दा आनन्द आउँथ्यो,’ स्या भन्छन्।

एउटा कक्षामा चेन हानसेङले सिंहलाई सोधे, ‘यति लामो समय अध्ययन गरिसकेपछि तपाईंलाई थाहा छ, चिनियाँ कम्युनिस्ट पार्टीले जित्नका लागि कति वटा चमत्कारी हतियार तयार गर्नुपरेको थियो?’ सिंहले मुन्टो हल्लाए। चेन हानसेङले भने, ‘तीन वटा चमत्कारी हतियार थिएः संयुक्त मोर्चा, सशस्त्र संघर्ष र पार्टी निर्माण।’ यो सुनेर सिंह तुरुन्तै उनीहरुसँग नेपालमा संयुक्त मोर्चा स्थापनाको सम्भावनाबारे छलफल गर्न थाले।

कक्षा लिनुका साथै सिंहले माओका लेखहरुको नेपालीमा अनुवाद पनि गरे। दुई वर्षभन्दा लामो समयमा उनले चार वटा पुस्तक अनुवाद गरे।

सिंहलाई फुर्सद र मनोरञ्जनका क्रियाकलापमा कुनै रुचि थिएन। तीन वर्षमा उनले थिएटर पुगेर हेरेको एक मात्र चलचित्र थियो, तियान हुआ अभिनित ‘ह्वाइट हेयर्ड गर्ल।’ तर, उद्योगधन्दामा उनको गहिरो रुचि थियो। उनले बेइजिङ मेसिनरी फ्याक्ट्री, र चाङचुन फर्स्ट अटोमोबाइल फ्याक्ट्री घुमेर हेरेका थिए।

एक वर्षभन्दा लामो समयपछि सिंहले अन्ततः चाउ एनलाइलाई भेटे। सो भेटमा चेन हानसेङ र लिउ जुङ्ची पनि सहभागी थिए।

सिंहले पछि स्या तेङचुनलाई बताएअनुसार ४० मिनेट लामो भेटमा चाउ एनलाइको भनाइ एकदम प्रस्ट थियो– चीन नेपाली जनक्रान्तिको समर्थन गर्छ तर नेपालमा कहिल्यै एक जना सैनिक पनि पठाउने छैन।

चीनमा सिंहको उपस्थितिलाई गोप्य राख्न चिनियाँ पक्षले एकदम कडाइ गरेको थियो। स्या तेङजुन र बेइजिङमा रहेकी उनकी पत्नीबीचको हरेक चिठीपत्र कोही अर्को व्यक्तिले पुर्याउनुपर्थ्यो। र, ती चिठी आउन दुई महिनाभन्दा बढी समय लाग्थ्यो। तर, १९५४ को राष्ट्रिय दिवस समारोहका बेला सिंहले चीनमा शरण लिएको खबर डढेलोजसरी फैलियो।

राष्ट्रिय दिवस (अक्टोबर १) का दिन तियानमेन चोकमा आयोजित समारोह हेर्न सिंहका साथमा स्या तेङचुन र अरु पनि गएका थिए।

चिनसुइ पुलको सामुन्ने समारोह हेर्ने ठाउँमा कालो छाला भएका एक विदेशीले भीडमा सिंहलाई देखे। आफूलाई टाइम्स अफ इन्डियाको रिपोर्टर बताउने ती व्यक्ति सिंहका बारेमा सोधीखोजी गर्न तुरुन्तै बढे। तर, उनले सिंहसँग बोल्न पाउनुअघि नै सिंहका वरिपरि भएका स्टाफ उनको अगाडि केही नभएझैँ उभिए। तैपनि भोलिपल्ट टाइम्स अफ इन्डियाले सिंह बेइजिङमा भएको खबर छाप्यो।

जब चीन–भारत निकटता बढ्यो  
सिंह बेइजिङमा अड्किँदा २० जनाभन्दा बढी नेपाली छन्दुमा एकदम फुर्सदमा बसिरहेका थिए। उनीहरुलाई कयौँ समूहमा विभाजित गरिएको थियो। प्रत्येक समूहको नेतृत्व एक चिनियाँले गरेका थिए। जसले उनीहरुलाई चिनियाँ भाषा पढाउँथे र आफू नेपाली भाषा सिक्थे। चाँडै नै दुवै पक्ष आधारभूत सञ्चार गर्नसक्ने भए।

कक्षामा नहुँदा सबैजना एकठाउँ बसेर गफ चुट्थे। ‘नेपालीहरु खुब मसालादार खाना मन पराउँछन् भन्ने कुरा उनीहरुबाट मैले थाहा पाएँ। यस मामिलामा सिचुवानका बासिन्दा उनीहरुभन्दा निकै पछाडि थिए। नेपालीहरु त फलफूल पनि खुर्सानीको धुलोसँग खान्थे,’ काओ जान्तिङले भने, ‘त्यस्तै नेपालका रिसल्ला भारतमा जस्तै उँटमा चढ्छन्।’

