ad ad

मधेस


‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ नारासहित युवा महोत्सव सुरु

‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ नारासहित युवा महोत्सव सुरु

नेपालखबर
असार १५, २०७९ बुधबार २१:४०, जनकपुर

पहिलो मधेश प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ। 

‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ नाराका साथ देशमै पहिलोपटक प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले युवा महोत्सव आयोजना गरेको हो। महोत्सवको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए।

महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले युवा प्रेरणाको स्रोत भएको र समुन्नत मधेस प्रदेश बनाउन सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए।  

मुलुकलाई सहि ट्रयाकमा ल्याउन युवा जागरुक हुनुपर्ने उनको भनाइ थियो।

‘तर युवा खाडीमा छन्। रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा टेवा पुर्‍याएका छन्। हामीले रोक्न प्रयत्न गरेका छौं। प्रहरीमा यहाँका युवालाई भर्ना, कर्मचारी भर्ना गर्न खोजेका छौं। तर सरकारी सेवामा सीमितता छ। उद्योग, कलकारखाना, कृषि क्षेत्र महत्त्वपूर्ण हो। तर हाम्रो सीमितता छ। सोचेअनुसार उत्पादन गर्न सकेका छैनौं। पर्यटनमा पनि सकेका छैनौं। केन्द्र सरकारको अस्पष्ट नीतिले घरखेत बन्धकी राखेर युवाहरू पलायन भइरहेका छन्। युवालाई रोक्न चाहन्छौं। धार्मिक पर्यटनको सम्भावना छ। यो सबैमा युवाको साथ चाहिन्छ। अग्रसरता चाहिन्छ। युवाहरुको योगदान महत्वपूर्ण हुन्छ,’ उनले भने।  

परिवर्तनमा लागि युवाहरू लडेको भन्दै मुख्यमन्त्री राउतले अब विकास समृद्धिका लागि लड्नुपर्ने आह्वान गरे।

महोत्सव आयोजक महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका विभागीय मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रदेशको आजको आवश्यकता ‘अग्रजको अनुभव, युवाको उर्जा’को आवश्यकता भएको बताए।

‘मधेस प्रदेशलाई विकसित र समुन्नत बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘अनुभव साटासाट गरेर प्रदेशको उत्थानका लागि के कस्ता कार्यक्रम गर्नुपर्छ भन्ने सुझाव लिन्छौं।’                                                         युवा अभियन्ता एवं नेपाल फाउण्डेशनका अध्यक्ष विकासकुमार ठाकुरले युवाहरु परिवर्तनको संवाहक भएकाले निर्णायक तहमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखे।                                                                    काठमाडौंमा बालेन्द्र शाह मेयर हुनु परिवर्तन भएको र यो मधेसमा पनि हुनुपर्नेमा उनको जोड थियो। उनले राजतन्त्रविरुद्ध सुरुमा गगन थापाको युवा समूह बोलेको र पछि दलहरु संघर्षमा आउन बाध्य भएको स्मरण गर्दै युवाको ऊर्जा र हिम्मतलाई प्रदेश सरकारले सही ठाउँमा सदुपयोग गरे देश र प्रदेश समुन्नत हुने विश्वास व्यक्त गरे।

जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा बुधबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्नेछ। 

महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझ, मधेसका मान हुनेछ। बिहीबार घोषणा पत्र सार्वजनिक गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .