ad ad

मधेस


बाढीले बगाएको सडक बनाउन मेयरले बोके ढुंगा

बाढीले बगाएको सडक बनाउन मेयरले बोके ढुंगा

नेपालखबर
साउन २८, २०७९ शनिबार १३:१, काठमाडौँ

सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी स्थानीयबासीसँगै सडक निर्माणमा खटिएका छन्।

शनिबार बिहान मेयर बुढाथोकीसँगै श्रमदान गरेर स्थानीयले सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने ग्रामीण सडक पुनर्निर्माण गरेका हुन्। 

हरिवन नगरपालिका–८ फेदी भएर बग्ने कैलाशपुरी खोलाले बगाएको झण्डै ४० मिटर सडक मेयर बुढाथोकीको नेतृत्वमा पुनर्निर्माण गरिएको हो। सडक निर्माणमा मेयर बुढाथोकीसँगै स्थानीयले दुई घण्टा श्रमदान गरेका छन्। 

श्रमदानमा माओवादीकी केन्द्रीय सदस्य माया वलसहितका नेता कार्यकर्तासँगै झण्डै ५० जना स्थानीय खटिएका थिए।  

मेयर बुढाथोकीले जनश्रमदानलाई प्राथमिकतामा राखेर अब नगर क्षेत्रमा विकास निर्माणका काम अघि बढाइने बताए।  

‘यहाँ बाढीले सडक बगाउँदा सवारी साधन चलाउनै नहुने अवस्था थियो,’ मेयर बुढाथोकीले भने, ‘हामीले हिजो साँझ जनश्रमदान गरेर सडक निर्माण गर्ने सल्लाह गरेका थियौँ। हामी सबैजना लागिपर्दा बाढीले बगाएको सडक आज पुनर्निर्माण भएको छ।’ 

उनले प्रत्येक साताको शनिबार जनश्रमदानबाट नगर क्षेत्रमा विकास निर्माणका काम गर्ने योजना नगरपालिकाले बनाएको जानकारी दिए। 

‘अब हामी प्रत्येक शनिबार कुनै न कुनै विकास निर्माणका काम जनश्रमदानबाट गर्ने छौँ,’ मेयर बुढाथोकीले भने, ‘यसबाट नागरिकमा श्रमको सम्मान गर्ने परिपाटीको विकास हुन्छ। नगरपालिकाको खर्च पनि घट्छ। विकास निर्माणमा स्थानीयको सहभागिताले उनीहरुमा विकासमा संरचनामा अपनत्वको पनि महसुस हुन्छ।’

सर्लाहीको हरिवनबाट सिन्धुलीको क्यानेश्वर जोड्ने करिब १५ किलोमिटर लामो ग्रामिण सडक २० वर्षअघि नै निर्माण भए पनि अझै स्तरोन्नती भएको छैन। 

बर्खाको बेला बाढी र पहिरो जाँदा सडकमा सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको छ। १५ किमी सडकको १३ किमी भाग चुरे क्षेत्रमा पर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .