ad ad

मधेस


गिरिराजमणि र मातृकाले सँगै बसेर गरे गुट भत्काउने प्रतिबद्धता

गिरिराजमणि र मातृकाले सँगै बसेर गरे गुट भत्काउने प्रतिबद्धता

नेपालखबर
साउन २३, २०७९ सोमबार २०:५२, सर्लाही

पार्टी भित्रको आन्तरिक विवादको कारण गएको स्थानीय तहको निर्वाचनमा नराम्रो पराजय बेहोरेपछि नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा संगठन सुदृढीकरणको प्रयास थालेको छ। 

आज सर्लाहीमा बैठक बसेर नेताहरु गिरीराजमणि पोखरेल र मातृका यादवले आ–आफ्ना गुट भत्काउँदै मधेसमा पार्टीलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्। दुई गुट बीचको विवादको कारण ३० वैशाखको स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका आठ जिल्लामा माओवादीले साविकका १४ पालिका गुमाएको थियो। 

०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका २३ स्थानीय तह जितेको माओवादी केन्द्र गएको निर्वाचनमा मधेशका ९ पालिकामा मात्रै विजयी भएको छ। 

स्थायी समिति सदस्यद्वय गिरीराजमणि र मातृकाले एकअर्का गुटमा लागेका आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गर्न भूमिका खेल्दा पार्टीले मधेशमा नराम्रो हार बेहोर्नुपरेको आरोप स्वयं माओवादीका नेताहरुले नै लगाउँदै आएका छन्। 

दुई गुटबीचको विवादको कारण पार्टी कमजोर बनेपछि मधेशका जिल्लामा गिरीराजमणि र मातृका सँगै बसेर पार्टीका बैठकहरु गर्न थालेका हुन्।

पार्टीभित्रको आन्तरिक विवाद समाधानको लागि हिजो (आइतबार) पहिलोपटक पर्साको वीरगञ्जमा दुई नेता सँगै बसेर बैठक गरेका थिए। आज (सोमबार) सर्लाहीको हरिवनमा पनि त्यस्तै बैठक आयोजना गरिएको छ। यसअघि यी दुई नेता सित्तिमित्ति सँगै बैठकमा बस्दैनथे। 

गएको स्थानीय तह निर्वाचनअघि ८ चैतमा पार्टीले जनकपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मातृका यादवले बहिस्कार गरेपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो। 

अध्यक्ष प्रचण्डले पटक–पटक आग्रह गर्दा पनि उनी भेलामा गएका थिएनन्। मधेशमा नेता नारायणकाजी श्रेष्ठ समूह हावी भएको भन्दै मातृकाले असन्तुष्टि जनाउँदै आएका थिए।

तर, स्थानीय तह निर्वाचनमा पार्टीको कमजोर नतिजा आएपछि मातृकासमेत चिन्तित बन्न थालेका छन्। पर्सा र सर्लाही दुवै जिल्लाका बैठकमा पोखरेल र यादवसँगै सम्बन्धित जिल्ला कार्यक्षेत्र भएका पार्टीका केन्द्रीय सदस्य र प्रदेश समिति सदस्यहरु सहभागी भएका छन्। 

सोमबार हरिवनमा आयोजित बैठकमा पोखरेल र यादवसँगै पोलिटब्युरो सदस्यहरु प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, रामेश्वर राय यादव, उर्मीला अर्याल, केन्द्रीय सदस्यहरु दीपबहादुर योञ्जन, माया बल, सावित्रा बुढाथोकी, राधेश्याम पासवान, लुमडी धिमाल, प्रदेश समिति सदस्य कमल बुढाथोकी लगायतको सहभागिता थियो।  

बैठकमा पोखरेल र यादव दुवैले विगतका गल्तिबाट पाठ सिकेर आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनमा एकताबद्ध भएर जाने प्रतिवद्धता व्यक्त गरेका बैठकमा सहभागी माओवादी पोलिटव्युरो सदस्य अच्युतम काफ्लेले जानकारी दिए। 

बैठकमा जिल्लाका सबै स्थानीय तहमा चुनावको समीक्षा बैठक बस्ने सहमति भएको उनले बताए।

‘जिल्लाका सबै वडा र पालिकाहरुमा समीक्षा बैठक बस्ने र सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा पनि संगठन सुदृढीकरणको लागि नेताहरुलाई जिम्मेवारी तोक्ने काम भएको छ,’ काफ्लेले भने, ‘दुवै नेताले सबै आन्तरिक विवादलाई बिर्सेर आगामी निर्वाचनमा एक ढिक्का भएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो।’

पार्टीभित्रको आन्तरिक विवादको कारण माओवादीले यस पटक महोत्तरीको बर्दिबास, गौशाला र रामगोपालपुर, सिरहाको गोलबजार, धनगढीमाई, कर्जन्हा नगरपालिकासहित साविकमा जितेका १४ स्थानीय तहमा हार बेहोरेको छ। सम्बन्धित स्थानीय तहमा माओवादी केन्द्र बलियो शक्ति हुँदाहुँदै पार्टीभित्रको गुटगत विवादको कारण हार बेहोर्नु परेको माओवादीका नेताहरुले बताउँदै आएका छन्। 

स्थानीय तहमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न पार्टी केन्द्रले तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .