ad ad

मधेस


प्रधानमन्त्रीको निर्देशनपछि बर्दिबासको सर्पदंश उपचार केन्द्रले पायो आईसीयू र भेन्टिलेटर

भेटिलेन्टर नभएकै कारण शनिबार मात्रै मृत्यु भएको थियो
प्रधानमन्त्रीको निर्देशनपछि बर्दिबासको सर्पदंश उपचार केन्द्रले पायो आईसीयू र भेन्टिलेटर

महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र। तस्बिर सौजन्य : राजु ढुंगाना


नेपालखबर
साउन १७, २०७९ मंगलबार ८:९, सर्लाही

महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईसीयू र भेन्टिलेटर उपलब्ध गराएको छ। 

केन्द्रमा आईसीयू र भेन्टिलेटर नहुँदा सर्पदंशका गम्भीर अवस्थाका बिरामीले अकालमा ज्यान गुमाइरहेका छन्। 

स्थानीयले लामो समयदेखि केन्द्रमा भेन्टिलेटरसहित उपचारको व्यवस्था गर्न माग गरिरहेका थिए। 

पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले दुई दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केन्द्रको लागि भेन्टिलेटर माग गरेको थियो।

बर्दिवास नगरपालिकाले गत वर्ष नै भेन्टिलेटर माग गर्दै स्वास्थ्य विभागलाई पत्रचार गरेको थियो।

प्रधानमन्त्री देउवाको निर्देशनमा स्वास्थ्य विभागले करिब २६ लाख रुपैयाँ मूल्य बराबरको भेन्टिलेटर सोमबार बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलाई हस्तान्तरण गरेको हो।

बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रको उपचार कक्ष। तस्बिर सौजन्य ः राजु ढुंगाना

विषालु सर्पको टोकाइबाट गत शनिबार मात्रै बर्दिबास नगरपालिका–४ मा अवस्थित पब्लिक स्कुलका प्रिन्सिपल युवराज श्रेष्ठको मृत्यु भएको थियो। 

सर्पले टोक्नेबित्तिकै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर अभावमा श्रेष्ठलाई बचाउन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन्।

गम्भीर अवस्थामा जनकपुर पठाइएका श्रेष्ठको बाटोमै मृत्यु भएपछि मेयर क्षेत्री नेतृत्वको टोली सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर माग गर्न काठमाडौं गएको थियो। 

आईसीयू र भेन्टिलेटर माग गर्न प्रधानमन्त्रीकहाँ पुगेको टोली।

सर्पको टोकाइबाट महोत्तरीसहित तराईका जिल्लामा बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन्। 

विषालु सर्पले टोकेका गम्भीर अवस्थाका बिरामी बचाउन एन्टीस्नेक भेनमसँगै आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने भए पनि तराई मधेशका धेरै सर्पदंश उपचार केन्द्रमा यी उपकरणको अभाव छ।

सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा भने आईसीयू र भेन्टिलेटर भए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आएको छैन। ती उपकरण अहिले कोठामा थन्क्याएर राखिएको छ।

याे पनि : ​सर्लाहीमा सर्पदंश : आईसीयू र भेन्टिलेटर थन्किँदा अकालमा जान्छ ज्यान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .