ad ad

मधेस


एक वर्षमा करेन्ट लागेर १२ जनाको मृत्यु

एक वर्षमा करेन्ट लागेर १२ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १९, २०७९ बिहिबार १३:१२, सप्तरी

लापरबाहीका कारण सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। तीमध्ये ४ महिला, ६ पुरुष र २ बालक छन्। करेन्टका ४० घटनामा तीन चौपायासमेत मरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार घटनामा १२ महिला, ८ पुरुष र ६ बालक घाइते भए। ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरबाही र विद्युत् प्राधिकरणको पनि लापरबाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष छ। बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। घरआँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो। 

करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्यचौकी कञ्चनरुप लगिएको थियो। स्वास्थ्यचौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए। 

यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहका छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .