ad ad

मधेस


अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न

फाइल फोटाे


नेपालखबर
असार १५, २०७९ बुधबार ९:२८, काठमाडौँ

विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ।

पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहेका स्थानीय किशोरी साहले जानकारी दिए।

अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन्।

हिजोदेखिको अविरल वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन्।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ। 

अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा व्यापार व्यवसायी प्रभावित भएको छ।

निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन्।

वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए । 

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ।

कमला नदी र रातु खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासी सचेत हुनुपर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .