लुम्बिनी


बुटवलमा सार्वजनिक सुनुवाइ : छाडा चौपाया र सडक अस्तव्यस्तता झेल्नुपरेको गुनासो

बुटवलमा सार्वजनिक सुनुवाइ : छाडा चौपाया र सडक अस्तव्यस्तता झेल्नुपरेको गुनासो

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २१:४८, बुटवल

बुटवलमा छाडा चौपाय, सडक अस्तव्यस्तता जस्ता समस्या अझै झेल्नुपरिरहेको उपमहानगरबासीले गुनासो गरेका छन्। 

वर्षौंदेखिको सुकुम्बासी, खानेपानी र फोहर व्यवस्थापनको समस्या पनि हल पनि हुन नसकेको उनीहरुको भनाइ छ। 

बुटवल उपमहानगरपालिकाले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागीमध्ये ३७ जनाले विभिन्न विषयमा जिज्ञासा र गुनासो राखेका थिए। उनीहरुले बुटवल १ र २ मा बाँदरको समस्या, सोह्र छत्तिस कुलोको जग्गा अतिक्रमण, जस्ता समस्या पनि उठान गरेका थिए।

बुटवलमा पछिल्लो समय चोरीका घटनाहरु भइरहेकाले प्रहरीको भूमिका बढाउन उपमहानगरबासीले आग्रह गरेका थिए। बुटवलमा इरिक्सा र ठेला व्यवस्थापनले स्वरोजगार मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्थामा पुगेको भन्दै निर्णय पुनर्विचार गर्न सुझाव आएको थियो।

कार्यक्रममा बुटवलकी उपप्रमुख सावित्रादेवी अर्याललले सार्वजनिक सुनुवाइबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइन्।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उठेका विषयहरुलाई सम्बोधन गर्दै लिखित समेत गरेर ४ सय १९ वटा प्रश्न र सुझावहरु प्राप्त भएकाले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

पन्थीले सडक निर्माणलाई तिव्रता दिने, छाडा चौपायाको समस्या, सडक कुकुर र बादर आतंक नियन्त्रण, बिजुलीको पोलको समस्या, खानेपानी र स्वास्थ्य क्षेत्रका समस्याहरुलाई ततकाल सम्बोधन गर्ने बताए।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले शान्ति सुरक्षासँग जोडिएका विषयमा आफू जिम्मेवार रहेकाले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

पत्रकार महासंघ रुपन्देहीले समन्वय गरेको सार्वजनिक सुनुवाइमा १ सय ४ जना सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिर्पोट समेत तयार पारेर प्रस्तुत गरिएको थियो। महासंघ रुपन्देहीका सचिव विनोद परियारले सेवा प्रवाहमा सुधार गर्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिहरुले पनि आफुलाई सुधार गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेका थिए।

सार्वजनिक सुनुवाईमा अस्वस्थ भई सहभागी नसकेका उपमहानगर प्रमुख खेलराज पाण्डेयको तर्फबाट नगरप्रवक्ता शिव रानाले सम्बोधन वाचन गरेका थिए।

पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफुहरु प्रतिबद्ध रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad