ad ad

म्यागेजिन


नेपालमा शारीरिक अपांग थिएँ, जापानमा भाषिक अपांगता पनि भयो

नेपालमा शारीरिक अपांग थिएँ, जापानमा भाषिक अपांगता पनि भयो

कृष्ण आचार्य
असार ७, २०७६ शनिबार ९:५०,

गाउँघरका अन्य बालबालिका ४–५ वर्षकै उमेरमा विद्यालय जान्थे। तर, कमल लामिछानेलाई त्यो सौभाग्य भएन। आफ्ना उमेरका साथीसंगी विद्यालय जाँदा उनी भने दाइका छोराछोरीको झोलुंगो हल्लाउने र आमालाई भन्सामा सघाउने काममै व्यस्त हुन्थे।

उनलाई पनि अरुजस्तै स्कुल जाने, पढ्ने ईच्छा त हुन्थ्यो। कृषि पेशामा आश्रित उनको परिवारको पनि छोरालाई पढाउन नसक्ने नै अवस्था त थिएन। तर, समस्या अर्कै थियो। उनी आँखा देख्दैनथे।

‘सायद त्यतिबेला मभित्रको म थिएन’, कमल भन्छन्, ‘अरु विद्यालय जाँदा मैले त्यो अवसर नपाएपछि म के हुँ भन्ने बल्ल चाल पाएँ।’

गाउँघरमा पनि उनले गाइँगुइँ सुन्न थाले– यसले पुर्नजन्मको पाप भोगेको हो, विचरा दुःख पाउने भयो। यी र यस्तै कुराले कमललाई गलाउँदै लग्यो। मानसिक रुपमा उनी विक्षिप्त हुँदै गए।

कमलको जीवनका १२ वर्ष यसरी नै बिते।
०००
चितवनको जुटपानीमा जन्मिएका कमल पाँच सन्तानमध्ये कान्छा हुन्। उनका जेठो दाइ पनि आँखा देख्दैनन्। दाइले पढ्न पाएनन्, भाग्यलाई दोष दिएर बसे। तर, कमललाई यो कुरा मान्य थिएन। सानैदेखि किचकिचे र चञ्चले स्वभावका उनी यसै विषयमा आमालाई दुःख दिइरहन्थे।

उनको यस्तो व्यवहार देखेर आमा बेलाबेला भन्ने गर्थिन्, ‘हे भगवान, यसलाई केही समय कतै लगेर छाड्न पाए पनि हुन्थ्यो।’

एकदिन यही कुरा एक छिमेकी दिदीले सुनिन्। उनले आफ्नो भाइ आँखा नदेख्नेहरुलाई पढाउने संस्थामा काम गर्ने र उनी गाउँ आउन लागेको कुरा सुनाइन्। केही दिनमा ती भाइ आए। कमलका बुबा गएर कुरा बुझे। अनि कमललाई काठमाडौं पठाउने कुरा पक्कापक्की भयो।

उनी नेपाल दृष्टिविहीन कल्याण संघको सम्पर्कमा आए। संघले विभिन्न विद्यालयमा दृष्टिविहीनका लागि एकीकृत शिक्षा सञ्चालन गथ्र्यो। उनलाई संस्थामार्फत अध्ययनका लागि भक्तपुर पठाइयो।

विद्यालय बसाईका सुरुवाती दिन कमलका लागि त्यति सहज भएनन्। एकतर्फ पढाई त अर्कोतर्फ घरको याद। आफ्नै गाउँमा स्कुल भइदिएको भए यहाँ आउनु पर्दैनथ्यो भन्ने पीडा एकातिर थियो भने अर्कातर्फ पढेर केही गर्नुपर्छ भन्ने जोश। त्यही जोशले अक्षर चिन्ने भोक बढाउँदै लग्यो। ब्रेल लिपीको माध्यमबाट उनले अक्षर चिन्न सुरु गरे। आफूलाई प्राप्त भएको अवसरलाई सही सदुपयोग गर्दै उनी अगाडि बढे।

kamal 3

सुरुसुरुमा कमललाई आफ्नो दायरा अपांगता क्षेत्रसँग मात्र छ जस्तो लाग्थ्यो। सामाजिक विरोधाभासले पिरोल्थ्यो। परिवारमा पनि आफूमाथि फरक व्यवहार भएको हो कि जस्तो लाग्थ्यो। उनको सपना सामाजिक जनचेतना जगाउनका लागि काम गर्नु थियो। जसका लागि उनलाई पहिले पढ्नु थियो र त उनी सधैँ उत्कृष्ट विद्यार्थीको सूचीमा पर्दै गए ।

यसरी उनले आदर्श माध्यमिक विद्यालय ठिमीबाट एसएलसी, सानोठिमी क्याम्पसबाट प्लस टू र महेन्द्र रत्न क्याम्पसबाट स्नातक पास गरे। 
०००
मेहनत र लगावले कमलको भविष्य सही मार्गमा निर्देशित गर्दै थियो। उनी अपांगहरुका लागि आयोजना गरिने सेमिनारमा सहभागी हुन क्यानडा, स्वीडेनजस्ता देशहरुमा पुग्न थालेका थिए। सोही क्रममा उनले नेतृत्व विकाससम्बन्धी तालिममा सहभागी हुन जापान जाने अवसर पाए।

१० महिना जापानमा बस्दा उनले त्यहाँका विश्वविद्यालयका प्रध्यापकहरुसँग सम्पर्क स्थापित गरे। सोही सम्बन्धले उनलाई जापानको विश्वविद्यालयमा पढ्ने अवसर मिल्यो। उनी ‘युर्निभरसिटी अफ टोकियो’ बाट पीएचडी गर्ने पहिलो नेपाली दृष्टिविहीन बने। यो कुरा २०६५ सालको हो, जतिबेला उनको उमेर २९ वर्षको थियो।

भक्तपुरजस्तै जापानका सुरुवाती दिन पनि कमलका लागि त्यति सहज भएनन्।

‘म नेपालमा हुँदा शारीरिक रुपमा अपांग थिएँ, जापान गएपछि भाषिक अपांगता पनि भएको महसुस भयो’, उनी भन्छन्, ‘म आँखा देख्थेँ भने सामानहरु किन्दा, होटलमा जाँदा औँलाको इसाराले आवश्यक चिज माग्थेँ होला तर, त्यो सम्भव नभएपछि निकै कठिन भयो।’

होटलमा दैनिक खाना खान जाँदा कमल सधैँ ‘करी राइस’ मगाउँथे किनभने उनलाई न त्यहाँको भाषा आउँथ्यो न मेनु नै हेर्न सक्थे। उनले जीवनमा जापानका होटलमा रहेका मेनु त हेर्न सकेनन् तर भाषा सिकेर मेनुमा भएका खानेकुरा मगाउन सक्ने भने भए।

जापानमा अपांगहरुको प्रविधिमा राम्रो पहुँच छ। भौतिक वातावरण विश्वका अन्य देशभन्दा धेरै उत्कृष्ट छ। तर, जापानी नागरिकको सोचाईमा भने विभेद छ। त्यसको प्रकार र प्रकृति फरक होला। जसको सामना कमलले पनि गरे। त्यैपनि उनले हार खाएनन्। अघि बढे। बढ्दै गए।

अहिले कमल सामाजिक सञ्जाल आफैँ चलाउँछन्। मोबाइलबाट फोन गर्ने, मेल पठाउने र कम्युटरमा टाइप गर्ने काम मज्जाले गर्छन्। यो सबै उनले जापानमै सिकेका हुन्। कमललाई लाग्छ कुनै कुरामा आफ्नो प्यासन छ भने त्यो पुरा भएरै छाड्छ। नत्र सपांग नै किन नहोस् उसले कम्युटर चलाउनसमेत नजान्न सक्छ।

आज कमल जहाँ छन् यो उपलब्धिको एउटा कारण ‘प्यासन’ पनि हो।
०००
गत वर्ष जुनियर चेम्बर इन्टरनेसनल (जेसीआई) को विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका विश्वका १० उत्कृष्ट व्यक्तिको सूचीमा कमल पनि पर्न सफल भए। प्राज्ञिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनी यो सूचीमा परेका हुन्। उनी अहिले जापानको चुकुबा विश्वविद्यालयमा सहप्राध्यापक छन्। त्यसबाहेक उनका शिक्षा र अपांगतासम्बन्धी थुप्रै अनुसन्धानमुलक आलेखहरु अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनले विकासोन्मुख देशमा अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्थाबारे पनि विभिन्न अध्ययन गरेका छन्।

‘अपांग नागरिकको जीवन परिवर्तनका लागि शिक्षा नै पहिलो शर्त हो’, कमल भन्छन्, ‘समावेशी र दिगो विकासका लागि पछाडि गरेका व्यक्तिलाई मूल प्रभाहमा ल्याउनुपर्छ भन्नेमा मैले खोज गरिरहेको छु।’

क्षमता त सबैमा हुन्छ तर अघि बढ्न उसमा भएको क्षमताको सही सदुपयोग हुनुपर्ने कमलको बुझाई छ। जुन दक्षता अहिले कमलले हासिल गरेका छन्।

उनलाई कहिलेकाहीँ नेपालमै बसेर केही गर्न सकिन्छ कि भन्ने पनि लाग्छ। तर, नेपालमा नहुँदा पनि उनले नेपालका लागि धेरै गरेका छन्। नेपालको विषयमा अध्ययन अनुसन्धानदेखि विश्वमाझ नेपालको नाम राख्नेसम्मको काम। खोजमार्फत अन्तर्राष्ट्रियस्तरमा पुर्याएको योगदान त छँदैछ।

०७२ मा उनको ‘विकासोन्मुक मुलुकमा अपांगता, शिक्षा र रोजगारी’ नामक एक खोज क्याम्ब्रिज विश्वविद्यालयले प्रकाशित गरेको थियो। त्यसबापत उनी पुरस्कृतसमेत भएका थिए।

kamal 2

नेपालमा भएको भए सायद उनी राजनीतिले थिलोथिलो भएको विश्वविद्यालयमा अध्यापनबाहेक अन्य काम गर्न सक्ने थिएनन्। अन्तर्राष्ट्रियस्तरमा आफूलाई धेरै चिनाउन पाउने थिएनन्। यो कुरा कमल स्वीकार्छन्।

उनी भन्छन्, ‘अनुसन्धान गरे पनि अहिले जसरी अन्तर्राष्ट्रिय जर्नलहरुमा मेरा अनुसन्धान प्रकाशित नहुन सक्थ्यो। त्यसैले तपाईं कहाँ हुनुहुन्छ भन्दा पनि तपाईंले देशका लागि के गर्नुभयो भन्ने कुरा महत्वपूर्ण हुन्छ।’
०००
कमल आफ्नो नित्यकर्म आफैँ गर्छन्। जापानका गल्लीमा पनि आफैँ एक ठाउँबाट अर्को ठाउँ पुग्छन्। तर, कुनै नयाँ ठाउँमा जानुपर्दा भने कसैको सहारा लिनुपर्छ। कहिले ट्याक्सीको त कहिले साथीभाइको।

उनी आफ्नो जीवनलाई ३ घुम्तीमा बाँडेर हेर्छन्। पहिलो घुम्ती अँध्यारो थियो, आशा थिएन। दोस्रो घुम्तीमा अवसर थियो तर आफूले आफैँलाई प्रमाणित गर्नु थियो। र, यी दुई घुम्ती उनले पार गरिसकेका छन्। तेस्रो घुम्तीमा आफूले सिकेका ज्ञान अरुलाई बाँड्नु छ, जनचेतना फैलाउनु छ।

‘म अहिले जीवनको तेस्रो घुम्तीमा छु’, उनी भन्छन्।

यसरी उनले अपांगता भएकाहरुको हौसला बढाउने मात्र होइन, सपांग व्यक्तिलाई पनि अपांगताबारे बुझाउने काम गरिरहेका छन्।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने जीवनका यी सबै घुम्तीलाई कमलले पुस्तकमार्फत सार्वजनिक गरेका छन्। ‘अन्तर्दृष्टि’ पुस्तकमा उनको आफ्नै कथा छ, भोगाई छ, जीवन छ, संघर्ष छ अनि उपलब्धि पनि। जसले मानिसलाई जिउन सिकाउने छ। अघि बढ्न सिकाउने छ अनि अपांगता भएकाहरुप्रतिको धारणा बनाउन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .