डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता पठाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ।
सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार सडक खण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतबार फिर्ता गरेकी छिन्। जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बीपी साहले जानकारी दिएका छन्।
‘राष्ट्रपतिको कदम निन्दनीय र जनहित विपरीत रहेकोले यसको विरोध गरेका छौं’ नेता साहले भने, ‘नागरिकता नपाएर केहीले आत्महत्या गरिसकेका छन्। धेरैले मानसिक यातना खेपी रहेका छन्। तर, सात वर्षदेखि राज्यले नागरिकताविहीनहरुमाथि यातना थोपर्दै गएको छ।’
नागरिकताविहीनहरुलाई नागरिकता नदिने भए शरणार्थी घोषणा गर्न नेता साहले माग गरे।
‘नेपाल सरकारले उनीहरुलाई नेपाली भनेर नागरिकता दिन सक्दैन भने उनीहरुलाई शरणार्थी घोषणा गरोस्। शरणार्थीको पहिचान लिएर भएपनि उहाँहरुले गुजारा गर्न सक्ने छन्। मुद्दा लड्न सक्ने छन्’ साहले भने, ‘तर नेपाली पनि नमान्ने र जीवन जिउन पनि कठिन बनाउने यस्तो शासन चाहिँदैन।’
नागरिकताविहीनहरुलाई तत्काल नागरिकता उपलब्ध गराउन माग गर्दै नेता साहले तत्काल संसदबाट नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउन आग्रह गरे।
Shares
प्रतिक्रिया