ad ad

मधेस


सत्ता गठबन्धनले सबै शक्ति उतार्दा पनि ढुक्क छैनन् उपेन्द्र यादव

कुशवाहाको पक्षमा गैरयादव गठबन्धनको संकेत
सत्ता गठबन्धनले सबै शक्ति उतार्दा पनि ढुक्क छैनन् उपेन्द्र यादव

चुनावी अभियानका क्रममा उपेन्द्र यादव। तस्बिर : जनार्दन पोखरेल/नेपालखबर


जनार्दन पोखरेल
बैशाख ४, २०८० सोमबार १४:३६, बारा

मंसिर ४ को निर्वाचनमा सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले बारा २ मा घरदैलो अभियान चलाइरहेका छन्।

यही वैशाख १० गते हुने उपनिर्वाचनमा यादव बारा २ बाट विजयी भएर संघीय संसदमा प्रवेश गर्ने ध्याउन्नमा छन्। त्यसका लागि उनले यतिबेला बारा २ मा सबैखाले जोडबल लगाइरहेको देख्न सकिन्छ। 

चुनावमा यादवलाई विजयी बनाउन सत्तारुढ गठबन्धनमा आवद्ध दलका केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ता कम्मर कसेर लागेका छन्।

तर, ६ महिनाअघि मात्रै सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो (१८ हजारभन्दा धेरै) मतान्तरले पराजित यादव बारामा पनि आफ्नो जितप्रति पूर्ण ढुक्क छैनन्। 

यतिबेला उपेन्द्रलाई जिताउन बारा २ मा जसपाका मात्रै होइन, सत्ता गठबन्धनका सबै दलका नेताहरुको दैनिक दौडधूपले पनि त्यही संकेत गर्छ।  

४ मंसिरको निर्वाचनमा बारा २ मा हालको सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारले पाएको सबै मत उपेन्द्रलाई ‘ट्रान्सफर’ हुनेमा जसपाकै नेता कार्यकर्ता ढुक्क छैनन्। 

अघिल्लो निर्वाचनमा गठबन्धनले पाएको सबै मत उपेन्द्रको पक्षमा पार्न जसपाले गठबन्धनमा आवद्ध दलका शीर्ष नेतादेखि तिनका भातृ संगठनका स्थानीय कमिटीसम्मलाई परिचालन गरिरहेको छ। 

चुनावमा उपेन्द्रको पक्षमा माहोल बनाउन गठबन्धनले यही चैत ७ गते महागढीमाईमा बृहत् आमसभा गर्ने तयारी गरेको छ। 

आमसभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत नेताले सम्बोधन गर्दैछन्।

निर्वाचनको मौनअवधि सुरु हुने अघिल्लो दिन गर्न लागिएको त्यो सभामा उपेन्द्रको पक्षमा मानवसागर उतार्ने तयारीमा गठबन्धन लागेको छ। 

यसअघि नै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृण खाण, लोसपाका नेता जितेन्द्र सोनल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल श्रेष्ठ लगायतका नेताले बारा पुगेर उपेन्द्रलाई मत मागिसकेका छन्।

कांग्रेस नेता जयकुमार चौरसिया दिनहुँ उपेन्द्रको चुनावी अभियानमै छन्। 

४ मंसिरको निर्वाचनमा सप्तरी २ मा जस्तै बारा २ मा हुने उप निर्वाचनमा पनि उपेन्द्र यादवलाई जनमत पार्टीकै उम्मेदवारसँग बढी डर छ। 

बारा २ मा यतिबेला उपेन्द्रको मुख्य चुनौतीको रुपमा खडा भएका छन्–तीन साताअघि मात्रै माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहा। 

गएको ४ मंसिरको निर्वाचनमा कुशवाहा जसपाका रामसहाय प्रसाद यादव (हालका उपराष्ट्रपति) सँग झिनो मतान्तरले मात्रै पराजित बनेका थिए। 

त्यतिबेला यादव १३ हजार ८२२ मत प्राप्त गरेर विजयी हुँदा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए। 

हालका उपराष्ट्रपतिसँग मंसिर ४ मा जम्मा ३५४ मतान्तरले मात्रै पराजित बनेका तिनै कुशवाहा यो उपनिर्वाचनमा उपेन्द्र यादवका सबैभन्दा बलिया प्रतिस्पर्धीको रुपमा खडा भएका छन्। 