नेपाली सैनिकहरुको व्यवस्थापन काओ जान्तिङले गर्थे। उनले जर्नेल केबीलाई अनेक पटक दाँत जँचाउन अस्पताल पुर्याए। जहाँ जर्नेल केबीलाई उनले दक्षिणपश्चिमी चीनका अल्पसंख्यक भनेर चिनाए र मन्दारिन बोल्न सक्दैनन् भने। कहिलेकाहीँ विदेशबाट फर्केका डाक्टरसँग भेट हुँदा उनीहरु अंग्रेजीमै कुरा गर्थे। तर, बुझ्झकी डाक्टरले तिनीहरु कहाँबाट आएका हुन् भनेर कहिल्यै सोधेनन्।

विदेश जाने सिंहको योजना रद्द भएपछि स्या तेङचुन छन्दु फर्किए। त्यसपछि उनी प्रायः छन्दु र बेइजिङ ओहोरदोहोर गरिरहे।

१९५४ को गर्मीमा स्या तेङचुन र काओ जान्तिङले गर्मी छल्न नेपालीहरुलाई छन्दुनजिकैको छिङचङ पहाडमा लिएर गए। तियानसिदोङ ताओ मन्दिरको पछाडि उनीहरु बसे।

दुवै पक्षका लागि त्यहाँको डेढ महिनाको बसाइ सबैभन्दा मस्तीका दिन थिए। त्यहाँ कुनै कक्षा वा अध्ययन थिएन। हरेक दिन उनीहरु पहाडमा बसेर रमाउँथे, आनन्द लिन्थे। पहाड अत्यन्त शान्त थियो। एकाध पर्यटक र मन्दिरका पुजारीहरु थिए। तर, उनीहरु पनि टाढै रहन्थे। दिन फुर्सदमा बित्थ्यो।

सिंह र जर्नेल केबी पाका थिए। तर, अधिकांश सैनिक २० माथिका मात्र थिए। उनीहरु रौसे थिए। जब नेपाली चाडबाड आयो, तब सैनिकहरुले चिनियाँहरुलाई नेपाली शैलीका खाना खान निम्त्याए। उनीहरुले किनमेलको सूची बनाए, जसमा ‘सबै अनौठा चिज थिए।’ नेपालीमा पोख्त स्या तेङचुनले सूची अनुवाद गर्नुअघि शब्दकोश पल्टाए। थुप्रै चिज चिनियाँ औषधि पसलमा किनियो। उनी अझै सम्झिन्छन्, नेपालीहरुले सुपारी, चिनी मगाए, तरकारी तयार गरे, सुँगुरको मासु पकाए। उनले सुरुमा सुपारी खाँदा नमिठो माने तर खाइसकेपछि त्यसको स्वाद उनलाई मन पर्यो।

तर, नेपालीहरुलाई घरको सुर्ताले सताउन थाल्यो। केहीले चिनियाँ पक्षप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्न थाले। रिस देखाउने, गाली बक्ने, भाँडाकुँडा पछार्ने काम बेलाबखत भइरह्यो। उनीहरुलाई खुसी पार्न सोभियत संघमा बसेर फर्केका र त्यसबेला सिचुवान प्रान्तीय कमिटीको प्रचार निर्देशक रहेका तु सिन्युआनले चिनियाँ स्टाफहरुका लागि विशेष रिपोर्ट नै तयार गरेः ‘तपाईंहरुले यी मान्छेहरुको भावनालाई बुझ्न आवश्यक छ। म सोभियत संघमा हुँदा भाँडाकुँडा पछार्ने मात्र होइन, टेबल पनि उल्ट्याउने काम हुन्थ्यो।’

‘वास्तवमा त्यसबेला उनीहरुलाई नेपाल फर्केर जाऊ भन्दा पनि उनीहरुलाई चिन्ता थियो,’ काओ जान्तिङ भन्छन्, ‘नेपालमा उनीहरुको अवस्था सल्टेको थिएन। फर्केर जाँदा उनीहरुलाई देशद्रोहको मुद्दा लगाइने थियो। या त जेल या मृत्युदण्ड। त्यसैले उनीहरुको मिश्रित भावना थियो।’

वास्तवमा उनीहरुको घर फिर्ने बाटो तयार हुँदै थियो।

१९५१ मा माओ चेतुङले विदेश मन्त्रालयलाई नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएका थिए। तर, नेपालले भारतसँगको निकट सम्बन्धका कारण चीनसँग कूटनीतिक सम्बन्ध गाँस्न अझै समस्या रहेको जवाफ दियो। उपविदेशमन्त्री ली केनोङले माओ चेतुङ र अन्य नेताहरुलाई लेखेको रिपोर्टमा उनले भनेका थिए, ‘भारतले नेपाललाई अधीनस्त राज्य मानेको प्रतीत हुन्छ।’

