ad ad

म्यागेजिन


सम्झनामा नम्बरीहरु

सम्झनामा नम्बरीहरु

मनसुन राई
कात्तिक २, २०७६ शनिबार १३:२९,

अचानक एघार बाह्र वर्षपछि ती साथीहरुको सम्झना आयो जोसँग छुट्टिएपछि हाम्रो भेट भएकै छैन।

सायद मैलेजस्तै उनीहरुले पनि कहिले काहीँ मलाई सम्झिँदा हुन्। कतिपय साथीहरुको त नाम पनि भुलिसकेछु। घाम पानीले खाएर मधुरो भएको फोटोझैं उनीहरुका अनुहारका धर्काहरु कता–कता याद बनेर आउँछन्।

जीवनका गोरेटोमा अनगिन्ती सम्बन्धहरु स्थापित हुन्छन्। सम्बन्ध बुनिँदाका अनेकौं किस्साहरु हुन्छन्, छुटिँदाका थुप्रै बहानाहरु हुन्छन्, जुन लेखेर त्यसको चित्र प्रस्तुत गर्न सकिन्न्। तर, सत्य यही हो कुनै सम्बन्ध अति नै छोटो हुन्छ त कुनै जीवनभरलाई याद आइरहने हुन्छ। कति सम्झनामा रही रहन्छन त कति क्षणमै भुलेर सकिन्छन्।

विक्रम संवत् २०६४ साल तिरको कुरा हो। लाहुरे भर्ती हुनका लागि म पोखरा पुगेको थिए। धरानबाट प्रारम्भिक छनौटमा परेको म त्यहीबाट म फाइनल छनौटमा परेको थिएँ। पोखरा ब्रिटिस क्याम्पमा लगभग एक महिना बसियो। छनौटका क्रममा गोराहरुले अनेक कुराहरु सिकाए र गराए।

दायाँ–बायाँ सलाम परेड सबै गरियो। त्यहाँ रहुन्जेलसम्म बन्दुक पड्काउन मात्र बाँकी राखेर छनौट भएका हामीले सबै सिकेका थियौँ। त्यसबेला पन्ध्र दिन मात्र काट्न पनि निकै मुस्किल परेको थियो। गोराहरुको कठिन अभ्यास र प्रशिक्षणले बेला बेला बिरक्तिएर पर्खाल नाघेर घर गैहालौँ जस्तो पनि पनि नभएको कहाँ हो र? तर, काठमाडौँका गल्लिहरुमा भोक–भोकै बरालिँदै हिँडेको झ–झल्कोले पर्खाल नाँघ्न चुचुरो पुगेको वीरहलाई एकैचोटी फेदैमा खसाली दिन्थ्यो।

बिस्तारै त्यो माहोलसँगै भिज्दै गयौं। छनौट प्रकृयाहरु सम्पन्न भएपछि खाने बस्ने मात्र काम भयो। कहिले नाचगान, कहिले खेलकुद रमाइलै गरी बिते बाँकी दिनहरु।

त्यसताका एक जना नम्बरीले क्याम्पभित्र साप्तहिक पत्रिका लुकाएर लगेका रहेछन्। दिनभरमा घुम्दैफिर्दै दुई तीन पल्टसम्म पढ्ने पालो आउँथ्यो। अन्तिम दिनसम्मको हिसाब गर्दा पढियो होला २० र २५ पटकसम्म त्यही पत्रिका।

रिजल्टको दिन नजिँकिदै थियो। घर फर्केर जानुपर्छ भनेर खासै सोचेको थिइनँ। भर्ती भई हालिन्छ भन्ने सकारात्मक सोच र आत्मबल थियो। अनि देखियो धेरै सपनाहरु पल्टने बिस्तरामै सुत्ने।

लाहुरे छान्ने अन्तिम दिनलाई ‘चौतारी परेड’ भन्छ पल्टने भाषामा। नभन्दै चौतारी परेडको दिन गोराले मलाई ‘सरी’ भन्दै चौतारा तिरै हातले ईशारा गर्यो। मनमनै सोचे खैरै जिस्किरहेको छ। तर, खोटाङसम्मको भाडा दिएर घर फर्कने बाटो देखाएपछि चाहिँ म कनफर्म भएँ चाउरेनै भइयो भनेर। त्यो पल जीवनमा पहिलोपल्ट नराम्रोसँग हारेको महशुस गरे। मन रोयो, आफैँलाई सम्झाएँ, बुझाएँ।

वर्षौको कडा परिश्रमपछि त्यो स्थानमा पुगेको थिए। मिहिनेत बालुवामा पानी खन्याए सरह भएको थियो त्यो क्षण। चाउरेको दर्जा बोकेर बिरक्तिदै बाहिर निस्किएको थिए, त्यसबेला। बाहिर चौतारामा ठूलो भिड थियो। अटिनअटि मानिसहरु आफ्ना मान्छेको खुशीको खबर सुन्न उनीहरु चाहिरहेका थिए।

मैले घोसेमुन्टो लाएरै भिडलाई नियाले। त्यहाँ क्याम्पभित्र बस्दा बनेका कति मिल्ने साथीहरुलाई देखेँ, कतिलाई देखिनँ। हामी लाहुरे बन्न नसकेकाहरु नुन खाएको कुखुरा झैं भएका थियौं। को–को आए को–को आएनन् भनेर साथीहरु हिसाब लाउँदै क्याम्पको गेटतिरै हेरिरहेका थिए।

मलाई भने किन हो त्यस गेटतर्फ फर्केर हेर्नै मन लागेन। त्यसपछि ६ सात भाइ मन मिल्ने भेला भएको थियौं। के गर्ने कता जाने उद्देश्यविहीन भएका थियौं हामी। अलि पर खाजाघर भित्र पस्यौं। साथीहरुले के के खाने कुरा मगाए।

साथीहरुले एक बोतल मदिरा पनि मगाएका थिए। सबैलाई भाग लगाइयो म पनि परें पिउनेमा। पिउँछु पनि भनिन् पिउँदिन पनि भनिन् तर मनमा अथाह वियोगमा थियो। भर्ती नभएको रन्को जीवनको पहिलो पेग एकै सासमा स्वाट्ट पारेको थिए।

सबैको ध्यान मतिर नै थियो। नम्बरीलाई धेरै दिनको तलतल रहेछ भन्दै थिए साथीहरु। तनाबले हो या पहिलो पटक भएर ती चुस्कीहरुले खासै असर गरेको महशुस गरिनँ। त्यो दिनलाई मै भएको थिए एक नम्वरको ट्वाँके।

खाजा खाँदाखाँदै, रक्सी पिउँदापिउँदै साथीहरुले घुम्न जाने योजना बनाएका थिए। टोलीमा एक जना अलि उट्पट्यांग गर्ने साथी पनि थिए। यसको नेतृत्व गर्न उनी नै अगाडि बढे।
उनी भन्दै थिए,‘ल नम्बरी हो, यसै लाउरे भइएन् उसै भइएन्। सबैसँग खर्च छँदै छ जाँउ बागलुङ बस्पार्क।’ क्याम्प भित्रै हुँदा बेलाबेला केटाहरु भन्थे,‘फेल भैयो भने त बाहिर निस्कन साथ जाने हो बागलुङ बसपर्क।’

आफू परियो पोखराको ‘प’ पनि नचिन्ने व्यक्ति। जता जान्छन् पछ्याउँला भनेर उनीहरुको साथमा बसेको थिए। ‘जाने त हो नम्बरी हो टोपी छ के?’ उही साथी बोल्यो।

म छक्क परें। पहिलो पल्ट टोपी लगाएर घुम्न जानु पर्ने ठाँउ सुनेर। अलि डाँडातिर भएर जाडो हुने भएकोले पो हो कि जस्तो लाग्यो र भने हैन नम्बरी मलाई खास्सै जाडो भएको छैन् म टोपी नओढी जान्छु नि हुन्न?

मेरो कुरा सुनेर सबै गलल्ल हाँसेका थिए। मैले पत्तो पाउँनै सकिनँ किन हाँसे साथीहरु भनेर। उनीहरुको कुरा नबुझेपछि मलाई खासै अप्ठ्यारो पनि लागेको थिएन।

अर्का एक साथी मेडिकल पसल कता छ भन्दै ‘सबैलाई टोपी किनेर ल्याँउछु भन्दै’ उठेर हिँडी हाले। मेडिकल पसल टोपी किन्न मेरो मन फेरि अल्मल्लिएको थियो।

केही बेरपछि म चर्पी जान्छु भनेर उठेको थिए। सायद मदिराको असर बढी परेझैं हुँदै थियो। मलाई के सुर चढ्यो त्यबेला आफैँलाई थाहा भएन।

म त्यहाँबाट सुरुसुरु मुख्य सडक निस्केँ। एउटा पुस्तक पसल पसेर समय सोधेँ। दिउँसोको चार बजिसेको थियो।

‘काठमाडौं जाने बस कहाँ पाँउछ?’ मैले पसलेलाई सोधेको थिए। त्यहाँ तीनवटा पुस्तक पनि किने। ‘मुना–मदन’ याद छ, अरु भुलिसकेको रहेछु।

म दश पन्ध्र मिनेट हिँडेर काठमाडौं जाने बस लाग्ने ठाउँमा पुगेँ। त्यहाँ माइक्रोका खलासीहरु प्यासेन्जर तानातान गरिरहेका रहेछन्। एउटा माइक्रोमा म पनि पसें लुसुक्क।

त्यही थियो नम्बरीहरुसँगको मेरो अन्तिम भेट। 

अझै बेला–बेला सम्झिरहन्छु ती नम्बरीहरु। म त्यहाँबाट हिँडिसकेपछि कता गए होला उनीहरु? मलाई खोजे कि खोजेनन्? बिदा पनि नमागी हिँडेको पछुतो अझैँ लागि रहन्छ मलाई।

बागलुङ बसपार्क जाँदा लाउने टोपीको रहस्य भने धेरै पछि थाह पाएँ। जुन बेला सम्झन्छु, आफैँ मुस्कुराउँछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .