नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन्।
माओवादी केन्द्रले तुलसीपुर नगर कमिटीले तलसीपुरमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।
अध्यक्ष प्रचण्डले भने, ‘यसपटक म देशभर अपिल र अनुरोध गर्न अभियानमा गएको छु। हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ, आग्रह छ। हामीले हाम्रो गल्ती कमजोरी सच्याउछौँ। तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन् नि भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने, बहुमत दिनुभयो भने ०८४ मा हामी बहुमतमा आउनेछौँ। त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ। सामाजिक विभेदको अन्त्य गर्नेछ। न्याय स्थापित गर्नेछ। आर्थिक समृद्धिमा देश अगाडि बढ्नेछ।’
पहिला लडाइँमा साथ दिएका जनताले अब सृमृद्धिको अभियानमा साथ दिने विश्वास पनि उनले व्यक्त गरे।
‘तपाईँहरूले जनयुद्धमा साथ दिनुभयो। शान्तिप्रक्रियामा साथ दिनुभयो। अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस्। अब सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा साथ चाहियो। त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ।’
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको दाबी पनि उनले गरे। यसबाट जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको जिकिर समेत उनले गरे।
Shares

प्रतिक्रिया