अप्रिल १९५४ मा चीन र भारतले ‘चीनको तिब्बत क्षेत्र र भारतबीच व्यापार र यातायातसम्बन्धी सम्झौता’मा हस्ताक्षर गरे। भारतले तिब्बतमा चीनको सार्वभौमिकतालाई मान्यता दियो र तिब्बतलाई दिइँदै आएको सबै पुराना सुविधा खारेज गर्यो। चीन–भारत सम्बन्धमा महत्वपूर्ण प्रगति भयो।

त्यो वर्षको अक्टोबरमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले चीन भ्रमण गरे। सो भ्रमणमा उनले चीनसँग चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाका विषयमा पनि छलफल गरे। चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको सबैभन्दा ठूलो अवरोध हटाइसकिएको थियो।

यो सब घटनाक्रमले सिंह र उनका सैनिकहरुमा भने अनिश्चितता थप्ने काम गर्यो। चीन र भारतको निकटताका कारण सधैँ भारतविरोधी रहँदै आएका सिंहले परित्यक्त महसुस गरे। झण्डै तीन वर्ष पर्खिंदा पनि उनले माओ चेतुङसँग भेट्न पाएनन्। नेहरुको चीन भ्रमणका क्रममा अचानक उनी पड्किए र चिनियाँहरुसँग ठूलो झगडा गरे।

रसुवा नाकामा बाजागाजासहित स्वागत 
मार्च १९५५ मा भारतसँग निकट सम्बन्ध भएका राजा त्रिभुवनको देहान्त भयो। त्यसपछि राजा बनेका महेन्द्र व्यक्तित्व र काम गर्ने शैली दुवैमा आफ्ना बुबाभन्दा अलग थिए। उनी त्यस्तो राजा बन्न चाहँदैनथे, जो गद्दीमा त बस्छ तर शासन चलाउँदैन।

अप्रिलमा बाङडुङ सम्मेलन आयोजना भयो। र, सो सम्मेलनमा चाउ एनलाइ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपाली प्रतिनिधिमण्डलको सम्पर्कमा आयो। त्यसपछि कूटनीतिक सम्बन्ध स्थापनाको काम अघि बढ्यो।

दुई पक्षबीच भएको सम्झौताअनुसार सिंह र उनका सैनिकहरुलाई माफी दिइयो र क्रान्तिकारीका रुपमा फिर्ता आउन अनुमति दिइयो।

मे महिनामा सिंह बेइजिङबाट छन्दु फर्किए। भारी कसेर तयार भएपछि सिंह स्या तेङचुन र अन्य कैयौँ चिनियाँहरुहरुसहित दुई वटा सोभियत जीएजी–६९ जिपमा चढी घरतिर लागे।

केही दिनपछि जर्नेल केबीसहित बाँकी २६ जना पनि काओ जान्तिङको नेतृत्वमा दुई सैन्य ट्रकमा सवार भई तिब्बततर्फ लागे। तीन वर्षभन्दा बढी समय चीनमा गुजारे पनि यी नेपालीहरु चिनियाँ कम्युनिस्ट पार्टीको विधान आफ्नो साथमा ल्याउन विफल रहे। कपडा, कम्बल र अन्य व्यक्तिगत सरसामानका अलावा केही सैनिकहरुले पिपुल्स डेलीको केही प्रति मात्र बोकेका थिए।

त्यो बेला तिब्बतको शान्तिपूर्ण मुक्तिको मात्र चार वर्ष भएकाले त्यहाँ चिनियाँ युआन चल्दैनथ्यो। तिब्बतमा प्रवेश गर्नुअघि उनीहरु सिचुवानको गान्सीस्थित देगे काउन्टीमा रोकिए। उनीहरुले नोटसँग चाँदीको सिक्का साटे र कयौँ खच्चरमा भारी लगाए। ‘त्यो बेला चिजबिज साह्रै महंगो थियो। ल्हासामा एक बटुको चाउचाउ खान घरबारी बेच्नुपथ्र्यो। पैसा थिएन। भएको पैसाले एकजोडी मोजा वा बीसतीस दाना बदाम किन्न सकिन्थ्यो,’ स्या तेङचुन भन्छन्।

कठिन अवस्थाका बाबजुद बाटोको प्राकृतिक दृश्य गज्जबको थियो। बादल र हुस्सुको बीचमा उडेजस्तो महसुस हुन्थ्यो, लिन्चीका जंगली फूल, ऐनाजस्तो समतल जमिन र अत्यन्त दुर्लभ सुनौलो रौँ भएका जंगली याक देखेर कहिल्यै तिब्बत नआएका चिनियाँ स्टाफहरु हेरेको हेर्यै भए। दशकौँपछि पनि स्या तेङचुन हिमालयको काखमा अवस्थित त्यो बेनामे विशाल र शान्त ताल सम्झिरहन्छन्, जहाँ हिमालको छायाँ तैरिरहेको देखिन्थ्यो र निलो पानीमा सेता हाँस खेलिरहेका थिए।

एक महिनाभन्दा लामो समयपछि सिंह र उनको टोली ल्हासा आइपुग्यो। ल्हासाबाट सिंहलाई सीमासम्म पुर्याउन सय जनाभन्दा बढीको रक्षक दल खटाइयो। त्यसपछि कार जान नसक्ने हुनाले घोडालाई मात्र अनुमति थियो। सरसामान बोक्ने खच्चर, घोडासहित तीन सयभन्दा बढीको लस्कर बाटो लाग्यो।

अन्तिमका केही दिनमा सिंहले आफ्नो रक्षा गरेको र तीन वर्षसम्म हेरचाह गरेकोमा चीनलाई धेरै पटक धन्यवाद दिए। उनले स्या तेङचुन र अरुलाई भविष्यमा नेपाल भ्रमणमा आउन निम्ता दिए।

चीन–नेपाल सीमाको रसुवा नाकामा स्या तेङजुनले हरियो सैन्य फरकोट, कालो बुट र भाँचिएपछि टेपले टाँसेको चस्मा लगाएर सीमाचिह्नमा फोटो खिचाए।

सिंहले चीन छाड्दा स्या तेङचुनले दुरबिनबाट तलसम्म हेरिरहे र देखे– सिंहको स्वागतमा करिब एक सय मानिस बाजागाजासहित भेला भएका थिए। चीन–नेपाल सीमामा तैनाथ भारतीय सैनिकहरु पनि त्यहाँ थिए। उनीहरुको पछाडि राखिएको रातो ब्यानरमा नेपाली, चिनियाँ र अंग्रेजीमा लेखिएको थियो– डा. सिंहलाई नेपालमा स्वागत!

स्या तेङजुनको डायरीमा त्यो दिन ४ सेप्टेम्बर १९५५ भनेर अंकित छ। त्यसअघि अगस्ट १ का दिन चीन र नेपालबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

सत्तामा ‘माओवाद’
अन्ततः दुई वर्षपछि सिंहको राजनीतिक महत्वकांक्षा पुरा भयो। उनले संयुक्त प्रजातन्त्र पार्टी गठन गरे र जुलाई १९५७ मा प्रधानमन्त्री भए। अगस्ट ३ मा चीनको ‘रिफरेन्स न्युज’ले अमेरिकाको ‘क्रिस्चियन साइन्स मोनिटर’ को सिंहसम्बन्धी एक समाचारको अंश प्रकाशित गरेको थियो। जसमा लेखिएको थियो, ‘सेप्टेम्बर १९५५ मा नेपाल फर्केपछि डा. सिंह झनझन् बढी भारतमैत्री हुँदै गएका छन्। डा. सिंहको पछिल्लो भारतपक्षीय अडान र उनी कम्युनिस्ट भएको आरोपको जोरदार इन्कारीका बाबजुद उनका आलोचकहरु उनलाई अझै पनि (कम्युनिस्ट पार्टीको) सहयात्री मान्छन्।’
तथापि, प्रधानमन्त्रीका रुपमा सिंहको यात्रा लामो समय चलेन। मात्र चार महिनापछि उनी पदबाट हटे।

छुट्टिएपछि स्या तेङचुन, काओ जान्तिङ र अन्य चिनियाँले २७ नेपालीहरुसँग कहिल्यै कुनै किसिमको सम्पर्क गरेनन्। तर, उनीहरु खासगरी नेपालको परिस्थितिबारे चासो राख्ने गर्थे।

१९९६ मा नेपाल कम्युनिस्ट पार्टीको कट्टर धारले संसदीय राजनीति छाडेर नेकपा (माओवादी) गठन गर्यो र ‘जनयुद्ध’ सुरु गर्यो। अप्रिल २००८ मा सो पार्टी संविधान सभामा २२० सिट जित्दै सत्तारुढ पार्टी बन्यो।

(चाइना न्युज विक्लीमा प्रकाशित चिनियाँ भाषाको आलेख रौनव सिंह खत्री र अनेका रेबेका राजभण्डारीले अंग्रेजीमा अनुवाद गरेका हुन्। खत्री र राजभण्डारी चीनको रेनमिन विश्वविद्यालयमा चिनियाँ राजनीति विषयमा स्नातकोत्तर अध्ययनरत छन्।)
 

असार १५, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.