बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्तामध्येका एक नारायण पहराईले रवि लामिछानेविरुद्ध आफूले जाहेरी नै नदिएको बताएका छन्।
जिल्ला अदालत रूपन्देहीमा चलिरहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाका कारण रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि जाहेरीकर्ता पहराईको यो भनाइ सार्वजनिक भएको हो।
पहराईले फेसबुकमा लेखेको यही टिप्पणीलाई अहिले रविका समर्थक एवं रास्वपाका नेता-कार्यकर्ताले सेयर गरिरहेका छन्।
प्रहरीले अभियोगपत्र र अन्य कागजातहरूमा आफूलाई मुख्य जाहेरीकर्ताजस्तो प्रस्तुत गरेकामा पनि उनले आपत्ति प्रकट गरेका छन्।
उनले आफ्नो उद्देश्य कसैलाई थुन्ने वा थुनाउने नभई उक्त सहकारीमा डुबेको बचन फिर्तासँग मात्र सरोकार रहेको पनि स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, ‘मेरो उजुरी कोही व्यक्तिलक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो।’
रविका नाममा पनि आफूले किटानी जाहेरी नदिएको उनको भनाइ छ।
यस्तो छ पहराईको भनाइ:
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कयौं बचतकर्तामध्ये म पनि एक हुँ। सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो। र, इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएँ।
मेरो उजुरी कोही व्यक्तिलक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो। एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ।
‘नारायणबहादुर पहराई समेतको जाहेरीले वादी नेपाल सरकार’ भनेर रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो। बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइन। तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ। यो प्रचारमा सत्यता छैन।
करोड/करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन। मजस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं। तर, यत्रो समय बित्यो, खै त? संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस गर्यो भनियो। तर, सरकारले ति सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन। केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्यो? केही गरेको छैन। बरु, हामीजस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि!
म कोही व्यक्ति लक्षित थिइनँ, छैन। मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु। हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिवद्ध छौं। हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं। विधि-प्रक्रिया, अड्डा-अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामाे समय चुप बसें। न्यायका नाममा पीडितलाई मात्र हाेइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बाेल्न बाध्य भएकाे हुँ। निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गराैं ।
Shares

प्रतिक्रिया