हुन त बारा २ मा एमालेका पुरुषोत्तम पौडेल, रवी लामिछाने नेतृत्वको रास्वपाका रमेश खरेल, प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवाली र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका डा. कमरुल्लाह अन्सारी पनि उम्मेदवार छन्। 

राजनीतिक दल र स्वतन्त्र गरी बारा २ मा ३६ जनाले उपनिर्वाचनका लागि उम्मेदवारी दिएका छन्। तीमध्ये स्थानीयमा राम्रो प्रभाव भएका  कुशवाहालाई नै स्थानीयले उपेन्द्रको मुख्य प्रतिस्पर्धीको रुपमा हेरेका छन्। 

बारा २ का मतदाताले कुशवाहालाई उपेन्द्र यादवको मुख्य प्रतिस्पर्धीको रुपमा हेर्नुका केही ठोस आधारहरु छन्।

हुन त मंसिर ४ को निर्वाचनमा बारा २ मा प्रत्यक्षतर्फ जसपाका उम्मेदवार संघीय संसदमा विजयी हुँदा यो क्षेत्रबाट समानुपातिक मत पनि सबैभन्दा धेरै जसपाले नै पाएको थियो। 

फेरि यतिबेला उपेन्द्र यादव बारा २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका छन्। उनलाई जसपासँगै कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा (एकीकृत समाजवादी) को पनि साथ छ। 

त्यसमाथि गत निर्वाचनमा बारा २ बाट ११ हजार भन्दा धेरै मत ल्याउने स्वतन्त्र उम्मेदवार रामकिशोर यादव (जसपाका केन्द्रीय सदस्य) र १० हजारभन्दा धेरै मत ल्याउने अर्का स्वतन्त्र उम्मेदवार (कांग्रेस महासमिति सदस्य) रविन्द्र प्रसाद यादवले पनि यो निर्वाचनमा उपेन्द्र यादवलाई नै समर्थन गरेका छन्। 

त्यति हुँदाहुँदै पनि यो निर्वाचन उपेन्द्र यादव पूर्णरुपमा सुरक्षित हुन्छन् भनेर ठोकुवा गर्न नसकिने बाराको करैयामाई गाउँपालिकाका पुराना कांग्रेस कार्यकर्ता गंगाप्रसाद कोइराला बताउँछन्।

‘हुन त यहाँ जसपा आफैं बलियो छ। फेरि उपेन्द्र यादवलाई सत्तारुढ गठबन्धनका सबै दलले समर्थन गरेका छन्,’ कोइरालाले भने, ‘तर प्रतिस्पर्धीहरुले उहाँलाई सप्तरीमा चुनाव हारेर आएको पाहुना उम्मेदवार भनिरहेका छन्। यसको प्रभाव चुनावमा पर्न सक्छ।’

गैरयादव मोर्चा
चुनावमा यादवविरुद्ध गैरयादव समुदायबीच कार्यगत एकता हुन सक्ने सम्भावना पनि बलियो छ। यादवविरुद्ध गैरयादव समुदाय एक भए भने अघिल्लो निर्वाचनमा थोरै मतान्तरले पराजित बनेका शिवचन्द्र कुशवाहाको पक्षमा पल्ला भारी हुन सक्छ।

नेपालखबरसँगको कुराकानीमा शिवचन्द्र कुशवाहा आफैंले उपेन्द्र यादवविरुद्ध जातीय गठबन्धन बन्न सक्ने संकेत गरे। 

‘यो क्षेत्रमा यादव समुदायका मतदाताको संख्या जम्मा २२/२५ हजार छ। अन्य अल्पसंख्यक जातिको संख्या झण्डै ८० हजार छ,’ कुशवाहाले भने, ‘फेरि सबै यादवले उपेन्द्रलाई नै मतदान गर्छन् भन्ने छैन। यादवभित्रकै उत्पीडित वर्ग समुदायका मतदाताले मलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ।’

कुशवाहाले बारा २ का सबै माओवादी नेता कार्यकर्ता आफ्नो साथमा रहेको दाबी गरे। 

‘यहाँ उपेन्द्रलाई मतदिने पक्षमा कुनै पनि माओवादी छैनन्। सबै माओवादी नेता कार्यकर्ता मेरो चुनावी अभियानमा जोडिनु भएको छ। यहाँ प्रचण्ड नै आएर भाषण गरे पनि केही फरक पर्दैन।’ 

चुनाव प्रचारको क्रममा शिवचन्द्र कुशवाहासहितका उम्मेदवारले उपेन्द्रलाई बाहिरिया उम्मेदवार, सप्तरीमा हारेर यता आएको, १५ वर्षदेखि लगातार संसद र सरकारमा रहँदा पनि मधेशी जनताको पक्षमा सिन्को नभाँचेको जस्ता आरोप लगाउने गरेका छन्। 

पार्टीको माथिल्लो निकायले उपेन्द्रलाई समर्थन गरे पनि माओवादीका कतिपय स्थानीय नेता कार्यकर्ता खुलेरै शिवचन्द्रको पक्षमा लागेका छन्।

उनीहरु उपेन्द्रकै योजनामा गौर हत्याकाण्ड भएको भन्दै उनलाई मतदान गर्न नहुने अभियानसमेत चलाइरहेका छन्। 

यादवले आफ्ना सबैभन्दा सशक्त प्रतिस्पर्धीको रुपमा हेरेका कुशवाहा आफूलाई बारा २ को धर्तीपुत्र भन्दै निर्वाचनमा होमिएका छन्। 

०७४ को निर्वाचनमा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव २८ हजार भन्दा धेरै मत ल्याएर जसपाबाट विजयी भएका थिए। 

त्यतिबेला शिवचन्द्रले १० हजार ६ सय मत ल्याएका थिए। तर, गएको निर्वाचनमा रामसहाय यादव विजयी भएपनि उनको मत आधाभन्दा धेरै घटेको छ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह घरदैलो गर्दै

‘मंसिर ४ को निर्वाचनमा जसपाको मत अघिल्लो निर्वाचनको तुलनामा ५० प्रतिशतभन्दा धेरैले घटेको छ,’ कुशवाहाले भने, ‘०७४ को निर्वाचनको भन्दा यो क्षेत्रमा कांग्रेसको मत पनि घटेको छ, तर मेरो मत विगतको भन्दा बढेको छ। यो म प्रतिको जनआकर्षणकै कारणले हो। म यहिँको धर्तीपुत्र हुँ। जनताको भावना मप्रति छ। अब मेरो विजय यात्रालाई सप्तरीबाट यता आएका उपेन्द्र यादवले रोक्न सक्नुहुन्न।’

बारा २ मा एक लाख ५ हजारभन्दा धेरै मतदाता छन्। जसमा यादव समुदायका मतदाता सबैभन्दा बढी छन्। तर, बहुमतमा यादव पनि छैनन्। 

मधेशमा जातीय कारणले पनि चुनावमा मत प्रभावित हुने गरेको छ। मधेशका अन्य जातीय समुदायले कतिपय अवस्थामा यादव समुदायबाट हेपिएको, शोषणमा परेको महशुस गर्दै आएका छन्। त्यसको प्रभाव पनि बारा २ को निर्वाचनमा नपर्ला भन्न सकिन्न।

‘यो चुनावमा बारा २ मा यादवविरुद्ध गैर यादव समुदायको जातीय गठबन्धन बन्यो भने अचम्म नमान्दा हुन्छ’, पत्रकार महासंघ बाराका उपाध्यक्षसमेत रहेका रामबाबु मेहता भन्छन्, ‘यादवविरुद्ध अन्य जातीय समुदायको गठबन्धन बने शिवचन्द्र कुशवाहा उपेन्द्र यादवलाई भारी पर्न सक्छन्।’

तर, ४ मंसिरको निर्वाचनमा रामसहाय यादवविरुद्ध बागी उम्मेदवार बनेका जसपाका केन्द्रीय सदस्य रामकिशोर यादव यो निर्वाचनमा बारा २ मा उपेन्द्रको विजयलाई कसैले रोक्न नसक्ने दाबी गर्छन्। 

अघिल्लो निर्वाचनमा जसपाका उम्मेदवार रामसहायविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवार बनेका यादव यो निर्वाचनमा उपेन्द्रको पक्षमा खुलेर लागेका छन्। 

बारा २ मा पाँचवटा स्थानीय तह समेटिएका छन्। कोल्हवी नगरपालिकाको ८ नम्बर वडा पनि बारा २ मै समेटिएको छ। कोल्हवीका बाँकी सबै वडा क्षेत्र नम्बर १ मा पर्छन्।

पचरौटा र महागढीमाई नगरपालिका, देवताल, करैयामाई र सुवर्ण गाउँपालिकाको सबै भूभाग बारा २ मा समेटिएको छ। 

कोल्हवी नगरपालिकाको ८ नम्बर वडामा आफ्नो पार्टीको अवस्था कमजोर भए पनि बाँकी पाँचवटै पालिकामा पार्टी मजबुत अवस्थामा रहेकाले उपेन्द्रको विजयलाई कसैले रोक्न नसक्ने दाबी रामकिशोर यादवले गरे।

पाँचवटा पालिकाबाट खस्ने सम्भावित मतको आकलन गर्दै नेपालखबरसँग उनले भने, ‘यो निर्वाचनमा उपेन्द्र यादव प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी हुनु हुनेछ। हाम्रो अध्यक्षलाई पाँच दलको साथ छ। झण्डै ३१ हजार मत उहाँको पक्षमा खस्ने हाम्रो आकलन छ।’ 

४ मंसिरको निर्वाचनमा यो क्षेत्रमा करिब ६२ हजार मत खसेको थियो।

उनले एमालेका पुरुषोत्तम पौडेल र आम जनता पार्टीका अरुण ज्ञवालीमा पहाडे समुदायको मत विभाजित हुने भएकाले उपेन्द्रलाई चुनाव जित्न अझ सहज हुने अनुमान गरे। बारा २ मा पहाडे समुदायका ५ हजार भन्दा धेरै मतदाता छन्। 

४ मंसिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर साढे सात हजार भन्दा धेरै मत ल्याएका अरुणकुमार ज्ञवाली यसपटक प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन्।

जसपा नेता यादवले सीके राउतले उपेन्द्रलाई बाहिरिया उम्मेदवार भनेर प्रचार गरिरहेको भन्दै आपत्ति जनाए। 

‘उहाँले संविधान पढ्नु भएको छैन जस्तो लाग्छ,’ यादवले भने, ‘राउतले पहिला अलग देशको गलत एजेण्डा बोकेर राजनीति सुरु गर्नुभयो। फिल्मी शैलीमा केपी ओलीको माध्यमबाट राजनीतिमा आउनु भयो। संघीय संसदको उम्मेदवार बन्न स्थानीय हुनु पर्दैन भन्ने सामान्य ज्ञान पनि उहाँमा रहेनछ।’

उपेन्द्र यादवले सप्तरीमा प्रविधिक कारणले मात्रै चुनाव हारेको दाबी उनले गरे। 

‘त्यतिबेला जसपाले एमालेसँग मिलेर चुनाव लड्दा मधेशमा गलत म्यासेज गयो। यो चुनावमा त्यसलाई हामीले सच्याएका छौँ,’ उनले भने, ‘सीके राउत र उनको पार्टीप्रति अहिले मधेशी जनतामा कुनै आकर्षण छैन।’

यादवले त्यस्तो दाबी गरे पनि अघिल्लो निर्वाचनको समानुपातिकतर्फ जनमत पार्टीले पाएको मत हेर्दा यो क्षेत्रमा सीके राउत नेतृत्वको जनमत बलियो रहेको देखिन्छ। 

४ मंसिरको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत जसपाले पाएको थियो। जसपाले १३ हजार २४२ मत पाउँदा जनमतले ८ हजार ८४६ मत पाएको थियो। 

त्यसैगरी कांग्रेसले ११ हजार १७९, एमालेले ९ हजार १९३, लोसपाले ४ हजार २३५, नागरिक उन्मुक्तिले ३ हजार ७९४, माओवादी केन्द्रले ३ हजार २६५, एकीकृत समाजवादीले १ हजार ९९६ र रास्वपा १ हजार ४५५ मत समानुपातिक तर्फ बारा २ बाट पाएका थिए। 

०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा विजयी भएदेखि कुनै चुनाव नहारेका उपेन्द्र यादव यसपटक बारा २ बाट जितेर चौथोपटक संसदको यात्रा गर्ने दाउमा छन्। 

तर, ६ महिनाअघि मात्रै सीके राउतसँग सप्तरी २ मा पराजित यादवलाई अहिले बारा २ मा पनि जनमत पार्टीले नै चुनौती खडा गरिदिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .